Translate

Friday, November 23, 2018

पोखरामा साइड हिरो

ब्रजेश खनालको पछिल्लो कृति ‘साइड हिरो’ पोखरामा विमोचन भएको छ । साइड हिरोको वरिष्ठ साहित्यकार सरुभक्तले लोकार्पण गरेका हुन् । साहित्यकार सरुभक्तले साइड हिरोमा जीवनका तिता–मीठा अनुभव भए पनि त्यो तत्कालीन समयको यथार्थ वर्णन भएको टिप्पणी गरे । उनले लेखक ब्रजेश खनालले दीर्घसूत्रीय परम्परालाई तोडेर समकालीन जीवनलाई प्रभावित पारेको उल्लेख गरे । पुस्तकमा चलचित्र उद्योगको इतिहास, साहित्य र त्यसभित्रका धेरै पक्षलाई जीवन्त रूपमा उतारेको बताए । लेखकले पुस्तकमा आफैँलाई व्यंग्यात्मक रूपमा प्रस्तुत गरेको उनको भनाइ छ ।


र्‍यान्डम रिडर्स सोसाइटीले आयोजना गरेको लोकार्पण कार्यक्रममा सोसाइटीका पूर्वअध्यक्ष गणेश पौडेल र लेखक ब्रजेश खनालबीच सवाल–जवाफ गरिएको थियो ।नेपाली फिल्म क्षेत्रका सदाबहार पटकथा लेखक ब्रजेश खनालले आफूले ६० को हाराहारीमा पटकथा लेखेको जानकारी दिए । उनकै अनुसार सुरुमा हिरो बन्ने सोचका साथ चलचित्र क्षेत्रमा छिरेका उनी सहायक भूमिकामै सीमित हुँदा खिन्न थिए । बिस्तारै पटकथा लेखनमा घोत्लिँदै जाँदा वास्तविक हिरो लेखक नै हो भन्नेमा द्विविधा नरहेको बताए ।

एउटा निर्देशकले राम्रो पटकथालाई झुर बनाउन सक्ने, तर नराम्रो पटकथामा राम्रो सिनेमा बनाउन नसक्ने राम्रैसँग बुझेका उनले आफैँले पटकथा लेखेका आधा सिनेमा नहेरेको खुलेरै बताए । ‘हिरो एउटा पात्र हो,’ उनले भने, ‘हिरो वा साइड हिरो अनि के भूमिका कसको भनेर पहिले नै तय गर्ने स्क्रिप्ट राइटर हो, त्यसमा कसरी निर्देशकले भूमिका दिन्छ, त्यो निर्देशकको कुरा हो ।’ उनले आफूलाई पूर्ण रूपमा न्याय गरेको र पटकथा लेखनको हिरोको रूपमा आफूलाई उभ्याउन सकेको प्रस्ट्याए ।

ब्रजेशले नेपाल टेलिभिजन स्थापना भएलगत्तै आफ्नै बुबाले निर्माण गरेको टेलिचलचित्र पञ्चतन्त्रका ६–७ वटा शृंखलामा काम गरेका थिए । त्यसपछि क्रमशः उनी पटकथा लेखनमा लागे । त्यतिवेलासम्म भारतको मुम्बईबाट पटकथा लेखाएर नेपालीमा रूपान्तरण गरिने गरेको थियो । त्यसलाई आफूले तोडेको उनले बताए ।

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment