Thursday, October 4, 2018

नेपाल राष्ट्रिय फाइँफुट्टी पार्टी

आज फाफुरा यहाँहरु समक्ष एउटा घोषणा गर्दैछ । हुन त यसलाई राष्ट्रको नाममा फाफुराको सम्बोधन भनिदिए हुन्थ्यो । तर, त्यो नाममा विगत केही समयमा यति धेरै अर्थ न बर्थका कुराहरु भइसकेकाले कसैले पनि यो नपढ्लान् अनि पढे पनि त्यसलाई हावामा उडाइदेलान् भन्ने डर छ । त्यसैले यसलाई फाफुराको घोषणमात्रै भन्दा बढी वजनदार र इज्जतिलो सुनिएला ।  अब बेरोजगार फाफुरालाई दिनदिनभर रत्नपार्कमा टोपीले मुख छोपेर सुत्न र फाइँफुट्टी हाँक्न फुर्सद नहुने भएको छ । तपाईँहरु भन्नुहोला, बेरोजगारलाई किन फुर्सद नहुनु र ? आफैँमा विरोधाभास हुने कुरा किन गर्नू ? यो प्रश्नको उत्तर फाफुरा एक वाक्यमा दिन सक्तैन । 
 
फाफुरा आज अलि गम्भीर र दुखी मूडमा छ । किनभने अब केही समयका लागि उसले यहाँहरुसँग वियोगको पीडा खप्नुपर्ने बाध्यात्मक परिस्थितिको सिर्जना भएको छ । आजकल हरेक कुराको सिजन भन्ने चलन छ नि त्यस्तै फाफुराको पनि सिजन एक केही समयका लागि रोकिने बेला भएको छ । यसो भन्दा विश्वास गर्नुस्, दुःखले उसका घुँडाहरुबाट धर्धरी आँसुका धारा बगेका छन् । यो निर्णय फाफुराले अचानक गर्नुको पछाडि फाफुरीको पनि ठूलो हात छ । एक दिनको कुरो हो, उसले फाफुरालाई गम्भीररुपमा सोच्न बाध्य हुने गरी दनक दिई । उसले भनी,
“हेर फाफुरा ! कस्ताकस्ता मानिसहरु केके गरेर कहाँकहाँ पुगिसके । तिमी आफ्नो अमूल्य समय रत्नपार्कमा टोपीले मुख छोपेर सुतेर खेर फ्यालिरहेका छौ । यो तालले त भएन नि । कुनै इलमधन्दा गर्नुपर्दैन ?”
हुन त उसले फाफुरीलाई सम्झाउने प्रयास नगरेको होइन । उसले भन्यो,
“हेर फाफुरी, अब तिमीलाई मैले कसरी सम्झाउनु ? मजस्ता बुद्धिजीवीले आफ्ना गफ र फाईँफुट्टीले र उडन्ते कुराले नै समाजलाई योगदान दिने हुन् । अझ अहिलेको प्रविधिको युगमा त हामीजस्ता मानिसलाई बुद्धिजीवी पनि हैन बुद्धिटीबी भन्नुपर्छ । हामीजस्ता मानिसहरु त ‘थिंकट्यान्क’ हौँ जसले फाइँफुट्टीमात्रै हाँकेर नै मानिस हुनुको आफ्नो औचित्यलाई सार्थक गरिरहेका हुन्छन् ।”
तर, फाफुरीले उसको यो गहन कुरालाई एकातिर पन्छाइदिई ।  ऊ फाफुराले कुनै अर्थोपार्जन हुने काम गर्नुपर्छ भन्नेमै अटल रही । उसले भनी,
“देशअनुसारको भेष भन्ने कुरा नबिर्स फाफुरा । यहाँ तिम्रो सफलता भनेको तिम्रा भौतिक उपलब्धिका आधारमा मात्र गनिन्छन् । त्यसैले तिमी जेसुकै गर, तर ढेवा कमाउने काम गर । त्यो पनि जतिसक्यो त्यति धेरै ।”
फाफुरा उसको कुरालाई गम्भीरतापूर्वक मनन गर्न थाल्यो । के आइडिया लगाउने होला त ? तर, उसको दिमाग खानेपानीको पाइप र आइडिया मेलम्चीको पानी सरह भइरह्यो । आउलाआउला भन्यो, आउँदै आउँदैन । जति गरे पनि आउँदैन । अब यसरी भएन भनेर उसले आफ्नो मगजमा ‘डिप बोरिङ’ नै गर्न थाल्यो । अनि बल्ल एउटा घच्चीको जुक्ति फु¥यो । उसलाई अचानक थाहा भयो, अहिलेको बेला ‘भजाउन’ सकिने एउटा रित्तो चेक त ऊ खल्तीमै बोकेर हिंडिरहेको पो रहेछ । त्यो हो फाइँफुट्टी । 
तपाईँहरु आफ्नो वरिपरि ध्यान दिएर हेर्नुस् त, बाटोमा ‘क्रेटा’ भन्ने गाडी र फाइँफुट्टीराजहरु बराबर मात्रामा देख्नुहुन्छ । गर्मी महीनामा लामखुट्टे धेरै कि फाइँफुट्टीराजहरु धेरै भनेर तपाईँ छुट्याउन पनि सक्नुहुन्न । बाटामा मिल्क्याइएका फोहोरभन्दा बढी त्यहाँ हिँडिरहेका फाइँफुट्टीराजहरु देख्नुहुनेछ । हाम्रो देश पहिले जलस्रोतको, हरियो वनको, हिमालको, सम्पदा तथा मन्दिरको देश भनेर चिनिन्थ्यो । तर, अब बिस्तारै यसको पहिचान फेरिँदैछ । केही समयपछि नै हेरिराख्नुस् यो देश फाफुराहरुको देश भनेर चिनिनेछ । त्यसो भएनछ भने यो फाफुरालाई कुनै विकसित मुलुकको पीआर दिलाएर सय किलोजति फूलको माला लगाएर एयरबसमा चढाएर देश निकाला गरिदिनुभए हुन्छ । हो, तपाईँहरुको प्यारो यो अग्र्यानिक फाफुराबाहेक ती सबै अरु रासायनिक मलवाला फाफुराहरु चाहिँ प्रशस्त सफल भएका छन् । किनभने फाफुराले फाईँफुट्टी सही ठाउँमा प्रयोग गरेन । अरु त्यसैको भरमा उच्च प्रशासक, नीति निर्माता, सल्लाहकार, ठूला दलका शीर्ष नेता, विभिन्न विषयका विज्ञ, मन्त्री र प्रधानमन्त्रीसम्म हुन भ्याए । 
फाफुरा अब कमाउ धन्दामा लाग्ने सुर गर्दैछ । एउटा यस्तो व्यापारमा हात हाल्ने दाउ कस्दैछ जसमा केही गरे पनि टुट्टा पर्दैन । हो, पुर्पुरो हेरेर समय अलि कम वा बढी लाग्ला तर तालुमा आलु फल्ने निश्चित छ । त्यस्तो व्यापारको नाम हो – राजनीति । राजनीति गर्नेहरुको बाहेक अरु कसैको तीनपुस्ता शतप्रतिशत सुध्रने ग्यारेन्टी हुँदैन । तपाईँहरुले आफ्नै वरिपरि हेर्नुभयो भने त्यसरी मालामाल हुनेहरु प्रशस्तै देख्नुहुनेछ । फाफुराको यो महत्त्वाकांक्षी योजनाको पछाडि तपाईँहाम्रो एउटा गौरवशाली मानसिकताले ठूलो भूमिका खेलेको छ । हाम्रो स्मरणशक्ति एकदमै छोटो समयसम्म कायम रहन्छ । ठूलाभन्दा ठूला पाप, अपराध र कुकर्म गर्नेहरुलाई पनि हामी माफ गर्छौँ । हामीलाई खुसी हुन, उत्तेजित हुन, आन्दोलित हुन, संयमित हुन, बिर्सन र माफ गर्न निकै कम समयमात्र लाग्छ । साधु मानेर विश्वास गरेको एउटा चोर, त्यतिबेलासम्ममात्र हाम्रा लागि चोर रहन्छ जतिबेलासम्म हामीलाई अर्को चोरले उल्लू बनाउँदैन । त्यसपछि हामी पुरानो चोरलाई नै विश्वास गर्छौँ । त्यसले लुट्दालुट्दै हामी फेरि अघिल्लो चोरलाई साधु मान्न थाल्छौँ । यही बानीका कारण हामी कहिले कुन चोर, कहिले कुन चोरलाई आफ्नो वर्तमान र भविष्य बनाउने ठेक्का प्रदान गरिरहन्छौँ । चोरहरु आलोपालो हामीलाई लुटिरहन्छन्, लुछिरहन्छन् र मोटाइरहन्छन् । 
यही कारण अब फाफुराले नयाँ राजनीतिक पार्टी खोल्ने विचार गरेको छ । त्यसको नाम हुनेछ ‘नेराफापा’ । अर्थात्, नेपाल राष्ट्रिय फाइँफुट्टी पार्टी । अर्को चुनावसम्म यो देशको सबैभन्दा ठूलो दल बन्नसक्ने प्रशस्त सम्भावना छ । किनभने हामी सबै जन्मजात फाइँफुट्टीराजहरु हौँ । हामीलाई फाइँफुट्टी हाँक्न र सुन्न बडो रमाइलो लाग्छ । भलै तर्कमा हामी विवाद गरौँ तर फाँइफुट्टी हाम्रा लागि सर्वमान्य हुन्छन् । तिनमा हामी पूर्ण आस्था राख्छौँ । त्यसैले अबको केही समय फाफुरा आफ्नो प्रस्तावित नयाँ पार्टीको संगठन विस्तारमा लाग्नेछ । पटकपटक आलोपालो चोरहरुलाई अवसर दिएर थाकेका जनताले अब पक्कै नयाँ चोरहरुको खोजी गर्नेछन् भन्ने पूर्ण विश्वासका साथ फाफुराले सुरु गर्न लागेको यस यज्ञमा तपाईँहरु सबै फाइँफुट्टीराजहरु सहभागी हुनसक्नुहुनेछ । हातेमालो गरेर अघि बढ्न यहाँहरु सबैलाई आह्वान गर्दै फाफुरा केही समय हराउनेछ । 
हुन त खाइपाई आएको, कुस्त कमाउन पाउने र कसैप्रति कुनै उत्तरदायित्व वहन गर्न नपर्ने यति सजिलो व्यापारमा भइरहेका घागहरुले नयाँ खेलाडीलाई सजिलै छिर्न र टिक्न नदिने जोखिम त आफ्नै ठाउँमा छ । त्यसैले, कथंकदाचित् त्यहाँको अखडामा भएका ठूला फाफुराहरुले उसलाई टिक्न दिएनन् र लखेटे भने तपाईँहरुको यो प्युसो फाफुरा फेरि ङिच्च परेर यता आउने नै छ । 
फाफुरा सिजन – २ लिएर ।

दशैका डोबहरु

केही वर्ष अघि नेपाल साप्ताहिकको मेरो स्तम्भ बायाँ फन्कोमा प्रकाशित फेरि एकपटक दशैं आएर गयो।  तर यसपटक दशैंमा दुर्ग...