‘हामी जीवनभर त्यो भूमिकामा अभिनय गरिरहन्छौँ, जुन खासमा अरु कसैको हुनुपर्ने थियो । हामीलाई लागिरहन्छ, अरु कसैले गरिरहेको भूमिका हाम्रो हुनुपथ्र्यो ।’ ब्रजेशको पुस्तक साइड हिरोको सार नै उपशीर्षक ‘कास्टिङ’ मा छ । खासमा साइड हिरो ब्रजेशको निजात्मक अनुभव शृंखला हो । तर उनको बठ्याइँले यो किताब नेपालका रेडियो, टेलिभिजन र समग्र चलचित्र क्षेत्रकै दर्पण बनिदियो । यी क्षेत्रका विकासक्रम र यसभित्रका पात्र र प्रवृत्तिलाई उनले आंशिक रुपमा उन्न खोजेका छन् । तीन दशक यिनै क्षेत्रमा रुमल्लिएका लेखकले आफूले भोगेको संसारबाट मनोरन्जन क्षेत्रलाई चियाउने प्रयास गरेका छन् । किताबमा शब्दहरु जीवित लाग्छन्, फिल्मी दृश्यजस्तै । हास्यचेतले उनलाई पाठकसँग जोड्न मद्दत गरेको छ ।
केही समय बैंकको जागिरे भए पनि रेडियो, टेलिभिजन र चलचित्र क्षेत्रको त्रिवेणीमा बग्नेबाहेक उनको प्राथमिकता अन्य कतै भएन । पछिल्लो समय भने उनी किताब लेखनमा तानिएका छन्, आखिर कुनै बेला टेलिफिल्म तथा फिल्मका चल्तीका लेखक जो परे । मनोरन्जनकै क्षेत्रमा रमाउने किरा उनको मगजमा यति सलबलायो कि जतिसुकै कठिन मोडमा पनि अन्य कुनै विकल्प खोजेनन्रचाहेनन् । त्रिपुरेश्वरको सनातनी ब्राह्मण परिवारसँग तालुक राख्ने लेखकका लागि मनोरन्जन क्षेत्रमा करिअर बनाउन उति सहज अवश्य थिएन । उनका अग्रज घरेलु मठाधीशहरु मनोरन्जनको क्षेत्र भनेको ‘भाँडहरुको कर्मक्षेत्र’ हो भन्थे । तर उनले यही क्षेत्र नै रोजे । उनका बुबा श्रीधर खनाल २० को दशकदेखि नै लेखन, अभिनय, निर्देशनमा सक्रिय थिए । नेपाली मनोरन्जन क्षेत्रको ख्यातनाम नै थिए । सम्भवतस् ब्रजेशमा बुबाको ‘डीएनए’ ले असर पो गर्यो कि १
नेपालको पहिलो रंगीन फिल्म कुमारीबाट सुरु उनको यो किताब टेलिभिजन रियालिटी सो नेपाली तारामा आएर टुंगिएको छ । यसैले यो किताब नेपाली मनोरन्जन क्षेत्रको चार दशकको कहानी पनि हो । यसलाई ब्रजेशले भाषाको सौन्दर्य कायम राख्दै रोचकरघोचक शैलीमा लेखेका छन् । काँचको पर्दामा उनी हिरो थिए । तर लालसा ठूलो पर्दाको फिल्ममा हिरो हुने थियो । त्यो चाहना पूरा गर्न उनले हरेक मोडमा पाएको धोखालाई नियतिको खेल ठानेका छन् । उनले भोगेका हन्डर खासमा नेपाली फिल्मी क्षेत्रको समग्र चित्र पनि हो । आफैँले लेखेको पटकथामा आफ्नै भागको भूमिका कहिले निर्देशकले अपहरण गर्छन् त कहिले निर्माताले लोप्पा ख्वाइदिन्छन् । संघर्ष जारी रहन्छ । निरन्तर पटकथा लेखिरहन्छन् । तर साइड हिरोमै उनको फिल्मी यात्रा टुंगिन्छ । सपना भत्किन्छ ।
नेपाली फिल्मी क्षेत्रमा खासै अर्थपूर्ण भूमिका नहुनुलाई साइड हिरो भन्ने मान्यता छ अहिले पनि । मुख्य चरित्रबाहेक पनि फिल्ममा कथानक बलियो बनाउन अनेक चरित्रको आफ्नै महत्त्व हुन्छ । मुख्य चरित्रकै हाराहारीको तर कथानकको केन्द्रमा खासै नरहने भूमिकालाई एकताका साइड हिरो वा साइड हिरोइन यस्तै केही नामले बोलाइन्थ्यो । केन्द्रीय पात्रबाहेक अन्य पात्रलाई खासै वास्ता नगरिने कालखण्डमा ब्रजेशले साइड हिरोबाट हिरोमा उक्लन खोज्नु आफैँमा अस्वाभाविक पनि थिएन ।
ब्रजेशले यो संस्मरणमा मलामी गएका आफ्ना सपना र असफलताका कथा बोलेका छन् । उनले आफूलाई हिरोका रुपमा होइन, साइड हिरोकै रुपमा सीमित गरेका छन् । ब्रजेशको यो संस्मरणले तत्कालीन नेपाली समाजको मनोदशा पनि दर्साएको छ । फिल्मी क्षेत्रको अवस्था र यसमा संलग्न धरहरा व्यक्तित्वको मानसिकता पनि उजागर गरेको छ । नेपालको समग्र मनोरन्जन क्षेत्र कस्ता बाटा र घुम्तीमा लडिबुडी गर्दै आजको डिजिटल युगमा आइपुग्यो, ब्रजेशले बयान दिएका छन् ।
यथार्थ त्यस्तो पनि होइन । उनको अभिनय कौशलबाट कायल हुनेको ठूलो संख्या अहिले पनि भेटिन्छ । टेलिफिल्म होस् वा ठूलो पर्दाको फिल्म उनी महँगा र माग भएका लेखक थिए, लामो समय । नेपाली ताराजस्तो मौलिक नेपाली रियालिटी सोलाई जन्म दिने ब्रजेश कसरी साइड हिरो मात्र हुन सक्लान् रु मनोरन्जनको क्षेत्रमा तीन दशक उनले घाम ताप्दै बदाम छोडाएर बसेनन् । ठूला हस्ती भनिएकासँग सहकार्य गरेका छन् । सक्रियतामा निरन्तरता छ । आफूभित्रको लेखन किरालाई उनले अझै पनि निरन्तरता दिएकै छन् । यसअघि यायावर र जुनेली उपन्यास लेखिसकेका छन् । तेस्रो पुस्तक साइड हिरो पाठकसमक्ष ल्याउने साहस गरेर हिरोगिरी देखाइछाडेका छन्, ब्रजेशले ।
सन्तोष आचार्य, २ माघ २०७५ नेपाल साप्ताहिक
0 प्रतिक्रिया दिनुहोस्:
Post a Comment