Translate

Thursday, March 21, 2019

मितिनी आमाको शहर वीरगञ्जमा साइड हिरो

ब्रजेश खनालका लेख, रचनामा वीरगन्ज र यस वरपरका स्थान, पात्र, परिवेशको चर्चा बढी हुन्छन् । तुलनात्मक रूपमा तराईका अन्य सहरको भन्दा । यसको कारण आख्यानकार ध्रुवचन्द्र गौतमजस्तै उनको पनि पुर्ख्यौली थलो वीरगन्ज भने पक्कै होइन ।

यस पटक खनाल आफैंले यसको कारण बयान गरेका छन् आफ्नो नयाँ पुस्तक ‘साइड हिरो’ मा । मंगलबार साँझ वीरगन्जमा आयोजित विमर्श तथा संवाद कार्यक्रममा उनले भने, ‘थुप्रै टेलिशृंखला र चलचित्रमा अभिनय गर्ने क्रममा पटकपटक वीरगन्ज र यस वरपरका गाउँ आएको छु ।’

वीरगन्जको नजिकको गाउँ नकटुवामा ‘राप’ टेलिशृंखला छायांकन गर्दा भेटिएका स्थानीय बासिन्दा रामखेलावनलाई अझै पनि सम्झिरहेको उनले बताए । ‘यसबाहेक वीरगन्ज सहरमा मेरी मितिनी आमाको घर छ, त्यसैले मलाई वीरगन्ज प्यारो लाग्छ,’ उनले भने । आफ्नो नयाँ कृति ‘साइड हिरो’ मा पनि वीरगन्जको थुप्रै प्रसंग रहेको उनले सुनाए ।

टेलिफिल्म हुँदै फिल्ममा अभिनयको यात्रादेखि फिल्म र पुस्तक लेखनसम्मको यात्रामा आफूले गरेका संघर्षहरूको आफूले पुस्तकमा बयान गरेको उनले बताए । वीरगन्जेली साहित्यकार गणेश लाठले ‘साइड हिरो’ पढदा पाठकले आआफ्नो कथा पढेजस्तै अनुभव गर्ने बताए । ‘निरन्तर असफलताबीच हरेस नखाएर कर्म गरिरहे सफलता अवश्य पनि हात पर्छ भन्ने सकारात्मक सन्देश पनि किताबमा रहेको’ उनले बताए ।

पत्रकार गिरीश गिरीले आफूले बाल्यकालमै वीरगन्जमा पहिलो पटक खनाललाई भेटेको सुनाए । टेलिशृंखला ‘घैंटोमा घाम’ मा छायांकनको क्रममा वीरगन्ज आएका खनाललाई आफूले पहिलो पटक यतै भेटेको र कालान्तरमा खनालसँग आफ्नो मित्रता प्रगाढ भएको गिरीले बताए । खनालबाट फिल्म क्षेत्रका धेरै कुरो सुन्दा र उनका लेख रचना पढदा आफू रोमाञ्चित हुने गरेको पनि उनले दाबी गरे ।

‘साइड हिरो’ मा चर्चा गरिएका वीरगन्जकै अर्का पात्र कुर्बान हवारीले ३५ वर्षअघि खनाललाई आफूले वीरगन्जमा भेटेको स्मरण गरे । खनालको पुस्तकमा आफ्नो गीत फर्माइस गर्ने सोखले चर्चा पाउँदा आफू खुसी भएको पनि उनले बताए । उक्त अवसरमा स्थानीय प्रतिभा अजमत अली लगायतकाले गीत, कविता, गजल प्रस्तुत गरेका थिए ।

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment