Sunday, June 23, 2019

पानी वरफ

मान्छेले एउटा जुनिमा खाएको रिन अर्को जुनिमा पनि तिर्नुपर्छ भन्ने कुरा सानै देखि सुनेको हो । त्यसैले बूढापाकाहरुले भन्ने गरेका होलान्, रिन भन्ने कुरा सकेसम्म नबोक्नू । त्यति हुँदाहुँदै पनि आम मानिसदेखि लिएर मै हूँ भन्नेहरु सबै कुनै न कुनै बेला रिन बोक्न बाध्य हुन्छन् । फरक कतिमात्र हो भने कसैकसैलाई रिनले पोल्दैन । विशेष गरेर ठूलाठूला व्यापारी भनाउँदाहरु सकेसम्म बैंकको रिन र सरकारको कर कसरी कुम्ल्याउने भन्ने दाउमा नै हुन्छन् । नियतवश खाएर नतिरेको रिन भनेको लुट बराबर हो भन्ने मेरो मान्यता छ । कोही वाध्यताले वा कोही नियतवश नै रिन नतिरी पनि राति निदाउन सक्छन् भने त्यो उनीहरुको ‘महानता’ नै होला । तर यो कुरामा म आफू भने पटक्कै पनि महान नभएको कुरा स्वीकार गर्न मलाई रत्तिभर पनि अप्ठ्यारो लाग्दैन ।

मलाई रिनले साह्रै पोल्छ । चाहे त्यो ठूलो होस् अथवा सानो । यो कुरा मलाई आफू निकै सानो हुँदा नै थाहा भएको थियो । बत्तीसतेंत्तीस सालतिरको कुरा हो । त्यति बेलाको स्कूले केटा हुँदाको एउटा रमाइलो प्रसंग छ । त्यतिबेला म पाँच कक्षामा पढ्थें । हाम्रो स्कूल कुपण्डोलको उकालोको भैरव भवनबाट (जहाँ अहिले होटल हिमालय अवस्थित छ) त्यही वर्ष मानभवन, जाउलाखेलमा सरेको थियो । पाँच कक्षा पढ्ने भनेको हुर्केको मान्छे हो र स्कूलको बस चढ्नु हुँदैन भन्ने सहपाठीहरुको उर्दीलाई सर्वोपरि मानेर घरमा रोइकराइ गरेर मैले पनि आफै स्कूल जाने आउने अनुमति पाएको थिएँ । साझा बसको हूलमा झुण्डेर स्कूल जानु त्यतिबेला हाम्रा लागि पौरुषताको परिचायक हुन्थ्यो ।
मानभवनमा हाम्रो स्कूलको मूलगेट अगाडि नियमित रुपमा एकजनाले पानीवरफ बेच्ने गर्थेे । चार कक्षासम्मकालाई बाहिर निस्कन निषेध थियो तर पाँचमा पुगेका हामीलाई अरुबेला नभए पनि खाजा खाने समयमा स्कूलको गेट बाहिर निस्कने छुट थियो । नरशमशेरको घर अगाडि एउटा चौर थियो जहाँ हामी हुर्केका प्रजातिहरु अखडा जमाउँथ्यौं । स्कूलमा ठाकठुक परेका विद्यार्थीहरुले एकआर्कालाई आफ टाइममा त्यहाँ फाइट खेल्ने चुनौती दिने गर्थे । त्यसैले त्यो चौरमा दिनहुँ भनेजस्तो सिंत्तैमा मल्लयुद्ध हेर्न पाइन्थ्यो । नभए पनि तेलकासा र सेभेनस्टोन जस्ता पसीनाबगाउ खेलहरु हामी त्यहाँ खैल्थ्यौं । गर्मीले हप्हप् भएको बेला हामीलाई लोभ्याउनका लागि स्कूलको गेट अगाडि एकजना पानीवरफ बेच्ने मान्छे तैनाथ हुन्थे । उनलाई सबैले भैयाजी भनेर सम्वोधन गर्थे । भैयाजी एउटा थोत्रो साइकलको पछाडिको क्यारियरमा काठको बाकसमा पानीवरफ बोकेर आउँथे । उनले बेच्ने रातो र हरियो रंगका पानीवरफहरु हेर्दै खाउँखाउँ लाग्ने देखिन्थे । आँतै हरहर हुन्थ्यो तिनलाई देख्दा । तर मूल समस्या भनेको पैसोको हुन्थ्यो ।  त्यतिबेला मेरो आफ्नो अर्थतन्त्र अहिलेको ग्रीसको भन्दा खासै गतिलो हुन्थेन । किनभने मलाई त्यतिबेला घरबाट दिनको तीन मोहोर खर्च खटाएर दिइन्थ्यो । एक मोहोर थापाथलीबाट मानभवनसम्म बस चढ्न, एक मोहोर खाजा खाने समयमा ‘बम पाउरोटी’ खान र एक मोहोर मानभवनबाट थापाथली बस चढेर फर्कन । घरमा वरफका लागि पैसा माग्दा ठूलावडाहरु कुन चाहिँ टुकुचाको फोहोर पानीमा कसरी बनाएको हुन्छ, त्यस्तो फोहोरी कुरा खाएर विरामी परिन्छ भनेर ठाडै अस्वीकार गरिहाल्थे । त्यसैले २५ पैसा र ५० पैसाका ती पानीवरफहरुलाई हेरेर घुटुक्क थुक निलेर हिंड्नु बाहेक अरु उपाय थिएन ।
एक दिन हामी खाजा खाने समयमा बाहिर निस्केको बेला वरफ खाने संयोग जुट्यो । हामी भन्दा ठूला दाइहरुले त्यस दिन भैयाजीको वरफ लुट्ने सत्कर्म गरेका रहेछन् । हूल उठेर हमला गरेर उनको बाकसबाट वरफ लुटालुट गरेको बेला भैयाजी अरु केही गर्न नसकेर आफ्नै भाषामा आलापविलाप मात्र गरिरहेका थिए । त्यतिबेला सुनेका केही शव्दहरुको अर्थ पछि बुझ्ने भएपछि थाहा पाउँदा कानसम्म रातो भएको थियो । जे होस्, त्यस दिनको हारालुछमा मेरा केही साथीहरुसंगै एउटा रातो पानीवरफ मैले पनि लुटें । ठूलै पुरुषार्थ गरेको जस्तो गर्दै हामी साथीभाईहरुले त्यो पानीवरफको सिन्को समेत सिनित्त पारेर चुस्यौं । त्यसको भोलिपल्ट देखि भैयाजी हाम्रो स्कूलको गेट अगाडि देखिएनन् । उनी नदेखिएको कुरा अरुका लागि सामान्य भएर गयो तर मलाई भने त्यो पानीवरफको बोझले किच्न थाल्यो । मलाई आफूले क्षणिक उत्तेजनामा आएर किन वरफ लुटेर खाएछु भनेर थक्कथक्क लाग्न थाल्यो । बिचरा, कहाँबाट ती वरफहरु ल्याएर दिनभर घाममा सेल्टेर बेच्दा हुन् । कति नै पैसा कमाउँथे होला त्यो वरफ बेचेर । कति सरापे होलान् तिनले हामीलाई पछि पनि । ती विचरा श्रमजीविको सरापले त्यसै छोड्ला त हामीलाई भन्ने पीरले मलाई बिथोल्नुसम्म बिथोल्यो । मैले आफ्ना दौंतरीहरुलाई एक दिन यो कुरा सुनाएँ । विचराको पानीवरफ लुटेर हामीले गल्ती गरको त हैन भन्ने मेरो मनाशयमा सहमति जनाउनु त कता हो कता मेरो एकजना साथीले उल्टै मलाई हका¥यो ।
“तंलाई थाहा छैन फलान्थोक, एउटा मरेको मधिसेले (तराइका हाम्रा दाजुभाइलाई नभै भारतीयलाई त्यसो भनिन्थ्यो त्यतिबेला) दशजना ज्यूँदो नेपालीलाई ठग्छ । त्यसैले जे भयो ठीकै भयो, टाउको नदुखा ।”
तर त्यसो हो नै रहेछ भने कुनै मरेको मधिसेको ठगीको बदला त्यो मायालाग्दो भैयाजीले किन तिर्नू भन्ने सोचले मलाई मेरा साथीहरु जस्तो निश्चिन्त हुन दिएन । हुँदाहुँदा कतिसम्म भयो भने एक दिन त मैले सपनामा समेत भैयाजीलाई देखें । म हिमाल चढ्दै रहेछु रे । हेर्दै डरलाग्दो एउटा टाकुरामा म पुगेछु । चारैतिर कहालीलाग्दा भीरहरु थिए । अचानक हेर्दाहेर्दै वरिपरिका हिमालहरु त रातो रंगका अजंगका पानीवरफ भैरहेका पो रहेछन् । हरेक चुच्चाबाट वरफको जस्तै सिन्काहरु आकाशतिर फर्किएर ठाडिएका थिए । अचानक मेरो खुट्टा चिप्लेर म तीब्र वेगले पानीवरफमा तलतिर खस्न थालेछु । सिन्काहरु समात्न खोज्यो, प्याटप्याट गरेर भाँचिन्थे । अचानक मैले देखें, भैयाजी मसंगसंगै आकाशमा उडिरहेका छन् र मलाई हेरेर मरिमरि हाँसिरहेका छन् । मैले उनीसंग गुहार मागें,
“भैयाजी मुझे बचाओ ।”
तर भैयाजीले भने,
“कौन भैया ? किसका भैया ? मैं तो यती हूँ ।”
अनि नभन्दै भैयाजी आजकलका सिनेमामा एनिमेसिन भए जसरी यतीमा परिणत भए । जीउभर भुत्लैभुत्ला, लामालामा नङ्ग्रा र तीखा दाँतहरु । उनले भने,
“अब मै तुम्हे वरफ बना कर खाउँगा ।”
म खलखली पसीना काढ्दै ब्यूँझें । मलाई भैयाजीको त्यतिबेलाको निरीह अनुहारले छोड्दैछोडेन ।
त्यो घटनाको निकै दिनपछिको कुरा हो । केही साथीहरु मिलेर बस नचढी हिंडेर फर्कने योजना बनेको थियो । त्यसै अनुरुप हामी हरुल बाँधेर हल्ला गर्दै फर्कंदै थियौं । थापाथलीमा त्यसबेला भीमसेन थापाले बनाएको भनिने पुरानो फलामे पुल थियो । त्यसको वारि र पारीपट्टि सत्तलमा सानातिना पसलहरु थिए । हामी पुलको मुखमा पुग्दा अचानक मेरा आँखाहरु तिनै भैयाजीमा परे । उनी पुलको वारिपट्टि त्यही साइकलको छेउमा वरफ बेच्न उभिएका रहेछन् । तिनलाई त्यहाँ अचानक देख्दा मलाई देउता देखेजस्तै भयो । बस नचढेको हुनाले एक मोहोर मेरो खल्तीमै थियो । म लम्केर उनीतिर गएँ र एउटा रातो वरफ किनें । मैले दिएको मोहोरबाट उनले मलाई पच्चीस पैसा फिर्ता दिए । मैले त्यो उनैलाई फर्काउँदै भनें,
“अस्ति न मानभवनमा हाम्रो स्कूल अघि तपाईको वरफ लुटिंदा एउटा मैले पनि लुटेको थिएँ । त्यतिबेला मसंग पैसा थिएन । यो पैसा तपाईं नै राख्नुस् ।”
उनले केही भन्नुअघि नै म त्यहाँबाट साथीहरुलाई भेट्न कुदिसकेको थिएँ । मलाई मेरो काँधबाट सय मनको बोझ हटेको जस्तो भान भैरहेको थियो । अब भैयाजी मेरो सपनामा यती बनेर आउँदैनन् र मलाई वरफ बनाएर खाने धम्की पनि दिंदैनन् भन्ने मलाई थाहा थियो । त्यति बेला मैले एउटा ठूलो कुरो थाहा पाएँ । लुटेको उपलव्धिको बोझ भन्दा बरु जस्तोसुकै अभावको हुटहुटी सहन सजिलो हुँदोरहेछ । त्यसै दिन मैले मनमनै आइन्दा जीवनमा कुनै पनि कुरा लुटेर प्राप्त गर्दिनं भन्ने प्रण गरेको थिएँ ।

प्रतिक्रिया:

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment