Sunday, June 30, 2019

मन्टुदी

मैले फेरि एक पटक चनाखो आँखाले चारैतिर हेरेँ। यति बेलासम्म त गाडी चोरी भएको कुरा थाहा भइसक्यो होला। मैले लुकाएको ठाउँमा त्यो गाडी कतैबाट कसैले देख्न त देख्दैन नि। खासै गर्मीको मौसम नभए पनि मेरो निधारमा चिट्चिट् पसिना आइरहेको थियो। त्यसलाई कमेजको बाहुलाले पुछेँ। जीउभरि पनि खलखल पसिना आइरहेको थियो। मुटु वेगले ढ्यांग्रो ठोकिरहेको थियो।
हामी सबैको जीवनमा त्यस्ता पल आएका हुन्छन् जहाँ हामी लालचको पासोमा परेर केही न केही अप्राप्य कुरालाई गलत तरिकाले नै भए पनि आफ्नो बनाउन अभिप्रेरित हुन्छौं। कहिले त्यो सोच नियन्त्रण गर्छौं, कहिले त्यसको अगाडि त्वम् शरणम्। महत्वपूर्ण कुरा के हो भने त्यसबाट हामीले के पाठ पढ्छौं ? त्यस्ता भूल फेरि गर्छौं कि गर्दैनौं ? जति नै प्रयास गरे पनि आशक्तिलाई जितेर प्राप्तिको मोहमा नफस्नेचाहिँ कमै मात्र मानिस हुन्छन् होला।

हरे, बेक्कारमा कुन दशा लागेको बेला बुद्धि बिग्रेर मैले त्यो गाडी चोर्ने निधो गरेछु। मलाई थक्कथक्क लागिरहेको थियो। गल्ती भइसक्यो, के गर्न सकिन्छ र ? तर, त्यो चोरीको गाडी मेरो लागि घाँडो भइरहेको थियो। टोक्नु न बोक्नु भइसकेको थियो। त्यत्रो खतरा उठाएर बल्लबल्ल सबैको आँखा छलेर ल्याएर त्यो गाडीलाई यहाँ लुकाएर राखेको चौबीस घण्टा भइसकेको छ। के फाइदा भयो ? न चलाउन मिल्छ, न बाहिर निकाल्न मिल्छ। अब खुरुक्क लगेर चोरेकै ठाउँमा वा अलि टाढा लगेर छोडेर आउन पनि डर भयो। कि त आज रात परिसकेपछि लैजानु पर्‍यो ठेगान लगाउन। तर त्यसमा पनि त खतरा नभएको कहाँ हो र ? फेरि रात पर्न धेरै घण्टा बाँकी थियो।
आफूलाई एक एक सेकेन्ड पहाडजस्तो लाग्न थालिसकेको छ। कसैले देख्ला त्यो गाडी, भनेर लुकाएको ठाउँमा म त्यसैको गोठालो लागेर बसिरहेको थिएँ। हे भगवान्, चोरी चकारी भनेको बेकारको झन्झट। कसैले थाहा पायो भने के गर्ने होला। यसै पनि हाम्रो समाज, आफन्त र साथीभाइको सबैभन्दा ठूलो गुण नै के हो भने कसैले गरेको हजारौं राम्रा काम पनि एक दुई दिनमा चटक्कै बिर्सन्छन्। तर एक पटक गरेको कुकर्मको फल त तीन-चार पुस्तासम्मले ब्यहोर्नुपर्छ। मैले गाडी चोरेको कसैले थाहा पाए भने जिन्दगीभरका लागि गाडी चोर भनेर निधारमा ठप्पा लाग्छ। मैले अरूका अगाडि कसरी मुख देखाउने होला ?
मलाई सबैभन्दा ठूलो डर मन्टुदीलाई सम्झेर लागिरहेको थियो। मन्टुदीले के भन्नुहोला ? उहाँको आँखामा मेरो के इज्जत रहला ?
०००
थाहा छैन किन, तर राजेशले बोली फुटेको बेलादेखि आफ्नी आमालाई मन्टुदी भन्न थालेको थियो। हुँदाहुँदा उसले आफ्नो बालाई पनि मन्टुदा भन्थ्यो। उसका समकक्षी र उसभन्दा साना सबैले त्यसैको सिको गरेर उहाँहरूलाई मन्टुदा र मन्टुदी नै भन्न थाले। म पनि उहाँलाई त्यही नामले सम्बोधन गर्थें, मन्टुदी।
श्रम त्यति बेला भ्रष्टाचार गरेर कमाएको अकुत सम्पत्ति अनेकौं तिगडम लगाएर लुकाउने नेता, प्रशासक वा मन्त्रीजस्तो भएको थिएँ। गलत तरिकाले प्राप्त गरेको कुनै पनि कुरा ढुक्क भएर उपभोग गर्न कहाँ सकिँदो रहेछ र?
मन्टुदी निकै राम्री हुनुहुन्थ्यो। उहाँको उज्यालो अनुहार सधैं हाँसिरहेको हुन्थ्यो। मन्टुदीको बोली मधुरो र मीठो थियो। उहाँले कसैलाई नराम्रो भनेको, झर्केको वा गाली गरेको मैले कहिल्यै पनि सुनिनँ। म त मन्टुदीलाई देखेर सम्मोहित नै हुन्थेँ। अहिले त मैले उहाँलाई नभेटेको-नदेखेको निकै लामो समय भइसकेको छ। तर मलाई विश्वास छ; उहाँको अनुहार, बोली वचन र मिजास अहिले पनि त्यस्तै नै हुनुपर्छ। आज किन म मन्टुदीको कुरा गरिरहेको छु ?
भनिन्छ, साह्रै केटाकेटी हुने बेलाका कुराहरू स्मृतिबाट मेटिँदै जान्छन्। मान्छेको मगज पनि कुनै कागजको पाना वा कम्प्युटरको हार्ड डिस्कजस्तै हुन्छ। नयाँ कुराहरू लेखिँदै जाँदा पुराना कुराहरू छोपिँदै जान्छन्, लुक्दै जान्छन् र अन्ततः बिलाउँछन्। तर केही कुरा यस्ता हुँदा रहेछन्; तिनलाई जति मेटे पनि, जति कोरे पनि, जति दबाए पनि ती सधैं अस्तित्वमा रहिरहन्छन्। आफूलाई असाध्यै सकारात्मक असर पारेका मानिस र असाध्यै नकारात्मक असर पारेका मानिस अनि तिनीहरूसँग सम्बन्धित घटनाहरू मगजको हार्डडिस्कलाई जति पटक मेटे पनि, हार्ड फम्र्याटै गरे पनि हराउँदैन रहेछन्। सम्झनाको कुनै यस्तो सफ्टवेयर हुँदो रहेछ जसले तिनलाई बेलाबेला फुत्त रिकभर गरेर डेस्कटपमा नै ल्याएर राखिदिँदो रहेछ। मन्टुदी मलाई सकारात्मक प्रभाव पार्ने त्यस्तै एकजना मानिस हुनुहुन्थ्यो। मेरी काकी आमा।
हो, कुराहरू मानिसअनुसार फरक हुन सक्छन्। कसैका लागि महत्वपूर्ण कुरा अरूका लागि गौण हुन सक्छन्। मानिसको भावना, समवेदना र कुनै कुरालाई उसले कसरी ग्रहण गर्छ भन्ने हरेक मानिसपिच्छे फरक हुन्छ।
मेरो मगजमा मन्टुदीसँग सम्बन्धित एउटा त्यस्तै कुरा छ। जीवनभर उहाँको त्यो एउटा सानो कुराले मलाई गहिरो प्रभाव छोडेको छ। मेरो सोचाइमा त्यसले ठूलो परिवर्तन ल्याएको छ। मेरो व्यक्तित्व निर्माणमा त्यसले निकै प्रभाव पारेको छ। मन्टुदीलाई त सम्भवतः त्यो कुराको सम्झना नहोला। राम्रो गर्ने, राम्रो बोल्ने र राम्रो सोच्ने मानिसका लागि त्यो त नियमित बानी नै हुन्छ। उनीहरूले कुनै एक मानिसका लागि कुनै एक पटक असल गरेको, भनेको भए पो सम्झिरहून्। तर जसलाई उनीहरूको सकारात्मकताले गुन लगाएको हुन्छ, त्यस मानिसले त आफूमाथि लागेको गुन कहाँ बिर्सन सक्छ र ? भनिन्छ नि; रिन तिर्न सकिन्छ, गुन तिर्न सकिन्न। मन्टुदीले पनि मलाई एक पटक त्यस्तै गुन लगाउनुभएको थियो। त्यो गुन पनि म तिर्न सक्दिनँ।
मन्टुदीको छोरा राजेश र मेरो उमेरमा केही महिनाको मात्र अन्तर थियो। त्यसैले राजेश मेरो मिल्ने बालसखा थियो। पाँच भाइ जिज्यू हजुरबाहरूमा हामी जेठापट्टिका खलक थियौं, राजेशहरू कान्छा पट्टिका। ठूलो पुरानो पुख्र्याैली घरलाई दुई भाग लगाएको मात्र हो, नत्र राजेशको र हाम्रो घर एउटै थियो। दोस्रो र तेस्रो तलामा अनि माथि भान्छामा बीचमै भएका ढोकाहरूका कारण भित्रैबाट आउजाउ गर्न मिल्ने थियो। पहिले पहिले त त्यो खुलै हुन्थ्यो रे भन्ने हामीले सुनेका थियौं तर हामीले थाहा पाएको बेलादेखि ती ढोकाहरूमा दुवैतिरबाट चुकुल लागेका थिए। त्यसैले एकअर्काकहाँ आउजाउ गर्न तीन तला तल ओर्लेर, बाहिर निस्केर कम्पाउन्डको एक फन्को मार्नुपथ्र्यो।
राजेशमा मन्टुदीका गुणहरू सरेको थियो। त्यसैले ऊ पनि सौम्य र शालीन थियो। मेरा पिता श्रीका सन्तान धेरै थिए। धेरै छोराछोरी भएका बाबुआमाले उनीहरूका लागि कतिपय कुरा मन लागीलागी पनि गर्न सक्दैनन्। त्यसैले मेरो पनि बालहठले मागेका धेरै कुरा उनले पुर्‍याउन नसक्नु स्वाभाविक कुरा थियो। तर राजेश त्यति बेलासम्म आफ्ना बाबुआमाको एक्लो छोरा थियो। त्यसैले परिवार नियोजन फ्लप भएको परिवारका हामी बालकहरूसँग नहुने कुराहरू उससँग हुन्थे। साना ठूला मोटर गाडीहरू, अनेक आवाज निकाल्ने बन्दुक, तीनपांग्रे साइकल, फुटबल, क्रिकेट ब्याट, कमिक्स र पुस्तकहरू उससँग थुप्रै हुन्थे। उसको उमेर मिल्ने दौंतरी भएका कारण उसका ती सबै कुरा मैले पनि प्रयोग गर्ने अवसर पाउने भइहालेँ। तर कलिलै उमेरको बालकले पनि आफ्नो भन्ने अनुभव र कुनै कुराको स्वामित्वको महत्व बुझेको हुँदो रहेछ। त्यसैले उससँग हुने ती सबै कुराहरू मसँग पनि भइदिए कस्तो हुन्थ्यो भन्ने लागिरहन्थ्यो मलाई। बालसुलभ मनले बेलाबेला सोच्थ्यो, ‘बरु म मन्टुदीको छोरा भएको भए हुन्थ्यो नि।’
हामी त्यति बेला धेरै भए पाँच छ वर्षका थियौं होला। एक दिन म मन्टुदीको घरमै बसेर राजेशसँग खेलिरहेको थिएँ। कोठामा हामी मात्रै थियौं। मन्टुदी हुनुहुन्नथ्यो। हामी राजेशलाई उहाँले केही दिनअघि मात्रै ल्याइदिनुभएको एउटा सानो गाडी खेल्दै थियौं। त्यो ‘बिटल बग’ भनिने कीरोजस्तै आकारको थियो जसलाई नेपालीमा सुनपंखी कीरो भनिन्छ। त्यो सानो रातो गाडीको ढाडमा साँच्चै कीराको जस्तो कालाकाला थोप्लाहरू पनि थिए। खुट्टाको साटो मात्र सानासाना पांग्राहरू थिए। दुईचार पटक पछाडितिर तानेर छोडिदिएपछि त्यो खुर्र निकै परसम्म पुग्थ्यो। हामी रमाई रमाई त्यसलाई कहिले टेबुलमाथि, कहिले भुइँमा कुदाइरहेका थियौं। कहिले गति बढी भएर त्यो टेबुलबाट ह्वात्तै तल हाम्फाल्थ्यो भने भुइँमा कुदाएको बेला कहिले बेतोडले भित्तामा गएर ठोकिन्थ्यो। त्यस्तो बेला हामी ‘एक्सिडेन्ट...’ भनेर कराउँथ्यौं। त्यो काल्थोप्ले गाडी मलाई खुबै राम्रो लागिरहेको थियो। केही बेरपछि राजेश अरू खेलौनासँग खेल्न थाल्यो। तर मेरो मन भने त्यसैले मात्र तानिरहेको थियो। त्यस दिन मलाई त्यो मेरो नै भइदिए हुन्थ्यो भन्ने लागिरहेको थियो। घर जाने बेलासम्म त्यो चाहना कति तीव्र भइसकेको थियो भने मैले दाउ छोपेर राजेशको आँखा छलेर त्यसलाई आफ्नो खल्तीमा हाल्न भ्याएँ। मेरो मुटु बेस्मारी ढुकढुक गरिरहेको थियो। मलाई थाहा थियो, चोरी गर्नु हुँदैन। तर, त्यति बेलाको बालसुलभ चाहनाले मलाई जितिसकेको थियो। राजेशको घरको भरेङ ओर्लेर बाहिर निस्केर आफ्नो घर पुगुन्जेलसम्म पनि मलाई कसैले पछाडिबाट मेरो कठालो च्याप्प समात्ला भन्ने डर लागिरहेको थियो।
घर पुगेपछि पनि त्यो चोरीको गाडी कहाँ लुकाउने भन्ने समस्याले मलाई पिरोल्न थाल्यो। परिवार ठूलो भएकाले कसैको आफ्नो बेग्लै कोठा हुने त कुरै थिएन। स्कुलको ब्यागमा लुकाऊँ भने गृहकार्यहरू चेक गर्ने बेला कसैले खोतल्दा पोल खुल्न सक्छ। खल्तीमा नै राखौं भने लुगा धुने बेला फेला पर्न सक्छ। मेरो सानो मगजले केही कामै गरिरहेको थिएन। निकै बेर माथापच्ची गरेपछि मैले त्यो सानो गाडीलाई भरेङमुनिको अँध्यारो भागमा लुकाएँ। त्यहाँ दाउरा राखिन्थ्यो र अरू बेला हत्पति कोही जाँदैनथ्यो।
भोलिपल्ट राजेशसँग भेट्दा पनि म चोर आँखाले उसको भावभंगिमा हेर्दै थिएँ। यति बेलासम्म त उसले आफ्नो गाडी हराएको पक्कै थाहा पाइसकेको हुनुपर्छ। कतै उसलाई ममाथि शंका त भएको छैन ? तर उसको व्यवहार अरू बेलाजस्तै सामान्य नै थियो। उसको अनुहारमा कुनै उदासीको चिह्न पनि थिएन। हुन त उससँग भएका त्यति धेरै खेल्ने कुराहरूका बीच एउटा जाबो सानो गाडी हराएको उसले सायद हेक्का नै गरेको थिएन होला। म अलि निश्चिन्त भएँ। तर पनि मैले गाडीलाई लुकाएको ठाउँबाट निकालेर खेल्ने ह्याउ गर्न सकिनँ। त्यो दाउरा थुपार्ने अँध्यारो कुनामा थन्किएरै बसिरह्यो। मलाई बेक्कारमा कार चोरियो भन्ने लागिसकेको थियो। बरु राजेशसँगै रहेको भए बेलाबेला खेल्न त पाइन्थ्यो।
अहिले सोच्दा मलाई लाग्छ— म त्यति बेला भ्रष्टाचार गरेर कमाएको अकुत सम्पत्ति अनेकौं तिगडम लगाएर लुकाउने नेता, प्रशासक वा मन्त्रीजस्तो भएको थिएँ। गलत तरिकाले प्राप्त गरेको कुनै पनि कुरा ढुक्क भएर उपभोग गर्न कहाँ सकिँदो रहेछ र ? निकै दिन त्यही अन्योल र पश्चात्तापमा बितेपछि मैले अन्ततः त्यसलाई आँटै गरेर लुकाएको ठाउँबाट निकालेँ। अब त कसैलाई त्यसको के सम्झना होला र ? कालथोप्ले कीरो दाउरा गोदामबाट मेरो कट्टुको खल्तीमा स्थानान्तरण भयो।
संयोगवश त्यही दिन साँझपख मन्टुदी हाम्रो घरमा आउनुभएको थियो। राजेश पनि सँगै आएको थियो। त्यति बेलासम्म गाडी मेरो खल्तीमा छ भन्ने कुरा मैले बिर्सिसकेको थिएँ। म एउटा चकलेट चुसिरहेको थिएँ। मेरो खल्तीमा तीनचारवटा अरू चकलेट बाँकी थियो। मैले राजेशलाई सोधेँ, ‘चकलेट खान्छौ ? ’
उसले सहमतिसूचक टाउको हल्लायो। मैले खल्तीमा हात हालेर एउटा चकलेट निकालेँ। लौ मार्‍यो। त्यही क्रममा चकलेटसँगै अल्झिएर कालथोप्ले गाडी पनि निस्क्यो र भुइँमा खस्यो। मेरो हंशले ठाउँ छोड्यो। राजेशको आँखा पनि त्यसमा परिहाल्यो। मैले केही प्रतिक्रिया नै व्यक्त गर्न सकिनँ। उसले निहुरिएर टपक्क त्यो गाडी टिप्यो र ओल्टाइपल्टाइ गरेर हेर्न थाल्यो। म मूर्तिजसरी ठिंग उभिइरहेँ। राजेशले भन्यो, ‘मन्टुदी, हेर्नु त मेरो हराएको गाडी। यसले पो चोरेको रहेछ।’
मेरो ओठ र तालु सुक्यो। मलाई शरम, ग्लानि र डरले आफ्ना गोडाहरू जमिनमै भास्सिएजस्तो भइसकेको थियो। मन्टुदीले पुलुक्क एक पटक हामी दुवैलाई हेर्नुभो। मलाई लाग्यो, अब मैले गाली खाने भएँ। म आँखा निहुराएर खुट्टाको बूढी औंलाले भुइँको टाट कोट्याउन थालेँ। अलि बेर कसैले केही नभनेपछि मैले पुलुक्क चोर आँखाले मन्टुदीलाई हेरेँ। तर अचम्मको कुरो त के भने मन्टुदीको आँखामा मैले कुनै क्रोध देखिनँ। उहाँ त सँधैझैं मायालु र सहानुभूतिपूर्ण आँखाले मलाई हेरिरहनुभएको थियो। राजेशले फेरि गुहार गर्‍यो, ‘हेर्नु न मेरो गाडी।’
मन्टुदीले राजेशलाई भन्नुभयो, ‘हैट्, बाबु के भनेको त्यस्तो ? यस्तो गाडी एउटा मात्रै हुन्छ र ? बनाउनेहरूले थुप्रै बनाएका हुन्छन्। जसरी हामीले तिमीलाई किनेर ल्याइदियौं, त्यसैगरी उसलाई पनि ल्याइदिएको हुन सक्दैन र ? त्यस्तो नराम्रो वचन गर्नुहुन्न आफ्नो साथीलाई। उसको गाडी फिर्ता देऊ र सरी भन।’
राजेशले एक छिनसम्म आफ्नो गाडीलाई मायालु पाराले हेरिरह्यो। अनि खुरुक्क त्यो मलाई फिर्ता दियो र मुसुक्क हाँसेर भन्यो, ‘सरी।’
म केही बोल्न सकिनँ। मन्टुदी गएको निकै समयसम्म पनि म सोचिरहेँ— ओहो ! मैले कस्तो नकाम गरेको रहेछु ? मन्टुदीको साटो अरू कोही भएको भए के हुन्थ्यो होला ? मलाई गाली गरेको भए ? चोर दोष लगाइदिएको भए ? अरू सबै नातागोता र समकक्षी साथीहरूको बीचमा मेरो छवि के हुन्थ्यो होला ? केटाकेटीहरू त यस्ता कुरामा झनै उग्र हुन्छन्। कति पछिसम्म मलाई गाडीचोर भनेर हियाउँथे होला ?
तर मलाई मन्टुदीले ती सबै कुराबाट बचाइदिनुभयो। एकातिर मैले सन्तोकको लामो सास फेरेँ भने अर्कोतिर त्यो गाडी चोरेर ल्याएको बेलादेखिको तनाव, पछुतो र फेला पर्ने डरको सही अनुभूति भयो। जाने बेला पनि मन्टुदीले केही नबोली मायालु आँखाले मलाई हेर्नुभएको थियो।
म तपाईंका ती आँखा अहिले पनि स्पष्टसँग सम्झिन सक्छु मन्टुदी।
उहाँको अनुहार सधैंजस्तै शालीन थियो, मुस्काइरहेको थियो। मन्टुदीको त्यो मुस्कान र आँखाको भावले मलाई ठूलो पाठ दियो जसको खास अर्थ मैले निकै पछि बुझेँ। जे कुरा आफ्नो होइन, त्यसलाई गलत तरिकाले प्राप्त गर्नुहुन्न भन्ने कुरा उहाँले कति सकारात्मक ढंगले मलाई त्यही बेला सिकाइदिनुभएको थियो। मन्टुदीले मेरो सोच र व्यवहारलाई पछिसम्मका लागि सही दिशा देखाइदिनुभएको थियो। कति मानिसमा त्यो सकारात्मकता हुन्छ ? मन्टुदीको त्यस दिनको संवेदनशील व्यवहार र सोचले अप्रत्यक्ष रूपमा मलाई केही हदसम्म भए पनि असल मानिस बनेर हुर्कन सघाइदिएको थियो।
समाज, परिवार र हाम्रो जीवनशैली हिजोआज अर्कै भएको छ। जीवनको भागदौड र बाँच्नका लागि गरिने संघर्षले हिजोआज हामी सबैलाई यन्त्रमानव बनाइदिएको छ। एउटै घरमा बस्नेका परिवारहरू चोइटिइएर छरिइसकेका छन्। पहिले सधैं भेटिनेहरू यदाकदा भेटिने भइसकेका छन्। यो सामाजिक परिवर्तनको दौडमा मैले पनि मन्टुदीलाई नदेखेको र नभेटेको निकै वर्ष भइसकेको छ। मलाई थाहा छैन, उहाँसँग मेरो भेट कहिले होला अथवा नहोला ! तर हरेक पटक त्यो घटना सम्झँदा म मनमनै भन्छु— थ्यांक यु मन्टुदी।

प्रतिक्रिया:

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment