Tuesday, June 18, 2019

एच् पी सरको ठूलो गाडी

एच् पी सरलाई आजकल तनाव छ । भनेको ठाउँमा जानै सक्दैनन् । के गर्नू काठमाण्डौंका बाटाघाटा नै साँघुरा छन् । अनि उनको गाडी ठूलो र महँगो छ । जहाँ पायो त्यहीं छिर्दा पनि छिर्दैन । फेरि यो सहरमा भनेको ठाउँमा पार्किंग छैन । त्यसैले आजकल यतायति हिंडडुल गर्न पर्दा उनको नौनाडी नै फक्रक्कै गल्छ । पहिलेपहिले उनी आधाघण्टामा पुग्ने ठाउँहरु डेढ–दुई घण्टामा पनि पुग्न गाह्रो हुन्छ ।  कहीं कुनै आफन्त अथवा इष्टमित्रले बिहे–बर्तमन वा कुनै अरु पारीवारिक अवसरमा बोलाए भने त पहिले नै एच् पी सरको आङ्ग भारी भएजस्तो हुन थाल्छ । त्यसैले आजकल उनले बहानाहरु बनाएर सकेसम्म कतै जानै छोडिसके । त्यसले गर्दा उनको सामाजिक जीवन बिस्तारै अर्कै हुन थालेको छ । आठदश वर्ष अघि बानेश्वरको छक्कुबक्कुमा चिया र चुरोट खाएर घण्टौं बिताउने उनका साथीहरुसंग आजकल वर्षमा एक दिन पनि भेट हुँदैन । लक्ष्मी दिदीको होटेलमा मासु चिउरा खाँदै त्यहाँ आउने काँग्रेसीहरुको राजनीतिक टीकाटिप्पणी सुन्न नपाएको पनि धेरै भयो । वसन्तपुर र झोंछेका धागोजस्ता गल्लीहरुमा लोकल अयलासंग छ्वेला नटोकेको पनि धेरै भयो । नाम सुनेकै भरमा टोलटोलका भ्यारभ्यारे ममचा चपाउन आजकल उनी कुद्न सक्दैनन् । कुमारीगल्लीको ममचा पसल त्यहीं छ होला ? के अहिले पनि मानिसहरु कुन बेला त्यो ठूलो भाँडो छोपेको ढकनी खुल्ला भनेर घिच्रो तानीतानी हेरिरहेका हुन्छन् होला ? ममचा पाकेर साहुजीले आफूभन्दा अगाडिकाहरुलाई दिन थालेपछि यही ‘लटमा’ भ्याउला कि नभ्याउला भन्दै घट्दै गएका डल्लाहरु गन्दै पालोमा आफ्नो क्रमकोे मनमनै हिसाब गर्नुको पनि आफ्नै रमाइलो हुन्थ्यो । बेलाबेला आफ्नो पालो आउनै लाग्दा अघिल्लो कसैले चार वा पाँच प्लेट लगेर आफ्नो अनुमान गलत हुँदा त्यो नचिनेको मान्छेसंग त्यसैत्यसै रिस उठ्थ्यो । कहिलेकहीं आफ्नो पालो आउने बेला भाँडोमा तीनचारवटामात्र डल्ला बाँकी भइदिंदाको त झन् के कुरा गर्नु । नयाँ काँचा डल्लाहरु भरिन्थे, भाँडो फेरि छोपिन्थ्यो । अनि त्यसपछिको पन्ध्र बीस मिनेटको प्रतीक्षा पनि हेलीको पुच्छ्रेताराको जस्तो लामो लाग्थ्यो । त्यसैगरी हिसाब गर्दै कुरेर बस्ने मानिसहरु अहिले पनि त हुन्छन् होला । तर, आजकल एच् पी सर त्यहाँ जान सक्दैनन् ।
यो सहर हेर्दाहेर्दै कसरी खुम्चिंदै गयो ? अनि खुम्चिएको सहरले ठाउँ र मानिसहरुलाई भने कसरी टाढा बनाउँदै गयो ?
ààà


आजका एच् पी सर पहिले हरिप्रसाद वाग्ले थिए । उनी झण्डै तीस वर्ष पहिले काठमाण्डौ आएका थिए । आइ एस सी पढ्न । फिजिक्स र केमिस्ट्री दुबै उनलाई सजिलो र रमाइलो लाग्ने विषयहरु थिए । उनी सहरको अँध्यारो गल्लीको घामै नआउने कोठामा डेरा गरेर बस्थे । त्यहीं वरपर नै उनको संसार थियो, साथीभाइहरु थिए । दुःखजिलो गर्दै उनले बी एस सी पास गरे र नजीकैको कुनै एउटा प्राइभेट ‘बोर्डिङ’ स्कूलमा उनले साइन्स टिचरको जागीर खाए । आफ्नो विषय जति सजिलोसंग उनी बुझ्दथे, त्यति नै सजिलोसंग बुझाउन पनि सक्थे । त्यसैले उनी विद्यार्थीहरु बीच लोकप्रिय हुनु अनौठो कुरो थिएन । त्यो बेला उनको जीवन सरल र सहज थियो । समय पनि निस्कन्थ्यो । साथीहरुसंग चियापसलमा घण्टौं बित्ने दिन तिनै थिए ।

हरि सरले पढ्ने र पढाउने जागीर दुबै कायम राख्दै एम एससी पास गरे । त्यतिबेलासम्म राम्रो पढाउने शिक्षकको रुपमा उनको कीर्ति आफ्नो क्षेत्रमा बिस्तारै फैलिसकेको थियो । एक दिन उनले एउटा पत्रिकामा विज्ञापन देखे । कुनै एउटा अलि ठूलै र नाम चलेका बिद्यालयले विज्ञान शिक्षक मागेको थियो । आकर्षक तलब र सुविधा भन्ने शव्दहरुले उनलाई आकर्षित ग¥यो । उनले एउटा इमेल पठाइदिए । त्यसको केही दिनमै विद्यालयबाट उनलाई फोन आयो । कुरो मिल्यो र उनी नयाँ विद्यालयमा पढाउन थाले । उनको तलब त्यतिबेला उनले खाइरहेकोभन्दा निकै धेरै थियो । विद्यालयले नै आफ्नै कम्पाउण्डमा भएको क्वार्टर पनि दिएको थियो । एउटा कोठा, ट्वाइलेट बाथरुम र सानो भान्छा भएको क्वार्टरमा सरेपछि उनले चीसा छिंडीहरुलाई फर्केर हेर्नु परेन । त्यो विद्यालय सहरभन्दा अलि टाढा डाँडाको फेदमा थियो । बडो रमाइलो । त्यही रमाइलोमा उनलाई हेक्कै भएन, विद्यालयसंगै उनी पाख्रिन सर, शर्मा सर, मोक्तान सर र शाक्य सरजस्ता आफ्ना पुराना साथीभाइहरुबाट टाढा हुँदै गएका थिए । हरि सर महीनामा एकपटक पनि उनीहरुसंग भेट्न पाउँदैनथे । त्यो अन्तराल बिस्तारै बढ्दै तीन र पाँच महीना हुँदै कहिले वर्षमा पुग्यो भन्ने पनि थाहै भएन ।

साथीभाइहरुको घेरा भनेको पनि समय र परिस्थिति अनुसार फेरिंदै जाँदो रहेछ । हरि सरका नयाँनयाँ साथीहरु बने । उनको नयाँ जीवनशैली कोरिन थाल्यो । दुब्ला–पातला हरि सर अलि मोटाउन थाले । तलब पनि कुस्त, भाडा पनि बचेको हुनाले अब बैंकको उनको मरञ्च्याँसे खाता पनि उनीसंंगै बिस्तारै मोटाउन थालेको थियो । विद्यालयमा शनिवार र आइतबार बिदा हुन्थ्यो । त्यो समय खर्च गर्ने पनि नयाँ बाटाहरु खुल्न थाले । हिसाब पढाउने कर्ण सरले एक दिन एउटा कुरा ल्याए,
“एकजनालाई शनिवार र आइतबार ट्यूसन पढाइदिने हो हरि सर ? खालि समयमा अलिअलि आम्दानी हुन्छ ।”
हरिसरले ट्यूसन पढाउन थाले । उनले राम्रो पढाउँछन् भन्ने एक कान दुई कान हुँदै गयो । अरु अभिभावकहरु पनि आफ्ना लद्दू छोराछोरीलाई पढाइदिन कुरा गर्न थाले । हरि सर अब दुई दिनमा पाँचदेखि सात ठाउँमा ट्यूसन पढाउन थाले । आम्दानी बढ्यो । यताउति कुद्न भ्याइ नभ्याइ हुन थालेपछि उनले एउटा भटभटे किने । भटभटेसंगै ट्यूसनको संख्या बढेर बाह्र पुग्यो । सरस्वती र लक्ष्मी संगैसंगै बस्दैनन् भन्ने भनाइ सुन्दा हरि सर मनमनै हाँस्न थाले ।

एक दिन कर्ण सर फेरि एउटा गज्जबको आइडिया लिएर आए,  “हरि सर, समुन्द्र आफ्नै अगाडि छ । तर हामी लोटाले पानी उभाइरहेका छौं बुझ्नुभो ?”
हरि सरले अचम्म मान्दै भने, “के भन्न खोज्नुभएको कर्ण सर ?”
कर्ण सरले अथ्र्याए, “यसरी घरघर गएर ट्यूसन पढाउँदा हामीले हुनसक्ने जति कमाइ गर्न सकिरहेका छैनौं । माल बनाउने भनेको मौकामै हो । तपाईँ र मिलेर कतै पायक पर्ने ठाउँमा एउटा ट्यूसन सेन्टर खोलौं बुझ्नुभो ? त्यसो भए हाम्रो दौडधूप पनि कम हुन्छ । एउटै क्लासमा दर्जनौं विद्यार्थी पढाउन सकिन्छ । कमाइ त ह्वात्तै बढ्छ हरि सर ।”

हरि सरको मनले त्यो कुरा खायो । दुई भाइ ट्यूसन सेन्टर खोल्न मिल्ने घरको खोजीमा लागे । नभन्दै अर्को महीना उनीहरुले पुतलीसडकमा एउटा तीनकोठे ट्यूसन सेन्टर खोले ।
“नाम चाहिँ अलि प्रभावशाली राख्नुपर्छ हरि सर,” हाँस्दै कर्ण सरले भने, “अक्सफोर्ड, क्याम्ब्रिज अथवा त्यस्तै कुनै भारी सुनिने ।”

निकै माथापच्ची गरेर दुबै ‘मिड–टाउन इन्स्टिट्यूट अफ स्टडिज’ नाममा सहमत भए । छोटकरीमा पनि ‘एम आइ टि ओ एस– मिटोस’ घच्चीको सुनिन्थ्यो । केही हप्तामै शनिवार र आइतबार त्यहाँ मेला लाग्न थाल्यो । दुबै शिक्षकले स्कूलको झिंगे जागीर छोडे । त्यो तलब अब उनीहरुलाई आँखा लाग्न छोडिसकेको थियो । मिटोस आइतबार देखि शुक्रबारसम्मै खुल्न थाल्यो । बिस्तारै बिस्तारै सेन्टर जूका जसरी मोटाउन थाल्यो । हेर्दाहेर्दै तीनकोठाबाट चार, पाँच, पूरै फ्ल्याट र दुई तल्ला हुँदै अन्ततः सम्पूर्ण भवन नै ट्यूसन सेन्टरले खायो । माथिल्लो तल्लामा निकै परबाट देखिने गरी उनीहरुले मिटोसको ठूलो संकेतपातो पनि राखे । अब रिसेप्सनमा एउटी आकर्षक युवतीले मुस्कानका साथ आगन्तुकहरुको स्वागत गर्थिन् । उनीहरुले बिस्तारै अरु शिक्षकहरुलाई जागीर दिन थाले । विज्ञान र हिसाबमात्र नभइ त्यहाँ नेपाली, कमर्स, ब्रिज कोर्स, टोफल, आइइएलटिएस, शाखा अधिकृत, नासु, सुब्बा, खरदार लगायतका सबै थरि पढाइ हुन थाल्यो । कक्षा जति थपे पनि विद्यार्थीहरुको चाप थेग्न कठीन हुन्थ्यो । कन्सल्टेन्सीको काम पनि शुरु भयो । आजकल त त्यहाँ कोरियन र इजरायली भाषा पनि पढाइन्छ ।

हरि सरको कायापलट हुन समय लागेन ।

आजकल उनी एच् पी सर भनेर चिनिन्छन् । उनको अफीसको चिल्लो टेबलमा भएको ल्यापटपको प्रारम्भिक अक्षर पनि त्यही छ, एच् पी । एच् पी सरले बालुवाटारमा घर किनेका छन् । कम्पाउण्ड ठूलो छ, तीनवटा कुकुर पालेका छन् । उनी दुई करोडको हाराहारीको गाडी चढ्छन् । त्यो गाडी जति ठूलो छ, काठमाण्डौका बाटाघाटा त्यति नै साँघुरा छन् । कतै आउजाउ गर्नुपर्दा हजार पटक सोच्नु पर्छ । गाडी नछिर्ने ठाउँमा उनी जानै सक्दैनन् । केही समय अघि उनका पुराना साथीहरुमध्येका एक भेट भएका थिए । पाख्रिन सर । उनी त अचेल पनि बुद्धनगर भित्र पुरानै ठाउँमा बस्दा रहेछन् । एच् पी सर बिजुलीबजार नजिकै बस्दा उनीहरु दुबै खूब मिल्थे । छक्कुबक्कुमा चिया खाने बेलाका दिनहरु सम्झेर पाख्रिन सरले साह्रै गुनासो गरे । उनले निकै कर गरेपछि नाइँ भन्न नसकेर हरिसरले मन नलागीनलागी शनिवारको दिन पाख्रिन सरको कोठामा जान स्वीकृति जनाए । हुन त आजकल हरिसरलाई अनुत्पादक दुई घण्टा खर्च गर्दा निकै घाटा लाग्ने गर्छ । उनको समय पहिलेजस्तो सस्तो छैन भन्ने कुरा पाख्रिन सरले के बुझ्दथे र । एच् पी सरलाई त्यता जाँदै गर्दा सम्झना भयो, पाख्रिन सरको डेराको छेउमा एउटा मुद्दा परेको खुला जग्गा थियो । त्यहाँ टोलभरिका केटाकेटीहरु भेला भएर सेभेन स्टोन, फुटबल आदि खेल्ने गर्थे । त्यो जग्गा अहिले पनि खाली नै रहेछ । मुद्दा अझै मिलेको थिएन होला ।

आफ्नो महँगो गाडी त्यही खाली जग्गाको छेउमा रोक्दा उनले देखे, त्यहाँ आजकल पनि केटाकेटीहरु खेल्दा रहेछन् । हरिसरलाई उनीहरु त्यसरी प्रसन्न भएर खेलेको हेर्दा रमाइलो लाग्थ्यो । निकै बेर उनी तिनीहरुलाई हेर्थे । हरि सर कहिलेकहीं आफै केटाकेटी भएर तिनीहरुसंग खेलिपनि दिन्थे । तर यसपटक उनलाई ती केटाकेटीहरुसंग रिस उठ्यो । के अहिलेको जमानामा पनि टिभी इन्टरनेट वा ट्याबसंग नरमाएर धूलोमा खेल्न आएका होलान् ? तिनले हिर्काएको बलले उनको गाडीमा डेन्ट बनायो भने के गर्नू । उनलाई आफ्नो गाडी त्यहाँ राखेर साथीको घरसम्म जानै मन लागेन । तर एच् पी सर फनक्क गाडी घुमाएर फर्के ।

त्यसैले त भनेको नि, एच् पी सरलाई आजकल तनाव छ । भनेको ठाउँमा जानै सक्दैनन् । के गर्नू काठमाण्डौंका बाटाघाटा साँघुरा छन् । उनको गाडी ठूलो र महँगो छ । कसैलाई भेट्नुपर्दा पहिले गाडी सजिलै जाने र सुरक्षित पार्किंग भएको नभएको निधो नगरी समय पक्का गर्न पनि सक्दैनन् । त्यसैले एच् पी सरको भेटघाटहरु धेरैजसो याक एण्ड यति वा अन्नपूर्ण कफी शपमा हुने गर्दछन् । हरि सरका चिया पसलका साथीहरु त्यहाँ भेला हुन सक्दैनन् । उनको पुरानो संसार र साथीहरु फेरिएका छन् । यो व्यस्तता र उकासिएको हैसियतलाई कायम राख्ने क्रममा एच् पी सरले एउटा कुरा चाहिँ सोच्ने पनि फुर्सद पाएका छैनन् ।

काठमाण्डौं खुम्चिएको हो कि एच् पी सर फराकिला भएका हुन् ?

प्रतिक्रिया:

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment