Tuesday, August 6, 2019

यौनको बारेमा धेरै लेख्नुहुन्न

टोनी मोरिसन
(फेब्रुअरी १८, १९३१ मा अमेरिकाको ओहायो राज्यमा जन्मेकी उनको खास नाम त कोल अर्डेलिया वूफर्ड हो । तर विश्व साहित्यले उनलाई टोनी मोरिसन भनेर चिन्छ । विस्तृत कथावस्तु, सजीव सम्वाद र सूक्ष्मतम व्याख्या भएका चरित्रहरुका कारण उनका उपन्यासहरु आफ्नै विशिष्ट पहिचान बनाउन सफल छन् । तसर्थ लोकप्रियता र समीक्षात्मक प्रशंसा दुबै बटुल्न सफल विश्वका थोरै लेखकहरुको पंक्तिमा उनको नाम पनि समाविष्ट छ । ‘द ब्लूएष्ट आइ’, ‘सुला’, ‘सङ्ग अफ सलोमन’ र ‘बिलोभेड’ उनका चर्चित कृतिहरु हुन् । ती मध्ये ‘बिलोभेड’का लागि उनलाई सन् १९८७ मा पुलिट्जर र सन् १९९३ मा नोवल पुरस्कार प्रदान गरिएको थियो । अश्वेत महिला लेखक भनेर कसैले गुथाइदिएको पदवीलाई आत्मसात गरे पनि टोनी मोरिसनलाई उनको लेखाइ काव्यात्मक हुन्छ भनेको चाहिँ मन पर्दैन । किनभने त्यसो भन्दा आफ्नो लेखाइको प्रभाव र अर्थमाथि अन्याय हुन्छ भन्ने उनको मान्यता छ । फरक वर्ण र लिंगका मानिसहरुका बीचको सम्बन्ध अनि भौतिकता र प्रकृति बीचको अन्तद्र्वन्दलाई मिथक र परिकल्पनाको साथमा मिसाएर गहिरो राजनैतिक चेतनाको साथ पस्कन सक्नु उनको विशेषता मानिन्छ । उनको एउटा अन्तर्वार्ताको आधारमा तयार पारिएको यस सारसंक्षेपले पाठकहरुलाई उनका बारे थप जान्न सघाउ पुग्ने छ भन्ने विश्वास छ ।)

म बिहान उज्यालो हुनु अघि लेख्ने गर्छु । मलाई यो बानी एउटा वाध्यताले लगाएको हो । मैले लेखन सुरु गर्ने बेला मेरा केटाकेटीहरु सानासाना थिए । त्यसमाथि म एउटा पाठ्य पुस्तक प्रकाशन संग सम्बन्धित संस्थामा सम्पादनको काम गर्थें । त्यसैले केटाकेटीहरु उठ्नु अघि मैले लेख्नु पथ्र्यो । जागीर, लेखन र उनीहरुको स्याहार गर्ने क्रममा म कति व्यस्त रहन्थें भने मलाई खाना खाने पनि हेक्का हुँदैनथ्यो । दुइ दशक पछि त्यो जागीर छोडेर जब म केही वर्ष घरै बसें, अनि मात्र मलाई आफ्नै बारेमा पनि धेरै नयाँ कुराहरु थाहा हुन थाले । त्यो सन् १९८३ को कुरा हो जतिबेला म मेरो उपन्यास ‘बिलोभेड’ लेख्दै थिएँ । मैले त्यतिबेला आफूलाई बढी आत्मविश्वासी र स्पष्ट भएको अनुभूति गरें । मेरो पुरानो बानीका कारण म लेखनका लागि बिहान नै आफूलाई बढी सक्षम अनुभव गर्थें । रात परेपछि मेरो सिर्जनाशीलता कम हुन्थ्यो । लेख्नका लागि अधिकांश लेखकहरुको कुनै खास बानी वा आवश्यकता हुन्छ भनिन्छ । मलाई मेरो त्यस्तो बानी छैन भन्ने लाग्थ्यो तर म सँधै बिहान उठेपछि एक कप कालो कफी बनाउँथे र बिस्तारै उज्यालो भएको हेर्थें । पछि मलाई लाग्यो यही मेरो बानी हुनुपर्छ । लेख्ने मान्छेलाई कुन र कस्तो अवस्थामा आफू सबैभन्दा बढी सिर्जनाशील हुन्छु भन्ने कुरा थाहा हुनुपर्छ । आफ्नो कल्पनालाई शव्दमा उतार्नका लागि आफूलाई के आवश्यक हुन्छ भन्ने पनि आफूले बुझ्नुपर्छ ।
अहिले आएर नौ दिनसम्म घरबाट ननिस्की, अरु कुनै कामहरुको चपेटा मगजमा नराखी लेख्न पाउनु भनेको मेरा लागि नितान्त नौलो अनुभव हो । लामो समयसम्म नौ देखि पाँचको जागीर खाएको हुनाले म अझै पनि एकतमाससंग लेखिरहन सक्दिनं । अझै पनि यो बीचको समयमा लेखें भने मलाई हतार लाग्छ । म अझै पनि झिसमिसे बिहानमा वा सप्ताहान्तमा बढी लेख्ने गर्छु । अचानक कुनै कुरा फुरेको अवस्थामा भने म जहाँ जहिले पनि खेस्रा लेख्ने गर्छु । कागजको टुक्राटाक्रीमा, होटलको मसलन्दमा वा सवारी साधनमा यात्रा गर्दागर्दै पनि मैले त्यस्ता टिपोटहरु लेख्ने गरेकी छु । एकताका मैले आफ्नो गाडीमा टेप रेकर्डर बोकेर हिंड्न थालेकी थिएँ । केही कुरा फुरिहाल्यो भने त्यसमा भरेर राख्छु भनेर मैले गरेको त्यो प्रयोग नराम्ररी असफल भयो । किनभने पछि त्यो रेकर्डिंग सुन्दा मैले थाहा पाएँ, आफ्नो हातले नलेखेको कुरामाथि म आफै नै आश्वस्त हुन नसक्ने पो रहेछु । त्यसैले म आफ्नो प्रारम्भिक खाका अझै पनि सीसाकलमले नै लेख्छु । अनि त्यसपछि मात्र म त्यसलाई कम्प्यूटरमा टाइप गरेर परिमार्जन र संशोधन गर्छु । मलाई आफ्नो कृति छापिएर नआउन्जेल त्यसलाई आवाज निकालेर पढ्न पनि मन लाग्दैन ।
मलाई मान्छेहरु बारम्बार एउटा राम्रो लेखकले आफ्नो कुनै पनि लेखलाई कतिपटक सम्म परिमार्जन वा संशोधन गर्नृुपर्छ भन्ने प्रश्न गर्छन् । मेरो व्यक्तिगत कुरा गर्ने हो भने म त सकुन्जेल त्यसलाई सुधार्ने प्रयास गर्छु । यस क्रममा भन्नु पर्दा मैले आफ्ना उपन्यासहरुलाई ६ देखि १३ पटक सम्म पनि पुनर्लेखन गरेकी छु । तर परिमार्जन गर्नु भनेको र अलमलिनु भनेको दुइवटा फरक कुरा हो । पटकपटक लेख्दा पनि तालमेल जमेन र आफै अलमलिन थालियो भने त्यस्ता लेखलाई च्यातेर फ्याल्नु नै वेश हुन्छ । त्यति हुँदाहुँदै पनि मलाई अहिले आएर आफ्ना कतिपय प्रकाशित कृतिहरु पढ्दा त्यसलाई अझै सुधार्न सकिने रहेछ भन्ने भान हुन्छ ।
पहिलो खाका लेख्नु र लेखिसेकेको सामाग्रीलाई परिमार्जन वा पुनर्लेखन गर्नुमा कुनले बढी आत्मसन्तुष्टि प्रदान गर्छ भन्ने पनि मानिसहरुमा अर्को एउटा नियमित जिज्ञासा हुने गर्दछ । मेरो व्यक्तिगत विचारमा भन्ने हो भने त यी दुवै फरक कुराहरु हुन् जस्तो मलाई लाग्छ । मलाई भने कुनै पनि विचार वा कथानकको परिकल्पना गर्नु नै सबैभन्दा बढी उत्साहजनक लाग्छ । अरुलाई त कसरी फुर्छ म भन्न सक्दिनं तर मलाई भने बिजुली चम्के जस्तो गरी कुनै कुरा पनि फुर्दैन । म त अक्सर कुनै सानो विचारबाट नै पनि मन्थन सुरु गर्छु । त्यो विचार रोचक नै हुन्छ भन्ने केही छैन । त्यो कहिलेकहीं त एकदमै पट्यारलाग्दो पनि हुन सक्छ । तर म त्यसलाई आफूसंग उत्तर नभएको प्रश्नका रुपमा ग्रहण गरेर त्यसैसंग खेल्न थाल्छु । तीन भागमा ’बिलोभेड‘ लेख्ने बेलामा म आफू भन्दा बीसतीस वर्ष कम उमेरका युवतीहरु किन र के का लागि मेरो उमेरका मान्छेहरु भन्दा बढी प्रसन्न रहन्छन् भन्ने प्रश्नमा निकै घोत्लिएकी थिएँ ।
केटाकेटी छँदा त मलाई म पाठक मात्र हुन्छु भन्ने लाग्थ्यो, लेखक हैन । किनभने म सोच्दथें, लेख्नु पर्ने जति कुराहरु लेखि सकिएका छन्, लेखिने नै छन् । तै पनि मैले पहिलो पुस्तक किन लेखें भने, त्यसमा भएको र मैले पढ्न चाहेको त्यो कुरा पहिले कसैले लेखेको छैन । त्यसैले मैले आफूले पढ््नका लागि त्यो लेखें । मेरो विचारमा आफूले लेखेको कुरा आफूले नै रुचि मानेर पढ्न सक्ने हो भने एउटा लेखकका लागि त्यो भन्दा ठूलो उपलव्धि र प्रशंसा अरु केही पनि हुन सक्दैन । तसर्थ म आफ्नो लागि लेख्छु । कुनै पनि लेखकले यसो भन्दा मानिसहरुले त्यसलाई उसको दम्भ वा आत्मरति भन्ने आरोप लगाउने गर्छन् । तर सत्य कुरा त्यही हो । त्यसैले म पाठकको बारेमा सोचेर लेख्न बस्दिनं । मैले सही वा गलत लेख्नुको जिम्मेवारी मेरो आफ्नै मात्रै हुनुपर्छ । कतिपय बेला वर्ष दिन अघि मलाई सही लागेर लेखेका कुराहरु वर्ष दिन पछि आफै पढ्दा गलत लागेर मैले फ्यालेकी पनि छु । यस्तो बेला आफूलाई केही पनि थाहा रहेनछ कि क्या हो भन्ने डरलाग्दो विचार पनि मनमा आउँछ । नढाँटी भन्ने हो भने मेरो तेस्रो पुस्तक सङ्ग अफ सलोमन लेख्ने बेलामा आएर मात्र मलाई लेखन मेरो जीवनको प्राथमिकता हुन सक्छ भन्ने भान भएको थियो । त्यस अघि एउटी महिला भएका कारण र अझ मेरो वर्णका कारण मलाई म लेखक हूँ भन्ने सक्ने आत्मविश्वास नै पलाएको थिएन ।
सन् १९६८ ताका द ब्लुएष्ट आइ भन्ने मेरो पुस्तक प्रकाशित हुँदा म त्यही पाठ्यपुस्तक प्रकाशन गृहमा जागीरे नै थिएँ तर उनीहरुलाई त्यसका बारे केही थाहा थिएन । उनीहरुले त न्यू योर्क टाइम्समा त्यसको समीक्षा पढेर मात्र थाहा पाएका थिए । त्यतिबेला पाठकहरुले अरु थुप्रै अश्वेत लेखकहरुमा पनि रुचि देखाउन थालेका थिए । त्यसैले प्रकाशकले मेरो पुस्तक छाप्ने साहस गरेको हुनुपर्छ । त्यतिबेला त्यो पुस्तक पटक्कै बिकेन । मलाई खासै पारिश्रमिक पनि दिइएको थिएन त्यसैले त्यो बिक्नु र नबिक्नुले प्रकाशकलाई खासै असर गरेन । न्यू योर्क टाइम्सको प्रारम्भिक समीक्षा पनि एकदमै नराम्रो थियो । तर पछि बिस्तारै मलाई त्यसका बारेमा सकारात्मक प्रतिकृयाहरु प्राप्त हुन थाले । मैले त्यस उपन्यासमा मेरी आमाको हाउभाउ र बोल्ने शैलीका केही झलकहरु प्रयोग गरेकी छु । अलिकति भौगोलिक वास्तविकता पनि प्रयोग भएका छन् । मलाई थाहा छ, नितान्त काल्पनिक र पहिले कहीं कतै नभएको कुरा सिर्जना गर्न सकिंदैन । त्यसैले अरु सबैका जस्तै मेरो लेखाइ पनि आफ्नो धारणा, आग्रह र पूर्वाग्रहबाट अछुतो रहन सकेको छैन भन्ने मलाई थाहा छ । तर त्यसपछि मैले कहिले पनि आफूले चिनेका मान्छेहरुलाई आफ्ना पात्रहरुका रुपमा उभ्याइँनं । यस कुरामा म अहिले पनि निकै सचेत छु किनभने अरु थुप्रैै लेखकहरुले गरेका प्रयोगहरु म गर्न चाहन्नं । अरुका वास्तविकतालाई खोतलेर आफ्नो कथानकमा प्रयोग गर्नु मलाई सैद्धान्तिक र नैतिक रुपमा सही लाग्दैन । म आफ्ना काल्पनिक पात्रहरुलाई आफ्नो पूर्ण नियन्त्रणमा राख्न रचाउने लेखक भएकोले पनि त्यसो भएको हुनसक्छ । वास्तविकतामा आधारित कथ्य र पात्रहरु बेलाबेला लेखकको नियन्त्रणबाट फुत्कन्छन् । कतिपय त्यस्ता पात्रहरुले त उल्टै लेखकलाई नै आफ्नो बन्धक पनि बनाएको उदाहरणहरु प्रशस्त मात्रामा पढ्न पाइन्छन् । त्यसो हुँदा ती लेखकमाथि हावी हुन्छन् । म त्यस्तो हुन दिन्नं । त्यसैले पनि म कुनै पनि कुराको जटिलता र सम्वेदनशीलतामा बढी केन्द्रित हुने गर्छु । मलाई के लाग्छ र मेरो मान्यता के हो भन्ने कुरामा मात्र केन्द्रित भएर लेख्ने हो भने त त्यो पुस्तक हुँदैन, कुनै वाद हुन्छ । म आफ्नो पूर्वाग्रह र मान्यताको वकालत गर्न चाहन्नं । मैले भोगेको जीवन र अर्को कुनै मान्छेले भोगेको जीवनमा आकासपातालको भिन्नता हुन सक्छ । मेरै गोरुको बाह्र टक्का भन्ने जिद्दी एउटा लेखकले लियो भने त्यो यसैका लागि घातक हुन्छ भन्ने मलाई लाग्छ । मलाई जे लाग्छ, त्यसको साटो मलाई यस्तो पनि लाग्न सक्छ होला अथवा यो मलाई थाहा छैन तर यो कुराले मेरा लागि र अरुका लागि के अर्थ राख्न सक्छ भन्ने कुरा केलायो भने चाहिँ त्यो सही अर्थमा पुस्तक हुन्छ ।
यौन र यौन सम्बन्धका बारे लेख्नु जहिले पनि कठीन हुन्छ । त्यसैले मलाई लाग्छ, त्यसको बारेमा विस्तारमा लेख्नु हुँदैन । यौन भनेको यस्तो कुरा हो, जसका बारेमा थोरै मात्रै लेखेर पाठकहरुलाई आफ्नै हिसाबले त्यसमा उत्तेजना ल्याउन दिनुपर्छ भन्ने मेरो मान्यता हो । कुनै महिलाको शारीरिक अवयवका वर्णन गर्नका लागि तिनको बारेमा विस्तारमा लेख्न थाल्नासाथ लेखक त लेखक नरहेर स्त्रीरोग विशेषज्ञ जस्तो हुन जान्छ । केही लेखकहरु अपशव्दको प्रचुर प्रयोग गरेर पनि रमाउँछन् । मलाई भने यस्तो लेखनको प्रभाव क्षणिक हुन्छ भन्ने लाग्छ । त्यसै कारण मेरो आफ्नो लेखाइ भने बतैबाट पनि फोहोरी र अश्लील नहोस् भन्ने कुरामा पनि म निकै सचेत रहने गरेकी छु ।

प्रतिक्रिया:

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment