Translate

Tuesday, October 10, 2023

रेडियोदेखि रेशमसम्म

मेघालय, शिलाङ– सन् २००२
शिलाङको प्रख्यात पुलिस बजारभन्दा अलि माथि एउटा युथ होस्टलको ठूलो कोठा । लहरै खाटहरू बिच्छ्याइएका थिए । ती खाटमा लमतन्न परेका थियौं हामी करिब सात–आठ जना मनुवाहरू । म, नेपथ्यका अमृत गुरुङ, नेपालयका किरणकृष्ण श्रेष्ठ र अर्पण शर्मालगायत अरू । अर्को त्यत्रै ठूलो कोठामा समूहका अरू साथीहरू थिए । हामी नेपथ्यको कन्सर्टका लागि शिलाङ पुगेका थियौं । शिलाङमा पाइला टेकेकै बेला त्यतिबेला स्थिति सहज थिएन भन्ने कुरा हामीलाई त्यहाँका आयोजकहरूले बताइसकेका थिए ।

‘पुलिस बजारतिर जानुपर्‍यो भने पनि एक्लै नजानुहोला है, हामीमध्ये कोही साथ लिएर जानुहोला ।’

सम्भवतः सुरक्षाका हिसाबले नै हुनुपर्छ, त्यहाँको युथ होस्टलमा हामीलाई राखिएको थियो । केही घण्टाअगाडि कन्सर्ट सफल रूपमा सकिइसकेको थियो । अब हामी खाईपिई सुत्ने तर्खरमा थियौं । यताउतिका रमाइला कुरा भइरहेका थिए । बत्ती निभाइसकेको हुनाले अँध्यारोमा हामी एकअर्काको स्वर मात्र सुनिरहेका थियौं । कुरैकुरामा अमृतले भने, ‘म एउटा जोक सुनाउँछु है त ?’ दिनभरिको थकाइ र कन्सर्टको सफलतालाई बिट मारेर हाँस्दै निदाउन पाए अरू के चाहियो र ? हामीले ‘इरशाद’ गर्‍यौं, अमृतले जोक सुनाउन थाले । सबैले ध्यान दिएर सुन्न थाल्यौं । अहिले आएर त्यो जोक ठ्याक्कै सम्झन त सक्दिनँ, तर कौतूहल प्रशस्त थियो र उनले निकै रोचक हिसाबले सुनाउन थालेका थिए भन्ने अझै हेक्का छ । अनि त्यो जोक अलि लामै थियो, तर उनको प्रस्तुतिको शैलीले हामी निकै उत्सुक भइरहेका थियौं । निकै बेरमा लघुकथाभन्दा लामो त्यो जोकको समापन हुने बेला हुन लागेको थियो, अमृत एक छिन मौन भए । सिनेमाको भाषामा भन्ने हो भने उनलेे फुटेज खाए । स्वाभाविकै हो, जोकको ‘पन्चलाइन’ अलि कुराएर सुनाउँदा अझै मजा आउँछ । हामी हाँस्नका लागि रुद्रघण्टी तिखारेर कुरिरह्यौं । मेरो मन भने त्यो खाली समयमा अमृतसँग मेरो पहिलो चिनारी भएको समयतिर कावा खान थाल्यो । हाम्रो चिनारी अनौठो र रमाइलोसँग भएको थियो ।

एफएम र नेपथ्य

एकाग्रताको कुनै मापदण्ड हुने भएको भए मैले त्यस दिन सम्भवतः एकलव्यको धनुषसाधनाको कीर्तिमान भंग गरिसक्थेँ होला ।

मेरा औंलाहरूमा अब त ठेला नै उठ्ने बेला भइसकेको हुनुपर्छ । किनभने निकैबेरदेखि म फोनमा एकतमास पालैपालो दुईवटा नम्बरहरू थिचिरहेको थिएँ । तर, हरेक पटक उताबाट फोन व्यस्त भएको एकनासको टुँटुँ गर्ने कर्णकटु आवाज मात्रै आइरहेको थियो । त्यति धेरै पटक प्रयास गरेको भए बरु भाग्योदय चिठ्ठा परिसक्थ्यो होला, तर मैले थिचेका नम्बरहरू लागिरहेका थिएनन् । लागून् पनि कसरी, त्यति नै बेला मजस्तै काठमाडौंका हजारौं अरू मानिस पनि तिनै दुई नम्बर थिचिरहेका थिए । दुई एकचालीस नौ सय पच्चीस र दुई एकचालीस नौ सय छब्बीस ।

ती दुई नम्बर थिए, रेडियो नेपालको एफएममा फोन इन कार्यक्रमको ।

त्यतिबेला नेपालमा भर्खर एफएम रेडियो सुरु भएको थियो । प्रचलनमा भइरहेका मिडियम वेभ र सर्ट वेभको तुलनामा निकै स्पष्ट र स्टेरियो साउन्डमा अनौपचारिक शैलीमा प्रसारण हुने भएकोले छोटो अवधिमै एफएम काठमाडौंमा लोकप्रिय भएको थियो । विशेषगरी युवा पुस्ताको प्रमुख आकर्षण बन्न सफल भएको थियो एफएम । लौ त भनौं भने ओझेल परिसकेको रेडियो एफएमका कारण अचानक सबैको प्रिय मनोरञ्जनको माध्यम बनिसकेको थियो ।

त्यस शनिबार बिहान एघार बजेको बेलातिर मेरो कोठामा पनि एफएम घन्किरहेको थियो । त्यतिबेला म नेपाल टेलिभिजनका लागि अतिथि कलाकारहरू र आम दर्शकका बीच रमाइलो खेलहरू खेलाउने एउटा ‘अचम्मको पोको’ भन्ने कार्यक्रम बनाउन लागेको थिएँ । म एफएम सुन्दै त्यस हप्ता कार्यक्रममा को पाहुना बोलाउने भनेर गमिरहेको थिएँ । त्यस दिन त्यतिबेलाको कार्यक्रममा हरिशरण लामिछाने नेपथ्य समूहको अन्तर्वार्ता लिइरहेका रहेछन् । ‘छेक्यो–छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले’ भन्ने गीतका कारण पोखराका युवाहरूको समूह नेपथ्य त्यसबखत निकै लोकप्रिय भएको थियो । अचम्मको पोकोमा बोलाउनका लागि नेपथ्यभन्दा राम्रो अरू को होला र भन्ने मलाई लाग्यो । तर, उनीहरूसँगको कुनै सम्पर्क सूत्र मसँग थिएन । एफएमको त्यो कार्यक्रममा श्रोताहरूले फोन गर्न मिल्ने थियो । त्यसैले म दिइएको ती दुई नम्बर थिच्न थालेको थिएँ ।

सौभाग्यवश निकै बेरको प्रयासपछि मेरो फोन लाग्यो ।

कार्यक्रम सञ्चालक हरिशरण मेरा पूर्वपरिचित मित्र थिए । मैले म श्रोताको रूपमा नेपथ्यसँग कुरा गर्न चाहेको कुरा सुनेर उनी पनि दंग परे । त्यतिबेला टेलिफिल्महरूमा अभिनय गर्ने भएकाले थोरबहुत मानिसहरू मलाई चिन्न थालेका थिए । नेपथ्यका अमृत गुरुङसँग मेरो पहिलो बोलचाल त्यहीं कार्यक्रममा भयो । मैले अमृतलाई म उनीहरूको पंखा भएको सुनाएँ । अमृतलाई पनि मेरो ‘अपुताली’ भन्ने टेलिफिल्म उत्पातै मन परेको कुरा उनले बताए । मैले लाइभ रेडियोमा नेपथ्यलाई आफ्नो कार्यक्रममा निम्तो गरें । उनीहरूले सहृदयताका साथ त्यसलाई स्वीकार गरे । ‘अचम्मको पोको’ को त्यो भागको छायांकन साह्रै रमाइलो भयो । त्यसैमा उनीहरूले पहिलो पटक आफ्नो आगामी एल्बमको गीतको टुक्रा पनि गाएर सुनाए, ‘जोमसोमे बजारमा बाह्र बजे हावा सरर...।’

रेडियो नेपालले केही समयपश्चात् निजी प्रसारण संस्थाहरूलाई समय बेच्न थाल्यो । फलतः हिट्स एफएम, म्यूजिक नेपाल एफएम, इमेज एफएम, क्लासिक एफएम र गुड नाइट एफएम नामक भिन्न संस्थाहरूले समय किनेर आफ्ना कार्यक्रम प्रसारण गर्न थाले । त्यही समयमा म म्युजिक नेपाल एफएमको कार्यक्रम प्रमुख भएर जागिर खान पुगेँ । अरू च्यानल र म्युजिक नेपालमा केही फरक थियो । किनभने म्युजिक नेपाल एफएममा उसले उत्पादन र बिक्री वितरण गरेका लोक, आधुनिक र केही नेपाली चलचित्रका गीतहरू मात्र बजाउन पाइन्थ्यो । अरूहरू भने युवाहरूमा लोकप्रिय भइरहेका नेपाली पप गीतहरूका साथै हिन्दी र अंग्रेजी गीत पनि बजाउँथे । म्युजिक नेपालसँग त्यतिबेला नेपाली पप गीतहरूचाहिँ छँदै थिएनन् भन्न सकिन्थ्यो । खासमा अरूहरूका लागि एफएम व्यापारिक कुरा भए पनि म्युजिक नेपालको लागि भने आफ्ना उत्पादनहरूको प्रचार–प्रसार गर्ने एउटा माध्यम मात्र थियो । उसले समय पनि अप्ठ्यारो किनेको थियो, दिउसोको तीनदेखि चार बजेसम्मको । साँझको आकर्षक समय कान्तिपुरले चप्काएको थियो । तसर्थ अरू च्यानलहरूले विज्ञापन तथा कार्यक्रम प्रायोजकहरू पाए पनि म्युजिक नेपालसँग केही पनि थिएन ।

सुरुका केही दिनपछि मभित्रका सिर्जनाका कीटाणुहरू सक्रिय हुन थाले । तसर्थ मैले आधा–आधा घण्टाका फरकफरक किसिमका चौध कार्यक्रमहरू परिकल्पना गरें । तर, सीमित विधाका गीतहरू मात्र प्रसारण गरेर अरूसँग प्रतिस्पर्धा गर्नु भनेको फलामको च्युरा चपाउनुसरह भइरहेको थियो । एफएमसँगै म म्युजिक नेपालको गीतसंगीत छनोट समितिमा पनि सहभागी भएको थिएँ । त्यसको साथै प्रचारप्रसारको जिम्मा पनि लिएर बसेको थिएँ । तसर्थ मैले म्युजिक नेपालमा पप विधाका युवा गायक तथा ब्यान्डहरूलाई तान्ने निर्णय गरें । त्यो क्रममा मेरो मगजमा सबैभन्दा पहिलो नाम आयो, नेपथ्य ।

फलतः अमृतसँग मैले समय मिलाएर त्यस सन्दर्भमा भेट गरें । तर, उनले भनेको एउटा कुराले मेरो उत्साहमा चिसो पानी खन्याएको जस्तो भयो । नेपथ्य ‘छेेक्यो–छेक्यो’ गीत भएको एल्बम बोकेर पहिले नै म्युजिक नेपाल पुगेको रहेछ । त्यतिबेला म्युजिक नेपालले त्यो बजारमा निकाल्नलायक नभएको भनेर उल्टो खुट्टा फर्काइदिएको रहेछ । खासै राम्रो अनुभव नभएको हुनाले नेपथ्य अब म्युजिक नेपालमा आउन इच्छुक थिएन । हुन पनि त्यतिबेला म्युजिक नेपालमा गीतहरू सुनेर निर्णय गर्ने जुन समिति थियो, त्यसमा अलि पाका उमेरका घागहरू थिए, जसलाई पप संगीत खासै रुच्दैनथ्यो । तर, समयको मागअनुसार सोच परिवर्तन गर्नुपर्छ भन्ने कुरामा मैले त्यहाँ गएपछि व्यवस्थापनलाई अलि विश्वस्त बनाउन थालेको थिएँ । त्यसैले अमृतलाई मैले पुराना कुरा बिर्सेर नयाँ थालनी गर्न अनुरोध गरेँ । उनीहरूको एल्बमको प्रचारप्रसार र बिक्रीवितरणमा कुनै कमी हुन नदिने व्यक्तिगत रूपमा वाचा पनि गरें । अमृतले आफ्ना साथीहरूसँग सल्लाह गरेर केही दिनपछि मलाई भने, ‘लौ तपाईंको कारणले मात्र एक पटक हामी फेरि म्युजिक नेपालमा छिर्ने भयौं है त ।’ उनीहरू नयाँ एल्बममा काम गरिरहेका थिए, जसको एउटा गीतको टुक्रा त उनीहरूले ‘अचम्मको पोको’ मै सुनाइसकेका थिए । त्यसपछि एउटा अर्को गीतको रेकर्डिङ उनीहरूले सकाइसकेका रहेछन्, जसको मिक्सिङ हुन बाँकी थियो । अमृतले मलाई त्यो गीत सुनाए, ‘चरी मर्‍यो सिसैको गोलीले.......!’

त्यो सुन्दा खै किन हो मेरो मुखबाट प्वाक्क एउटा वाक्य निस्क्यो, ‘यो एल्बमको पचास हजार क्यासेट आरामले बिक्छ ।’

त्यतिबेला क्यासेटबाहेक गीत संगीतका अरू माध्यमहरू थिएनन् । सीडी पनि अलि पछि मात्रै आएको थियो । त्यस अवस्थामा पचास हजार प्रति क्यासेट बिक्नु भनेको निकै ठूलो कुरा मानिन्थ्यो । सबैभन्दा ठूलो वितरण सञ्जाल भएको भनिने म्युजिक नेपालले पनि सम्भवतः नारायणगोपालको बाहेक अरू कसैको त्यति धेरै क्यासेट बेचेको थिएन । ‘चरी मर्‍यो’ सुनेर मैले अनायास बोलेको त्यो कुरा कालान्तरमा भने गलत प्रमाणित हुन पुग्यो । ‘मीनपचासमा’ नामक त्यो एल्बमको पचास हजार प्रति बिकेन । त्योभन्दा निकै बढी बिक्यो ।

त्यसपछि नेपथ्यले आफ्ना नयाँ एल्बम ‘शृंगार’ पनि म्युजिक नेपालकै सहकार्यमा बजारमा ल्यायो । ‘यार्लिर्ङं’ र ‘सरुमा रानीको आँसु’ जस्ता गीतहरू निकै लोकप्रिय भए पनि बिक्रीको हिसाबले चाहिँ एल्बम आशातीत रूपमा चलेन । तर, यो क्रममा अमृतसँग मेरो मित्रता अझ गाढा भइसकेको थियो । फलतः नेपथ्यको नेपाल तथा भारतका विभिन्न सहरका कन्सर्टहरूमा म कार्यक्रम सञ्चालकको रूपमा संलग्न पनि हुन थालें । तैपनि अमृत र म औपचारिक ‘तपाईं’ सम्बोधनमै थियौं । अधिकांश अनौपचारिकताका जग टिन्चु पानीले सिंचिएपछि दिगो हुन्छन् । हामी पनि त्यसको अपवाद भएनौं । हेटौंडामा एउटा कन्सर्टका लागि गएको बेला त्यो साइत जुर्‍यो । अन्ततः हामीले एकअर्काको नामको पछाडिको जी पुच्छर र तपाईं सम्बोधनको तर्पण दियौं ।

अधिकांश कलाकारहरू एउटा निश्चित शैली वा विधामा लोकप्रिय भएपछि त्यही सहज कर्मक्षेत्रभित्र बसेर काम गर्न रुचाउँछन् । नयाँ प्रयोगसँग मितेरी गाँस्न उनीहरू अलि डराउँछन् पनि । तर, अमृत त्यसको ठ्याक्कै विपरीत छन् । उनी नेपथ्यको चलिरहेको ‘लोक पप’ शैलीको संगीत संयोजनलाई परिवर्तन गर्न चाहन्थे । सिर्जना र कलाको हिसाबले सही भए पनि व्यावसायिक दृष्टिकोणबाट त्यसो गर्नु खतरा हुन सक्थ्यो । एक दिन उनले भने, ‘बुझ्यौ ब्रजेश, यसपालि मलाई फरक हिसाबले एल्बम रेकर्ड मन लागेको छ । सबै ब्यान्डसँगै बसेर एकै पटक सबै बाजा बजाएर गाउने । लाइभ रेकर्डिङ गर्ने ।’

हुन त पहिलेपहिले सबै गीत त्यसरी नै रेकर्ड हुने गर्थ्यो । प्रविधिको विकाससंँगै ट्र्याकको सुविधा पाउन थालेपछि गीत गाउनु सजिलो हुन थालेको थियो । हरेक वाद्ययन्त्र फरक ट्र्याकमा रेकर्ड भइसकेपछि गायकगायिकाले गाउन मिल्थ्यो । त्यो पनि पूरै एकै पटकमा होइन । टुक्राटुक्रामा अलिअलि गर्दै बजाए–गाए हुन्थ्यो । एउटै शव्द, धुन वा ताल छ भने एक पटक गाए वा बजाएपछि त्यसैलाई अर्को ठाउँमा लगेर टाँसटुँस पारे हुन्थ्यो । यस अर्थमा गाउनु र संगीत भर्नु पहिलेको जस्तो दुष्कर कार्य थिएन । तर, अमृत त्यो सहजतालाई छोडेर पुरानो चलनलाई ब्युँताउन चाहन्थे । त्यसैले उनको त्यो चुनौती उठाउने चाहना गज्जबको थियो । यसै पनि कतिपय पुराना गायकहरू ट्र्याकले गर्दा गीतसंगीतको आत्मा नरहेको गुनासो गर्थे ।

नेपथ्यको यो प्रयोगलाई हामी समर्थन गर्न चाहन्थ्यौं । तर, समस्या के भने नेपालको कुनै पनि स्टुडियो त्यसका लागि तयार थिएन । एकै ठाउँमा एकै पटक सबै बाजा र स्वर पूरै रेकर्ड गर्नका लागि त्यसैअनुसारको फाराकिलो स्टुडियो हुनु जरुरी हुन्छ । अनि त्यसमा फरक–फरक साउन्ड प्रुफ कोष्ठहरू पनि आवश्यक हुन्छ । किनभने, उदाहरणका लागि– गितारको माइकमा ड्रमको आवाज, गायकको माइकमा गितारको आवाज छिर्‍यो भने रेकर्डिङ गडबड हुन जान्छ । तसर्थ एकातिर नेपथ्य आफ्ना गीतहरूको अभ्यासमा लाग्यो, अर्कोतिर म्युजिक नेपालको स्टुडियोलाई आवश्यक परिमार्जन गर्न थालियो । यसरी महीनौं लामो पूर्वतयारी गरेर रेकर्ड गरिएको एल्बम थियो– रेशम ।

रेशमसँगको अर्को एउटा रोचक घटना म अझै पनि सम्झन्छु । सबै गीतहरूको रेकर्डिंड र मिक्सिङ सकिएपछि एल्बमको न्वारान गर्ने बेला अमृतले सुझाएको नाम थियो, ‘रमाइलो ।’ किनभने उनका अनुसार, त्यो एल्बम एउटा रमाइलो प्रयोगको रूपमा बनेको थियो । मलाई त्यो नाम त्यति मन परिरहेको थिएन । एक दिन अमृतले भने, ‘मलाई यो रेशम भन्ने गीत त्यति जमेनजस्तो लाग्यो । यसलाई एल्बममा नराख्नुपर्ला ।’

म उनीसँग असहमत भएँ । मेरो विचारमा रेशम नै त्यो एल्बमको सबैभन्दा आकर्षक गीत थियो । नामको कुरामा पहिले पनि ‘शृंगार’ को नाम मेरो मनले खाएको थिएन । म त्यसको नाम ‘यार्लिंङ’ राख्नुपर्छ भनेर निकै भिडेको थिएँ । यस पटकचाहिँ मैले आफ्नो लिँडेढिपी छोडिनँ, ‘यो एल्बमको नाम रेशम नै हुनुपर्छ । रेशम जसरी भए पनि एल्बममा रहनैपर्छ ।’ हामी दुईको यो विषयमा लामै माथापच्ची भएपछि बडो गाह्रोसँग अन्ततः अमृत मसँग सहमत भएका थिए ।

रेशमले निकै ठूलो ख्याति कमायो । नेपथ्यको पर्याय नै भनेजस्तो भयो त्यसको शीर्ष गीत रेशम । त्यतिबेला हरेक युवाहरूको मुखमुखमा रेशम झुन्डिएको थियो । कन्सर्टहरूमा गएका बेला दर्शकश्रोताहरू हरेक गीतपछि ‘रेशम–रेशम’ भनेर माग गर्थे । कार्यक्रमको बीचतिर नेपथ्यले त्यो गाएर पुग्दैनथ्यो । अन्त्यमा एक पटक फेरि ‘रेशम’ नै गाएर मात्र कन्सर्टको बिट मार्न पाउँथ्यो नेपथ्यले । गितार बजाउन सिक्ने हरेक व्यक्तिले रेशमको अगाडिको धुन बजाउन सिकेकै हुन्थ्यो । आजसम्म पनि त्यसको सुरुआतको धुन बज्नासाथ स्वयं मानिसका गोडाहरू त्यसको तालमा हल्लिन थालिहाल्छन् । मलाई लाग्छ, अहिले पनि नेपथ्यको कन्सर्टमा ‘रेशम’ को माग त्यसरी नै हुने गर्छ । कुनै पनि गीत वा एल्बम त्यसै कहाँ कालजयी बन्छ र ! तर, सुन्ने आम मानिसलाई त्यसको पछाडिको परिश्रमबारे जानकारी हुँदैन ।

कालान्तरमा मैले म्युजिक नेपाल छोडें । व्यावसायिक मतभिन्नताका कारण नेपथ्यको पनि त्यहाँ सहकार्य छुट्यो र उनीहरू नेपालयमार्फत

आफ्ना नयाँ कृतिहरू बजारीकरण गर्न थाले । आज नेपथ्यको जुन स्थान छ, त्यसमा नेपालयको कुशल व्यवस्थापनको भूमिकालाई पनि नकार्न सकिन्न । आफ्ना हरेक नयाँ सिर्जनासँगै नेपथ्यले नयाँ प्रयोगहरू गर्दै गयो र नयाँ उचाइ पनि प्राप्त गर्दै गयो । हुन त नेपथ्यमा सुरुदेखि अहिलेसम्म निकै अनुहार फेरिएका छन् । तर, अमृत त्यसको मेरुदण्ड बनेर एकनास त्यसलाई डोहोर्‍याइरहेका छन् । खासमा नेपथ्य एउटा शरीर हो भने अमृत त्यसको आत्मा हुन् भन्ने मलाई लाग्छ । यो भन्न कन्जुस्याइँ गर्नु पर्दैन । ‘छेक्यो–छेक्यो’ भन्ने गीतका कारण रेडियो नेपाल एफएममार्फत मैले भेट्न र चिन्न पाएको अमृत मेरा असल मित्र बने । यो सांगीतिक दौंतरी ‘रेशम’ जस्तै मुलायम बन्यो ।

मेघालय, शिलाङ

जोकको पन्चलाइन सुनाउन अमृतले चाहिनेभन्दा बढी नै फुटेज खाइसकेका थिए । असह्य भएर हामीमध्ये कसैले भन्यो, ‘अनि के भो ? छिटो भन न ।’

तर, रातको निस्तव्धतामा अमृतको उत्तर आएन । आयो त कसैले सानो स्वरमा घुरेको आवाज । बत्तीको स्विच मेरो खाटको नजिक थियो । उठेर छामछुम गर्दै गएर मैले ट्याक्क पारें । कोठा उज्यालो भयो । सबैको आँखा अमृत सुतेको खाटतिर गयो । उनी त जोक सुनाउँदा–सुनाउँदै कुन सड्को फ्वाँफ्वाँ निदाइसकेका रहेछन् । हामीले एकछिन एकअर्काको अनुहार हेर्‍यौं अनि गललल्ल हाँस्यौं । अमृतले जोकको पन्चलाइन सुनाएको भए पनि सम्भवतः त्यति हाँसिन्नथ्यो होला ।

प्रकाशित : माघ १, २०७८ ०९:०४

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment