Sunday, July 6, 2008

Love beyond the bars

I smiling girl is flashing her engagement ring. I saw the picture in one of the newspapers this morning. It was very usual, but the unusual part was the caption which said this 20 years old girl has been engaged to Charles Shovraj. She had been visiting him in prison to help in the translation of his case. They fell in love. My first reaction was,
"How could a 20 years old girl fall in love with Charles Shovraj?"

But later on I realized that I could not be judgemental. What do I know about them? What do I know about the girl or Charles Shovraj? The only thing I know about him is whatever I have read in newspapers, heard or seen in Television. Whatever developed between them, however it developed is entirely between them. And it is entirely their own personal buisness. Love is the strangest thing. It can happen to anyone, anywhere and it has no barriers.

To LOVE someone, only one reason is sufficient; that you love him or her.
To LEAVE someone, you can find many many reasons.

Leaving someone is easy, loving someone is not.

अलि विस्तारमा,


प्रसन्न मुद्रामा आफ्नो औंलामा भएको औंठी देखाइरहेकी एउटी युवतीको फोटोले मेरो ध्यान तान्यो। त्यो यसको “इन्गेजमेण्ट” को औंठी रहेछ। तर त्यो फोटोको मुनि छापिएको कुरा पढेर त एकछिन जिल्ल नै परें। ती २० वर्षीया युवतीको “इन्गेजमेण्ट” चार्ल्स शोभराजसंग भएको रहेछ। शोभराजको मुद्दाको सन्दर्भमा अनुवादका लागि सहयोग गर्न जाँदा उनीहरुको बीचमा प्रेम पलाएको कुरा त्यहाँ उल्लेख थियो। 

मेरो पहिलो प्रतिकृया थियो, एउटी २० वर्षीया युवतीको चार्ल्स शोभराजसंग प्रेम? यो कसरी सम्भव हुन सक्छ? यो कुरा मेरो मनमा निकै बर रहिरह्यो, खेलिरह्यो।  

अलिक बेर सोचेपछि मलाई लाग्यो, म किन यसरी निष्कर्षमा पुग्न खोजिरहेको छु? हामी सबैको बानी हुन्छ, देखेको र सुनेको कुराको भरमा आफ्नो सोच बनाउने। म ती युवतीको बारेमा केही पनि जान्दिनं। शोभराजको बारेमा पनि मलाई त्यति नै थाहा छ जति मैले पत्रिकामा पढेको छु, रेडियो टिभीमा सुनेको वा देखेको छु। त्यसबाहेक पनि एउटा मान्छेको रुपमा पनि त शोभराजको आफ्नै व्यक्तित्व छ नि। त्यस अर्थमा हेर्दा उनीहरुको बीचमा किन र कसरी त्यो सम्बन्ध बन्न गयो, त्यसका पछाडि के कारणहरु थिए भन्ने कुरा उनीहरुलाई मात्र थाहा हुने कुरा हो। ती कुराहरु मलाई मात्र होइन हामी कसैलाई पनि केही थाहा छैन।  

यसलाई एउटा उदाहरणको रुपमा मात्र लिएर म सोच्न थालें। वास्तवमै प्रेम भन्ने कुरा अति नै अनौठो हुन्छ। यो कुनै पनि बेला, कसैसंग पनि हुन सक्छ। न त त्यसको कुनै मापदण्ड छ, न कुनै तर्क, न कुनै नीतिनियम र न कुनै सीमा। प्रेमलाई न उमेरले, न जातले, न सामाजिक स्तरले, न त भूगोलले, केहीले पनि बाँध्न नसकेका कति प्रसंगहरु छन्। पुराणका पाना पल्टाए पनि, इतिहास खोतलेर हेरे पनि अथवा हाम्रै परिवेशलाई नियाले पनि यस्ता प्रेमप्रसंगहरु थुप्रै थुप्रै नपाइने होइनन्। त्यसैले कैदको डण्डी वारिपारि पनि प्रेम पलाएन होला भनेर भन्न कहाँ सकिन्छ र?
 
यही विषयमा समामान्य छलफल हुँदा मैले मेरा मित्र गायक तथा सङ्गीतकार आभासलाई अचम्म लागेन भनेर सोधेको थिएं। उनले पनि भने, 
“अचम्म लाग्ने कुरा के छ र? यो स्वाभाविक कुरा हो। तर के भने यस्ता सम्बन्धहरु कि त कुख्यात कि त प्रख्यात मान्छेहरुका भए मात्र हामी सहज रुपमा स्वीकार्ने गर्छौं।”  

अस्वाभाविक परिस्थितिमा जन्मने प्रेम सम्बन्धहरु निश्चय नै जटिल हुन्छन्। तिनले आफूसंगै हजारौं अप्ठ्याराहरु बोकेर आउँछन्। सामाजिक मान्यता, नैतिक मूल्यका प्रश्नहरु पनि उठ्ने गर्छन्। तर प्रेमलाई ती कुराहरुसंग जोड्नु कति उचित हो वा होइन भन्ने कुरा हामी हत्पति सोच्दैनौं। त्यसलाई अनुचित हुनुको छाप लगाउनु अघि हामी दुइपटक पनि सोच्दैनौं। ओशोले भनेका छन् माया भन्ने कुरा सबैभन्दा माथि हुन्छ। एकजना कसैलाई माया गर्नुको अर्थ अरु कसैलाई माया नगर्नु होइन। माया भाग लगाउने कुरा होइन। एउटाको भागबाट कटाएर अर्को कसैलाई बाँड्ने कुरा हैन माया।  

हुन पनि हो, माया कि त लाग्छ, कि त लाग्दैन। धेरैथोरैको कुरा नै आउँदैन मायामा। कसैलाई माया गर्न एउटै मात्र कारण पर्याप्त हुन्छ, त्यो मान्छेको माया लाग्नु। त्यो लाग्यो भने प्रेम आफैमा पूर्ण हुन्छ। त्यसका परिणाम, त्यसले निम्त्याउने सकारात्मक नकारात्मक सबै कुराहरु गौण हुन जान्छन् तर माया नलाग्नका लागि, माया नगर्नका लागि भने तिनै कारणहरु सर्वोपरि हुने गर्छन्। हजारौं लाखौं कारणहरु फेला पार्न सकिन्छ माया नगर्नका लागि। 

शायद त्यसैले होला, माया गर्न जति गाह्रो हुन्छ, माया नगर्न त्यति नै सजिलो हुन्छ।
असार २३, २०६५ कान्तिपुर दैनिकमा प्रकाशित

जुम्मा चुम्मा दे दे...

मंसिर २ , २०७४ - मलाई पान खान कहिले पनि मन लाग्दैनथ्यो , अझै पनि लाग्दैन । तर त्यस दिन म नयाँ दिल्लीको रिगल भन्ने सिनेम...