Translate

Sunday, February 14, 2010

आश्वासनहरुका आदी

सबै कुरा राजनीतीकरण भएको छ । हरेक मान्छे आक्रामक र स्वयंमा असुरक्षित छ । विपरीत दिशामा आएका दुईवटा सवारी साधनमा कसले बाटो छोड्ने भन्ने कुरामा पिटापिट हुनु साधारण कुरा भएको छ हिजोआज । बाटोमा निर्माण सामग्री राख्ने नराख्नेजस्ता साधारण विषयको विवादमा समेत गोली चल्न थालेको छ । आदिम युगमा हिंस्रक जनावरहरूसँग मात्र असुरक्षित हुन्थ्यो मान्छे तर आजकल मान्छेसँगै डराउन थालेको छ मान्छे । यति हुँदाहुँदै पनि हामी आश्वस्त छौँ, आशावादी छौँ किनभने हामीलाई आश्वासन दिइएको छ । हाम्रा नेताहरू र देश हाँक्ने चालकहरूले हरेक दिन हामीलाई आश्वासन दिने गरेका छन्, सब ठीक हुन्छ ।

प्रख्यात भारतीय लेखक शरद जोशीको एउटा पुरानो लेखको सम्झना यतिखेर सान्दर्भिक छ । भोपाल सहरमा एक दिनका लागि घुम्न आएका देवदूतहरूले देखेका कुराहरूलाई रोचक र काल्पनिक ढंगमा प्रस्तुत गर्दा उनले लेखेको एउटा प्रसंग छ । चुनाव र राजनीतिक प्रचारप्रसारको चुलीमा ती देवदूतहरू भोपाल आइपुगेका हुन्छन् । एक जना नेताले उनीहरू देवदूत हुन् भन्ने थाहा पाएर सहयोगका लागि याचना गर्छ । उसले आफ्ना मतदाताहरूलाई सहरको छेउबाट नदी बगाइदिने वाचा गरेको हुन्छ । देवदूतहरूले नयाँ नदी बनाइदिऊन् भन्ने उसले अपेक्षा राख्छ । देवदूत भन्छन्, "नदीनाला त प्राकृतिक कुराहरू हुन् । तिमीले यस्तो वाचा किन गरेको ?" स्वयं ईश्वरले पनि यस्तो आश्वासन दिन सक्दैनन् । प्रत्युत्तरमा नेता भन्छ, "ईश्वरलाई चुनाव लड्नु छैन नि त !"

हो पनि । झूटो वाचा, बकम्फुसे आश्वासन र असम्भव सपनाको खेती त तिनले गर्छन्, जसलाई चुनाव लड्नु छ । जसरी भए पनि कुर्सी हत्याउनु छ । लाखौँ मान्छेलाई कुहिराको काग बनाएर सत्तासीन हुनु छ । अहिले हामीलाई पनि हाम्रो थाप्लोमा टेकेर सत्ताको नाच नाच्ने कुर्सीपिपासुहरूले यस्तै सपनाहरू देखाएका छन्, यस्तै आश्वासनहरू दिएका छन् । हामीलाई उनीहरूले केही न केही आश्वासन दिएका छन् । त्यसैले, हामी ढुक्क छौँ । हामी वास्तवमै आश्वस्त छौँ ।

आजको मात्र कुरा होइन, यो त हामीले परापूर्वकालदेखि नै भोगेर आएको नियति हो । त्यसैले, हामी आश्वासनको अम्मली बनिसेकका छौँ । त्यो कुरा राम्ररी बुझेका हुनाले नै हामीलाई हाम्रा नेता, मन्त्री, प्रधानमन्त्री, हाकिम, सबैले निकै पहिलेदेखि नै थरीथरी आश्वासनहरू दिने गरेका छन् । त्यसैले गर्दा शान्तिसुरक्षा कायम हुनेमा हामी आश्वस्त छौँ, मेलम्चीको पानी आउनेमा हामी आश्वस्त छौँ, जलविद्युत् आयोजनाहरू बन्ने र लोडसेडिङ् हट्नेमा हामी आश्वस्त छौँ । काठमाडौँकेन्दि्रत विकास गाउँगाउँमा पुगेर सिंगो देशको विकास हुनेमा हामी आश्वस्त छौँ, अव्यवस्िथत सहरीकरण नियन्त्रण हुनेमा आश्वस्त छौँ । शिक्षाको गुणस्तर बढ्नेमा आश्वस्त छौँ । खेलकुदको विकास हुनेमा आश्वस्त छौँ । भ्रष्टाचार र महंगी नियन्त्रण हुुनेमा पनि हामी आश्वस्त छाँै । बहुलट्ठीसँग बढेका घरजग्गाको भाउ नियन्त्रण हुने र आर्थिक विकासको कुरामा समेत हामी आश्वस्त छौँ । सबैभन्दा ठूलो कुरा नयाँ संविधान बनेपछि नयाँ नेपाल बन्नेमा पनि हामी आश्वस्त छौँ । नयाँ नेपाल बनेपछि हाम्रो मानसिकता पनि नयाँ बन्छ, आनीबानीहरू नयाँ बन्छन् र हाम्रा सारा समस्याहरू छुमन्तर भएर जानेछन् भन्नेमा हामी आश्वस्त छौँ । 

केही दिनअघि राजधानीमा अराजकता र असुरक्षाको एउटा अर्को नांगो ताण्डव देखियो । सुरक्षा व्यवस्थाको उपहास गर्दै अघिल्लो साता एउटा जघन्य हत्याकाण्ड भयो । अनि, त्यसपछि पनि यस्तै आश्वासनका लहरहरू उर्लेर आएका छन् । मृतकको घरमै पुगेर प्रधानमन्त्रीले दोषी पत्ता लगाएर कडा कारबाही गर्ने आश्वासन दिएका छन् । सुरक्षा निकायका जिम्मेवार अधिकारीहरूले पनि अपराधीहरूलाई तुरुन्त पक्रने आश्वासन दिएका छन् । चारवटा त भिन्दाभिन्दै छानबिन समिति नै बनेका छन् । अब हामी आश्वस्त नहुन सक्दैनौँ । हामीसँग त्यसको विकल्प पनि छैन । तर, नियालेर हेर्ने हो भने आजसम्म हामीले पाएका आश्वासनहरू कति पूरा भएका छन् ? पूरा नभएका आश्वासनका लागि आजसम्म कसले नैतिक जिम्मेवारी लिएका छन् ? फलानोफलानो बेला, फलानोफलानो कुरामा, फलानोफलानो आश्वासन दिइएकामा त्यो किन पूरा भएन भनेर कसैलाई पनि प्रश्न गर्ने हामीलाई अधिकार छ कि छैन ? कथंकदाचित कसैले कुनैबेला यस्ता प्रश्नहरू उठाए पनि उनीहरूसँग आफूलाई प्रतिरक्षा गर्ने हजारौँ बहानाहरू हुन्छन् । तर, ती कुनैमा पनि नैतिकताबोध वा आत्ममूल्यांकन भने हुँदैन । आफूबाहेक अरू सबैलाई दोष लगाएर पन्छिने गर्छन्, ती मानिसहरू जसको अयोग्य काँधमा हामीले हाम्रो समुन्नति र भविष्यको भारी टिकाएका हुन्छौँ ।

तर पनि, हामी हरेक नयाँ मान्छे, हरेक नयाँ सोच र हरेक नयाँ आश्वासनहरूमा आश्वस्त हुन्छौँ । आश्वासनले पेट भरँिदैन भन्छन् तर हामी त सधैँ आश्वासन खाएर पेट भररिहेका छौँ, आश्वासन पिएर आफ्नो तिर्खा मेटिरहेका छौँ । हामी आश्वस्त हुनुमा नै रमाउँछाँै । किनभने, आश्वस्त नहुनासाथ शंकाहरू पलाउँछन् । विकल्पहरू केलाउन थाल्यो भने नदुखेको कपालमा डोरी बाँधेजस्तो हुन्छ । हामी आफँैलाई नपरेसम्म त्यो हाम्रो समस्या होइन । तर, जब त्यो हामीलाई पर्छ, त्यतिबेला हामीसँग उपायहरू नहुन सक्छन् । माइग्रेनबाट बच्नका लागि कतै हामी आफूभित्र अर्बुदका जीवाणुहरू त पालिरहेका छैनौँ ?

यसका बाबजुद पनि हामी धन्य छौँ, महान् छौँ । सत्तालोलुपहरूलाई माथि चढ्नका लागि टेक्ने थाप्लो दिन्छौँ हामी, अनि अइय्या... पनि भन्दैनौँ । आफ्नो दायित्वबाट चुकेकाहरूलाई हामी कुनै प्रश्न पनि गर्दैनौँ । कुनै निश्चित व्यक्ति वा समूहले त्यो गर्न खोज्यो भने पनि आफ्नै भावी राजनीतिका लागि मात्र गरेको हुन्छ । आमजनता आफँैले त्यो गर्दैनन् अनि उनीहरूका लागि गरििदने जनताको नेता हाम्रो मुलुकले अहिलेसम्म जन्माएजस्तो देखिँदैन । दिवंगत केही नेताहरूका नाम लिएर फलानो भइदिएको भए...भनेर सोच्नु पनि उम्केको माछो मोटो भनेजस्तो मात्र हो । त्यसैले त समय फेरन्िछ, परििस्थति फेरन्िछ, शक्तिकेन्द्र र अनुहारहरू फेरन्िछन् तर न त तिनका चरत्रि फेरन्िछन्, न हाम्रो नियति ।

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment