Translate

Wednesday, April 27, 2011

किन बिक्छन् भगत ?


केही समय अघि किताबको बारेमा कुरा हुँदा एक जना परिचितले मलाई चेतन भगतको टू स्टेट्सको बारेमा मेरो धारणा सोधेका थिए । मैले त्यो पढेको छैन भन्दा उनले मलाई यसरी हेरेका थिए मानौं एउटा कट्टर पण्डितको छोरोले गायत्री मन्त्र पढेको छैन भनिरहेको छ ।
फाइन प्रिन्टको पुस्तक मेलामा के किनौं भनेर घोत्लिंदै गर्दा चेतन भगतका किताबहरुमा आँखा परे । थ्री मिस्टेक्स अफ माइ लाइफ भन्ने किताब उठाएर यसो पल्टाएको, त्यो सन्तानब्बेऔं पुनर्मुद्रण रहेछ । अनि त्यही संगै उनैको टू स्टेट्स थियो । त्यो पनि त्रिहत्तरौं पुनर्मुद्रण रहेछ । मलाई अचम्म लाग्यो, अलिअलि आरिस पनि । कति धेरै बिक्न सकेको होला ? त्यसको साथै किन यति धेरै बिक्छन् भगत भन्ने कुराको मनमा खुल्दुली उत्पन्न भयो ।
मैले चेतन भगतको चर्चा सुनेको अलि धेरै नै भैसकेकोथ्यो । आफ्नो फेरि एउटा कस्तो अडबांगे बानी छ भने, कुनै कुराको अति चर्चा भयो भने त्यो कुरामा रौसै बस्दैन । त्यही कारणले कतिपय सिनेमा मैले हेरेको छैन, कतिपय किताब पढ्न छुटाएको छु । अनि त्यही बानीले गर्दा कतिपय सम्राटका नयाँ लुगाजन्य सिनेमा र साहित्य झेल्ने पीडाबाट मुक्ति पनि पाएको छु । चेतन भगतका किताब नपढेको पनि त्यही कारणले नै थियो । तर त्यस दिन मैले ती लेखकका त्यहाँ उपलव्ध दुबै किताब किनेर लगें । आखिर केही न केही त हुनै पर्छ जसले चेतनलाई यति धेरै बिकाउँछ होला । मलाई पत्ता लगाउन मन लाग्यो । तिनका बिक्रीका कीर्तिमान पनि कम थिएन । एक मुद्रणमा हाम्रो जस्तै दशै हजार प्रति मात्र छापिएका भए पनि उनका ती दुइ किताब सात लाख तीस हजार र नौ लाख सत्तरी हजार प्रति बिकेका छन् भन्ने कुराले पनि मलाई सायद त्यस दिन उक्स्याएको हुन सक्छ । तर, धेरै बिक्दैमा त्यो राम्रो नै हुन्छ र थोरै बिकेका वा नबिकेका किताब नराम्रा हुन्छन् भन्ने मेरो आशय चाहिं पटक्कै हैन ।
मैले टू स्टेट्सबाट सुरु गरें । दुइ भिन्न संस्कृति र रहनसहनसहन भएका उत्तरी र दक्षिणी भारतका युवक र युवतीको बीचमा असमानताले आकर्षित गरेर खोजिएको समानता, त्यसको परिणतिले जन्माएको प्रेम कथा, आआफ्नो परिवारलाई मनाउनका लागि गर्नु परेको संघर्ष, केही समयको विछोड र अन्त्यमा हठ र रुढीवादको आत्मसमर्पण संगै प्रेमको जीत, मिलन अनि अन्त्यमा बिहे । बस्, विषयवस्तुको कुरा गर्ने हो भने कुरो यति नै मात्र हो । हजारौं पटक मूलधारका हिन्दी सिनेमाहरुले भजाएर खाइसकेको चेक जस्तो कथावस्तु । हो, ठ्याक्कै कुनै हिन्दी फर्मूला सिनेमा हेरे जस्तो थियो उनको किताब । कति सम्म त भने प्रेमिकासंग वियोग भएको बेला युवकलाई झुसझुस दाह्री समेत पाल्न लगाउँछन् भगत ।
लेखकका बारेमा किताबमा दिइएको संक्षिप्त परिचय पढेपछि धेरै हदसम्म यो उनको आत्मकथा नै पो हो कि भन्ने पनि भान हुन्छ । किनभने उनको आफ्नै पनि अन्र्तप्रदेशीय बिवाह हो । किताबका नायक भरपर्दो र कमाउ बैंकिंग पेशा त्यागेर कुनै दिन सफल लेखक बन्न चाहन्छ । उनले पनि त्यही गरेका रहेछन् । जुम्ल्याहा सन्तानको जन्म पछि टू स्टेट्स सकिन्छ । भगतका पनि जुम्ल्याहा सन्तान छन् । तर आत्मकथा यति धेरै फिल्मी हुन सक्दैन । उनले पुस्तकलाई जीवन दिन त्यसलाई आधार मानेर त्यही मेरुदण्डमा मसला फिल्मी शैलीमा छालामासु बेरेर प्राण भरेका सम्म चाहिँ हुनसक्छ भन्ने मैले ठहर गरें ।
उनको अर्को किताब ‘थ्री मिस्टेक्स अफ माइ लाइफ’ पनि त्यस्तै नै फिल्मी कथा हो । सुखद संयोगरुपी चमत्कारहरुको भरपूर प्रयोग यसमा पनि छ । केही साधारण केटाहरु जसरी आफूलाई ठूलो व्यापारी भनेर ढाँट्दै अष्ट्रेलियाका क्रिकेट खेलाडीहरु भेट्न रंगशालामा छिर्छन्, त्यो कुनै हिन्दी सिनेमामा मात्र सम्भव हुने कुरा हो । कतिसम्म त भने साम्प्रदायिक दंगाको वीभत्स रुपलाई पनि उनी फिल्मी लेप लगाएर प्रस्तुत गर्छन् । अली नामक एक जना बालकलाई बली चढाउन आएका अतिवादीहरुहरु संग तीन जना केटाहरुको संघर्षको बेला पाठकहरुको आङ्ग जिरिङ्ग हुनुपर्ने हो । तर भविष्यमा भूतो न भविष्यति क्रिकेट खेलाडि हुनसक्ने सम्भावना भएको त्यो बालकमाथि आइपरेको परिस्थिति भयावह हुँदाहुँदै पनि पाठकलाई लागिरहन्छ, आ......केही हुँदैन । सबै ठीक हुन्छ । भगतको यस किताबले पनि आम मानिसलाई रमाइलो सपना देखाउने र अन्त्यमा सबै भलो हुने हिन्दी फिल्मी आशावादको वकालत गर्छ ।
उसो भए किन बिक्छन् भगत ? यी दुबै किताबमा नयाँ र आकर्षक कुरा के छ त जसले चेतनलाई चेतन बनाउँछ ?
कञ्जुस्याँइ नगरी भन्ने हो भने भोको पेटमा घुट्क्याएको ऐलाले समाते जस्तो सुरुका केही पानाहरु पल्टाउना साथै मलाई उनको लेखनशैलीले चाहिँ झ्याप्पै समातिसकेको थियो । अद्योपान्त पढिसक्दा कुनै नवीन कुरा नभए पनि हरेक पाना र हरफमा भने जस्तो उनको शव्दहरुका छनौट, वाक्यहरुका सरल तर असरदार वनौट, विवेक र ह्यूमरले मलाई कुनै पुरानै कुरा पढिरहेको छु भन्ने भान हुन दिएन । चेतन भगतको सबै भन्दा ठूलो विशेषता मलाई त्यही नै लाग्यो । लेखनलाई आफ्नो हरेक सम्वन्धित अम्विन्धित कुण्ठाहरुको बदला लिन समर खेल्ने भूमि मान्ने प्रवृत्ति केही लेखकहरुमा हुने गर्दछ । त्यस्ता लेखकहरुले आफ्ना शव्दहरुलाई गोलावारुद, कलमलाई तोप र बन्दूक मानेर क्लिष्टतम शव्द छान्ने गर्छन्, जटिल भन्दा जटिल विम्व, गह्रौं भन्दा गह्रौं दर्शनहरुलाई त्यसमा बटार्छन् र पाठकहरुलाई हिर्काउँछन् । उनीहरु पाठकलाई आफ्नो शत्रु मानेर परपीडा दिने गर्छन् । त्यो कुकर्मलाई उनीहरु आफ्नो ज्ञानको विज्ञापन भन्ने सोच्दछन् । त्यस्ता लेखकहरुका भने लागि भगतको लेखाइ तोरीको फूल देखिने बाघझापु हो ।
टु स्टेट्समा उत्तर भारतको पञ्जाव र दक्षिण भारतको चेन्नइका मानिसहरुका आनीवानी, रहनसहन र संस्कृतिका बीचका भिन्नतालाई ‘उडाउने’ हिसावले प्रस्तुत गरेका छन् उनले । मद्रासीको वैठक कोठामा पस्दा ‘चोर पसेर लुटेर भागेको कुनै पञ्जावीको वैठक जस्तो’ लागेको विम्व प्रयोग गर्नु भनेको लरतरो आँट होइन । यस्तै किसिमका तुलनात्मक प्रसंगहरुमा उनले कतै उत्तर भारतकाहरु भन्दा दक्षिण भारतकाहरु बढी सुसंस्कृत हुने कुरा पनि लेखेका छन् । दक्षिण भारत भन्दा उत्तरमा बढी आडम्वर र देखावट भएको कुरा त हास्यव्यंग्यात्मक पाराले थुप्रै ठाउँमा लेख्छन् उनी । यस्ता उडाइको सन्तुलन कायम राख्ने कुरामा उनी सम्वेदनशील नै देखिएका छन् । तै पनि त्यसरी कुनै समुदाय विशेषका कुरा गर्दा उनीहरुको भावनामा ठेस पुग्ने ठूलो खतरा हुन्छ । तर उनको लेखाइमा जुन विनोद, निष्कपटता र बालसुलभ निर्दोषपना छ, त्यसले उनी त्यो ल्याण्डमाइनमा टेकेर पनि सकुशल उम्केका छन् । असल लेखनको सबैभन्दा ठूलो विशेषता भनेको नै त्यही हो र चलाखी पनि । चेन्नइमा गएर मद्रासी केटीसंग त्यहींको परम्परा अनुसार बिहे गर्न लागेको पञ्जाबी केटोको एउटा प्रसंग यहाँ नेर उल्लेख गर्नै पर्ने हुन्छ । जग्गेमा धोती लगाएर बस्नु पर्ने र उसमा धोती लगाउने कला नभएकोले चलन अनुसार केटीका बाउ उसलाई सघाउनका लागि अर्को कोठामा लिएर जान्छन् । धोतीलाई घुसाउनु पर्ने अन्तर कुन्तरमा ससुराका हातहरु सल्बलाउन थाल्दा युवक सोच्दछ, यो चलन पक्कै पनि ससुराहरुलाई आफ्नो हुनेवाला ज्वाईंको औजार सही छ कि छैन भन्ने निक्र्यौल गर्नका लागि चलाइएको हुनुपर्छ ।
मैले पढेका उनका दुबै किताबलाई औसत हुनबाट उनको लेखनशैली नै बचाएको छ । हरेक पृष्ठमा बीचबीचमा पाठकहरुका लागि काठमाण्डौंका लोकल मम चपाउँदा सर्र मुखमा आउने रस जस्तो स्वाद छर्कन्छन् उनी । त्यति हुँदाहुँदै पनि केही कुरामा भने भगत दोहोरिएको भान पनि हुन्छ । दुइवटा किताब लगालग पढेको भएर यस्ता कुराहरु अझ बढी टड्कारो संग अनुभूत भएका पनि हुन् । दुबै किताब आत्मपरक शैलीमा नै लेखिएका छन् । फरक वातावरण र परिवेशका दुबै पुस्तकका युवतीहरुका पहिरनको वर्णन गर्दा भगत एकै किसिमले गर्छन् । कुर्ताको सलको फेदमा जडिएका साना साना घण्टीहरु दुबै हिंड्दा टिंगटिंग आवाज गर्छन् भनेर उनले चित्रण गरेका छन् । दुवै युवतीहरु ‘बोल्ड र व्युटिफूल’ छन्, केटा भन्दा फरासिला छन् । दुबै सामाजिक रुढीवादी मान्यता भत्काउन लागिपरेका हक्की स्वभावका छन् । दुबै किताबमा फरकफरक बाबुहरु कठोर, निर्दयी, सम्वेदनाहीन देखिन्छन् । दुबैका आमाहरु पीडित, दुःखी र अति भावुक छन् ।
अर्थशास्त्रको सुन्तला सिद्धान्त किताब पढ्दा पनि लागू हुँदो रहेछ क्यार । मलाइ भने बढी बिक्री भएको र बढी चलेको भनिएको थ्री मिस्टेक्स अफ माइ लाइफ चाहिँ टू स्टेट्स भन्दा अलि बढी फिल्मी लाग्यो । त्यसैले होला उनका किताबहरुमाथि सिनेमाहरु बनिसकेका छन्, बनिरहेका छन् । कालजयी साहित्यका रुपमा भगतका किताबहरु भलै दर्ता नहोलान् तर केही समयका लागि भने उनको लेखाइको शैलीले उनलाई अवश्य पनि विक्री र चर्चाको शिखरमा राखिरहने छ । थ्री मिस्टेक्स अफ माइ लाइफ मा उनको एक प्रमुख पात्र एउटा असफल क्रिकेट खेलाडी हुन्छ । ऊ आफ्नो अधूरो सपना अली नामक एउटा दैवी दैन भएको बालक मार्फत पूरा भएको हेर्न चाहन्छ । खेलमा आउनासाथ भटाभट आक्रामक हिसाबले रन बनाउने खेलाडीको पनि खेल जिताउन त्यत्तिकै योगदान हुन्छ जति सुस्तसुस्त अन्त्य सम्म टिक्नेको ।  त्यही कुरा उनको लेखनमा शत प्रतिशत लागू हुन्छ । चेतन अहिले त द्रुत गतिमा रन बनाइ रहेका छन् । भोलिका दिनहरुमा टिक्ने व्याटिंग पनि गर्न सिकून् । किनभने उनको जस्तो शैली भएका लेखकहरुले गहकिलो विषय र विचारयुक्त किताबहरु पनि लेखे भने पाठकका लागि गतिलो उपहार हुनसक्छ । हैन भने पनि एउटा यस्तो बिकाउ लेखकले प्रकाशकहरुलाई अरु दश जना टिकाउ लेखकहरुका कृति छाप्ने आर्थिक ह्याउ प्रदान गर्छ ।
अहिले कै कुरा गर्ने हो भने भगतका किताबहरुका व्यावसायिक सफलताले दुइटा कुरा प्रमाणित गरेको छ । एक, जसरी लय मीठो छ भने शव्द र गायन औसत भएका गीतहरु पनि मानिसलाई मन पर्छ, त्यसरी नै शव्दहरुका लय मिलाउन जान्ने हो भने पुस्तकको पनि सङ्गीत हुन्छ । लेखनमा नयाँपन हुने हो, भाषा रोचक हुने हो अनि विवेक र विनोद नामका जुम्ल्याहा दाजुभाइलाई आफ्नो लेखनमा सही प्रयोग गर्न जान्ने हो भने विषय र विचार गहकिलो नभए पनि किताब चल्छ, बिक्छ । दुइ, मानिस सपना देख्न चाहन्छ । परीकथाको जस्तो जीवन हरेक आम मान्छेको आदिम चाहना हो । आफ्नो जीवनमा नभएका, हुन नसक्ने रोचकता, रोमान्स, परिकल्पना, सफलता र उपलव्धि पुस्तकमा पढेर अथवा सिनेमामा हेरेर भुल्न चाहन्छ आम मानिस । त्यो सपनाको बजार एउटा यस्तो बजार हो, जुन कहिले पनि ओरालो लाग्दैन । जसले त्यो सपना बेच्न जानेको छ, त्यसले सिनेमा वा पुस्तक लेखेर अकूत कमाउन सक्छ । नाम पनि, दाम पनि । एकै छिनका लागि आम मान्छेलाई जिन्दगीका कटुताहरुबाट अल्मल्याएर र भुल्याएर एक किसिमले गुन नै लगाउँछन् त्यस्ता सपनाका व्यापारीहरु । भगत पनि एउटा अर्को सफल कडी हुन् यो सपनाको व्यापारको ।
त्यसैले बिक्छन् भगत ।

Sunday, April 24, 2011

आफ्ना कुरा -अरुका कुरा

बायाँ फन्को ५७

हालसालकै मात्र कुरा हो, एक जना परिचित मानिस विलखवन्दमा परे । भएछ के भने अलि लामो समय पछि भेट भएका एक जना परिचितले उनलाई देख्नासाथै विस्मयपूर्ण भावमा उनी दुब्लाएर खल्र्याप्खुर्लुक्कै भएको प्रतिकृया दिएछन् । त्यति मात्रै नभएर उनी कुनै रोगव्याधको सिकार भएका हुन् कि अथवा भर्खरै टाइफाइड बाट तङ्ग्रेका त हैनन् भन्ने प्रश्न पनि गरेछन् । ती परिचितलाई पर्नुसम्म पीर परेछ । पक्कै पनि हेर्दै थाहा हुने गरेर आफ्नो कान्तिक्षय भएको वा तेजोवध भएको हुनुपर्छ भन्ने उनलाई लागेछ । निकै दिनसम्म कसैसंग राम्रोसंग बोल्न पनि बोलेनछन् । घरपरिवारमा पनि झोक्राएर बस्न थालेछन् । उनी ऐना अगाडि उभिएर आफूलाई नियाल्दा रहेछन् र झन्झन् चिन्तित हुन थालेछन् । केही दिन पछि अर्का एक परिचित भेट भएछन् । ती परिचितले भने उनलाई देख्नासाथै उनी क्या मोटोघाटो र डम्म परेको प्रतिकृया दिएछन् । मान्छे सफल र सन्तुष्ट नभै त्यस्तो पोटिलो र उज्यालो देखिंदैन भन्ने ठहरका साथ त्यसको कारण पनि जान्न चाहेछन् । त्यसदिन घरमा गएर ऐना अगाडि उभिंदा ती मानिसलाई आफू कतै रातारात परिवर्तन भएको हो कि भन्ने पनि लागेछ । तर ती दुइ मान्छे मध्ये कसको कुरा सही हो र को गलत हो भन्ने चाहिँ उनले छुट्याउन सकेनछन् । एक छिन उनलाई आफू दुब्लाएको जस्तो लाग्थ्यो, एकै छिन पछि मोटाएको जस्तो ।
हुन पनि हो, हामी मध्ये अधिकांशको बानी नै हुन्छ, कसैलाई भेट्नासाथै सबैभन्दा पहिलो प्रतिकृया नै ऊ दुब्लाएको वा मोटाएको व्यक्त गर्ने । अनि त्यसपछि पनि अरुका व्यक्तिगत कुराहरुमा मात्रै केन्द्रित रहने हाम्रो बानी हुन्छ । कपाल किन लामो पालेको वा छोटो काटेको ? किन यस्तो खालको लुगा लगाएको ? मोटरसाइकल खै त, किन हिंडेको । यो रंग तपाइंलाई सुहाएन । औपचारिकताका लागि मुसुमुसु हाँसेर अर्को मान्छेले जति उत्तर दिंदै गयो, खोजीनीतिको बुल्डोजर अझ बढी गहिरो खोतल्न थाल्छ, घरमा कसकसको हालखवर कस्तो छ ? कसको बिहे भयो, कहाँ दिएको वा कसकी छोरी भित्र्याएको जस्ता प्रश्नहरु बर्सिन थाल्छन् । नभएको भए किन भएन भन्ने जिज्ञासा पनि व्यक्त हुन थाल्छ । जति उत्तर दियो, प्रश्नहरु अझ सुरसाको मुख जस्ता हुन थाल्छन् । हामीलाई अरुका व्यक्तिगत कुराहरुमा किन यति धेरै चासो लाग्छ कुन्नि । अरुका व्यक्तिगत जीवन र तिनका पाटाहरु किन हाम्रो लागि रोचक विषयवस्तु हुन्छन् ? एउटा अर्को उदाहरण हो, कसैको घरमा पाहुना भएर गएको बेला मानिसहरु फोटाका एल्वम हेर्ने ईच्छा प्रकट गर्छन् । अथवा सबैभन्दा पहिले एल्वम निकालेर नै अघि राखिदिने चलन हुन्छ । त्यसपछि हरेक फोटो हेर्दै तिनमा अनुहार देखिने ती मानिसका परिवार, नातागोता र ईष्टमित्रका परिचय लिने दिने काम हुन्छ । चिन्नु न जान्नुका मान्छेहरुका बारेमा पनि घण्टौंसम्म जानकारी लिन हामीलाई किञ्चित पनि झर्को लाग्दैन ।
कसैको छोरा वा छोरीलाई देख्नासाथ तिनको अनुहार काटीकुटी बाबु वा आमासंग मिल्ने ठोकुवा गर्ने पनि हाम्रो आम बानी हुन्छ । यहाँ नेर रमाइलो कुरा त के हो भने एक जनाले दुरुस्तै बाबु जस्तो भनेको सन्तानलाई अर्को मान्छेले आमा हेरेपछि हेर्नै नपर्ने भनेर किटान गरिदिन्छ । यो क्रम हरेक नयाँ मान्छे भेट्दा चलि रहन्छ । हुँदाहुँदा पछि केही समयपछि ती विचराहरुलाई आफू बाबु जस्तो हो वा आमा जस्तो भन्ने कुरामा नै असमञ्जस हुन थाल्छ । त्यस बाहेक पनि हाम्रो एउटा अर्को रमाइलो बानी हुन्छ । चिनापर्ची हुनासाथै नाता लगाइहाल्ने । दाइ, भाइ, काका, बुवा, आमा, भाउजु भन्ने चलन पनि गज्जवको चलन हो । हरेक नातासंग त्यसको आफ्नोपन हुन्छ, अधिकार हुन्छ अनि कत्र्तव्य पनि हुन्छ । ती सबै नहुने हुन् भने नातागोताको कुनै अर्थ हुँदैन तर हामी सहजै कसैलाई बाबुबाजे बनाउन सक्छौं ।
छरछिमेकमा आएका पाहुनाको बारेमा हामीलाई असाध्यै चासो हुन्छ । अरुको घरमा को आयो, कस्तो मान्छे आयो, कति बेर बस्यो, के मा आयो, कसरी आयो, किन आयो भन्ने कुरामा सबैलाई रुचि हुन्छ । कोही चिहाएरै मात्र सनतुष्ट हुन्छन् भने कोही त पाहुना गइसके पछि तिनको ईतिवृतान्तै जान्नका लागि खोजीनीति गर्न थालिहाल्छन् । यी त भए लौ प्रत्यक्ष रुपमा आफूले कुनै न कुनै रुपमा चिनेका मान्छेहरुका कुरा । उदेक लाग्दो कुरा त के भने हामीलाई चिन्नु न जान्नुका मान्छेको बारेमा पनि जिज्ञासा हुन्छ । ट्राफिकले कुनै मोटरसाइकल चालकको लाइसेन्स खोस्ने बेला वरिपरि जम्मा हुने भीड त्यसको एउटा उदाहरण हो ।
एउटा भनाइ छ, उत्कृष्ट स्तरका दिमाग हुनेहरु विचारका कुरा गर्छन्, विचार माथि बहस गर्छन्, विचार मथ्छन् । मध्यम दर्जाका दिमाग हुनेहरु घटनामा केन्द्रित हुन्छन् । तर निम्न कोटिका दिमाग हुनेहरु मान्छेका बारे बहस गर्छन्, मान्छेका कुरामा मात्र केन्द्रित हुन्छन् । त्यसैले हामीले आफ्नो दिमाग र समयलाई व्यर्थका कुराहरुमा खर्च गर्नुको साटो उपलव्धिमूलक कुराहरु तिर केन्द्रित गर्न सक्यौं भने व्यक्तिगत रुपमा हामी आफैलाई त्यसले फाइदा गर्छ । 

Thursday, April 14, 2011

नयाँ वर्ष

आयो, आयो भन्दाभन्दै आयो र गयो नयाँ वर्षको साँझ पनि । के के न होला, केही त होला, केही न केही त कस्सो नहोला भन्दाभन्दै केही पनि नभै आयो र गयो नयाँ वर्षको साँझ पनि ।

Sunday, April 10, 2011

काम गर्ने कालू-मकै खाने भालु

बायाँ फन्को ५६

एकएक वटा फूल चहारीचहारी मौरीले आफ्नो चाकामा मह बनाउँछ । जंगली भालुले त्यो चाकामा हमला गरेर विचरा मौरीको मेहेनत खाइदिन्छ । त्यसैलाई उदाहरण बनाएर कसैले गरेको मेहेनतको अरु नै कसैले आरामले बसेर फाइदा उठाउनेहरुका लागि हाम्रा पितापुर्खाले एउटा उखान बनाएका थिए, काम गर्ने कालू ( मकै खाने भालु । अहिलेको समाजमा पनि चारैतिर ध्यान दिएर हेर्ने हो भने यस्ता भालुहरुको कमी देखिंदैन । हरेक क्षेत्रमा अरुको मेहेनतको मह चाट्नेहरु छ्याप्छ्याप्ती पाइन्छन् । हुन पनि हो, दुखै नगरी गर्जो टर्छ भने किन टाउको दुखाउने ? नैतिक रुपमा आफूलाई यो प्रश्न गर्न छोडिदिने हो भने मकै खाने भालु बन्न गाह्रो पनि त छैन नि ।
अर्काको घरजग्गालाई आफ्नो भन्न सकिन्न, त्यसका लागि स्पष्ट ऐन कानून हुन्छन् । तिनलाई काट्न सकिन्न । त्यस बाहेकका अरुका अन्य भौतिक सम्पत्तिलाई पनि आफ्नो भन्न पाइन्न, भोगचलन गर्न पाइन्न । तर वौद्धिक सम्पत्ति भनेर भनिने कला, साहित्य र सङ्गीत जस्ता सिर्जनाको कुरामा भने निश्चित नियम कानून नभएका कारण र भएका पनि विवादास्पद हुनाले मकै खाने भालुहरुका लागि सकारात्मक वातावरण बनेको देखिन्छ । बेलाबेला दुइ थरि श्रष्टाहरु भिडिरहेका समाचारहरु यसैको प्रतिफल हामीले सुन्न पढ्न पाउने गरेका हौं । कसैको बौद्धिक सम्पत्ति संरक्षणका लागि प्रतिलिपि अधिकार भन्ने कुराको व्यवस्था गरिएको हुन्छ । विश्वका विकसित मुलुकहरुमा यो अधिकार दह्रोसंग स्थापित भैसकेको छ भने हाम्रो देशमा बल्ल यसको लागि पहल हुन थालेको छ । प्रतिलिपि अधिकारको कुरामा जनचेतना फैलाउनका लागि सर्जकहरु आमसंचारका माध्यमहरुबाट निकै ठूलो आशा राखेर बसेका हुन्छन् । तर, तिनै आमसंचारका केही माध्यमहरुलाई कालू बनाएर अरु आमसंचारका भालुहरु मकै खाइरहेका छन् । रमाइलो कुरा त के भने अरुको बौद्धिक सम्पत्तिको दुरुपयोग हुन नदिनका लागि सचेत यी माध्यमहरु आफ्नै बौद्धिक सम्पत्ति हिनामिना भएको थाहा नपाएर अथवा थाहा पाए पनि आँखा चिम्लेर, कान थुनेर र मुखमा ताल्चा लगाएर बसेका छन् ।
गर्मीको मौसममा पानीको आहालमा फस्टाएका लामखुट्टेका फूलजस्ता एफ. एम. र टेलिभिजन च्यानलहरुमध्ये केही आजकल मकै खाने भालु बनेका छन् । एकाबिहानै झिसमिसेमा नै यिनले बजारमा आएका जति पत्रपत्रिका बटुलेर तिनमा छापिएका प्रमुख अनि रोचक समाचारहरु अक्षरश पढेर सुनाइदिने गर्छन् । त्यति मात्र कहाँ हो र ? बिना कुनै संकोच उनीहरु आज फलानोफलानो पत्रिकामा यसो भनेर छापिएको छ भन्ने घोषणा पनि गर्वका  साथ गरिदिन्छन् । यहाँ नेर सोच्नु पर्ने कुरा के हो भने के पत्रपत्रिकामा छापिएका समाचार सामाग्रीहरुमाथि तिनका प्रकाशन गृहहरुको कुनै अधिकार हुन्छ कि हुँदैन ? कुनै पनि समाचार छापिनु पछाडि त्यसमा कति मेहेनत परेको हुन्छ ? कुनै स्ट्रिंगर वा समाचारदाताहरुले त्यो समाचार संकलन गर्न, लेख्न र सम्प्रेषण गर्नका लागि शारीरिक तथा मानसिक परिश्रम गरेका  हुन्छन् । त्यसपछि त्यसलाई पढ्ने, सम्पादन गर्ने र परिमार्जन गर्नेहरुले परिश्रम गरेका हुन्छन् । अनि पत्रिकाको पानाको आकारप्रकारमा त्यसलाई अटाउनका लागि सजाउने डिजाइनरहरुले परिश्रम गरेका हुन्छन् । हिज्जे, व्याकरण र शुद्धाशुद्धि हेर्नेहरुले परिश्रम गरेका हुन्छन् । त्यसपछि छाप्ने मान्छेले, छापिएर आएपछि त्यसलाई घरघरमा, बजारबजारमा पु¥याउनेहरुले परिश्रम गरेका हुन्छन् । अनि मात्र पाठकहरुले तातोतातो चियाको सुर्को संग ती पत्रिका र तिनमा छापिएका समाचार सामाग्रीहरु पढ्न पाउँछन् । ती सबै परिश्रम गर्ने मानिसहरुलाई प्रकाशकले तलव खुवाएको हुन्छ । त्यो खर्चको लगानी उसले पत्रपत्रिकाको विक्री र विज्ञापनहरुबाट उठाउने हो ।
आम मानिसहरुका लागि आजको युगमा विहान पत्रिका पढ्ने भनेको आवश्यकता, बानी, अझ भनौं भने लत भैसकेको हुन्छ । सूचना र ज्ञानका लागि हाम्रो अभिन्न खुराक बनिसकेका छन् पत्रपत्रिकाहरु । यहाँ नेर सोच्नुपर्ने कुरा के हो भने, एउटा रेडियो वा टिभी स्टेशनबाटै सबै पत्रपत्रिकाका प्रमुख र रोचक समाचारहरु आँखा खोल्न नपाउँदै सुन्न र बिछ्यौनाबाट ओर्लन नपाउँदै हेर्न पाइन्छ भने त्यसपछि गएर पसलमा त्यो पत्रिका किन किन्ने ? घरमै पत्रिका आउनका लागि पनि तपाईं ग्राहक किन बन्ने ? के यसले विक्रीमा असर गर्दैन होला ? त्यसो भयो भने विज्ञापनमा असर गर्दैन होला ? त्यो सब नगरे पनि के कसैको हक अरु कसैले उपभोग गर्न पाउँछ ?
रेडियो टिभीले समाचार प्रसारण गर्ने हो भने आफै संकलन, सम्पादन र प्रसारण गर्नु पर्छ ।  त्यसका लागि आर्थिक र बौद्धिक लगानी आवश्यक हुन्छ, त्यो गर्नु पर्छ । तर, अरु धेरै मानिसका परिश्रमको प्रतिफललाई सिन्को नभाँची आरामले कुर्सीमा बसीबसी पढेर आफ्नो आधा घण्टाको कार्यक्रमको गर्जो टार्ने अल्छी रेडियो र टेलिभिजन च्यानलहरुलाई के भन्ने ? अनि उदेक लाग्दो कुरा त के हो भने ती पत्रपत्रिका पनि मौन छन् जसका समाचार सामाग्रीहरु अरुहरुले निर्विवाध प्रयोग गरेर आफ्ना कार्यक्रम अवधि भरिरहेका छन् ।