Translate

Sunday, October 9, 2011

जीएस्, जलोटा र जुगलबन्दी

२०६८ आश्विन १४ कान्तिपुरको कोसेलीमा प्रकाशित मेरो संस्मरण

जीएस श्रीवास्तव

म बाघको खोरअघि उभिएको थिएँ । त्यहाँसम्म आइपुगेको पाँचदस मिनेट भइसकेको थियो तर भित्र छिर्ने आँट मलाई आइरहेको थिएन । ढोकामा टिलिक्क टल्केको पित्तलको पातोमा सुन्दर अक्षरले चहकिलो कालो रंगले कुँदिएको थियो, 'एक्ज्युकेटिभ डाइरेक्टर' । त्यो ढोका नबिल बैंकको कार्यकारी अधिकृत जीएस श्रीवास्तवको भव्य कार्यकक्षको थियो ।

कुरो ४५-४६ सालताकाको हो । त्यति बेला आईए को नतिजा कुर्दाकुर्दै म नबिल बैंकको जागिर खान थालेको थिएँ । नेपालमा खुलेको पहिलो अन्तर्राष्ट्रिय संयुक्त लगानीको नबिलमा जागिर खान पाउनु भनेको बलियो पुर्पुरोको द्योतक मानिन्थ्यो । नबिलमा हामीले खाने तलब जति हुन्थ्यो, बाहिर हल्ला त्यसको तेब्बर चौबर थियो । हामी पनि होइन भन्दैनथ्यौं । सफा र आकर्षक अफिस, बीचबीचमा बेलायती शैलीमा कुम उचाल्दै नेपाली बोल्दा पनि ७५ प्रतिशत अंग्रेजी मिसाउने टाई लगाएका कर्मचारीहरूका कारण नबिलको रबाफै बेग्लै थियो ।


म मार्केटिङ विभागमा काम गर्थें । होटल, दूतावास, आईएनजीओ लगायतका विदेशी नियोगहरूका खाता र बैंकिङसम्बन्धी सम्पूर्ण आवश्यकताहरू हेर्ने, भइरहेकालाई खुसी राख्ने र नभएकाहरूलाई फकाएर लोभ्याएर नबिलमा ल्याउने हाम्रो समूहको जिम्मेवारी थियो । तेल निकाल्ने गरी व्यस्त बनाउँथ्यो बैंकले हामीलाई । साप्ताहिक, मासिक, त्रैमासिक र वाषिर्क लक्ष्यहरू दिइएका हुन्थे । कति तलब बढाउने भन्ने कुरा कर्मचारीको प्रदर्शनमा भर पर्ने हुनाले सबै ज्यान फालेर काम गर्थे । आपmनो प्रदर्शनअनुसार कसले कति तलब खान्छ भन्ने कुरा कसैलाई थाहा हुँदैनथ्यो र त्यो बताउन पनि पाइँदैनथ्यो । सिलबन्दी खाममा नुरुल इस्लाम भन्ने बंगलादेशीले सबैलाई तलब दिन्थे । कतिपय विभागमा त हाकिमभन्दा उसको सहयोगीले बढी तलब पनि खान्थ्यो । एमएससी गरेका सहयोगीहरूको थाप्लामा आईए वा बीए मात्र पढेका हाकिम पनि हुन्थे ।

मेरो समूहका टोली नेतामा माथि इर्सादुल इस्लाम -आसिफ) नामक अत्यन्त प्रखर मार्केटिङ म्यानेजर, तिनको माथि पीएस लाहिरी नामका महाप्रबन्धक र सबैभन्दा माथि थिए, जीएस श्रीवास्तव । म तिनकै कार्यकक्षको ढोका अगाडि उभिएको थिएँ । साधारणतः उनीसम्म हाम्रो पहुँच हुँदैनथ्यो । भारतीय बैंकिङ क्षेत्रमा समेत नाम कमाएका ती बूढा हेर्दै डर लाग्दा थिए । हेभिवेट बक्सरको जस्तो चौडा कुम, गाँठिएको मोटो ज्यान, माखो पनि चिप्लेर झर्ला जस्तो चिल्लो तालु र ट्वाल्ल परेका अहिल्यै बाहिर निस्केलान् जस्ता ठुल्ठूला आँखा भएका जीएससँग बोल्न आसिफ र पीएस पनि डराउँथे । नबिलमा सबैले सबैलाई नामले बोलाउने चलन थियो, कसैलाई सर भन्नुपर्दैनथ्यो । तर जीएसको उमेर, अनुभव र व्यक्तित्वका कारण नै हुनुपर्छ सबैले 'सर' भन्ने उनी एकमात्र मान्छे थिए । त्यसैले उनको कार्यकक्षमा छिर्नुपर्दा बाघको गुफामा पस्ने भन्ने चलन थियो ।

त्यस दिन कुनै एउटा अत्यावश्यक कामले मलाई हाफ बिदा लिनुपर्ने भयो । टोली नेता बाहिर गएका थिए, आसिफ बंगलादेश भ्रमणमा थियो, पीएस लाहिरी वाषिर्क बिदामा चितवनमा बाघको फोटो खिच्न गएका थिए । अब बिदा स्वीकृत गराउनका लागि जीएसकहाँ नगई धरै थिएन । मलाई थाहा थियो- त्यति नाथे कामका लागि उनीसम्म पुग्नु भनेको कागज काट्नका लागि बञ्चरो बजारे सरह हो । तर मलाई बिदा नभई नहुने थियो । मनमनै हनुमान चालिसाका केही पंक्ति भट्याएर मैले ढोका नक गरें, अलिकति घचेडें र घिच्रो मात्र छिराएर मीठो र मायालाग्दो स्वरमा भित्र छिर्ने अनुमति मागें ।

कुर्सीमा बस्दा मोटो ज्यान फैलिएर होला उनी भीमकाय देखिएका थिए । उनले मोटो चस्मा लगाएर अध्ययन गरिरहेको फाइलबाट पिर्लिक्क राताराता बल्ड्याङ्ग्रे आँखा उठाएर खाउँलाजस्तो गरेर मलाई हेरे अनि खर्खर गर्ने कठोर आवाजमा मेरो धृष्टताको कारण सोधे । मैले मुसोको जस्तो स्वरमा कारण र उनीसम्म पुग्नुपर्ने बाध्यता बताएँ । उनले पेपरवेट उठाएर नहानेपछि मेरो अलि आँट बढ्यो र मैले विस्तारै बिदाको कागज पनि उनको अगाडि सारिदिएँ । उनको घरखेतको तमसुकै हो कि भनेझैं गरी त्यसलाई घोरिएर हेर्दै उनले भने, 'केटो, तँलाई सहरभरि घुमेर को-कोसँग गीत गाउनचाहिँ फुर्सद हुन्छ, अफिस समयमा चाहिँ जरुरी काम आइपर्छ ?'

म जिल्ल परेँ । उनले भनेको कुराको अर्थ एकछिन त मैले ठम्याउन पनि सकिनँ । केही क्षणपछि मात्र मलाई उनले के भनेका हुन् भनेर थाहा भयो । सन्दर्भ केही दिनअघिको थियो ।

अनुप जलोटा

दूतावासका खाता र बैंकिङसम्बन्धी कामहरू हाम्रो समूहले हेर्ने हुनाले भारतीय राजदूतावास वा सांस्कृतिक केन्द्रको कार्यक्रमको निम्तो आइरहन्थ्यो । त्यस्तै एउटा निम्तो थियो, अनुप जलोटाका गजल र भजनहरू सुन्ने । सम्भवतः त्यो जलोटाको नेपालमा पहिलो आगमन हुनुपर्छ । त्यतिबेला अनुप जलोटा प्रसिद्धिको चरमचुलीमा थिए । उनका डिस्क रेकर्डहरूले एल्भिस पि्रन्सलेका कीर्तिमान उछिनेका कुरा सुनिन्थ्यो । भजनजस्तो नीरस विधालाई आफ्नो जादूमय स्वरका कारण लोकपि्रय र बिकाउ बनाउन सक्ने जलोटाको उपलब्धिबाट म पनि प्रभावित थिएँ । त्यो अवसर त छोड्ने कुरै थिएन । त्यतिबेला कुनै साप्ताहिक पत्रिकामा पनि म लेख्ने गर्थें । त्यसैले जलोटासँग कुरा गरेर एउटा सामग्री तयार गर्ने पनि मेरो लोभ थियो । दूतावासकै माध्यमबाट बिहान याक एन्ड यतीमा त्यो कार्यका लागि पनि चाँजोपाँजो मिल्यो । जलोटासँग कुराकानी सकिएपछि बिदा हुने बेलामा उनले सोधे, 'साँझको कार्यक्रम आउँछौ नि हैन ?'

मैले निम्तो प्राप्त भएको जानकारी गराउँदै सहमति जनाएँ । साँझ म समयमा नै प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा पुगें । अधिकांश निम्तालु पहिले नै आइसकेका थिए । म आफ्नो लहर खोज्दै गएर कार्डमा तोकिएको सिटमा गएर बसें । मभन्दा अलि पर त्यही लहरमा मैले एकजना परिचित अनुहार देखें । त्यो अनुहार

थियो, जीएसको ।

अटाइनअटाइ गरेर सिटमा आफ्नो स्थुल शरीरलाई कोचेर बसेका जीएसले मतिर हेरेका पनि थिएनन् । नीरस र कठोर बैंकरलाई पनि संगीतमा रुचि भएको देख्दा मलाई अचम्म र खुसी दुवै लाग्यो । त्यही बेला प्रेक्षालयको बत्ती मधुरो भयो, पर्दा खुल्यो र सरस्वती बन्दनाको आलापका साथ अनुप जलोटा उदाए । उनको साधनाले ओतप्रोत, शास्त्रीय संगीतमा तालिम प्राप्त ओजपूर्ण स्वर र रोचक प्रस्तुतिले सबैलाई सम्मोहित बनाउन थाल्यो । बीचबीचमा साथीभाइसँग जस्तो श्रोतासँग कुरा गर्ने, ठट्टा गर्ने, अलि बुझ्न गाह्रो भजनमा संस्कृत र गजलमा उर्दूका पंक्तिहरूका अर्थ बताईबताई गाउने त्यस्तो अनौपचारिक कार्यक्रमको म पहिलोपटक आनन्द लिइरहेको थिएँ ।

जुगलबन्दी

अनुप जलोटा त्यतिबेला उनको एउटा प्रख्यात भजन गाउँदै थिए,

'साम पिया मोरे रंग दे चुनरिया...'

उनी त्यसको दोस्रो अन्तराको पहिलो हरफ आफ्नो चिरपरिचित शैलीमा घुमाईघुमाई फरक फरक पाराले गाउँदै थिए,

'बिना रंगाए मैं तो घर नहीं जाउँगीं... बिना रंगाए मैं तो घर नहीं जाउँगी'

अचानक उनलाई के सुर चढ्यो कुन्नि, उनी फेरि श्रोतासँग कुरा गर्न थाले, 'मैले सुनेको थिएँ, नेपालमा सबैजना मिठो गाउनुहुन्छ रे । अब यो पहिलो पंक्ति मैले गाएपछि दोस्रो पंक्ति कृपया तपाईंहरू गाउनुस् ।'

उनले एकपटक फेरि दोहोर्‍याए,

'बिना रंगाए मैं तो घर नहीं जाउँगी...'

अनि वाद्यवादकहरूले संगीत जारी राखे पनि उनी चुप भए । उनले सोचेका थिए बाँकी शब्दहरू कोरसमा गुन्जनेछन् तर ताल पक्डन नसक्ने गायकले ट्रयाकमा गाउँदा छोडेजस्तो गरी बाजा मात्र बजिरह्यो । उनले फेरि एकपटक आफ्नो अनुरोध दोहोर्‍याए । अब पनि कसैले गाएन भने त बोर हुन्छ भन्ने लागेको हुनाले मेरो उरन्ठ्याउलो जोसले मलाई अभिप्रेरित गरिरहेको थियो । जे पर्ला-पर्ला भन्दै म जोसमा आएर जुरुक्क उठें । मैले दुई हातले आफ्नो मुखको अगाडि ढ्वाङजस्तो बनाएँ । अनुप जलोटाले 'बिना रंगाए मैं तो घर नहीं जाउँगी' भन्न मात्र के भ्याएका थिए लौ खा त यत्रै सित्ति भनेर मैले न्वारानदेखिको बल निकालेर बाँकी गीत चिच्याइदिएँ,

'बित ही जाये चाहे ये सारी उमरिया...'

अनुप जलोटाले आवाज आएतिर हेरेर मुस्काएर हात उठाए अनि चालू राख्न संकेत गर्दै आफू पनि गाउन थाले । माइकबाट आएको उनको सधिएको मन्ध्र सप्तकको स्वर र मेरो बेसुरा तार सप्तकतिरको चिच्याहटको जुगलबन्दी कस्तो सुनिएको थियो होला भन्ने त मलाई थाहा छैन तर दुई लाइन उनीसँग चिच्याएपछि म आफ्नो सिटमा थच्चिएँ । वरिपरिका केही मानिसहरू मलाई स्पिलवर्गको सिनेमाबाट निस्केर आएको कुनै अरु नै ग्रहको प्राणीलाई जस्तो गरी हेरिरहेका थिए । तीमध्ये एक थिए-

जीएस श्रीवास्तव ।

जिीएस श्रीवास्तवको सामु मेरो बिदाको मागपत्र आशालाग्दो गरी उत्तानो परिरहेको थियो । म रुन्चे हाँसो हाँसें । उनले त्यसमा सही गरे । पार्किन्सनका लक्षणहरूका कारण सही गर्दा उनको हात अलिअलि काम्थ्यो । त्यसले गर्दा उनको दस्तखतका अक्षरहरू करेन्ट लागेजस्ता हुन्थे । उनले मागपत्र मतिर फर्काए । जीएसलाई हाँसेको देख्न असम्भव जस्तै थियो । तर त्यतिबेला भने मलाई उनका आँखामा हो कि हैन भनेजस्तो हल्का मुस्कान देखेको भान भयो । मैले ठम्याउनु अघि नै उनले आँखा फाइलतिर झारे र हातले मलाई बाहिर जान संकेत गरे ।

मैले उल्टो धनुष्टंकारको मुद्रामा आभार व्यक्त गरें । स्वीकृत भएको बिदाको मागपत्र टिपें र बाघको गुफाबाट कुलेलम ठोकें । म मनमनै गुन्गुनाउँदै थिएँ,

'बिना रंगाए मैं तो घर नहीं जाउँगी...'

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment