Translate

Sunday, January 29, 2012

नबोल्नेको चामल

बायाँ फन्को ७६

पञ्चतन्त्रको एउटा पुरानो कथा तपाईं हामी सबैले सुनेका नै छौं ।  एक जना पण्डित कतैबाट काँधमा एउटा बोका भिरेर घर तिर जाँदै थिए । केही मानिसहरु उनको त्यो बोका हत्याउनका लागि कटिवद्ध भए । जंगलको बाटो आइरहेका पण्डितलाई ती मध्ये एउटाले बाटोमा भेट्यो र उनी जस्ता चोखो मान्छे किन कुकुर बोकेर हिंडेको भनेर प्रश्न ग¥यो । बोका र कुकुर नचिन्ने मूर्खलाई गाली गर्दै पण्डित अघि बढे । केही पर त्यो मण्डलीको अर्को मान्छे ढुकिरहेको थियो । उसले पनि पण्डितलाई कुकुर बोकेर कता जान लागेको भनेर प्रश्न ग¥यो । पण्डित उसको पनि मूर्खतामा हाँस्दै आफ्नो बाटो हिंडे । एवं रीतले नियमित अन्तरालमा पालैपालो थुप्रै मान्छेहरु भेटिन थाले र सबैले बोकालाई कुकुर भन्न थाले । अन्ततोगत्वा पण्डितको आफू माथिको विश्वास नै गुम्न गयो र उनले आफूले बोकेर हिंडेका बोकालाई साँच्चै कुकुर नै देख्न थाले । फलतः आफ्नो बोकालाई बाटोमा छोडेर उनी हिंडे । बोका ठगहरुले हत्याए ।

अहिले पञ्चतन्त्रको कथाको बेला छैन । अहिलेका मानिस ती पण्डित भन्दा धेरै जान्नेसुन्ने र बुझ्ने पनि भैसकेका छन् । तर पनि अर्को मानिसको बुद्घि भुट्ने तरिका आजसम्म मानिसहरुले अपनाउन भने छोडेका छैनन् । फरक कति मात्र हो भने आजकल बरु कुकुरलाई बोका भनेर प्रमाणित गराउन पनि सक्ने भएका छौं हामीहरु । आजकल हामी एकैपटक लाखौं पण्डितहरुलाई अलमल्याउन सक्ने भने भएका छौं । सामूहिक रुपमा परिचालन गरिएका अभियानहरुले निकै ठूलो प्रभाव पार्न सक्छ भन्ने कुरा मानिसहरुले बुझ्दै गए । अनि समय र प्रविधि अनुसार त्यसको प्रयोग पनि गर्न जान्दै गए । त्यसपछि त मानिसहरु यस्ता कार्यका लागि नयाँनयाँ र अझ धेरै प्रभावकारी माध्यमहरुको विकास पनि गर्न थाले । त्यसैको फलस्वरुप कुनै एक व्यक्ति वा समूहको नेतृत्व बिना नै मात्र एक विचार  वा मान्यताका आधारमा सत्ता परिवर्तन सम्म गर्न सक्ने भएको छ आजको विकसित मानिस । यसका कारण शिक्षा, स्वास्थ्य र जनचेतनाका क्षेत्रमा पनि सकारात्मक परिणामहरु देखा परेका छन् । तर संसारका हरेक अन्य कुराहरु झैं यसको पनि अर्को पाटो नभएको भने होइन । मानिसले आफूले पहिल्याएको यो विज्ञापनको बाटोको शक्तिले कहिलेकहीं मान्छेको मतिलाई उल्टो पनि घुमाइदिन्छ । यस्तो बेलामा कहिले मानिस आफ्नो कुकुरलाई बोका बनाउने र कहिले अरुको बोकालाई कुकुर बनाउने अभियानमा पनि लाग्दछ । रमाइलो कुरा त के हो भने यो काममा मानिस सफल पनि भैरहेको हुन्छ । सबै कुराको चुरो भनेको स्व को खोजी हो । मैले के गर्न सक्छु वा सक्दिनं भन्ने भन्दा महत्वपूर्ण भनेको मैले के गर्न हुन्छ वा हुँदैन भन्ने कुरा हरेक मानिसले ध्यानपूर्वक सोच्नुपर्दछ । किनभने सक्ने हरेक कुरा गर्न हुँदैन ।

आफूलाई राम्रो, आफूले गरेको काम राम्रो र आफ्नो सबैथोक राम्रो देख्ने हरेक मानिसको चरित्र हुन्छ । अझ झन् आफूले साँच्चै नै राम्रो काम गरेको छ भने त्यसको उचित प्रतिफल र जस पाउन खोज्नु कुनै पनि हिसाबले गलत कुरा त होइन । यो चाहना सबै मान्छेमा हुने कुरा हो । तर त्यसका लागि आफूलाई राम्रो बनाउनका लागि कहिलेकहीं मान्छेले अरुलाई नराम्रो देखाउने अभियानको थालनी गर्छ । यो चाहिँ गलत परम्परा हो जुन मानिसले इतिहासदेखि आजसम्म पनि त्याग्न सकेको छैन । अझ विशेष गरेर कला, साहित्य, सङ्गीत र सिनेमाका कुराहरुमा यो परम्परा झनै दह्रोसंग स्थापित भएको हुन्छ । सम्राटको नयाँ लुगा भने झैं केही मानिस वा उनका कृतिलाई यसरी सामूहिक रुपमा प्रचारप्रसार गरिन्छ, जसले गर्दा या त अरु अधिकांश मानिस त्यसबाट प्रभावित भएर त्यसैलाई प्रामाणिक मानेर पछि लाग्छन्, या त त्यसलाई नमान्नु भनेको आफू सम्राटको नयाँ लुगा नदेख्ने मूर्खमा दरिएला भन्ने डरले ‘मौन स्वीकृति लक्षणं’ लाई स्वीकार्न वाध्य हुन्छन् । अन्ततः बोल्नेको पीठो पनि बिक्छ भन्ने उखान चरितार्थ हुन्छ ।

ओशोले कतै भनेका छन्, सही र गलत, राम्रो र नराम्रो भन्ने कुनै पनि कुरा संसारमा हुँदैन । त्यो समय र परिस्थितिले बनाउँछ । यसको उदाहरण दिंदै उनले भनेका छन्, यदि हिटलरकी आमाले जन्मनासाथ हिटलरको घाँटी थिचेर मारिदिएकी भए त्यो त्यतिबेलाका हिसाबले हेर्दा गलत कुरा मानिन्थ्यो । अहिले आएर हेर्ने हो भने अधिकांश मानिस र संसारको इतिहासका लागि गलत मानिंदैनथ्यो । इतिहास सँधै बलको भरमा लेखिन्छ । कहिले पनि कमजोर र पीडितहरुको दस्तावेज लेखिंदैन । तर आजको मानिस त वर्तमान नै शारीरिक वा मानसिक बलका आधारमा कोरिरहेको छ । अनि ऊ इतिहास मेट्ने काममा पनि लागिपरेको छ । यस्तो बेलामा मानिसले बिर्सन्छ, जसरी आज ऊ इतिहास र वर्तमानलाई बङ्ग्याइरहेको छ, भोलि अर्को शक्तिशाली मानिसले पनि आफ्नो वर्तमान लेख्ने बेला उसको इतिहासलाई पनि त्यस्तै गर्न सक्छ ।

त्यसैले अरुको सुन्दरतालाई जितेर आफू त्यो भन्दा सुन्दर बन्न सक्नु, अरुको विद्वतालाई जितेर आफू त्यो भन्दा विद्वान बन्न सक्नु र अरुको कीर्तिमानलाई नाघेर आफू त्यो भन्दा माथि उठ्न सक्नु मानिसको प्राथमिकतामा हुनु पर्ने कुराहरु हुन् । किनभने यो मानिसले मात्र गर्न सक्छ, अरु कुनै प्राणीले सक्दैन । त्यसो गर्न सक्ने हो भने यस संसारमा राम्रा र सुन्दर कुराहरु मात्र हुनेछन् । उपलव्धिहरु मात्र हुनेछन्, प्रतिस्पर्धा भन्ने कुरा सँधै स्वस्थ्य मात्र रहनेछ । कल्पना गर्नुहोस् त, यो संसार कति सुन्दर हुन्छ होला ?

प्रतिक्रिया:

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment