Thursday, February 2, 2012

बिचरा मेरो ब्लग

मैले जुन उत्साहका साथ यो ब्लग सुरु गरेको थिएँ, त्यो उत्साह अहिले यसका लागि छैन । अझ भनौं भने उत्साह त छ तर मैले यसलाई चाहिने जति खुराकी पस्कन सकेको छैन । यसको पछाडि एउटै कारण छ । मैले यो ब्कग लेख्न थालेकै कारण सिर्जनात्मक लेखाइको मेरो दोस्रो अध्यायको प्रारम्भ भएको मान्नुपर्छ । किनभने बीचको निकै लामो समय मैले सिनेमाका कथा, पटकथा र सम्वाद लेखनमा खर्च गरें । त्यो मैले बाँच्नका लागि गरेको संघर्षको एउटा अध्याय थियो । साहित्यिक लेखनले अझै पनि हाम्रो मुलुकमा सिनेमा लेखनको जस्तो आर्थिक लाभ दिन सक्दैन । मार्खेजले आधा घण्टाको एउटा अन्तर्वार्ताका लागि ५० हजार डलर पाउँछन् र पनि धेरै जसो त्यस्ता अनुरोध नकार्छन् रे भन्ने कुरा हाम्रा लागि सपना जस्तो हुन्छ । त्यसैले मैले रहरले हैन, बाध्यताले साहित्यिक लेखनबाट विदा लिनु परेको थियो । हुन त सिनेमाको लेखन साहित्य हैन भन्न सकिंदैन तर हाम्रो मुलुकमा बन्ने व्यावसायिक सिनेमाका सूत्रहरू अर्कै पाराका हुन्थे । तिनबाट बाहिर निस्कने ह्याउ त्यतिबेलाका कुनै निर्माता निर्देशकहरूले गरेनन् । फलत: प्रकाश थापाले भित्र्याएका ६० का दशकका हिन्दी सिनेमाको सूत्रबाट हाम्रा सिनेमाहरू उम्कन सकेनन् । मैले कि त बजारको माग पूरा गर्नुपर्थ्यो कि त छेउ लाग्नु पर्थ्यो । मैले अघि नै भनेझैं संघर्षका दिनहरूमा छेउ लाग्नु मेरा लागि सम्भव थिएन । तै पनि निश्चित सूत्रहरू बीच पनि केही पृथक काम गर्ने प्रयासमा म लागिपरें । चलचित्रले मलाई जति नाम दियो, जति दाम दियो, त्यसबाट मलाई गुनासो छैन । तर पनि म भित्र एउटा असन्तुष्टि रहिरहन्थ्यो । फेसन डिजाइनर बन्ने सपना पालेको मान्छे टेलर मास्टर बन्नु परेको जस्तो म अरूले ल्याएका कपडाहरू काटेर उनीहरूले भनेका डिजाइनका लुगाहरू सिइरहें । मेरा कल्पनामा भएका केही परिधानहरू फरक भएर पनि सुन्दर हुन्छन् बन्ने कुरा उनीहरूले बुझेनन् ।

ब्लगको सुरूवात सायद त्यही सिर्जनात्मक असन्तुष्टिका कारण भएको हुनुपर्छ । यहाँ म आफूलाई के मन पर्छ लेख्न सक्ने भएँ, अरूलाई के मन पर्छ त्यो लेख्ने हैन । त्यही क्रममा एकदिन ब्लगमा मैले लेखेको एउटा लेख
चार-पर्खाल-र-थुनिएको-कुकर/ नेपाल पत्रिकाका सम्पादक प्रशान्त अर्यालले पढेपछि उनैले मलाई नेपाल पत्रिकामा स्तम्भ लेख्नका लागि अभिप्रेरित गरेका कारण मेरो सिर्जनात्मक लेखनले गति लिएको हो । यस अर्थमा उनी संगसंगै यो ब्लग प्रति पनि म आभारी छु ।

अब कुरो आउला किन यसलाई मैले बिचरो मेरो ब्लग भन्नु परेको हो त ?नेपालमा नियमित रुपमा स्तम्भ र अलि अनियमित कान्तिपर तथा नागरिकमा लेख्न थालेपछि केही कुराहरु मगजमा पलाए भने पहिलो प्राथमिकता तिनले नै पाउने भए । अनि ब्लगमा त प्रकाशित समाग्रीहरूका लिंक मात्र राख्ने बने जस्तो हुन थाल्यो । यो ब्लगको भन्दा ती पत्रिकाहरुका पाठक निकैनिकै गुणा बढी छन् भन्ने कुरामा त कुनै शंका नै छैन । त्यसैले नयाँ केही न केही त मैले यसलाई पनि दिनै पर्छ भन्ने इच्छा हुँदाहुँदै म यसलाई आवश्यक खुराकी पर्दान गर्न सकिरहेको छैन । अनि मेरो यो निस्वार्थ साथी कुपोषणको सिकार भएको निरीह वालक जस्तो ख्याउटे भेसकेको छ ।

बिचरा मेरो ब्लग ।

एकै टेकमा तीन अन्तरा

कान्तिपुर कोसेलीमा प्रकाशित बम्बै, २०...... गति रोधक पुढे आहे सडकको किनारामा ट्राफिकको सूचना गाडिएको बोर्डमा मराठीमा लेखिएको थियो, ...