Friday, February 3, 2012

चुरोटको धूँवा उडाउने केटी

ऊ एउटा अँध्यारो कुना छानेर बसेकी रहिछ ।

कसैले खोजेरै हे¥यो भने मात्र देखिने कुनाको टेबुल थियो त्यो । साधारणतया त्यहाँ भित्रै भएको मान्छेले पनि उसलाई देख्न सक्दैनथ्यो । त्यसमाथि बाहिरको उज्यालो घामबाट पसेको हुनाले मेरा आँखाहरु यसै पनि त्यहाँको अँध्यारोमा अभ्यस्त हुन पाइसकेका थिएनन् । त्यसैले मैले पनि उसलाई देखेको थिइंन । केही क्षण अघि मात्रै म त्यहाँ भित्र पसेर एउटै मात्र झ्यालको छेउमा भएको टेबुलमा बसेको थिएँ । ऊ कति बेला देखि त्यहाँ थिई भन्ने कुरा मलाई थाहा भएन । अरु पाँच छ वटा टेवल खालि नै थियो । वातावरणमा एक प्रकारको निस्तव्धता थियो । उसको मोवाइल नबजेको भए अरु कति बेर मलाई त्यहाँ अरु कोही पनि छ भनेर थाहा हुँदैनथ्यो होला । रिहान्नाको एउटा गीत उसको मोबाइलमा रिंग टोन बनाइएको रहेछ ।

ओह ना ना ह्वाट्स माइ नेम, ओह ना ना...

नसुहाउँदो ठाउँमा नसुहाउँदो गीत त्यो पनि मोवाइल फोनको कर्कश स्पीकरमा बजेर त्यहाँको शान्त वातावरणलाई बिथोलिदियो । गीतको स्थायी राम्ररी बज्न नपाउँदै झ्वाट्ट रोकियो अनि उसको स्वर सुनियो ।
“हलो.....”


वसन्तपुरको गल्ली पछाडिका थुप्रै नेवारी खाजा घरहरु मध्ये एउटा थियो त्यो । यस्ता खाजा घरहरुमा पाइने सबै परिकार स्वादिलो नहोला तर हरेक ठाउँमा केही न केही विशेष हुन्छ । त्यो स्वाद अन्त कतै पाइँदैन । कतैको मम, कतैको वः, कतैको पीरो आलू र कतैको हाकु छ्वेलाको आफ्नै विशिष्ट स्वाद हुन्छ । यो खाजा घरको चाहिँ बारा मीठो हुने हुनाले बाटो परेको बेला त्यहाँको बाराको तलतल लागेर म पसेको थिएँ । साधारणतया दुइ बजेतिर खुले पनि त्यस्ता खाजा घरहरु साँझ परेपछिमात्र आफ्नो चरम यौवनमा पुग्ने हुनाले त्यहाँ त्यतिबेला अरु मान्छे थिएनन् ।

त्यो निस्तव्धतामा अचानक सुनिएको उसको स्वर अलि फरक किसिमको थियो । त्यसै कारण होला मेरो ध्यान उसको वार्तालाप तिर तानियो । मेरा आँखाहरु त्यो अँध्यारो कुना तिर आफै फोकस हुन पुगे । निमेष भरमै तिनले आफूलाई त्यहाँको क्षीण प्रकाशमा अभ्यस्त बनाएपछि एउटी युवतीको हो कि होइन भने जस्तो अस्पष्ट आकृति देखियो । उसले आफ्नो ओठमा च्यापेको चुरोटको गतिलै सर्को तानी । चुरोटको टुप्पोको महीन आगो एकै छिनका लागि चहकिलो रातो भयो । धुवाँले उसको फोक्सोलाई जति नै कालो बनाएपनि आगोले भने उसको अनुहारलाई केही छिनको लागि उज्यालो बनाइदियो । तर पनि म बसेको ठाउँबाट उसको नाकनक्सा कस्तो थियो वा ऊ कुन उमेरकी थिई भन्ने कुरा खुट्याउन सम्भव थिएन । उसले एकै छिन अघि तानेको लामो पफको धुँवा उसको श्वासनली र फोक्सोको यात्रा सकाएर हतारहतार नाकका पोहरा र ओठबाट बाहिर निस्केर हावामा हराउँदै थियो । फोनमा अर्को पट्टि भएको मान्छेसंग ऊ आफू खाजा खान लागेको बताउँदै थिई । कुनै विशेष कुरा थिएन त्यसैले मेरो ध्यान अब फेरि मैले मगाएको बारा कतिबेला आइपुग्ने हो भन्ने तिर जान थालेको थियो । अचानक उसको अर्को वाक्यले फेरि मलाई उस तिर आकर्षित गर्न पुग्यो ।

“अनि एउटा खुसीको कुरा सुन्ने हो ? मैले चुरोट खान छोडें नि ।”

त्यसो भन्नासाथ फेरि उसले अघिको भन्दा लामो सर्को तान्न भ्याइसकेकी थिई । मलाई हाँसो पनि उठ्यो, अचम्म पनि लाग्यो । कति सजिलोसंग ऊ झूट बोलिरहेकी थिई । म अब बाराको कल्पना छोडेर उसको कुरा घत मान्दै सुन्न थालें ।

“एक हप्ता भैसक्यो, एउटा पनि खाछैन । गाह्रो भए पनि छोड्नै परिहाल्यो नि । तीन पटक अस्पतालै भर्ना हुनु परिसक्यो । हो भन्या क्या...... कस्तो नपत्याएको होला.... विद्याले नष्ट, आमा कसम......गड प्रमिस......ल,।”

उसले विद्या, आमा र भगवानकै किरिया त्यति मजाले खाएपछि सायद फोनको अर्को पट्टि हुनेले पनि त्यो झूटो कुरा पत्यायो । आर्काको कुरा सुन्न हुँदैन भन्ने मैले मनमनै सोचें । तर खाना अर्डर गरेपछि त्यो नआउन्जेलको अनुत्पादक र पटरलाग्दो समयमा गर्ने अरु काम केही पनि त थिएन । बरु फेसबुकमा कसकसले के के लेख्याछन् हेर्नुपर्ला भन्दै मोवाइल निकालेर चल्न थालें । ज्या......त्यहाँ भित्र नेटवर्क कमजोर भएकोले पेज नै नखुल्ने रहेछ । नचाहँदा नचाहँदै फेरि कान त्यही युवतीको वार्तालाप तिर आकर्षित भयो । ऊ पनि त वरिपरि कोही भए नभएको वास्तै नगरि ठूल्ठूलो स्वरमा बोलिरहेकी थिई नि । मेरो के दोष ?

भर्खर सकिएको १२ कक्षाको जाँच कस्तो भयो भन्ने तिर उसको कुरा मोडिएपछि मैले मनमनै ऊ १८ १९ वर्षको हाराहारीमा हुनुपर्छ भन्ने लख काटें । तीन चार मिनेट यताउतिका कुरा गरेपछि उसको वार्तालाप सकियो । अनि उसले ठूटो एशट्रेमा जोत्नु अघि अर्को नयाँ चुरोट त्यसमा झोसी । कौतुहलतावश मैले प्वाक्क भनिहालें,

“छोडें भनेको हैन त चुरोट ?”
“गफै त हो नि सोल्टी ।” ऊ धक फुकाएर हाँसी ।

मलाई एउटा रोचक पात्र भेटेको जस्तो लाग्यो । उसको बारेमा कौतुहलता पनि भयो ।
"तिमीसंग एकछिन कुरा गर्न सक्छु ?"
मैले उसलाई सोधें ।

"किन र सोल्टी ? के कुरा ?"
उसले धुवाँ उडाउँदै सोधी ।

म एउटा लेखक हूँ । मलाई फरक मान्छेहरुसंग कुरा गर्न रमाइलो लाग्छ । कहिलेकहीं त्यसबाट म लेखने खुराक पनि पाउँछु । त्यही भएर हो ।

"मबाट त्यस्तो केही पाउनुहुन्न तपाईले ।" उसले भनी ।
"त्यो त कुरा गरेपछि थाहा हुन्छ । पाइएन भने पनि के भयो र ?"

मैले पनि ढिपी छोडिनं । ऊ केही बोलिन ।

"तर तिमीलाई कुरा गर्न मन छैन भने केही छैन ।"

"कुरै गर्नलाई के छ र सोल्टी । म त्यहाँ आऊँ कि तपाईं यहाँ आउने ?" उसले निर्धक्क सोधी ।
"तिमी जे भन्छौ ।" मैले उसैलाई जिम्मा दिएँ ।

उसले आफ्नो चुरोट एशट्रेमा झोसी अनि अँध्यारो कुनाको टेबुल पछाडिबाट उठेर मेरो टेबुल तिर आई । उसको चाल केटाहरुको जस्तो थियो । कपाल पनि छोटै काटेकी थिई । अन्दाजी पाँच फूट होली । उसले एउटा लाइटरलाई आफ्ना औंलाहरुमा नचाउँदै आत्मविश्वासका साथ आफूलाई प्रस्तुत गरे पनि त्यसले उसको अनुहारमा भएको केटाकेटीपना छोप्न सकेको थिएन । ऊ मेरो अगाडि कुर्सी तानेर बसी ।
“राम्रोसंग बोल्ने मान्छेहरुसंग म पनि फ्र्यांक नै छु । तर निहुँ खोज्नेहरुलाई त म हान्दिहाल्छु । केटा होस् वा केटी ।”
सायद उसले मलाई अप्रत्यक्ष रुपमा धम्कयाएकी पो हो कि । मलाई उससंग निहूँ खोज्नु थिएन त्यसैले मैले वास्तै गरिंन ।

“माइन्ड गर्दिनौ भने...तिम्रो उमेर कति भयो ?” केटी मान्छेको उमेर नसोध्नू भन्छन् तर मैले सोधें ।
“१७, उसले प्याट्ट उत्तर दिइहाली ।” १२ को जाँच दिएर बसेको कुराको पनि पुष्टि गरी ।
“किन खान्छौ त चुरोट यति सानो मान्छेले ?”
“साथीहरुको लहलहैमा बानी लाग्यो । छोड्छु भन्यो, सकिंदैन के गर्नू । घरमा मम्मीले पनि थाहा पाएर गाली गर्नुभो । जसले पनि लेक्चर नै मात्र दिन्छ । अस्ति मेरो बीएफ्संग पनि क्या डिस्कस भयो भन्या यही कुरामा । एकछिन त मैले सहें, पछि त मलाई पनि अति ¥याग लाग्यो । आफूले चाहिँ अस्तिसम्म एम्पल हान्न हुने, मलाई चुरोट किन खाइस् भन्ने ?”

म अलमलिएँ । पुस्तान्तर भनेको यही नै हुनुपर्छ । उनीहरुको शव्दकोष नै अर्कै छ ।
“के हो एम्पल हान्ने भन्या ?”
“एम्पल हान्ने थाहा छैन ?” अचम्म मान्दै उसले मलाई पुलुक्क हेरी । मानौं मलाई भीमसेन थापा देशका पहिलो प्रधानमन्त्री हुन् भन्ने थाहा नभएको होस् । मैले ओठ लेप्रयाएँ ।
“एम्पल क्या, एम्पल....”
अनि आफ्नो नाडीमा अर्को हातको चोर औंलाले घोचे जस्तो गरेर देखाई ।
“तर अहिले त रिह्याबमा बसेर आएपछि उसले पनि छोडिसक्यो एम्पल हान्न । खै छोडें भन्थ्यो, हैन रहेछ भने पनि मलाई बाल् ?”

उसको स्पष्टोक्ति र जीवनप्रतिको बेवास्ता देख्दा मलाई नरमाइलो लगायो । कता तिर जाँदैछ यो पुस्ता अनि किन यति धेरै अनुत्तरदायी हुँदैछ ? जिन्दगीलाई किन गम्भीरतापूर्वक लिंदैन र खेलाँची ठान्छ भन्ने प्रश्नले मेरो मथिंगल खल्वल्यायो ।
“तपाईको नाम के हो ?” उसले सोधी ।

मैले मेरो नाम बताएँ । अनि कतै उसले त्यो कतै सुनेको वा पढेको भाव उसको अनुहारमा खोजें । तर मैले आफ्नो नाम तेन्जिंग शेर्पा भनेको भए पनि केही फरक नपर्ने रहेछ उसलाई ।
“तपाईं के जात हो ?” अब उल्टो ऊ मेरो पो नालीबेली खोतल्न थाली ।
“के जस्तो लाग्छ ?”
“हेर्दा त नेवार जस्तो देखिनुहुन्छ ।”
“त्यसो भए नेवार नै हुँ भन्ने सोच न । के फरक पर्छ र ? मेरो विचारमा त मान्छेको एउटै जात हुन्छ, मान्छे । हैन र ?”
“खै... राइटरहरुको कुरा......” एकै छिन मौन भएर फेरि उसले प्रश्न गरी,
“तपाईं म्यारिड कि अनम्यारिड ?”
“के जस्तो लाग्छ हेर्दा ?” मैले पनि कोरिएको सीडी जस्तो पुरानै प्रतिप्रश्न गरें ।
“तपाईं राइटर भन्या हैन ? अनम्यारिड हुनुपर्छ ।” उसले ठोकुवा गरी ।
“किन र राइटरसंग कसैले बिहे नगर्नू ?” मलाई अचम्म लाग्यो ।
“राइटरसंग कसले बिहे गर्छ र ? आइ मीन, ब्वाइफ्रेण्ड त बनाउन हुन्छ राइटरलाई तर बिहे भनेको त टन्न गाँठवाल अथवा बिजनेसम्यानहरु संग गर्छन् नि केटीहरुले ।”

उसको त्यो भनाइले सायद अहिलेको पुस्ता भावना भन्दा बढी जीवनका भौतिक र व्यावहारिक पक्षहरुमा सचेत भएको इङ्ति गरिरहेको थियो । उसलाई जस्तै के यो पुस्तालाई नै लेखक भनेको विपन्न नै हुनुपर्छ भन्ने लाग्दो हो त ? आफ्नो काममा सफल र असफल मान्छे हरेक पेशामा पाइन्छ, हरेक आँखाको डाक्टर सन्दुक रुइत हुँदैन र त्यही कुरा लेखकमा पनि लागू हुन्छ भन्ने कुरा कमसेकम उससंग गर्नुको कुनै औचित्य थिएन । मलाई ऊ एउटा अनौठो अनि शहरी क्षेत्रको युवा पुस्ताको एउटा समूहको प्रतिनिधि पात्र लागेर मात्र न म उससंग कुरा गर्दै थिएँ । उसका मान्यताहरुलाई प्रतिवाद गर्नू, परिवर्तन गर्न खोज्नु सम्भव कुरा पनि त हैन नि । उसले मेरो बारेमा खोतल्नु अघि म आफ्नो पात्रलाई खोतल्न थालें ।

उसको परिवारमा बाबु, आमा र ऊ गरेर तीन जना मात्र रहेछन् । उसका बाबुले उसलाई छोरासरह हुर्काएको कुरा बताउँदै उसले भनी,
“बरु पिटेर आइज, पिटाइ खाएर नआइज भन्नुहुन्छ । त्यही भएर भनें नि, म त किचकिच गरे कि हान्दिहाल्छु ।”
उसले फेरि आफ्नो आक्रामक रुप देखाई । हुन पनि हो, चुपचाप पिञ्चे हुनु भन्दा केटी मान्छेहरुका लागि उज्जण्ड हुनु नै राम्रो हो ।

“तपाईंलाई थाहा छ, यो लाइटर मलाई मेरो बीएफ्ले गिफ्ट द्या हो । यसमा एउटा सानो चक्कु पनि छ ।”
उसले मलाई लाइटर देखाउँदै भनी । कतातरि पयाट्ट के गरी, नभन्दै एउटा दुइ इन्ची जतिको चुच्चो चक्कु निस्क्यो ।

“एक पटक मलाई माइक्रोमा एउटा केटाले य्राग गर्दा मैले त्यसलाई त्यही चक्कुले घोप्द्या नि । हुन त खासै के हुन्छ र यो सानो चक्कुले ? मर्ने होइन क्यार, तर म त हानेर टाप । तीन महीना गाउँ गएर लुकेर बसेर आएको लाष्ट यर ।” ऊ आफै दंग परेर हाँसी ।

त्यसो भन्दा उसको स्वरमा कुनै ग्लानि थिएन, गर्व थियो । मलाई ऊ अझ रुचिकर पात्र लाग्न थाली । त्यसैले म उसको नालीबेली खोतल्दै गएँ । उसका बाबु पहाडको कुनै गाउँबाट काम गर्न काठमाण्डौ झरेका रे । उनी सानो तिनो प्लम्वरको काम गर्दारहेछन् । त्यसको भरमा हातमुख जोर्न नपुग्ने भएपछि उसका बाबु केही महीना अघि अरब गएका रहेछन् । आमाले घरमै बसेर धूप बनाउने तालीम लिएकी छिन् रे । बाबु अरबबाट पैसा बटुलेर आएपछिको कुरा बेग्लै होला भन्ने आश उसलाई रहेछ । एउटा सानोतिनो भए पनि घर बनाउन सकिएला । रहर लागेका कुराहरु गर्न पाइएला ।

ओह ना ना ह्वाट्स माइ नेम..............

रिहान्ना फेरि एकपटक उसको मोवाइलबाट गाउन थाली । उसले पुलुक्क नम्वर हेरी र मलाई भनी,
“मेरो बीएफ् । एक मिनेट है ?”
बीएफ्ले ऊ कहाँ भनेर जान्न खोज्यो क्यार, उसले वसन्तपुरमा खाजा खाइरहेको भनेर भनी ।
“ल ल फिफ्टीन मिनेटमा...........,” उसले फोन राखी ।
“सरी है, मलाइ जानु पय्रो । बाइ ।” ऊ उठिसकेकी थिई ।

“एउटा कुरा मान्छ्यौ ?” मैले सोधें ।
उसले एकातिरको मात्र आँखीभौं उचालेर मौन प्रश्न गरी ।
“मैले पनि लेक्चर दिएको भन्ने नसोच । तिमी भन्दा अलिकति मात्र सानी मेरी पनि छोरी छ । त्यसैले भनेको हूँ । हुन सक्छ भने चुरोट खान साँच्चै छाडिदेऊ । हेर, तिम्रो उमेर कति नै भएको छ र ? यत्रो लामो जिन्दगी बाँकी छ तिम्रो ।”

पहिलोपटक उसका निस्फिक्री आँखाहरुमा गम्भीरताको छायाँ तैरिए जस्तो देखियो । त्यसलाई लुकाउन खोज्दै फिस्स हाँसेर उसले भनी,
“तपाईंलाई थाहा छ ? मेरो मुटुमा प्वाल छ । तीनपटक हस्पिटल त्यसै बसेको हैन ।” उसले आँखा झिम्काई ।

म स्तव्ध भएँ । नियतिको यति ठूलो र क्रूर उपहाससंग साक्षात्कार हुँदा म अवाक भएँ । केही बेर हाम्रो बीच मौनता मात्र रह्यो । यही मौकामा उसले एउटा अर्को चुरोट सल्काउन भ्याई । म अझै केही बोल्न सकिरहेको थिइंन । उसले दक्षताका साथ धुवाँका सानासाना गोलाहरु बनाएर उडाई र आफ्ना् शीपमा आफैं दंग परेझैं मलाई सोझै आँखामा हेरी ।

“ठीक त हुन्छ नि हैन र ?” मैले आशावादीप्रश्न तेस्र्याएँ ।
“हुन्छ होला । तर उपचार गर्न टन्न गाँठ लाग्छ रे जुन मेरो बाबाले अफोर्ड गर्न सक्नुहुन्न । जिन्दगीको के भर छ र सोल्टी ?”

मसंग फेरि वाक्यको अनिकाल प¥यो ।
“लौ त सोल्टी, नाइस मिटिंग यू ।” उसले हात तेस्र्याई, मैले चुपचाप उसको हात समाएँ । दह्रोसंग अँठ्याएर मेरो हात हल्लाई र भनी
"बाइ सोल्टी"

ऊ केटाहरु हिंडै झैं ठम्ठम्ती ढोकातिर लम्की । ढोका निर उसले चुरोटको लामो सर्को तानेर बुङ्बुङती धुँवा उडाई, म तिर हेरेर हात हल्लाई अनि ऊ मेरो आँखाबाट ओझेल भई । केही बेरसम्म घामको प्रकाशमा उसले उडाएको धुँवा अनेकौं आकृतिहरु बनाएर रुमल्लियो अनि विस्तारै हराएर गयो । म निकै बेरसम्म रित्तो ढोका हेरेर टोलाइरहें ।

मलाई त्यस दिन त्यहाँको बारा प्लाष्टिक चपाएको जस्तो लाग्यो ।

जुम्मा चुम्मा दे दे...

मंसिर २ , २०७४ - मलाई पान खान कहिले पनि मन लाग्दैनथ्यो , अझै पनि लाग्दैन । तर त्यस दिन म नयाँ दिल्लीको रिगल भन्ने सिनेम...