Monday, February 6, 2012

अनामवहादुरको लाइन

नागरिक दैनिक 'अक्षर' (माघ १, २०६८)
१.
अनुहार भएका तर नाम नभएका असंख्य मानिसहरु जस्तै हाम्रो अनामवहादुर अनामनगरको एउटा अनाम गल्ली भित्रको घरको अँध्यारो कोठामा डेरा गरेर बस्छ । एउटा सरकारी स्वामित्व भएको संस्थानमा अस्थायी जागीरे अनामवहादुरलाई हरेक मीनपचासमा चिनेजानेकाहरु बिहे गर्न सुर्याउँछन् । तर आफ्नो खर्च धान्न नभ्याउने उसको जागीरमा भरमा कसरी श्रीमती ल्याएर पाल्ने भन्ने तर्क दिएर ऊ पन्छिन्छ । बिहे नगर्ने खास कारण ऊ कसैलाई पनि भन्दैन ।

आजकल अनामवहादुरलाई आफ्नो जिन्दगी लाइनहरुमा जेलिएको छ भन्ने लाग्छ । हुन पनि हो, लाइनको व्यथाले अनामवहादुरलाई पिर्नुसम्म पिरोलेको छ । उसको जिन्दगीका हरेक दिन लाइनबाट सुरु हुन्छ र लाइनमा गएरै अन्त्य हुन्छ । धारामा पानी आउँदैन, टोलमा अलि पर महादेवको मन्दिर निर एउटा अजंगको सामुदायिक पानी टंकी छ । त्यसमा पानी अड्डाको ट्यांकरले जनि गरेर आएर पानी भरिदियो भने टोलभरका मान्छेहरुको हारालुछ चल्छ । सबैले आआफ्नो बाल्टीन, गाग्री, जर्किन र पानी अटाउने थरिथरिका भाँडाहरु लाइनमा राख्ने गर्छन् । आक्कलझुक्कल आउने पानीको लागि कुरिरहेर साध्य नहुने हुँदा कसैले पालो मिच्न नपाओस् भनेर लामो डोरीमा उनेर आआफ्ना भाँडाहरु राख्ने चलन छ । हिजो राति एघार बजे पानी आएछ र पानीको लाइनमा एकहत्तरौं नम्बरमा रहेको आफ्नो दुइटा बाल्टीनमा पानी भर्न उसले मध्यरात सम्म कुश्ताकुश्ती गरेको थियो ।


आज बिहान उठ्नासाथ उसलाई अचम्म लाग्यो । किन भने झ्यालका पर्दा उज्याला भैसकेका थिए । त्यसको अर्थ केही नभए पनि सात बजिसकेको हुनुपर्छ । उसले अलार्म त लगाएरै सुतेको थियो । बज्या घडी किन बजेनछ त ? उसले मनमनै सस्तो चाइनिज घडीलाई सराप्यो । आफू नव्यूँझिएको त पक्कै हैन । त्यसै पनि एकतमासले बज्ने त्यो कर्कश घडीले मान्छेलाई नव्यूँझुन्जेल कहाँ छोड्छ र ? अल्छी मान्दै उसले ओच्छ्यानमै कुकुरले जसरी आङ्ग तन्क्यायो । ज्या......आज पनि तकिया मिलेनछ क्यार, उसको गर्दन अह्ररो भैरहेको रहेछ । चार वर्ष अघि किनेको त्यो तकियाको रुवो जति सर्दैसर्दै एकै ठाममा डल्लो परिसकेका थिए । बेलाबेला रोटी बेलेको जस्तो गरेर त्यसलाई फिंजायो, भोलिपल्ट फेरि गुजुल्टो परिसक्थे । गर्धन साह्रै अप्ठ्यारो भैरहेको थियो । अब दिनभरि कसैले बोलायो भने मुण्टोको साटो पूरै ज्यू घुमाउनुपर्ने भयो । उसले हात लम्क्याएर घडीलाई आफू तिर तान्यो । त्यसमा त भर्खर ४ बजेको रहेछ । सेकेण्ड सूइ त मुर्दा झैं ९ को अंकमा लम्पसार परिरहेको रहेछ ।

व्याट्री सकिएछ । उसले मनमनै सोच्यो । अनामवहादुरले सिरान मुनि हात घुसारेर छातीमा मुड्कीले हानेर पैंतालीस सय हालेर किनेको चाइफोन थूत्यो र त्यसमा समय हे¥यो । नभन्दै सात बज्न आँटिसकेको रहेछ । आफूले ओढिरहेको दोलाईं भन्दा बाक्लो र सिरक भन्दा पातलो सिंलाइलाई दुबै खुट्टा उचालेर फुत्त फ्यालेर अनामवहादुर उठ्यो । सात बज्नुको मतलब अब डेराको एकमात्र शौचालयको लाइनमा उसको पालो निकै पछि पर्ने भयो । उसले हतारहतार दाँत माझ्ने बुरुसमा अलिकति मञ्जन हाल्यो । कुनै बेला भुवा भएका तौलिया काँधमा हालेर ऊ हतारहतार बाहिर निस्क्यो । नभन्दै शौचालयको अघिल्तिर त्यही घरका विभिन्न कोठामा डेरा गरेर बस्ने छ जनाको लाइन लागिसकेको रहेछ । सातौं मान्छे पिनास अस्पताल भन्न मिल्ने चर्पी भित्र बसेर आफ्नो बेसुरा स्वरमा गीत गाउँदै थियो,
‘सिम्पलसिम्पल कान्छीको डिम्पल पर्ने गाला.......’

उसको कर्णकटु स्वरले दूरसंचारका खरदार रहेछन् भित्र भन्ने कुरा अनामवहादुरले थाहा पायो । उसका आँखाहरु लाइनमा भएका अरु मान्छेहरुमा दौडिए । तीन नम्वरमा उभिएका चीमसाहूलाई देखेर अनामवहादुरको सातो गयो । पर चोकमा सानो विजुली पसल खोलेर बसेका ती महोदयलाई कव्जियतको पुरानो रोग थियो । उनी भित्र पसेपछि भागवण्डामा पाएका प्रधानमन्त्रीले कुर्सी ओगटे जस्तो गरि टुक्रुकिन्थे । अनेक किसिमका कनेको आवाज निकालेर बसेपछि सकेसम्म नछोड्ने उनको बानी सबैको लागि आतंक बनिसकेको थियो । उनलाई पदच्यूत गर्न जबर्जस्ती नै गर्नुपथ्र्यो । एक दिन त्यसै गरी निकै बेरसम्म उनी बाहिर ननिस्केपछि माथ्लो तल्लाको बार्दली निरको कोठामा बस्ने राउतभाइले स्टूलमाथि चढेर चर्पीको ढोकामाथिको प्वालबाट हेरेको थियो ।
‘हाम्रो यहाँ प्याण्टमा खुस्कला जस्तो भैसक्यो, चीमसाहू त मोवाइलमा भिडियो हेरेर बसिरहेको रहेछ ।’
त्यसपछि लात्ताले टिनको ढोकामा हान्दै ऊ कुर्लेको थियो,
‘निस्कन्छस् कि ढोकासोका फुटालेर तंलाई त्यत्तिकै बाहिर तानेर टोल घुमाऊँ ए फलान्थोक ।’

एउटा राजनीतिक दलको युवा संगठनको सकृय विद्यार्थी राजनीतिमा लागेको राउतभाइसंग सबै डराउँथे । त्यसैले होला कानदेखि कानसम्म हाँस्दै चीमसाहू बाहिर निस्केको थियो । आज त लाइनमा राउतभाइ पनि देखिएन । चीमसाहूलाई कसले बाहिर निकाल्ला भनेर अनामवहादुरलाई पर्नु पीर प¥यो । हिजो नयाँ राज्यमन्त्रीको नाम घोषणा भएको थियो । खरानी धेरै घस्ने क्रममा नयाँ जोगीले आज अफीसमा छड्के हान्ने हल्ला थियो । झन् आजै टाइममा पुग्न नपाइने भयो भनेर ऊ हतास भयो । तर उससंग केही उपाय पनि त थिएन नि । नित्यकर्म नगरी कुदौं भने बाटोमा केही भयो भने यो महानगरमा कतै सार्वजनिक शौचालय पनि त कहाँ भेटिन्छ र ?
मोवाइलकै एयरफोन कानमा हालेर एफएममा समाचार सुनिरहेका पाँच नम्वरका उप्रेति अचानक कराए,
‘थुइक्क साला गरीवमाराहरु । यी चोरडाँकाहरुले बाँच्न पनि नदिने भए अब ।’
‘किन र ? के भएछ उप्रेति सर ?’ अनामवहादुरले सोध्यो ।
‘इन्धनको भाउ फेरि बढाएछन् नि । ग्यासको त एकैपटक १७५ रुप्याँ रे हेर्नुस् त ।’
अनामवहादुरको छाती ढक्क फुल्यो । उसलाई अचानक हेक्का भयो, कोठामा ग्याँसको सिलिण्डर छैन ।
दुइ हप्ता भैसकेको थियो उसको सिलिण्डर रित्तो भएको । टोलको पसलेकहाँ एउटा अर्को लाइनमा उसको सिलिण्डर थियो । बजियाले ३ दिनपछि ग्यास आउँछ भनेर झुलाएको झुलायै थियो । अब बढी पैसा तिर्नुपर्ने भो । कोठामा पकाएर खान पाइँदैन । राम्रै भो, टाइम पनि त छैन नि । क्याण्टिनमा चनाच्यूरा खानुपर्ला । उसले मनमनै सोच्यो ।
‘सभासद र मन्त्रीहरु भन्या त सबै घुस्याहा, भ्रष्टाचारी, ज्यानमारा र अपहरणकारी, अनि के हुन्छ यस्तो देशमा’,
लाइनको एकजनाले मुख बिगार्दै भन्यो ।
‘अब यो महँगीमा बाँच्नका लागि हामी पनि सभासद नभै नहुने भो ।’
अर्कोले लामो उच्छ्वास फ्याँक्यो ।
त्यसपछि अरु उत्सुक लाइनवालाहरु सभासदहरुको बारेमा छलफल गर्न थाले । दीर्घशंकाको चापबाट एकैछिन भए पनि ध्यान हटाउन पाइयो भनेर होला सबै चम्कीचम्की आआफ्नो असामान्य सामान्य ज्ञानको प्रदर्शन गर्न थाले ।
‘त्यो फलान्थोक्को गाउँमा त मान्छेहरु कुखुरा चोर पनि ठूलो मान्छे भयो भनेर जिल्ल पर्छन् रे नि ।’
‘पासपोर्ट बेच्नेहरुले देश बाँकी राख्छन् ?’
चीमसाहू भित्र छिरिसकेका थिए र सँधै झैं बाहिरैसम्म सुनिने गरि ठस्ठस् कन्दै आफ्ना अटेरी गोटाहरुसंग लड्दै थिए ।

२.
दोश्रो लाइनको जालोबाट उम्केर हतारहतार अनामवहादुरले लुगा लगायो । उसलाई सानै देखि लुगामा स्याउ काट्ला जस्तो धार हुने गरी इस्त्री लगाउने बानी थियो । तर आजकल त बत्ती भए पो इस्त्री लगाउनु । कच्याककुच्युक परेको लुगा लगाएरै ऊ निस्क्यो । लौ खा.......हिजो भटभटे छोप्न बिर्सेछ, सिटमाथि बाक्लो शीत जमेको रहेछ । घाम नलागेकोले अझै पग्लेको थिएन । उसको यो थोत्रो भटभटेको पनि रमाइलो कथा छ । उसको गच्छे त थिएन तर पनि सुरुचिका लागि उसले यो किनेको थियो । सुरुचि उसैको अफीसमा काम गर्थी । अनामवहादुर उसलाई खूब मन पराउँथ्यो । तर सँधै चिटिक्क परेर आउने, अँग्रेजी पनि फरररर बोल्ने सुरुचि आफू भन्दा हाइक्लास छे भन्ने थाहा भएकोले उसले मुख फोर्न सकेको थिएन । एउटा भटभटे भयो भने यसो कहिलेकहीं घर पु¥याइदिने बहानामा कुरा अघि बढाउन पाइएला भनेर उसले फोर्थ ह्याण्ड भटभटे किस्तावन्दीमा किनेको थियो । त्यो जोहो गरुन्जेल उसलाई तीनचार महीना लागेको थियो । जुन दिन शानले ऊ भटभटे चढेर अफीस गएको थियो, सुरुचि दंग परेर सबैलाई लड्डू बाँडिरहेकी थिई । उसको बिहे एउटा ग्रीन कार्ड धारी नेपारिकनसंग हुन लागेको थियो । मुसुक्क हाँसेर सुरुचिले दिएको लड्डू निल्न उसलाई आगोको गोला निलेजस्तो भएको थियो ।

सुरुचि बिहे गरेर अमेरिका गैसकी । तर सुरुचिका लागि किनेको यो भटभटे अनामवहादुरको मौन प्रेमको साक्षी बनेर उससंग रहेको छ । त्यसैले त घरमा भन्दा बढी वर्कशपमा रहने सलह जस्तो भटभटेलाई पनि उसले बेच्न सकेको छैन । सुरुचिसंगको विछोडले उसलाई भित्रैसम्म खोक्रो बनाएको छ । ऊ यन्त्रवत जीवन बाँचिरहेको छ । सुरुचिलाई उससंग हरेर लैजाने त्यो ग्रीनकार्ड वाला रावणलाई सम्झेर उसलाई अहिले पनि रिस उठ्छ । त्यसैले उसले थोत्रो भटभटेको एक्सिलरेटरलाई त्यो रावणको गर्धन मान्दै जोरले बटा¥यो । किकलाई त्यसको करंग सोच्दै उसले दाह्रा किट्दै सयपटक जति लात हान्यो । उसलाई एक प्रकारको आनन्दको अनुभव भयो तर भटभटे स्टार्ट भएन । उसले टंकी खोलेर हे¥यो । कुलेखानी जस्तै भएको रहेछ, रित्तो । अब अलि पर मूलसडकसम्म नघिच्याइ सुख्खै थिएन । त्यहाँ पेट्रोल पम्प छ । आज पेट्रोल बाँड्या छ कि छैन थाहा छैन । रहेछ भने त्यहाँ एउटा अर्को अजिंगर जस्तो लाइन उसलाई निल्नको लागि तयार हुन्छ ।

पेट्रोल बाँड्या रहेछ । सित्तैंमा पाएको कुरा लिन जस्तो गरि मानिसहरु ठेलमठेल गरिरहेका थिए । बीचबीचमा बेलाइनबाट हालिदियो भनेर मुक्कामुक्की पनि हुन्थ्यो र पम्पवालाले सटर तल तान्थ्यो । फेरि सबैले सम्झाइबुझाइ, अनुनय विनय र हारगुहार गरेपछि कृपा गरेजस्तो गरी ऊ सटर उठाउँथ्यो । तीनचार घण्टा एवं रीतले लाइनमा लागेर पेट्रोल भरेपछि अनामवहादुर थोत्रो भटभटेको चर्को आवाज र धूँवाको मुस्लो फ्याल्दै अफीस तिर हुँइकियो ।

३.
अफीस भित्र छिर्नासाथ सबै भन्दा पहिले त छड्के नआएको कुरा थाहा पाएर अनामवहादुरले सन्तोकको लामो सास फे¥यो । हाजिर कपीमा सही धस्काएपछि आफ्नो काम सुरु गर्नु अघि बाहिर क्याण्टिनमा चिया सुर्काउने सरकारी कार्यालयका कर्मचारीहरुको जन्मसिद्ध अधिकारको सदुपयोग गर्न ऊ निस्क्यो । घाम लागेको थिएन, क्याण्टिन अघि पुराना फर्निचरका टुक्राहरु बालेर धुनि जगाइएको थियो । साधारण मर्मत गरेको भए प्रयोगमा ल्याउन सकिने ती फर्निचरको ज्वालामा ऊ पनि हात सेक्न थाल्यो ।
‘नयाँ खवर के छ त माड्साप् ?’ उसले शाखा अधिकृत पाण्डेलाई सोध्यो ।
‘तपाईंलाई थाहा छैन र ? यसपालि थुप्रैलाई स्थायी गर्ने कुरा छ नि ।’
अनामवहादुरका नसा, सिरा र धमनीहरुमा आशाका तरंगहरु तैरिए । विगत लामो समयदेखि अस्थायी जागीरको नाङ्गो तरवार उसको टाउकामाथि पनि झुण्डिएको थियो । तर दत्तचित्त भएर काम गर्ने भएको नाताले आफू स्थायी हुने कुरामा ऊ आशावादी थियो ।
पाण्डे भन्दैथ्यो,
‘एकपटक हाकिमसाबलाई भेटिहाल्नुस् ।’
अनामवहादुर अडर गरेको चिया पनि नकुरी हाकिमसाहेबको कोठा भएको चौथो तल्ला तिर चढ्यो । त्यहाँ ऊ जस्तै अरु दर्जन जति कर्मचारीहरु पहिले नै हाकिमसाबलाई भेट्न लाइनमा लागिसकेका थिए । हाकिमसाब आइपुगेका थिएनन् ।
हाकिमसाहबकी पिए फेसबुकमा व्यस्त थिई ।
‘हाकिमसाबलाई भेट्नुथ्यो एक पटक ।’
‘आउनुभा छैन । उहाँहरु पनि त्यसैका लागि कुरिरहनुभा हो । लाइनमा बस्नुस् ।’
‘कतिबेला सवारी हुन्छ होला ?’ उसले आफ्नो स्वरलाई सकेसम्म मीठो बनाएर सोध्यो ।
‘खै मन्त्रालयमा जरुरी मिटिंग छ रे, कतिबेला सकिने हो थाहा छैन ।’ पिएले आँखा कम्प्यूटरको मनिटरबाट नहटाइ भनी ।
‘लौ, आज पनि चालीसजनाले फ्रेण्ड रिक्वेस्ट पठाएछन् । चिन्नु न जान्नु, अलि राम्री केटीको फोटो त देख्नै नहुने । यी मोरा लोग्नेमान्छेहरु त के होलान् छ्या ।’
चालीस काटेकी स्थूलकाय पिएले आत्मरतिमा रमाउँदै चालीस जनाको मूर्खताका लागि समग्र पुरुष जातिलाई नै गाली गरी । तर पनि कोठामा भएका कुनै पुरुषले त्यसको प्रतिकार गरेनन् । उसले एसएलसी दिने बेलाको फोटो किन फेसबुकमा राख्या भनेर पनि कसैले सोधेन । कमसे कम आजको दिन हाकिमसाबकी पिएको कोपभाजनको सिकार बन्न कोही चाहँदैनथ्यो ।
अनामवहादुर फेरि एउटा लाइनमा बस्यो । हाकिमसाहेब त्यस दिन अफीसै आएनन् । सबै निराश भए किनभने भोलिपल्ट शनिवार थियो र आइतवार पनि माघे संक्रान्तिको विदा थियो । भोलिपल्ट बिहानै हाकिमसाबको घर जाने विचार गर्दै अनामवहादुर लोप्रे कान लगाएर फक्र्यो । हो, त्यही गर्दा वेश होला । ऊ मनमनै गम्दैथ्यो । हाकिमसाबलाई खसीको मासु खूब मन पर्छ भन्ने उसले सुन्या थियो । उसको डेरा नजीकै शनिवार ज्यूँदै टोकौंटोकौं जस्तो लाग्ने लाग्ने लामकाने खसी काट्छ । चार सय पचास रुप्याँ किलोमा लुछाचुँडी हुने मासु आफ्नो लागि उसले कहिले पनि किनेको थिएन । तर आफ्नो जागीर स्थायी गराउनका लागि यो मोल साह्रै तुच्छ हो भन्ने उसलाई लाग्यो । त्यो अघि हाकिम्नीको लागि पशुपति गएर चन्दन र प्रसाद पनि बटुल्नुपर्ला भन्ने उसलाई लाग्यो ।

४.
घडीको व्याट्री फेरेको हुनाले भोलिपल्ट बिहान समयमा नै उठेर उसले शौचालयको लाइन छल्यो । तुषारोले सेताम्य भएको झिसमिसे बिहानलाई चुनौती दिंदै ऊ पशुपति दर्शन गर्न पुग्यो । त्यहाँ भक्तजनहरुको लाइनमा बसेर दर्शन गरेर, चन्दन बोकेर ऊ खसी काट्ने पसलमा हान्नियो । दूरदर्शी अनामवहादुरले हिजै पैसा बुझाएर एक किलो मासु बुक गरेको हुनाले त्यहाँको लाइनबाट पनि उसले चाँडै मुक्ति पायो । हतारहतार हाकिमसाबको घरमा पुग्दा उसलाई थाहा भयो, हाकिमसाबका अरु पनि रुचिहरु रहेछन् र अफीसका अरु कर्मचारीहरुलाई त्यसको बारेमा थाहा रहेछ । कोही त्रिपुरेश्वरको चन्दास हलुवाइको जेरी, कोही भीरमाहुरीको मह, कोही बाख्रीको चीज, कोही तुषारोले खाएको रायोको साग, कोही धनकुटाको जूनार र कोही मुढेको आलू बोकेर लाइन लागिसकेका रहेछन् । केही पनि नल्याएको एक जना चाहिँ हाकिमसाबको अजङ्गको भोटे कुकुर जख्खूलाई नित्य कर्म गराउनका लागि स्याँस्याँ गर्दै डुलाउँदै रहेछ । एक किलो मासु र चन्दन बोकेको अनामवहादुर पनि लाइनमा बस्यो । पशुपतिनाथको दर्शन गर्न भन्दा केही बेर बढी कुरेपछि बल्ल उसको पालो आयो ।
‘लौ, किन दुःख गरेको ? मलाई यस्तो गरेको मन पर्दैन । तर अब श्रद्धा गरेर ल्याइहालेछौ । कसरी फर्काउनु ?’
चन्दन लगाएर मासुको पोको काम गर्ने मान्छेलाई थमाउँदै हाकिमसाबले भने ।
‘लौ भन, के समस्या छ ? के गर्न सक्छु म तिम्रो लागि ?’
तपस्या गर्नेको अगाडि प्रकट भएका महादेवले वरदान माग्न सोधे जस्तो उनले गमक्क पर्दै सोधे ।
आमवहादुरको मनमा थुप्रै कुरा एकैपटक आए । बिहान देखि बेलुकासम्म समस्या नै समस्या छ मलाई । सक्नुहुन्छ भने अहिले कै भाडामा मलाई चौबीसै घण्टा पानी आउने र एट्याच बाथरुम भएको फ्ल्याट मिलाइदिनुस्, एक सिलण्डिर ग्यास उपलव्ध गराइदिनुस्, फूल ट्याङ्क पेट्रोलको जोहो गरिदिनुस्, सुरुचिलाई अमेरिकाबाट फिर्ता ल्याइदिनुस्, रावणको हातबाट उसलाई छुटाएर मसंग बिहे गराइदिनुस् । के मात्र मागौं म ? तर यी सबै कुरालाई पन्छाएर उसले प्रकटमा यतिमात्र भन्यो,
‘हजूरलाई थाहै छ, निकै लामो समय इमानदारीपूर्वक सेवा गरेको छु । यस पालि स्थायी गर्ने रे भन्ने सुन्या भएर एक पटक हजूरको आशीर्वाद माग्न आएको । यो दुःखीको कल्याण हुन्थ्यो हजूर ।’
हाकिमसाबले आफ्नो थुलथुल पेट मुसारे, कुर्सीमा अटाइ नअटाइ खाँदेको आफ्नो पुठ्ठे अलिकति बंग्याएर लामो वायु त्याग गरे । त्यसका लागि कुनै माफी नमागी उनी बोले,
‘तिमीलाई त थाहै छ निकै लामो समयदेखि थाइ नगरेको हुनाले अस्थायीहरुको लाइन अलि लामै छ । पालैपालो बिस्तारै थाइ गर्दै लैजाने कुरा भएको छ । के गर्न सकिन्छ म हेरौंला । बरु तिम्रो नाम के रे ?’
उसले आफ्नो नाम बतायो र जानका लागि उठेर उल्टो धनुष्टंकार भएजसरी कुप्रेर नमस्कार ग¥यो । चार पाँच पाइलासम्म पछाडि सरेर फर्कंदा उसलाई थाहा भैसकेको थियो, उसको नाम हाकिमसाबले पाँच मिनेट हेक्का गरेछन् भने ठूलो कुरा हो ।
कुलेखानीको तीनचार वटा माछा बोकेको अर्को आशावादी उसपछि हाकिमसाबको दर्शन गर्दैथ्यो ।


एवं रीतले महीनौं बिते । अनामवहादुरको डिप्रेसन भने घट्नुको साटो बढ्दो थियो । उसका समस्याहरु ज्यूँकात्यूँ नै थिए । एक दिन बाह्र जना स्थायी भएको थाहा भयो । उसले जिन्दगीमा राजनीति पनि गरेन, कुनै वादको पछि पनि लागेन । न उसका कोही आफन्त थिए, न उसले लप्पनछप्पन गर्न जानेको थियो । एक किलो खसी र एक पित्को चन्दनले उसलाई चाकडीमा पनि कुनै अंक दिलाउन के सकोस् र ? त्यसैले लामो लाइनमा बसेको उसको नाम जाबो बाह्र जनामा के खाएर परोस् ? त्यही दिन थाहा भयो, सुरुचिले अमेरिकामा घुतुमुने छोरो जन्माइछ । लेखाकी उन्नतिलाई इमेलमा फोटो पठाएकी रहिछ । सुरुचिले छोरो बोकेकी थिई, रावणले सुरुचिलाई अंगालो मारेको थियो र सुरुचि असाध्यै प्रसन्न देखिएकी थिई । त्यस दिन अनामवहादुरले बेस्मारी पियो र राति आफ्नो हातको नसा काट्यो । रक्सीको मातमा उसले ढोका ह्वाङ्गै छोडेको हुनाले मात्र छिमेकीले बिहानीपख थाहा पाए । नत्र नगनाउन्जेल ऊसको मुर्दा शरीर त्यही अवस्थामा लडिरहन्थ्यो । राउत भाइ, चीमसाहू, उप्रेति र अरु मिलेर उसलाई पशुपति आर्यघाटमा पु¥याए । त्यहाँ पहिले नै थुप्रै लाश जलिरहेका थिए । तीनचारवटा लाश पहिले नै पोलिनका लागि कुरिरहेका थिए, लाइनमा । अनामवहादुर फेरि एउटा अर्को लाइनमा लमतन्न पर्यो ।


माथि पनि चित्रगुप्तको अगाडि आआफ्नो लेखाजोखा गराएर स्वर्ग अथवा नर्क जाने निधो गराउन उभिएकाहरुको निकै लामो लाइन छ । लाइनबाट आजित भएर आत्महत्या गरेको अनि लाइनमै लागेर पोलिएको अनामवहादुर त्यही लाइनको पुछारपुछार तिर आफ्नो पालो कुर्दै उभिएको छ । हेर्दाहेर्दै उसका पछाडि अरु पनि फुत्तफुत्त प्रकट हुँदै छन् । चित्रगुप्तको लाइनमा निकै ढीला सर्दै छ । मान्छेको जीवनभरको हिसाबकिताब गर्नु चानचुने कुरा थिएन, त्यसैले होला चित्रगुप्त एकएक जनाको लागि निकै लामो समय लगाइरहेका थिए ।

अनामवहादुरलाई थाहा नभएको कुरा चाहिँ के हो भने यो लाइनबाट पार लागेपछि चित्रगुप्तको निर्णय अनुसार स्वर्ग अथवा नर्क जानेहरुको अर्को एउटा लाइनमा उभिन त बाँकी नै छ उसलाई ।

एकै टेकमा तीन अन्तरा

कान्तिपुर कोसेलीमा प्रकाशित बम्बै, २०...... गति रोधक पुढे आहे सडकको किनारामा ट्राफिकको सूचना गाडिएको बोर्डमा मराठीमा लेखिएको थियो, अगा...