Wednesday, June 11, 2014

आदर र सम्मान कसलाई ?

झण्डै एक वर्ष अघिको 'बायाँ फन्को'

केही दिन अघिको चीसो बिहानको कुरा हो । तुषारोले सेताम्य भएको भुईंलाई न्यानो पार्ने घाम उदाएको निकै बेर भैसके पनि कुहिरोको पर्दालाई पगालेर अझै पनि राम्ररी देखिन पाएको थिएन । सखारै कतै जानुपर्ने वाध्यता नभएकाहरु भाग्यमानीहरु आआफ्नो ओच्छ्यानमै गुँडुल्किरहेको बेला त्यस्तो सोख गर्न नपाउने अभागीहरु भने स्यूस्यू गर्दै हिंड्न थालिसकेका थिए ।

म पनि माथि भनिएका मध्ये दोश्रो वर्गकाहरुमा परेको हुनाले सखारै निस्केको थिएँ । म कोटेश्वर निर आइपुग्दा एउटा रमाइलो दृश्य देखियो । शुरुमा त मैले त्यसको रमाइलो पाटो मात्रै देखें र मनमनै मुस्काएँ । तर एकै छिनमा मैले त्यसको पछाडिको अर्को गूढ पक्ष पनि देख्न पुगें र त्यसले सोच्न बाध्य बनायो । भैंसीहरु बोकेको एउटा अजंगको ट्रक बीच बाटोमा स्टार्ट बन्द भएर थला परेको रहेछ । त्यति बेलासम्म त खासै धेरै सवारी साधनहरु बाटामा गुड्न भ्याइसकेका थिएनन् । तर एकै छिन पछि चहलपहल सुरु भएर छ लेनको बाटोलाई पनि चुनौती दिने गाडीहरुका ताँती लाग्ने समय भैसकेको थियो ।

 
दुइजना ट्राफिक प्रहरीहरु ठसठस कन्दै न्वारान् देखिकै बल लगाएर भैंसीहरु खाँदिएका त्यो ट्रकलाई छेउ लगाउनका लागि घच्याडिरहेका थिए । एक त आफै भारी त्यसमाथि अलिकति उकालोमा रोकिएको त्यो ट्रकलाई सार्नु सजिलो काम थिएन । त्यो देख्दा मैले ती ट्राफिक प्रहरीहरुलाई मनमनै सलाम नगरी बस्न सकिनं । धन्य हुन् ती जसले हामीहरुलाई सवारी आगमनमा कम भन्दा कम असुविधा होस् भन्नका लागि रात, दिन, साँझ, बिहान, चर्को घाम, ठिहि¥याउने जाडो, बर्खे झरी, धूलो, धुवाँ र प्रदूषणको पनि वास्ता नगरी कठोर शारीरिक परिश्रम गरिरहेका हुन्छन् । त्यतिबेला मलाई थाहा नभएको अर्को कुरा के थियो भने, बिचरा ट्राफिक प्रहरीहरुको दिनमा सोह्र घण्टासम्म पनि ड्यूटी हुँदोरहेछ । अझ सही ढंगले मर्मत र सम्भार नगरिएका बेलाबेला ठाउँकुठाउँमा थचक्क बस्ने ढुंगे युगका सवारी साधनहरु पनि घच्याड्नुपर्छ उनीहरुले । साँच्चै आदर र अभिवादनका योग्य हुन् ती कर्मजीविहरु । हामी कहाँ त भाडाका सवारी साधनहरु गुडुन्जेल चलाउन पाइन्छ । तिनले कति कालो मुस्लो फ्याल्छन्, जनस्वास्थ्यमा कति नकारात्मक असर पार्छन्, वातावरणलाई कति कलुषित बनाउँछन् भन्ने कुरामा कसैलाई सुको बराबर पनि मतलब छैन । 
गहिरिएर सोच्ने हो भने हामीले यस्ता अरु थुप्रै आदर गर्नु पर्ने र सलाम ठोक्नुपर्ने मानिसहरुलाई बेवास्ता गरिरहेका  हुन्छौं । त्यतिमात्रै पनि कहाँ हो र ? त्यसको विपरित कतैबाट पनि कुनै पनि हिसाबले आदर, सम्मान र अभिवादनका योग्य नभएका मानिसहरुलाई चाहिँ दिनहुँ अनावश्यक रुपमा नमस्कार र सलाम गरिरहेका हुन्छौं । एउटा कार्यालयको हाकिम चाहेजतिसुकै भ्रष्टाचारी र दुराचारी किन नहोस्, कार्यालय भरका कर्मचारीहरु उसप्रति नतमस्तक हुन्छन्, उसलाई नमस्कार गर्छन्, उसको घरघरसम्म पुगेर उसको चाकडी गर्छन् । उसका नाजायज कुराहरुमा पनि सहमति जनाउँछन्, उसको कुनै पनि काम आउन पाउनु आफ्नो भाग्य मान्छन् । आदर नै गर्ने हो भने, त्यही कार्यालयमा अरु सबै आउनु अघि कार्यालय सफा गर्ने, टेबुल पुछेर टिलिक्क बनाउने, समयभन्दा ढीला आएर चियाको आदेश दिनेहरुको आज्ञा शिरोपर गर्ने पिउन तथा सफाइ कर्मचारीहरुको पनि गर्नु पर्छ । तर हामी मध्ये कतिले तिनलाई पहिले नमस्कार भन्छौं ? उसले हाम्रो काम गरिदिंदा कतिले उसलाई धन्यवाद भन्छौं ? आफूभन्दा पाको, आफ्नो बाबुको उमेरको पिउनले आफूलाई नमस्कार गर्दा हामी मध्ये कतिले उसलाई त्यसो नगर्न र आफू उ भन्दा सानो भएको बताउँछौं ? चारैतिरबाट नाङ्गो भैसकेको एउटा नेता, चाहे उसमाथि फौज्दारी नै किन लागेको नहोस् उसको पछाडि लाग्नेहरुको कहिले पनि कमी हुँदैन । उसलाई हामी आदरणीय, माननीय, सम्माननीय जस्ता विशेषणहरुले सिंगार्छौं ।   वाध्यताले होस् वा स्वेच्छाले, हामी तिनलाई आदर गरिरहेका हुन्छौं । सार्वजनिक कार्यक्रमहरुमा हामी उनीहरुलाई प्रमुख अतिथि बनाउँछौं । उसले आफ्नो फाइदा हुने बाहेक अरु केही काम गर्दैन भन्ने थाहा हुँदाहुँदै पनि आआफ्ना क्षेत्रका जायाज नाजायज सबै समस्या उसले सुल्झाइदेओस् भन्ने इच्छा व्यक्त गर्छौं । उसले औपचारिकता मात्र पूरा गर्नका लागि गमक्क परेर आफूले के गर्न सकिन्छ प्रयत्न गर्छु भनेपछि करतल ध्वनिले त्यसको स्वागत गर्छौं । अख्तियारले समातेको कुनै मान्छे भन्नासाथ त हामीकहाँ त्यसको सामाजिक हैसियत नै उँचो हुन्छ । उसको घरमा छोरी दिन वा उसकी छोरीलाई बुहारी बनाएर भित्ररयाउनका लागि तँछाड मछाड हुन्छ । बास्तवमा त्यस्ता मानिकिा सात पुस्ता कलंकित हुनुपर्ने हो । 
तर हामी त पैसा र वैभवलाई इज्जत गर्छौं, योग्यता, नैतिकता वा कलालाई हैन । कहीं कुनै रेष्टुराँमा जाँदा गार्डले सलाम हान्दा अधिकांशले त्यो फर्काउँदैनौं । हाम्रा आवश्यकताका सामानहरु बेच्ने पसलेसंग समान किनेपछि धन्यवाद किन भन्दैनौं हामी ? हामीले किनेका फर्निचर बोकेर घरसम्म ल्याइदिने भरियासंग उस्तै परे बरु ज्यालामा दशबीस रुप्याँ घटाउन किचकिच गर्छौं तर उसको परिश्रमका लागि आभार प्रकट गर्दैनौं । 
हाम्रा वरिपरि यस्ता अरु वग्रेल्ती उदाहरणहरु पाइन्छन् जसका कारण हाम्रो जीवनशैली निकै नै सरल र सहज भैरहेको हुन्छ । तर ती सबै कुरा, ती सबै मानिस र उनीहरुको कर्मलाई नै हामीले यति सहजतापूर्वक लिइसकेका छौं, हामी तिनीहरु प्रति आभारी हुनु त परै जाओस्, तिनको हेक्का पनि गर्दैनौं । ठिमीबाट हरेक बिहान सात नबज्दै साइकलमा सागका भारी बोकेर काठमाण्डौं आइपुग्ने एकजना ठिटा छन् । तिनी राति २ बजेदेखि साग बटुल्ने, पखाल्ने र मूठा पार्ने गर्छन् । यो उनको दैनिकी नै हो । आदरको वास्तविक अधिकारी ती ठिटा हुन् कि होइनन् त ? हरेक दिन हामीलाई आवागमनमा सुविस्ता होस् भनेर यो असम्भव ट्राफिक र विजोगका सडकहरुमा सार्वजनिक यातायातका साधनहरु हाँक्ने चालकहरु नहुने हो भने हाम्रो जीवनशैलीमा कति असर पुग्छ भन्ने कुरा हामीले सोचेका छौं ? हाम्रो आदरको अंश तिनले पाउनुपर्छ कि पर्दैन होला त ? शान्तिसुरक्षामा खलल नपुगोस् भनेर रातभर गस्ती गर्ने प्रहरीहरु, मादक पदार्थ सेवन गरेर चलाउने एउटाको दोषको परिणाम अरुले नभोगून् भनेर मुखैमा हा...गराएर अनेकौं रोगका किटाणुहरुको संक्रमणको डर मिचेर ड्यूटीमा खट्ने जवानहरुको काम के सजिलो छ र ? तिनलाई आदर गरौं । 
आदर र सम्मान मान्छेको पद, पैसा र पहुँचलाई मात्रै नगरौं । कर्मयोगी, सेवादायी र श्रमजीवि हातहरु भनेका जहिले पनि नारा लगाउन हावामा मुठ्ठी उचाल्नेहरुको भन्दा बढी महत्वपूर्ण हुन्छन् । यहाँ उल्लेख गर्न नभ्याइएका अन्य सबै त्यस्ता हातहरुलाई सलाम गरौं, आदर गरौं र सम्मान गरौं । 

एकै टेकमा तीन अन्तरा

कान्तिपुर कोसेलीमा प्रकाशित बम्बै, २०...... गति रोधक पुढे आहे सडकको किनारामा ट्राफिकको सूचना गाडिएको बोर्डमा मराठीमा लेखिएको थियो, अगा...