Sunday, February 5, 2012

डिजिटल ड्याङ्


केही समय अघि कान्तिपुर कोसेलीमा प्रकाशित

अघिल्लो शुक्रवार अपर्झट कामले काठमाण्डौ बाहिर जानुपर्ने भएकोले म छातीमा मुड्कीले हानेर सिनामंगलबाट हवाइजहाजको टिकट काटेर फर्कंदै थिएँ । नयाँ बानेश्वर चोकमा एउटा कालो मुश्लो धुवाँ फालिरहेको ट्रकको पछाडि रोकिएको बेला पारि केही नदेखिने धुवाँ पछाडिबाट अचानक एकजना ट्राफिक प्रहरी प्रकट भए । उनले मलाई खाउँला जस्तो गरी हेर्दै लाइसेन्स देखाउन भने । मेरो भटभटेमा डिजिटल नम्बरप्लेट थियो । तर त्यसमा कुनै कलाकारिता गरिएको थिएन, चाहिने भन्दा बढी केही लेखिएको पनि थिएन । बत्ती बल्दा थरिथरिका झिलमिल रंगहरु टल्किने पदार्थले पनि त्यो बनेको थिएन । त्यो बबुरोको अपराध यत्ति मात्रै थियो, त्यो हातले लेखिएको थिएन । हातले, खुट्टाले वा कम्प्यूटरले, बनाएको भन्दा पनि स्पष्ट र मापदण्ड भित्र छ कि छैन भन्ने महत्वपूर्ण हो भन्ने अल्पज्ञान मैले विनम्रतापूर्वक उनी सामु प्रस्तुत गरें । अरु खुइलिएका र अक्षर नचिनिने तर निर्धक्क घुमिरहेका हस्तलिखित नम्बरपलेटहरु देखाएर उनलाई आश्वस्त पार्न खोजें । उनी झनै आक्रामक रुपमा प्रस्तुत भए । आजकल आन्तरिक हवाइ यात्रामा परिचयपत्र देखाउनु पर्ने र आफूसंग त्यतिबेला त्यही अनुमतिपत्र मात्र भएको विलौना पनि गरें तर उनले लाइसेन्स खोसेरै छाडे । काठमाण्डौंबाट एघार किलोमिटर पर काँठमा बस्ने म बबूरोसंग घर पुगेर नागरिकता लिन जाने समय थिएन ।
मेरो त्यो वाध्यताले उनको पत्थरहृदय पगाल्न सकेन । मलाई जाने र आउने बेला विमानघाटमा कति किचलो भयो भन्ने कुरा उनको टाउको दुखाइको विषय पनि त हैन नि ।
ट्राफिक प्रहरीहरु थरिथरि नियमहरु बनाउँछन्, केही समय दिनदुनियाँ भुलेर त्यसको पालना गराउन लागिपर्छन् । अनि केही दिनमै त्यो बिर्सन्छन् । चाहे त्यो भटभटेको पछाडि बस्नेले पनि शिरकवच लगाउने होस् वा गाडीको अगाडि बस्नेले कम्मरपेटी बाँध्ने होस् । केही समय ती नियम नमान्नेहरु अराष्ट्रिय तत्वहरु नै हुन् भने जस्तो गरी जाइलागेका ट्राफिक प्रहरीहरुलाई आजकल गाडीमा कम्मरपेटी भन्ने चीज पनि हुन्छ र भटभटे दुर्घटना हुँदा पछाडि बस्ने मान्छेले सिलटिम्मुर खाने बढी खतरा हुन्छ भन्ने कुरा मानौं थाहा पनि छैन ।
केही समय अघि फेरि खै उनीहरुको कहाँ चिलायो, उनीहरु नम्बरप्लेटको पछि लागे । सिमसिम राजाको पालामा बनेको ट्राफिक नियमावलीमा सवारी साधनहरुका नम्बरपाताहरु हातले लेखिएको हुनुपर्छ भन्ने कुरामा अड्डी लिएर उनीहरुले हातले नलेखिएका नम्बरप्लेट नभएका सवारी साधनहरुलाई पक्रंदै जरिवाना तिराउन थाले । यसको पछाडि उनीहरुको तर्क के थियो भने जथाभावी लेखिएका नम्बर र अक्षरहरु अस्पष्ट हुन्छन्, देख्न चिन्न गाह्रो हुन्छ र दुर्घटना गरेर भाग्नेहरुलाई समात्न सकिंदैन । सोह्रै आना सत्य हो, नबुझिने र अस्पष्ट नम्बरप्लेट राखेर सवारी चलाउन पाइँदैन । तर त्यसो भन्दैमा हातले लेखिएका बाहेक अरु सबै हटाउने भन्ने लिंडेढिपी चाहिँ कुनै चिलाइकै प्रतिफल बाहेक अरु केही हुन सक्दैन । के हातले लेखिएका सबै स्पष्ट र जसलाई उनीहरु ‘डिजिटल‘ भन्छन्, सबै अस्पष्ट छन् त ? हुन त कतिपय सवारीसाधन धनीहरुले आफ्नो कल्पनाशीलता र सिर्जनात्मक प्रतिभाको डवली बनाएर नम्बरपाताहरुमा प्रयोग नगरेका त हैनन् । तर, त्यसो भन्दैमा अझ राम्ररी देखिने र चिनिने अरु सारा नम्बरपाताहरुमाथि खनिनु कतिसम्म युक्तिसंगत हो त ?
गाँठी रमाइलो कुरो त म फर्केपछि पो छ । आइतबार काठमाण्डौं फिर्नासाथ सबैभन्दा पहिले मैले हस्तलिखित नम्बरप्लेट बनाउन दिएँ । पहिले रातो इनामेल दलेर, त्यो सुकेपछि त्यसमाथि सेतोले लेखेर त्यो पनि सुक्नु पर्ने भएकोले राम्ररी घाम लागे अपरान्हमा, नलागे भोलिपल्ट वा जहिले घाम लाग्छ, तब मात्र त्यो तयार हुने भयो । त्यहाँबाट आफ्ना अरु कामका लागि हिंड्दा बाटोमा भेटेजति ट्राफिक प्रहरीले तीनदिनको भोको स्यालले चल्लो देखेर झम्टे जसरी मलाई झम्टे । यस्तो भान हुन्थ्यो मानौं काठमाण्डौंको ट्राफिकको सबैभन्दा ठूलो समस्या त्यही नम्बरप्लेट हो र त्यो नहुने हो भने सबै ठीक हुन्छ । म हरेक ट्राफिक प्रहरीलाई आफ्नो अनुमतिपत्र जफत भैसकेको र हस्तलिखित नम्बरप्लेट सूर्यदेउताको कृपाधीन रहेको कुरा बताउँथें । त्यति भनेपछि त्यो रसीद पनि नहेरि उनीहरु मलाई जान दिन्थे । त्यस्तो थाहा पाएको भए त म मेरो अनुमतिपत्र खोस्न आउनेलाई पनि त्यही भन्दो हूँ । सिंहदरवार बाटोमा परिहालेको हुनाले जरीवाना तिरेर अनुमति पत्र लिनका लागि बग्गीखाना भित्र भटभटे छिराउन मात्र के लागेथें, त्यहाँ ढोकामा उभिएका ट्राफिक प्रहरीले पनि बाटो छेकिहाले ।
“यो नम्बरप्लेट किन नफेरेको ?” उनी कड्किए ।
बिग्रेको रेकर्डको सियो अड्के जस्तो मैले फेरि एकपटक आफ्नो त्यही बेसुरा राग अलापें र आफ्नो जफत भएको अनुमतिपत्र लिन जान लागेको कुरा बताएँ ।
“बिना हस्तलिखित नम्बरप्लेट तपाईं भित्र जान पाउनुहुन्न । गएर पहिले नम्बरप्लेट हालेर मात्र यहाँ आउनुस् ।”
मलाई अघिल्लो दिनसाढे दुइ घण्टा लाममा लागेर धक्कामुक्की गर्दै पम्पवालाको दयाले पाएको ओ नेगेटिभ रगत भन्दा दुर्लभ र महँगो पेट्रोलको सम्झना भयो । जाने र आउने बेलामा हुने ट्राफिक जामको कल्पनाले नै अत्यास लाग्यो । मैले उनलाई प्रहरीको काम भनेको हामीलाई हुन सक्ने ठाममा सजिलो बनाइदिने हो कि सकेसम्म अप्ठ्यारो भनेर सोध्ने कुचेष्टा गरि टोपलें । त्यहाँसम्म पुगिसकेको मान्छेलाई किन अप्ठेरो पार्ने भनेर फकाउन पनि खोजें ।
“हामीलाई त माथिबाट जे आदेश छ, त्यही गर्ने हो । तपाईं गएर जरीवाना तिरेर अनुमतिपत्र लिएर आउनु भयो भने पनि मैले तपाईंलाई यही गेटमा समातेर फेरि पूर्जी काट्नुपर्छ ।”
ती कत्र्तव्यपरायण ट्राफिक प्रहरीको कुरा सुनेर मलाई भाउन्न भयो । बूढापाकाले विवेकशून्य मानिससंग दैवको पनि केही लाग्दैन भनेर भनेको सम्झना आयो ।  म फेरि त्यहाँबाट नम्बरप्लेट बनाउने ठाममा गएँ । भेटे जति हरेक ट्राफिक प्रहरीले समात्दासमात्दा मलाई म कुनै ठूलै अपराधी हूँ कि भन्ने भान हुन थालिसकेको थियो । त्यसैले नसुकेको रातो इनामेल माथि नै नम्बर पोत्न लगाएर म बग्गीखाना पुगें । जरीवाना असुलेर अनुमतिपत्र फिर्ता दिने ठाममा भने एकजना अत्यन्तै हँसिलो, मिजासिला र मिलनसार ट्राफिक प्रहरी बसेका थिए । उनले हुनसक्ने जति कम मात्र जरीवाना तिराएर मलाई मेरो अनुमतिपत्र फिर्ता दिए । मैले लामो सास फेरें ।
नम्बरपाता हातले लेखेको हुनुपर्छ भन्ने नियम बनेको बेला कम्प्यूटर वा अन्य प्रविधिबाट पनि नम्बरहरु लेख्न सकिन्छ भन्ने थाहा थिएन । त्यसैलाई नजीर मानेर प्रविधिको विकासको उल्टोतिर पौडी खेल्ने ट्राफिक प्रहरीबाट सिकेर अब हामीले ढिकीमा नकुटेको चामल खानेलाई समात्नु पर्छ, जाँतोमा नपिसेको दाल मसला प्रयोग गर्नेलाई जरिवाना गर्नुपर्छ, टंकणयन्त्रमा ठ्वाङ्ठ्वाङ् पारेर तयार नपारिएका कागजपत्रलाई सरकारी मान्यता दिनु हुँदैन, ‘फुण्टेन पेन’ र मसीले लेखेर हुलाकबाट चिठ्ठी नपठाइ इमेल गर्नेलाई कारवाही गर्नुपर्छ, लाममा बसेर चेक नसाटी एटीएमबाट पैसा झिक्नेलाई छोड्नु हुँदैन । एनेस्थेसियाको आविष्कार हुनु अघि शल्यक्रिया गर्दा विरामीलाई अभ्यस्त हातले टाउकोमा घनले हिर्काएर बेहोश बनाइन्थ्यो रे । अब आइन्दा अस्पतालहरुमा फेरि त्यस्तै गर्नु पर्छ । बग्गीखानाबाट निस्कँदा परम्परालाई विलुप्त हुन नदिने ट्राफिक प्रहरीको यस महान अभियानमा सबैले आफ्नो तर्फबाट सक्दो योगदान गर्नु पर्छ भन्ने निक्र्यौलमा म पुगें ।
निश्चित मापदण्ड पूरा भएकालाई डिजिटल भएकै कारण विस्थापित गर्ने ऊर्जा भएका दक्ष ट्राफिक प्रहरीले जेब्रा क्रसिंगमा रोक्ने, जहाँ मन लाग्यो त्यहीं यात्रु चढाउने ओराल्ने, विपरित दिशाबाट ओभरटेक गर्ने, आकाशै ढाक्ने धूँवा उडाउने सवारीसाधनहरुलाई नियन्त्रण गर्नेतिर पनि ध्यान दिए उचित हुन्थ्यो कि

जुम्मा चुम्मा दे दे...

मंसिर २ , २०७४ - मलाई पान खान कहिले पनि मन लाग्दैनथ्यो , अझै पनि लाग्दैन । तर त्यस दिन म नयाँ दिल्लीको रिगल भन्ने सिनेम...