Translate

Saturday, March 27, 2010

हातैमा जे धूलो...

फरकफरक भौगोलिक, सामाजिक, आर्थिक र राजनीतिक परविेशले अनि उसले पाएको शिक्षादीक्षा र संस्कारले एउटा मान्छेभन्दा अर्को मान्छेलाई फरक बनाउँछ भन्ने मान्यता छ । उसका आनीबानी, सोचाइ, बोलीचाली, लबाइखबाइ, चरत्रि र प्रकृति ती कुराहरूले निर्धारति गरेका हुन्छन् । त्यसैले त सबैको जीवन एउटै भए पनि भोगाइ अलगअलग हुन्छन्, सबैका दुईवटै आँखा भए पनि तिनले देख्ने कुराहरू फरकफरक हुन्छन् । दुईवटै कान भए पनि सुन्ने कुराहरू फरकफरक हुन्छन्, एउटै कुरा सुने पनि बुझ्ने कुरा पृथक् हुन्छन् । पाँचैवटा इन्दि्रयका बनोट र कार्यप्रणाली एउटै भए पनि तिनले अलग अर्थ लगाउने गर्छन् । छैटौँ इन्दि्रय भनिने चेतनाको स्तर र बानीबनोटको भिन्नताले त्यो फरक ल्याएको हुन्छ । तर, यति हुँदाहुँदै पनि हरेक मानिसका केही कुराहरूमा भने उदेकलाग्दो समानता हुन्छ । त्यो मान्छे चाहे कणर्ालीको विकट पहरामा बसोस् वा क्यालिफोर्नियाको उत्तरआधुनिक सहरमा, मान्छेका केही यस्ता कुराहरू हुन्छन्, जसमा गएपछि ऊ एउटै हुन्छ । तिनैमध्ये एउटा आधारभूत मानसिकताको कथा भन्छ यो गीतले, हातैमा जे धूलो, झरेपछि त्यै सुनको फूल...।


एउटा कठीन पदयात्राको बाटो थियो । नाक ठोकिने ठाडो उकालो, बाँदर लड्ने भीरहरू र गन्तव्यमा पुग्नका लागि अनेकौँ व्यवधानहरू थिए त्यो बाटोमा । टुप्पोमा पुग्नुभन्दा अलि तल सबैभन्दा अप्ठ्यारो थियो, जहाँ पुगेर चढ्ने मान्छेहरू या चिप्लन्थे या थाकेर आरोहण परत्ियाग गर्थे । त्यहाँ एउटा बूढो बरको रुख थियो, जहाँ कुनै पनि आरोहण दलका सदस्यहरू सुस्ताउँथे, छलफल गर्थे, असहमतिका कुराहरूमा बाझाबाझ गर्थे, आफ्ना समस्याहरू बिसाउँथे । तिनमध्ये केही सुल्झन्थे पनि, केही थाँती रहन्थे । तर, त्यो रूखको उपस्िथतिलाई सबैले सामान्य रूपमा लिएका थिए । बेलाबेला कसैलाई लाग्थ्यो पनि, यो रूख अब बूढो भइसक्यो, यसमा अब केही फल्दैन । एकदिन त्यो रूख ढल्यो । रूख ढल्नुअघि त्यसलाई काटे पनि हुन्छ, यसमा अब के फल्छ र भन्नेहरूलाई लाग्न थाल्यो, थाकेर त्यहाँमुनि आएपछि केही नभए पनि सियाँलमा सुुस्ताउन त पाइएको थियो । आफूलाई छहारी दिने अर्को रूखको विकल्प सोच्न थालेपछि मात्र उनीहरूले हेक्का गरे, त्यो बूढो वरको रूख ठडिन कति समय लागेको थियो, कति घामपानी, आँधीहुरी, तुषारो र असिना पचाएर दह्रो भएको हुनुपर्छ त्यो रूख । तर, रूख ढलिसकेको थियो ।

हुन पनि हो, नियालेर हेर्ने हो भने हाम्रो नियमित जिन्दगीमा हामीसँग भएका कुराहरू, हाम्रा सम्बन्धहरू र हाम्रा उपलब्धिहरूसँग हामी ढुक्क हुने गर्छौं । हामीलाई केही समयपश्चात् ती सबै कुराको स्थायित्वमा कुनै शंका पनि लाग्न छाड्छ । त्यो आश्वासनको बेला हामी सोच्न पनि चाहँदैनौँ, संसारमा कुनै पनि कुरा अजर र अमर छैनन् । सृष्टिको अकाट्य नियम नै हो, हरेक कुराको एउटा उमेर हुन्छ, समयावधि हुन्छ । हरेक कुराले अरू कुराहरूका लागि ठाउँ बनाउनका लागि आफूले ओगटेको स्थान खालि गर्नैपर्छ । अरूका जीवनमा यस्ता घटनाहरू परेको देख्दा र सुन्दा पनि हामीभित्रको हामीलाई आश्वस्त बनाउने एउटा कुनै प्रणालीले त्यो हामीलाई पर्ने कुरा होइन भनेर दिग्भ्रमित बनाउँछ । त्यसैले हामी आफूमाथि आइपर्न सक्ने विपत्ति वा आफूले गुमाउनुपर्ने कुराको अभावको प्रभावबारे पूर्वतयारी गर्नबाट अल्छी गर्छौं । जब मान्छेले आफ्नो कुनै कुरा गुमाउँछ अनि मात्र उसलाई आफ्नो जीवनमा प्रत्यक्ष/अप्रत्यक्ष रूपमा त्यसले कति सकारात्मक प्रभावहरू पारेको थियो भन्ने कुरा थाहा हुन्छ । तर, त्यसपछि उसले जतिसुकै रोइकराई गरे पनि गुमेको कुरा फिर्ता हुँदैन ।

अनि, गुमेका कुराको अभाव र तिनको महत्त्वका बारेमा दुईवटा पाटाहरू हुन्छन् । एउटा पाटामा ती मान्छेहरू जसलाई वास्तवमै दुःख लागेको हुन्छ, अर्को पाटोमा ती मान्छेहरूलाई जसलाई या त कुनै दुःख हुँदैन वा त्यो गुमाइले उसलाई प्रत्यक्ष असर गरेको हुँदैन । तर पनि यो दोस्रो पाटाका मान्छेहरू सबैभन्दा ठूलो स्वरमा गुमेको कुराको महिमा वर्णन गर्न उद्यत हुन्छन् । औपचारकिताको यो नाटक यतिपटक दोहोरइिसकेको छ, यसको एक/एक दृश्य र संवाद हामीलाई कण्ठस्थ छ । यो नाटकको वियोगान्त दृश्यका लागि यति धेरै गोहीका आँसुहरू बगेका छन्, त्यसले गर्दा आउने लामो समयसम्म लोडसेडिङ्को समस्या नै सायद समाधान हुन्छ होला ।

त्यसैले मान्छेले आफ्ना सम्बन्धहरू र उपलब्धिहरूको उचित सम्मान र मूल्यांकन बेलैमा गर्नुपर्छ, त्यसको सम्मान त्यो रहँदै गर्नुपर्छ । तर, मान्छेलाई किन हातमा रहँदै सुनको फूलको महत्त्व थाहा हुँदैन ? किन त्यतिबेला त्यो धूलोजस्तो लाग्छ ? संसार मात्र नभई अन्तरक्ष्िासमेत विजय गर्न सक्छु भनेर गर्व गर्ने मान्छे किन आफूभित्रको यति सानो दोषसँग लड्न सक्दैन । किन मान्छे गुमिसकेको कुरामा मात्र राम्रा पक्षहरू देख्छ ? किन मान्छेले आफूसँग रहुन्जेल अर्को मान्छेको दोष मात्र केलाउँछ, उसको खुट्टा तान्छ, वैमनस्यता पाल्छ, खेदो खन्छ अनि त्यो नरहेपछि त्यही कुराको गुणगान गर्न थाल्छ ?

दिलमाया दिलमाया खै कसको भूल...?

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment