Sunday, May 27, 2012

काल खोज्दै ?? काल छल्दै !!

'के हो ? काल खोज्दै हिँडिएछ नि !' 

मोबाइल फोन नयाँ सन्देश आएको सूचना दिँदै थर्थर कामेको थियो। मानौँ कुनै दुःखद समाचारको पूर्वसूचना दिन तर्सेको होस्। त्यो कुनै शुभचिन्तकले पठाएको सन्देश थियो। अर्को वाक्य थियो, 'जोमसोममा अग्नि एयरको विमान खस्यो रे !' 

हतारहतार टेलिभिजन खोल्दा फ्ल्यास समाचारमा तिनै अक्षर तिर्मिराइरहेका थिए। थप विवरण आउन बाँकी। मेरो आङ जिरङि्ग भयो। एक दिनअघि त्यही विमानमा त्यही समयमा पोखरा-जोमसोम-पोखरा उडेको थिएँ। जोमसोमको उडानका चुनौतीका बारे मेरो बालसखा क्याप्टेन रवीन्द्र डंगोलसँग कुरा गर्दै, उसैले उडाएको डोर्नियर विमानमा। हिजो देखेको हातैले छुन भ्याइएलाजस्ता अजंगका पहाड, हिमाल र तिनको बीचको साँघुरो खोँचको बीचको यात्राको मादक स्मरण अचानक त्रासदीपूर्ण बन्न पुगे। सही वा गलत समयमा कतै हुनुले कति फरक पार्छ भन्ने कुरा मथिंगलमा फनफनी घुम्न थाल्यो। सातोपुत्लो उड्ने अर्को कारण पनि थियो। रवीन्द्र त्यस दिन पनि पोखरा-जोमसोम उडाउनु छ भन्दैथ्यो। आत्तिँदै उसको नम्बर थिचेँ, पूरापूरा घन्टी जान्छ तर फोन उठ्दैन। झन् अत्यास लाग्न थाल्यो। सन्देश पठाएँ, निकै बेरसम्म त्यसको पनि कुनै उत्तर आएन। मनको एउटा भित्ताबाट आवाज आउँथ्यो, 'उडानमा भएको भए त फोन बन्द हुन्थ्यो होला नि !


तर, अर्को भित्तोमा ठोक्किएर बेग्लै प्रतिध्वनि सुनिन्थ्यो। केही पछि थप विवरण आयो, जहाजको पाइलट अरू नै रहेछन्। तर, ती पनि त अरूका आफन्त हुन् नि ! आफ्नो मित्र सकुशल भएकामा लागेको खुसी पनि त्यति विरक्तलाग्दो हुन सक्दो रहेछ। म मोबाइलमा आएको सन्देश हेरेर एकोहोरो भइरहेँ, लगातार साता दिनको फरकमा दुईवटा दुर्घटनाहरूबाट म उम्केँ। २३ वैशाखमा भुजुंगखोलामा आएको अकल्पनीय प्राकृतिक विपत्तिका बेला म त्यहीँ नै हुने कार्यक्रम अन्तिम अवस्थामा रद्द भएको थियो। त्यसको एक सातापछि म कामले पोखरा पुगेको थिएँ। र्फकने बेला रवीन्द्रले फोन गरेको थियो। बिहानै जहाज उडाएर पोखरा आएको उसले मलाई लोभ्याएको थियो, "आज म यतै बस्ने हो। भोलि बिहानै जोमसोमका पाँचवटा फ्लाइट छन्। तँ पनि हिँड् बरू। साँझ दुई भाइ सँगै काठमाडौँ फर्कौंला।' 


भोलिपल्ट बिहान छ बजेको पहिलो उडानमा जोमसोमको यात्राले मलाई मन्त्रमुग्ध बनाएको थियो। पाँचौँ उडानको ठेगान नहुने भएकाले म चौथोमा र्फकने भएको थिएँ। ३५ मिनेटमा पोखरा जोमसोमको एक फेरो लगाउनुपर्ने हुनाले चीलगाडीहरू रोकिनासाथ भटाभट अर्को यात्रु हालेर हतारहतार उडिहाल्ने चलन रहेछ। सिजनका कारण भ्याइनभ्याइ यात्रुहरू थिए दुवैतिर। जोमसोम एयरपोर्ट दक्षिण भारतीयहरूले खचाखच थियो। अचेल त्यहाँ मुक्तिनाथ दर्शन नगरी वरत्रपरत्र नसुध्रने मान्यता छ रे, त्यसैले जोमसोम उडान दक्षिण भारतीयमय हुँदो रहेछ। 

दक्षिणतिर हिमाल हेरेर दंग पर्दै म बजार वरिपरि घुमेको थिएँ। विमानस्थलनजिकै उत्तरपट्टकिो फुंग उडेर पनि सुन्दर देखिने डाँडाको फोटो खिच्ने बेला मलाई के थाहा, भोलिपल्ट त्यहीँ गएर जहाज ठोक्किन्छ। तृप्त भावमा पसारएिको त्यो डाँडो भोकोजस्तो त पटक्कै देखिएको थिएन। तैपनि, त्यत्तिका मान्छेको ज्यान खायो। 
फर्किंदा पोखरामा एक हूल दक्षिण भारतीय वायुसेवाका कर्मचारीसँग भिड्दै थिए। अघिल्लो दिन बन्दका कारण भैरहवामा रोकिन परेका कारण त्यस दिन बिहानको उनीहरूको फ्लाइट छुटेछ। अब अर्कोमा उडाइदेओ भन्दै उनीहरू हिन्ग्रेसी -हिन्दी, अंग्रेजी र मद्रासी मिश्रति)मा बाझिरहेका थिए। एक जना भने आफू नेपालीजस्तो अप्ठ्यारो मान्छे नभए पनि भारतीय राजदूतलाई फोन गरेर नेपालका पर्यटन मन्त्रीलाई समेत थर्काउन लगाउने र उडेरै छाड्ने धम्की दिँदै थिए। नेपालीलाई अप्ठ्यारा मानिस भनेको सहन नसकेर म एकछिन ती पाहुनासँग भिडेको थिएँ। अन्ततः उनका एक मित्रले त्यो आशय नभएको भन्दै माफी मागेका थिए। उनीहरू भोलिपल्ट जहाज चार्टर नै गरेर भए पनि जाने कुरा गर्दै थिए। 

मेरो मोबाइल फोनको सन्देश ज्यूँका त्यूँ थियो, 'के हो ? काल खोज्दै हिँडिएछ नि !' 

जोमसोममा खसेको विमान चार्टर फ्लाइट नै थियो भन्ने समाचार आउन थालिसकेको थियो। मेरो मन अमिलो भयो। एक साताको अन्तरालमा दुईपटक कालको पञ्जाको नजिकबाट आफू उम्केको कुराले सोच्न बाध्य बनायो। हाम्रो जीवनमरण भन्ने कुरा कति अनिश्चित छ। कुनै पनि बेला कहीँ पनि कसैको पनि यात्रामा पूर्णविराम लाग्न सक्छ। तैपनि, किन हामी वैरभाव, उपलब्धि, निराशा, तेरोमेरो र इखका कुरा गर्छौं ? म आफैँ पनि किन बेकारमा ती दक्षिण भारतीयसँग बाझेँ ? तिनले आवेगमा आएर अप्ठ्यारा भन्दैमा के हामी सबै नेपाली अप्ठ्यारा हुन्थ्यौँ र ? चार्टर गरेरै भए पनि जाने भन्थे, के त्यो खस्ने विमानमा तिनी पनि परे होलान् ? चिन्दै नचिनेका र एक दिनअघि आफूले दाह्रा किटीकिटी झगडा गरेका ती दक्षिण भारतीयको मलाई पीर लाग्यो, माया लाग्यो। मैले तिनी त्यसमा नपरेका होऊन् भनेर प्रार्थना गरेँ। तर, ज्यान तिनको वा मेरो नभए पनि अरू कसैको त गएको हो नि ! 

मैले आफूलाई सन्देश पठाउने शुभचिन्तकलाई उत्तर पठाएँ, 'काल खोज्दै होइन, काल छल्दै हिँडेको भाग्यमानीचाहिँ रहेछु।'

तर, कसैले पनि सँधै काललाई छल्न सक्दैन। जिन्दगी अनिश्चित छ, काल अप्रत्यासित। त्यतिबेला जात, धर्म, वर्ग, समुदाय वा कुनै वादको केही अर्थ रहँदैन। त्यसैले यसलाई तेरो र मेरो भन्नका लागि, वैरभाव पाल्नका लागि किन खेर फाल्ने ? जिन्दगीले त हामी सबैलाई पटक-पटक बुद्धत्व प्रदान गर्छ। तर, हामी नै त्यसलाई देख्दैनौँ, थाहा पाउँदैनौँ र थाहा पाए पनि आफूसँग धेरै बेर राख्दैनौँ। 

जुम्मा चुम्मा दे दे...

मंसिर २ , २०७४ - मलाई पान खान कहिले पनि मन लाग्दैनथ्यो , अझै पनि लाग्दैन । तर त्यस दिन म नयाँ दिल्लीको रिगल भन्ने सिनेम...