Monday, June 11, 2012

राई सर र जीवनको हिसाब

त्यतिबेला हामी पाँच छ कक्षामा पढ्थ्यौं । हाम्रो हिसाव कक्षामा अक्सर घोडाका टापका आवाजहरु गुञ्जिरहेका हुन्थे, टडडकटक.....टडडकटक....। लगाम तानेर जब काउब्वाय बनेको क्लिण्ट इस्टवुडले तिनलाई रोक्न खोज्थ्यो, घोडाहरु आफ्ना अगाडिका दुबै खुटहरु उचालेर जोरसंग हिनहिनाउँथे, हिंहिंहिंहिं......। पाश्र्वमा एकतमासको सङ्गीतले हामीलाई चारैतिरबाट छोप्थ्यो । अगाडि पाँचवट छ वटा घोडामा लामो कपाल पालेका, दाह्रीजुँगे हेर्दै डरलाग्दा अरु काउव्बायहरु दाँत कोट्याइरहेका हुन्थे । क्लिण्ट इस्टवुड सतर्क भएर घोडाबाट ओर्लन्थ्यो र बिजुलीको फूर्तिले आफ्नो पेस्तोल निकाल्थ्यो । ढिच्याँ...ढिच्याँ..ढिच्याँ....गर्दै उसको पेस्तोलले आगो ओकल्न थाल्थ्यो । हेर्दाहेर्दै सबै दुष्टात्माहरु भुइँमा पछारिएका हुन्थे । स्याँस्याँ गर्दै हावा चल्न थाल्थ्यो र बञ्जर जमीनबाट उडेको फुस्रो धूलोले वातावरण धमिलो हुन्थ्यो । तपाईहरुलाई हिसाबको कक्षामा यस्तो कसरी सम्भव छ भन्ने लाग्नु स्वाभाविक हो । किनभने तपाईंहरुलाई राई सरले हिसाब पढाएका थिएनन् । राई सर, अर्थात जब्बर राई । यो २०३४ साल तिरको कुरा हो ।



“राई सर काठमाण्डौमा नै छन् रे नि । फोन नम्वर पनि पत्ता लागेको छ ।” केही दिन अघि मेरो स्कूले साथी नमराजले एकाबिहानै फोनमा भन्यो, उत्साहित भएर । म ऊभन्दा बढी उत्साहित भएँ, राई सरको नम्वर टिपें । उनलाई फोन गर्नु अघि अनायास मेरो मगजमा जब्बर राई सरसंगका केही पुराना कुराहरु सिनेमाका दृश्यहरु चलेसरी चल्न थाले । हुन त केटाकेटी बेलामा पढाउने सबै जसो शिक्षकहरुले हामीलाई कुनै न कुनै रुपमा प्रभावित पारेका हुन्छन् तर केही शिक्षक यस्ता हुन्छन्, जसलाई हामी जीवनभर तारन्तार सम्झन्छौं, मिस गर्छौं । त्यस्तै एक शिक्षक थिए हामीलाई हिसाब पढाउने जब्बर राई सर । राई सर हेर्दै नाम जस्तै जब्बर थिए । त्यतिबेलाका अरु शिक्षक भन्दा भिन्दै व्यक्तित्व थियो उनको । लामो कपाल, टिमिक्क कस्सिएको ¥याङ्गलर वा लिभाइजको जिन्स, त्यसको खल्तीमा गोलो टिनको खैनीको बट्टाको आकृति, माथिको दुइवटा टाँक खोलेको सेतो शर्ट अनि चारपाँच इन्चीको हिल भएको बूट । उनको हाउभाउ र हिंडाइ पनि काउब्वाइको जस्तै हुन्थ्यो । बेलाबेलामा उनी कक्षामा छिरेपछि सोद्धथे,
“लु भन् केटा हो, आज तोंहरु हिसाब पढ्छस् कि कथा सुन्छस् ?”
हामीलाई के चाहियो र ? कुनै ठूलो अर्केष्ट्राका कोरस जस्तै एकै सुरमा कराउँथ्यौं,
“कथा सुन्ने सर ।”
अनि राई सर टेबुलमा पुठ्ठो अडाएर आफ्नो विशिष्ट शैलीमा एउटा खुट्टामाथि अर्को खुट्टा चढाउँथे अनि एक डोज खैनी ओठमा च्यापेर काउब्वाइ फिल्मका कथाहरु सुनाउन थाल्थे । उनको शैली र हाउभाउ पनि गज्जबको थियो । हामी मन्त्रमुग्ध हुन्थ्यौं । कुनै अत्याधुनिक सुविधासम्पन्न सिनेमा हलमा बसेर प्रत्यक्ष सिनेमा हेरेको भान गराउँथे राई सर । कथामात्रै होइन, घोडाका टाप र हिनहिनाएको आवाज, हावा चलेको, बन्दूक पड्केको सबै उनी अभिनय सहित सुनाउँथे । अहिले जस्तो सजिलोसंग सिनेमा हेर्न नपाइने त्यो बेलामा हामीलाई राई सरले ‘गुड व्याड एण्ड अग्ली’, ‘फर अ फिउ डलर्स मोर’ लगायतका अनेकौं अरु सिनेमाहरु देखाइदिएका थिए, त्यो पनि ‘फाइभ प्वाइण्ट वान डिजिटल सराउण्ड’मा । कथा त भै हाल्यो, पढाउन पनि उनी असाध्यै खप्पीस थिए । अघिल्लो दिन कक्षामा पढाइसकेपछि उनी भन्ने गर्थे,
“भोलि आउँदा तोंहरु सबैले होमवर्क गरेर आउलास् । त्यसो भयो भने म तोंहरुलाई नयाँ काउब्वाइ कथा सुनाउँछु ।”
भनिरहनु नपर्ला, भोलिपल्ट कक्षाका ६० जना मध्ये कोही रित्तो कापी हुँदैनथ्यो । यसरी हिसाब जस्तो रुखो विषयलाई पनि मम जस्तो रसिलो बनाएर चखाउँथे राई सर । तर हामीलाई कक्षा पाँच देखि सात सम्म मात्र पढाएर उनी बूढानीलकण्ठ स्कूलमा गएका थिए । त्यसको करीव चार वर्ष पछि उनी हङकङको ब्रिटिश गोर्खा स्कूलमा पढाउन गएका थिए । तर जहाँ गए पनि राई सर हाम्रो समझनाबाट भने कहिले पनि हराउन सकेनन् । स्कूल पढुन्जेल मात्र होइन, कलेज सकेर जीवनको भागदौडमा व्यस्त हुँदा, पछिसम्म पनि पुराना साथीभाइहरु भेटघाट हुँदा राई सरको कुरा ननिस्कने असम्भव थियो ।
“तोंहरु यसो गर्लास्, तोंहरु उसो गर्लास्” भन्ने उनको बोल्ने शैली व्याकरणीय हिसाबले अशुद्ध भए पनि मलाई भने त्यो अनुकरणीय लाग्थ्यो । त्यही उनको विशिष्टता लाग्थ्यो । त्यसको प्रभाव कतिसम्म रह्यो त भने कालान्तरमा मैले परिभाषा भन्ने चलचचित्रमा राजेश हमालको चरित्रको सम्वाद ठ्याक्कै त्यही शैलीमा लेखेको थिएँ । परिभाषामा राजेश हमाल भन्छन्,
“तोंहरु खुरुक्क मैले भनेको मान्लास् । जे गरिरहेको छस्, त्यो सब छोड्लास्, आआफ्नो घर जालास् र आरामसंग सुत्लास् ।”
चलचित्रका सम्वाद भनेको व्याकरण मिलेको, शुद्ध, साहित्यिक र औपचारिक हुनुपर्छ भन्ने मान्यता भएको बेला त्यो शैलीमा लेखिएको सम्वादका पचाउनका लागि निर्माता, निर्देशक र सेन्सरबोर्डलाई विश्वस्त बनाउनका लागि गतिलै कसरत गर्नु परेको थियो । हाम्रा हिसाब पढाउने जब्बर राई सरले यसरी नै बोल्थे, चलचित्रका पात्रहरु पनि कुनै काल्पनिक संसारबाट हैन, हाम्रै वरिपरिबाट जन्मिन्छन् भनेर मैले सबैको चित्त बुझाएको थिएँ । हलमा सो चलचित्र प्रदर्शन हुँदा राजेश हमालको मुखबाट बोलेका जब्बर राई सरलाई दर्शकहरुले ताली पिटीपिटी स्वागत गरेका थिए । यसरी राई सर म भित्र अमिट छाप भएर बसेका थिए । उनको सेन्स अफ ह्यूमर पनि अचम्मको थियो । एक दिन उनले कालोपाटीमा हिसाबको अलि अप्ठ्यारो समस्या सुल्झाएर देखाएपछि भने,
“तोंहरु सबैले बुझिुस् नि हैन ? नबुझेको भए जतिपटक भए पनि सोद्धलास् । म बताउँछु । तर पछि जाँचमा आलू खाए पछि मलाई दोष नदेलास् । कसले बुझेनस्, हात उठाउलास् ।”
निकै बेर पछि बल्लबल्ल एकजनाले हात उठायो र मसीनो स्वरमा भन्यो,
“मैले बुझिंन सर ।” उसको नाम विद्याभूषण थियो ।
“अरु कोही छ नबुझ्ने ?”
अरु कसैले हात नउठाएपछि राई सरले उसलाई बस्न इशारा गर्दै भने,
“तों एकजनाको लागि म रिपिट गर्दिनं । भोलि सप्पै पढेर लेखेर डाक्टर इन्जिनियर भए भने रिक्सा तान्ने र ठेला घचेड्ने कसले ? तों बस्लास् ।”
हामी सबै गललल्ल हाँस्यौं । विद्याभूषण अमिलो अनुहार लगाएर थचक्क बस्यो । मान भवन भनेर चिनिने राणाहरुको पुरानो दरवारमा थियो हाम्रो स्कूल आदर्श विद्या मन्दिर । भवनका बीचमा तीनचारवटा चोकहरु थिए जहाँ खाजा खाने समयमा हामी सबै खेल्थ्यौं । त्यस दिन चौरमा खेल्ने बेलामा विद्याभूषण कतै पनि देखिएन । घण्टी बज्ने बेला हुन लागेपछि म आफ्नो कक्षातिर दौडंदै थिएँ, बाटोमा शिक्षकहरुको खाजा खाने स्टाफ रुम पथ्र्यो । त्यहाँबाट अगाडि कुदकुद्दै म अचानक टक्क रोकिएँ । अरु सर र मिसहरु खाजा खाँदै गफ गर्दै थिए । तर राई सर खाजा खान छोडेर दत्तचित्त भएर विद्याभूषणलाई अगाडि राखेर सिकाउँदै थिए । ऊ गम्भीर भएर मुण्टो हल्लाइरहेको थियो । आज विद्याभूषण एउटा फाइनान्स कम्पनीको एकाउण्ट सेक्सनको ठूलो हाकिम छ । दिनरात अंकहरुसंग खेल्छ, हिसाबसंग उसको अभिन्न मित्रता र अटूट सम्बन्ध छ ।  
म कक्षा पाँचमा हुँदा एक दिन राईसरले मलाई अचानक बोलाए र सोधे,
“तों नाटक खेल्छस् ?”
अप्रत्याशित रुपमा आएको यो प्रस्तावले म रनभुल्ल परें । मलाई आफू अभिनय गर्न सक्छु कि सक्दिन भन्ने पनि थाहा थिएन ।  यस विषयमा मैले कहिले केही पनि सोचेकै थिइंन ।
“मैले सक्छु र सर ?” मुसो जस्तो भएर मैले सोधें ।
“सक्छस् भनेर त भनेको नि तोंलाई । हिंड् ।” बाघ गर्जेजस्तो उनले भने । म लुखुरलुखुर उनको पछि लागें । त्यस वर्ष हाम्रो स्कूलले वार्षिक अभिभावक दिवस राष्ट्रिय सभागृहमा मनाउने र साँस्कृतिक कार्यक्रम गर्ने योजना बनाएको रहेछ । नाच र गानाको लागि बाहिरबाट प्रशिक्षक बोलाउने भए पनि नाटकको जिम्मा राई सरले पाएका रहेछन् । आधा कम्वल भन्ने नाटकको एउटा पात्रका रुपमा उनले त्यसै दिनदेखि रिहर्सल सुरु गराए । आधुनिक श्रीमती, जोइटिंग्रे लोग्ने, बूढो हजुरबा र छोरा गरी चार पात्र भएको नाटकमा उनले मलाई छोराको भूमिका दिएका थिए । आमाको कुरा सुनेर बाबुले मेरा बूढो र बिरामी हजुरबालार्ई घरबाट निकाल्छन् । उनी जाने बेला बाले मलाई भन्छन्,
“भित्रबाट एउटा पुरानो कम्बल ल्याएर हजुरबालाई दे त ।”
म कम्बललाई काटेर आधा पारेर ल्याउँछु । बा मलाई सोध्छन्, किन आधा कम्बल ? अनि राइ सरले मलाई लामो सम्वाद घोकाएका थिए जसमा म उनी बूढो भए पछि मैले उनलाई घरबाट निकाल्ने बेलाको लागि आधा कम्बल राखेको कुरा गर्छु । बाको आँखा खुल्छ ।  सभागृहमा यो मञ्चन हुँदा मैले यति धेरै थपडी खाएँ, मलाई त्यतिबेला म ठूलै स्टार भएको भान भएको थियो । अहिले पनि स्कूलका पुराना मित्रहरु भेट हुँदा आभा कम्बलको कुरा हुन्छ । यसरी राई सरले म भित्र पैदा गरिदिएका अभिनयका कीराहरु निकै पछिसम्म पनि सलबलाए । मलाई चलचित्रमा नायक बन्ने सपना तिनले देखाए । मैले टेलिफिल्महरुमा अभिनय गरेको पनि त्यही कीराहरु मार्न हो । मैले जति पनि राम्रा अभिनय गरें, त्यसको श्रेय राई सरलाई नै जान्छ । अहिले त निकै वर्ष भयो अभिनय छोडेको तर पनि बेलाबेला सल्वलाउन खोज्छन् राई सरका ती रेशमी कीराहरु । राई सरलाई बिर्सन नसक्नुका यस्ता थुप्रै कारणहरु थिए । त्यसैले उनका बारे केही भेउ पाइन्छ कि भनेर केही वर्ष पहिले ब्रिटिश गोर्खा स्कूल हंगकंगमा मैले इमेल पनि गरेको थिएँ जसको कुनै उत्तर आएको थिएन । तिनै राई सर अहिले काडमाण्डौंमा नै छन् भन्ने थाहा पाउँदा म उत्साहित थिएँ । राई सरका बहुआयामिक व्यक्तित्वका बारे सम्झँदै मैले उनलाई फोन गरें । अर्को तिर उही चिरपरिचित तर अलि बूढो भएको स्वर सुनें । सबैभन्दा उदेक लाग्दो कुरा त के भने मैले म उहाँको एउटा पुरानो विद्यार्थी भएको कुरा बताएर आफ्नो नाम नभन्दै उनले भने,
“तों खनाल हैनस् ? पख् है...के रे तेरो नाम ? अँ....ब्रजेश ।”
मैले उनको त्यो स्मरणशक्तिलाई सलाम गरें जसले झण्डै तीन दशक पछि अचानक फोनमा सुन्दा पनि आफ्नो विद्यार्थीको नाम सम्झिन सक्छ । उनका असंख्य विद्यार्थीहरु मध्ये एक मलाई उनले त्यसरी चिन्दा मेरो छाती गर्वले दुई इन्ची जति फुल्यो । राई सरले सीतापाइलामा घर बनाएका रहेछन् । उनलाई भेट्ने कार्यक्रम बन्यो । अत्यन्त उत्साहका साथ म जब्बर राई सरलाई भेट्न गएँ । राई सर अब हेर्दा जब्बर चाहिँ थिएनन् । उनको लामो कपाल, जुंगा, जिन्स, बूट जस्ता ट्रेडमार्क पहिरन अब रहेनछ । तर मन र व्यवहार त्यही थियो । उनले खैनी पनि खान छाडेको निकै भइसकेछ । भेटबाट उनी बडो प्रसन्न भए । बेलाबेला मेरा लेखहरु पढ्ने गरेको बताए । हामीले निकै पुराना कुराहरु ग¥यौं । बडो आत्मीय थियो गुरु चेलाको लामो अन्तरालको त्यो भेट । हामीले उनलाई मात्र हैन उनले पनि हामीलाई सम्झँदा रहेछन् । उनका पुस्ताको अधिकांश मानिस जस्तै राई सरको पनि एक छोरा र एक छोरी विदेशमा, श्रीमती पनि छोरासंगै भएका कारण चार तल्लाको घरमा तीन तल्ला भाडामा लगाएर राई सर आफ्नो अवकाशको जीवन बिताइरहेका रहेछन् । भाइका केही छोराछोरीहरु पढ्नका लागि उनीसंग बसेका छन् रे । आउँदै गर्नु भन्ने उनको आग्रहलाई शिरोधार्य गरेर फर्कंदा म सोच्दै थिएँ, अंकको हिसाबमा हामीलाई राई सरले पक्का बनाए तर जीवनको हिसाब चाहिँ आफैले सिक्नुपर्ने कुरा रहेछ । अनि निकै गाह्रो पनि छ गुरु बिना सिक्नुपर्ने यो विषय, हाम्रो जीवन ।

जुम्मा चुम्मा दे दे...

मंसिर २ , २०७४ - मलाई पान खान कहिले पनि मन लाग्दैनथ्यो , अझै पनि लाग्दैन । तर त्यस दिन म नयाँ दिल्लीको रिगल भन्ने सिनेम...