Thursday, May 31, 2012

म त माटो न हूँ


म त माटो न हूँ
बोझहरूले थिचिदिए हुन्छ
पैंतालाले किचिदिए हुन्छ
म त माटो न हूँ ।

रापले सेकिन्छु म  - तापले सोसिन्छु
चिरिन्छु-चरक्क चर्किन्छु
यहाँदेखि त्यहाँसम्म म
तर पनि टुक्रिन्नं, छरिन्नं म
म त माटो न हूँ ।
बर्षाको स्नेहका केही छिटाहरू
खसे भने म माथि
दंग पर्दै फेरि जोडिन्छु
मगमगाउँछु, व्यूँतिन्छु, हाँस्छु
म त माटो न हूँ ।

मेरो छाती उधिने हुन्छ
मलाई खने पनि हुन्छ
रोपे हुन्छ म मा तिम्रा
चाहनाका वीजहरू
तिम्रा आकांक्षाहरु
तिम्रा आवश्यकताहरू
उमारिदिन्छु म तिनको अंकूर
मेरै छातीमाथि
हुर्काइदिन्छु त्यसको बोट
फलाइदिन्छु तिम्रा सपनाहरू
लैजाऊ टिपेर, काटेर, थुतेर, लुछेर
म कहिले पो रोएको छु र ?
प्रतिरोध कहिले गरेको छु र ?
म त माटो न हूँ ।

मुछे हुन्छ मलाई गजगजी-हिलाम्य पारेर
बनाए हुन्छ तिमीले चाहे जस्तै
तिमीले खोजे जस्तै
उस्तै-दुरुस्तै
तिमीलाई मन पर्ने जस्तो आकार
खेलौना बनाएर खेल
सजाऊ मूर्ति बनाएर
रंगाऊ आफूले खोजेका रंगहरूमा
मन नअघाउन्जेल मलाई सुमसुम्याए हुन्छ
मन अघाए मिल्क्याइदिए हुन्छ
टुक्राटुक्रामा फुटाएर
म चुपचाप बटुल्छु आफूलाई
जोडजाड पार्छु फेरि
म त माटो न हूँ ।

मट्यांग्रा बनाए हुन्छ मलाई
गुलेलीमा तन्क्याए हुन्छ
अर्कोलाई चोट पुय्राउन
मलाई हुर्र्याए हुन्छ
ढुंगा बनाएर अरूलाई फुटाए हुन्छ
म कराउँदिनं....म रून्नं.....म दुख्दिनं....
मेरो मौनता तिमीले नबुझे पनि
बुझेर बूझ पचाए पनि
म तिमीलाई केही भन्दिनं
म बोल्दिनं, लाटो न हूँ
म त माटो न हूँ ।

गाडिदिए हुन्छ ममा चिहान खनेर
तिम्रा सपनाका सिनुहरू
वा तिम्रा सम्बन्धका मुर्दाहरू
तिम्रा अवसादहरू छोपिदिए हुन्छ
तिम्रो भूत...वर्तमान...
तिम्रो पाप....गलती....दोषहरू
कोचकाच पारेर म भित्रै
पुरिदिए हुन्छ मलाई नै
म गन्हाउँछु मै भित्र
म निस्सासिन्छु आफ्नै साससंग
तर म मर्दिनं
म त माटो न हूँ ।


जुम्मा चुम्मा दे दे...

मंसिर २ , २०७४ - मलाई पान खान कहिले पनि मन लाग्दैनथ्यो , अझै पनि लाग्दैन । तर त्यस दिन म नयाँ दिल्लीको रिगल भन्ने सिनेम...