Translate

Sunday, August 26, 2012

अचूक ओखती

बायाँ फन्को ९१ 

आजकल त रत्नपार्कको सेरोफेरोमा नभौंतारिएको निकै नै भइसक्यो । तर अलि पहिले त्यता घुम्दा एउटा कुरा बडो रमाइलो लाग्थ्यो । त्यतिबेला खर्च गर्नको लागि प्रशस्त समय हुन्थ्यो । ओखती बेच्ने केही चटकीहरु त्यहाँ देखिन्थे । तिनीहरुको वाकपटुता र उच्छृँखल कुराहरुले जहिले पनि ठूलै भीड जम्मा पारेको हुन्थ्यो । सानातिना हातका खेलाहरु देखाउने ती मानिसहरुको खास काम भनेको ओखती बेच्ने नै हुन्थ्यो । कतैबाट आधिकारिक रुपमा प्रमाणित वा जिम्मेवार निकायबाट स्वीकृति समेत नपाएका ती ओखतीहरुलाई उनीहरु रामवाण ओखती भनेर प्रचार गर्दै बेच्ने गर्थे । हुन पनि तिनका कुरा सुन्दा अचम्म लाग्थ्यो । एउटै ओखतीले बिसेक नपार्ने कुनै रोग नै हुँदैनथ्यो जस्तो लाग्थ्यो । आजकल ती चटकी विक्रेताहरु त्यसरी नै ओखती बेच्छन् कि बेचदैनन् भन्ने कुरा त थाहा छैन । तर, हरेक समस्याको त्यस्तै ओखती चाहिँ सबैले फेला पारेको भान हुन्छ । त्यो ओखती हो, बन्द, हडताल, आन्दोलन, तोडफोड र चक्काजाम । 

अर्थात् दबावको राजनीति ।

केही समय अघि सुकुम्वासी समस्याका सन्दर्भमा जे जति हल्लाखल्ला भए, ती सोच्नका लागि वाध्य बनाउन पर्याप्त छन् । खोला किनार कब्जा गरेर बसेका सुकुम्वासीहरुलाई बल प्रयोग गरेर सरकारी निकायले हटायो । तिनका झुप्रा र पक्की घरहरु डोजर लगाएर भत्काइए । ती मध्ये वास्तविक सुकुम्वासी कति थिए भन्ने पनि फेरि आफ्नै ठाउँमा रहेको अर्को प्रश्न हो । जे होस्, अर्को कुनै ठाउँ उनीहरुका लागि प्रस्तावित गरियो र त्यहाँ आधारभूत संरचनाका लागि प्रशस्त रकम पनि खर्च भयो । तर कुनै पनि कुरामा जटिलता पैदा गर्ने हाम्रो अहिलेको राष्ट्रिय चरित्र किन चुप लागेर बस्न सक्थ्यो र ? स्थानीय वासीन्दाहरु विरोधमा उत्रिए । कुरा सल्टिनुको साटो झन्झन् बल्झिंदै गयो । अनि स्थानीय वासीन्दाहरुले उही रामवाण ओखती प्रयोग गरे । ललितपुर जिल्ला बन्दको आह्वान भयो । 

यो आह्वानको अर्थ फेरि शव्दकोषमा भए अनुसारको हो भन्ने भ्रममा कोही पनि नपर्नुहोला नि । नामका लागि आह्वान भनिए पनि यस्ता आह्वानहरु बास्तवमा उर्दी हुन् । उर्दी पनि कुनै मैमत्त र विवेकहीन तानाशाहले जारी गरेको जस्तो । त्यो आह्वानलाई टेर्नुको विकल्प छैन कसैलाई । नत्र आह्वानकर्ताका कार्यकर्ताहरुले सवारीसाधनको तोडफोड वा मानिसलाई अंगभंग हुने गोद्न सक्छन् । सरकारी संयन्त्र त यस्तो बेलामा कतिसम्म लाचार देखिन्छ भने खटिएका प्रहरीहरु समेत जनतालाई त्यो बन्द मान्न अभिप्रेरित गर्छन् । राज्यव्यवस्था यतिसम्म पंगु र लाचार भए पछि सर्वसाधारणसंग सास्ती खाने बाहेक अरु केही उपाय बाँकी रहँदैन । ललितपुर बन्दका कारण जिल्लाका विद्यालयहरु बन्द भए, पसलहरु थुनिए । जागीर खान जानुपर्नेहरु लखरलखर हिंड्न वाध्य भए । बिरामीहरुको विचल्ली भयो । केही मानिसका समस्याका लागि थुप्रै मानिसहरुले हण्डर खाए । 

लाचार सरकारले बन्द गराउनेहरुका सामु घुँडो टेकिदियो । 

यसले समस्याको क्षणिक समाधान त भयो, तर साथमा एउटा गलत नजीर कायम भयो । यो बेला भनेको थर्काउन सक्नेको रहेछ भन्ने गलत सन्देश प्रवाह भयो । त्यसको परिणमस्वरुप अघिल्लो हप्ता यातायात व्यवसायीहरुले अनेकौं माग राखेर देशव्यापी रुपमा सार्वजनिक सवारी साधन ठप्प पारे । सवारी नियम उल्लंघन गर्नेलाई ट्राफिक प्रहरीले गर्ने जरिवानाको समेत विरोधमा भएको यो आन्दोलनको पनि दोश्रो दिन मै राज्यले त्वम् शरणं भनिदियो । अघिल्लो नजीरलाई झनै दह्रो रुपमा स्थापित गर्न यसले सघाउ पु¥यायो । 

त्यसले गर्दा दबावको राजनीति प्रभावकारी हुन थालेको छ । कसैले पनि कुनै पनि कुराको लागि, पुङ न पुच्छरका मागका लागि दबाव सिर्जना गरे पुग्छ भन्ने देखिन थालेको छ । एक दिनको बन्दले राज्यलाई कति घाटा लगाउँछ र समयको दौडमा आमीलाई कति पछाडि धकेल्छ भन्ने कुरा बारम्बार फलाकिरहे पनि, कसैलाई त्यसको गम्भीरतामाथि घोत्लिनु नै छैन । भ्रष्टाचारीलाई सजाँय भयो भनेर समेत सार्वजनिक जनजीवनलाई प्रभावित पार्ने गरी विरोध गर्न पाइने भएको छ आजकल । यही क्रम चलि।हने हो भने भोलि देखि चोरले चोर्न पाउनुपर्छ भनेर, भ्रष्टाचारीहरुले घूस खान पाउनुपर्छ भनेर, डाँकाहरुले लुट्न पाउनसपर्छ भनेर र बलात्कारीहरुले बलात्कार गर्न पाउनुपर्छ भनेर बन्द र हडताल नगर्लान् भन्न सकिन्न । 

समस्या सबैको हुन्छ, अप्ठ्यारा सबैका हुन्छन् । कुनै न कुनै कुरामा गुनासो नभएको न मान्छे हुन्छ न कुनै काम । फरक कति मात्र हो भने त्यो गुनासो जायज हो वा नाजायज । त्यो बहुसंख्यक मानिसका लागि हितकारी हो वा अल्पसंख्यकका निहित स्वार्थमा आधारित हो ? समस्याको समाधानका लागि जुन बाटो अपनाइन्छ, त्यो सही हो वा गलत ? तर आजकल त्यो सब खुट्याउने आवश्यकता कसैलाई छैन । हामीले त यस्तो स्वतन्त्रता पाएका छौं, हामी जे पनि गर्न खुला छौं । त्यही गुणकारी, चमत्कारी र हरेक समस्याको निदान हुने रत्नपार्कको चटकीले बेच्ने जस्तै दबावको ओखतीका कारण यो मुलुकमा आजकल भैरहेका कुनै पनि घटना वा दुर्घटनालाई मनन गर्ने हो भने, कुनै पनि कुरामा उदेक नमाने हुन्छ । कहीं नभएको जात्रा हाँडीगाउँमा भने जस्तो बेलाबेलामा त आजकल यो सिंगै देश हाँडीगाउँ बनिसकेको भान हुन्छ । 

हाम्रो परिपरिको संसार जति द्रुत गतिमा अघि हुँइकिरहेको छ, हामी त्यसको चारगुना बढी गतिमा ‘व्याक गियर’ लगाएर पछिपछि हुत्तिंदैछौं । हामीसंग कुनै पनि कुराका लागि ठोस विचार छैन र योजना छैन । तर पनि हामी चिन्तित छैनौं । किनभने यो अनादिकाल देखि पशुपतिनाथले रक्षा गरेको देश हो । त्यसैले पशुपतिनाथ रहुन्जेल उनैले हामीलाई पार लगाउँछन् । 

हामी ढुक्क छौं । 

प्रतिक्रिया:

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment