Translate

Sunday, September 9, 2012

मल्टिप्लेक्स प्रधानमन्त्री

बायाँ फन्को ९२ 

समय र प्रविधिको विकासले हामीलाई नसोचेका कुराहरु देखाएको छ, सुनाएको छ । विशेष गरेर पहिलेको तुलनामा कामहरु छिटोछिटो हुन थालेका छन् । यहाँ ती सबैको बारे कुरा गर्न सम्भव छैन । सिनेमाको कुरा गर्ने हो भने, आजकल प्रविधि र बदलिंदो समयले त्यसलाई आज अर्कै रुपमा ल्याएको छ । सिनेमाको व्यावसायिक पक्षलाई सबैभन्दा बढी असर पारेका यो कुराबाट अप्रत्यक्ष रुपमा भने त्यससंग सम्वन्धित कुनै पनि पक्षहरु अछूतो रहेका छैनन् । पहिले सिनेमा बन्न, चल्न र कमाउन अथवा नकमाउन निकै लामो समय लाग्ने गथ्र्यो । रजत जयन्ती, स्वर्ण जयन्ती र हीरक जयन्ती जस्ता शव्दहरु तिनको उपलव्धिका मापदण्ड हुने गर्थे । तर आजकल प्राविधिक रुपमा पनि सिनेमा बन्न सजिलो भएको छ । एकै साथ विश्वव्यापी रुपमा हजारौं प्रदर्शन गर्न सकिने भएका कारण सिनेमाले हप्ता दिनमै आफ्नो परिणति निर्धारण गर्न सक्ने भएको छ । त्यसैले नसोचेका कमाइ गर्न सिनेमाहरु सफल हुन थालेका छन् । 

यसलाई टेवा दिनका लागि मल्टिप्लेक्स संस्कारले निकै महत्वपूर्ण भूमिका खेल्यो । त्यसैले यस्ता द्रुत परिणममुखी सिनेमाहरुलाई मल्टिप्लेक्स सिनेमा भन्न थालियो । हाम्रो देशमा अझै पनि केही समय यसको पूर्ण प्रभाव देखिने छैन तर राजनीतिमा भने हामीमा यो संस्कारले राम्रै जरो गाडिसकेको छ । 

हाम्रा प्रधानमन्त्रीहरु पनि मल्टिप्लेक्स प्रधानमन्त्री हुन थालेका छन् । यस्ता प्रधानमन्त्रीहरु, जसका लागि रजत, स्वर्ण वा हीरक जयन्तीहरु पर्खनुको कुनै तुक नै छैन । यिनलाई पहिले नै त्यो कुरा थाहा हुन्छ र मल्टिप्लेक्स सिनेमाले सप्ताहान्त भित्रै जे गर्ने गरे जस्तो यिनले पनि सत्तरीको स्पीडमा सबै काम गर्नु पर्ने हुन्छ । कमाउन जति पनि त्यही समयमा कमाउनुपर्छ, रेकर्ड बनाउने हो भने त्यही समयमा बनाउनुपर्छ, उपलव्धिहरु पनि त्यति नै समयमा हासिल गरिसक्नुपर्छ । त्यसले गर्दा सबका काम प्रदर्शनमुखी, विज्ञापनमुखी र सस्तो लोकप्रियता बटुल्ने भन्दा माथि उठ्न सक्दैन । निर्माण, निकास र योजनाका कुराहरु भनेको मल्टिप्लेक्स सिनेमाको हिसाबले हुँदैन, हुनै सक्दैन । त्यसका लागि निश्चित समय लाग्छ । तर द्रुत गतिमा सबैथोक गर्ने लोभमा नगर्नुपर्ने कामहरुको पछाडि दौड्दादौड्दै गर्नु पर्ने कामको समयले नेटो काटिसक्छ । सम्विधान निर्माण त्यसको सबैभन्दा ठूलो उदाहरण हो । 

अहिले सबै पार्टीका नेताहरुलाई रोलक्रममा प्रधानमन्त्री बन्ने बाहेक अरु कुनै लोभै छैन भन्ने लाग्न थालेको छ । ती मध्ये कसैलाई पनि के का लागि तिमी देशको सर्वाेच्च कार्यकारी ओहदामा बस्न चाहन्छौ र न्यूनतम के कति काम कति समयमा फत्ते गर्ने वाचा गर्छौ भनेर सोध्यो भने सायद कसैले पनि त्यस किसिमका वचनवद्धता गर्न सक्दैन । परिस्थिति यति विपरित छ भन्ने थाहा हुँदाहुँदै पनि एउटा सहमति भएर एकजना प्रधानमन्त्री भएको निमेषभरमा उसलाई पदच्यूत गरेर अर्को मल्टिप्लेक्स प्रधानमन्त्री बन्ने बनाउने होडबाजी सुरु भैसक्छ । यो भनेको सिनेमा हेरेको जस्तो सतही कुरा कहाँ हो र कि मध्यान्तर नपुग्दै बोर लाग्यो भने छोडेर अर्को सिनेमा हेर्न थाल्ने । धमिलो पानीमा माछा मार्ने, अँध्यारो फाइदा उठाएर लुट्ने, अज्ञानताको फाइदा उठाएर आफ्नो दुहुनो सोझ्याउने र भ्रमको खेती गरेर आफ्ना स्वार्थका फल फलाउनेहरुका लागि चलखेल गर्ने राम्रो वातावरण हामी सबैले जानी नजानी सिर्जना गरिरहेका छौं ।

त्यसैले आजकल पहिलेको जस्तो दिगो स्थायी सरकारको कुरा भनेको गँजडीको सपना जस्तो भैसकेको छ । कुनै सरकार बनेको सय दिन पुग्नासाथ त्यसको समालोचना सुरु गर्ने, सफलता र असफलता केलाउने क्रम सुरु भैसक्छ । हामीलाई लाग्छ, सरकारमा गएकाहरु, प्रधानमन्त्रीको कुर्सीमा आसीन हुनेसंग अलादिनको जादूपूर्ण चिराग हुन्छ । बस् त्यसलाई एकपटक घस्नुमात्र पर्छ, कुनै अति शक्तिशाली जिन्न त्यसबाट प्रकट हुन्छ र सोध्छ, भन्नुस् मालिक के गरुँ ? प्रधानमन्त्रीले बोल्नुमात्र पर्छ, त्यसले आँखा नझिम्काउँदै त्यो काम फत्ते गरिहाल्छ । त्यति हुँदाहुँदै पनि किन फलानोले केही गर्न सकेन भनेर हामी आक्रोशित हुन्छौं । 

अघिल्लो हप्ता बाबुराम भट्टराइले सय दिन मनाए । उनलाई सय दिन टिक्न नदिने र टिकाएरै छोड्नेहरुका बीच यो अवधिमा हुनुसम्म कसरत भए । राष्ट्रका नाममा सम्वोधन गर्ने क्रममा उनले पनि कुनै नयाँ कुरा गरेनन् । आफ्ना झीनापसीना उपलव्धिहरुलाई जलप लगाएर प्रस्तुत गर्ने देखि असफलताका लागि कोको र केके दोषी हुन् भन्ने नालीबेली खोतले । बाटो फराकिलो बनाएको कुरा भन्दा महत्वपूर्ण आज हाम्रो लागि मन फराकिलो बनाउनु हो । यहाँ नेर दुइटा कुरा उल्लेखनीय छ । पहिलो, उनका ठाममा यो एक वर्ष अरु कोही भएका भए तिनले पनि गर्ने, गर्न सक्ने कुराहरु के के हुन्थे । अथवा गर्न नसक्नाका लागि तिनले फलाक्ने अरु के फरक कारण हुन्थे । 

हुन त सबै कुरा सही हुने हो भने र परिस्थिति आफूले खोजको अनुरुप हुने हो भने कुनै उपलव्धिका लागि कसैले पनि जस किन लिनुपर्छ र ? समस्या सुल्झाउनका लागि, निकास खोज्नका लागि, विपरित परिस्थितिलाई सल्ट्याउनका लागि नै हो नेतृत्व चाहिने । सफा मौसममा जहाज आफै किनारा लाग्छ । आँधी, हुरी र सुनामीमा नै क्याप्टेन चाहिने हो । बाबुराम त्यो क्याप्टेन रहेनछन् रे लौ, तर अब बाबुरामले छोडेपछि बन्ने नयाँ मलिटप्लेक्स प्रधानमन्त्रीले यो मौसममा जहाजलाई किनार लगाउँछन् त ? उनले अबका एक वर्षमा गर्न सक्ने कुराहरु के के हुन्छन् त ? नैतिक जिम्मेवारी र वाचावन्धन सहित कोही त्यो कुर्सीमा बस्न तयार छ ? बस्नेलाई सघाउनका लागि बाँकी अरु कटिवद्ध हुन्छन् त ? 

त्यति नहुने हो भने फेरि एउटा अर्को मल्टिप्लेक्स प्रधानमन्त्री बनाउने, बनाएको भोलिपल्ट देखि उसको कुर्सीको खुट्टामा करौंती चलाउन थाल्ने र यही खेललाई निरन्तरता दिइरहने हो भने त्यसको के अर्थ हुन्छ ? देश र जनताको भविष्य भनेको प्रयोग गरिरहने कुरा हैन र च्याँखे दाउ थाप्ने पासाको थर्की पनि होइन । यो कुरा हामीले अब पनि नबुझे कहिले बुझ्ने ? 

प्रतिक्रिया:

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment