Translate

Sunday, September 23, 2012

डेविड, गोलायथ र क्रिकेट

बायाँ फन्को ९३ 

अघिल्लो साता नेपाली खेलकूदको लागि अविस्मरणीय र अत्यन्तै सुखद रह्यो । नेपाली क्रिकेट टीम आइसीसीको वर्ग ४ को प्रतियोगितामा चमत्कारपूर्ण प्रदर्शन गर्न सफल भयो । आफ्नो समूहका सबै खेलहरुमा फराकिलो जीत प्राप्त गर्दै नेपाली क्रिकेट टोली वर्ग ३ मा उक्लियो । प्रतियोगितामा खेलिएको सबै ६ खेलमा म्यान अफ द म्याच पनि सबै नेपाली खेलाडीहरु नै चुनिए, त्यो पनि फरकफरक खेलाडी । सम्भवतः विश्व क्रिकेटको इतिहासमा नै यो पहिलो उदाहरण हुनुपर्छ । म्यान अफ द सिरिजको उपाधि पनि नेपाली खेलाडीको नै पोल्टोमा परेको थियो । समग्रमा व्याटिंग, बलिंग र फिल्डिंगमा नेपाली खेलाडीहरुले अभूतपूर्व प्रदर्शन गर्न सफल भए । 

समूहमा सबैभन्दा बलियो मानिएको अमेरिकालाई त दुइपटक नेपालले डल्ले साबुन लगाएर ढुंगामा पछारीपछारी, निचोरीनिचोरी धोयो । ट्विटर र फेसबुक जस्ता सामाजिक संजालमा आवद्ध सम्पूर्ण नेपालीहरु दिनदिनभरी नै नेपाली टोलीलाई हौस्याइरहे, उनीहरुको हरेक चौका छक्कामा उफ्रिरहे, उनीहरुले झारेका हरेक विकेटसंगै उत्तेजित भैरहे । शक्ति गौचनले सीमित ओभरको खेलहरुमा सर्वाधिक किफायती बलिंगको कीर्तिमान राखे । व्याटिंगका लागि सँधै आलोचित हुने केटाहरुले पनि यसपटक शताव्दिको वर्षा गरेर देखाइदिए । फाइनलमा पनि नेपाल र अमेरिकाको भीडन्तमा देशको साँच्चै माया लाग्नेदेखि लिएर अमेरिकाले भिसा नदिएको र डिभी चिठ्ठा नपरेर रन्थनिएकाहरु दंगदास परे । हुन त अमेरिकी टीममा अरु मूलका खेलाडीहरुको बाहुल्य थियो तर पनि यो शक्ति र सुविधासम्पन्न देशको विरुद्ध खेलकूदका लागि नगण्य प्रयास हुने नेपाल जस्तो विपन्न देशका खेलाडीहरुको भीडन्त थियो । हाम्रा खेलाडीहरुसंग सारा नेपालीको प्रार्थना र नैतिक समर्थन मात्र थियो ।  
बाइवलमा डेभिड र गोलायथको युद्धको एउटा कथा छ । प्लालेष्टाइनी र इजरायलीहरुको लडाईको बेलामा नौ फीट भन्दा अल्गो दैत्याकार गोलायथ नामक एउटा प्यालेष्टाइनीले सबैलाई आतंकित बनाएको थियो । फलामको कवचले सुरक्षित र हातहतियारले सुसज्जित गोलायथसंग कसैको केही चल्दैथ्यो । त्यस बेला डेभिड नामक एउटा खिरिल्लो इजरायली किशोरले उसलाई चुनौती दियो । डेभिडसंग कुनै हतियार पनि थिएन, कवच पनि थिएन । तर दृढ आत्मवल र एउटा घुँयेत्रोको भरमा उसले गोलायथ नामक दानवी योद्धालाई पराजित गरिदियो । 

नेपालको यसपटकको क्रिकेटमा विजय पनि धेरै हदसम्म त्यस्तै थियो । हरेक क्षेत्रबाट निराश भएका नेपाली जनताहरुलाई खुसी हुनका लागि एउटा ठूलो अवसर दिए हाम्रा क्रिकेटरहरुले । डिप्रेसनको सिकार भएको देशलाई उज्यालो अनुहार लगाउनका लागि सानोभन्दा सानो बहाना चाहिएको बेला उनीहरुले निकै ठूलो कारण दिए, कानदेखि कानसम्म हाँस्नका लागि । त्यसैले त स्वतस्फूर्त रुपमा जनता विमानस्थलमा क्रिकेट टोलीको स्वागतमा बाजागाजा लिएर पुगेकोथ्यो । 

अब आगामी सन् २०१५ मा अष्ट्र«ेलियामा हुने क्रिकेट विश्वकपमा नेपालको सहभागिता हुनसक्ने सम्भावना कायम नै रहेको छ । नेपाली क्रिकेट टीमलाई अलि गम्भीरतापूर्वक लिने हो भने, तिनको अभ्यास र तालीमका लागि विशेष ध्यान दिने हो भने वर्ग ३ को उत्कृष्ट दुई अनि छनौट हुँदै नेपालले विश्वकप नखेल्ला भन्न सकिन्नं । भनिरहनु नपर्ला, त्यसो हुन सकेको खण्डमा विश्वका सामु हाम्रो देशको शिर उँचो पार्नका लागि त्यो कति महत्वपूर्ण घटना हुनेछ । 

जुन अवस्थामा अहिले हाम्रो देश छ, त्यसका आधारमा अरु कुनै कुरामा नेपालले अन्तर्राष्ट्रिय स्तरका उपलव्धि हासिल गर्ला भन्ने कुरा अति आशावादीहरु समेत आश्वस्त हुन सक्ने अवस्था छैन । खेलकूदको नै कुरा गर्ने हो भने पनि अरु खेलमा हाम्रो प्रदर्शन विश्वस्तरमा पुग्नका लागि केही नभए पनि पचास वर्ष लाग्ने लक्षण छ । तर क्रिकेटमा नेपालले मारेको फड्कोलाई  हेर्ने हो भने यस खेलमा केही हुन सक्ने प्रचुर सम्भावना छ । अरु लोकप्रिय खेलहरुमा जतिको प्रतिस्पर्धा यसमा छैन किनभने क्रिकेट तुलनात्मक रुपमा कम राष्ट्रहरुले खेल्छन् । तर बेलायत, अष्ट्रेलिया, न्यूजिल्याण्ड जस्ता देशहरुको संलग्नताले यसलाई चर्चित बनाउन कुनै कसर बाँकी राखेको छैन । छिमेकी मुलुक भारतमा क्रिकेटलाई जति महत्वका साथ लिने गरिन्छ, त्यसले गर्दा यसको चर्चापरिचर्चा विश्वव्यापी रुपमा हुने गर्छ । त्यसैले अहिले हाम्रो पहिलो प्राथमिकतामा यसलाई राखेर, २०१५ को विश्वकपमा नेपाललाई पु¥याउने लक्ष्य राखेर सरकारी तवरबाट प्रयास हुने हो भने यो लक्ष्य प्राप्त गर्न सकिन्छ । 

तर हाम्रो दुर्भाग्य के हो भने यहाँ सत्ताप्राप्ति र प्राप्त सत्ता टिकाउने खेल बाहेक हरु केही हुँदैन र अरु कुनै पनि कुरा हाम्रा सरकारमा हुनेहरुका लागि गौण हुने गरेका छन् । कला, साहित्य, संगीत र खेल जस्ता कुरालाई अरुहरुले राष्ट्रिय गौरवको रुपमा लिने गर्छन् र तिनको विकासका लागि त्यही अनुसारको प्रयास गर्छन् । तर हाम्रा नेतृत्वलाई त्यसको कुनै महत्व छैन । त्यसैले अहिलेको अवस्थामा क्रिकेटलाई सर्वाधिक प्राथमिकताको सूचिमा किन नराख्ने ? नेपाललाई विश्व परिदृश्यमा महत्वपूर्ण स्थान दिलाउन सक्ने सम्भावना भएका खेलाडीहरुलाई पुरस्कृत र प्रोत्साहित किन नगर्ने ? 

तर यो लेखुन्जेलसम्म पनि क्यानको तीस हजार रुप्याँको पुरस्कार बाहेक अरु केही घोषणा भएको छैन । प्रधानमन्त्रीले त खोक्रो धन्यवाद मात्र दिएर टारिदिए । राजनीतिको कारण कुनाम भएको देशलाई सुनाम दिलाउन सक्नेहरुका लागि धन्यवाद मात्र पर्याप्त छैन । सरकारको मात्र मुख ताक्ने नभै, नीजि तवरबाट, अरु व्यावसायिक संघसंस्थाहरुबाट पनि नेपाली क्रिकेटको लागि योगदान हुनुपर्छ । खल्तीको आकारको कुरा हैन, कुरो मनको आकारको हो । गतिलो तालीम र सुविधा बिना गोलायथलाई ढाल्न सक्ने हाम्रा डेविडहरुलाई उचित अवसर र सुविधा दिने हो भने भोलि यिनले नेपाल र नेपालीको शिर उँचो बनाउनेछन् ।

प्रतिक्रिया:

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment