Translate

Sunday, October 21, 2012

लुगा लगाउने साँढेहरु

बायाँ फन्को ९४ 

केही दिन अघिको कुरो हो । पुतलीसडकबाट सिंहदरवार हुँदै माइतीघर तिर जान लागेको बेला ट्राफिकको बत्ती रातो भएर म आफ्नो भटभटे अड्याएर रोकिएको थिएँ । मेरो पछाडिबाट आएको एउटा अर्को भटभटे मेरो देब्रेतिरबाट अटेसमटेस गर्दै जवर्जस्ती छि¥यो । म जेब्रा क्रसिंग भन्दा वरको धर्कोमा रोकएको थिएँ, त्योे भटभटे भने ममाथि आफ्नो विशिष्टता कायम गर्दै जेब्राक्रसको केही भाग ओगटेर रोक्यो । 

त्यसको चालक पनि आम भटभटे चालकहरुमा पाइने मानसिकताको प्रदर्शन गर्दैथ्यो । कुनै ठूलो भटभटे दौडको सुरुमा बसेको मान्छे जसरी कुन बेला पालो आउला अनि गुलेलीको मट्याङ्ग्रा जसरी हुर्रिएर अघि बढौंला भनेर ऊ क्लच थिचेर एक्सिलरेटरको कान मरुन्जेल बटारिरहेको थियो । उसको भटभटे पनि चानचुने थिएन । केही दिन अघि मात्र विज्ञापनमा देखेकोले मलाई हेक्का थियो, त्यसको मूल्य ४ लाख ५० हजार हो । भटभटेको लागि त्यो रकम भनेको आम नेपालीको आर्थिक स्तरले भेट्ने भन्दा माथि नै हो । हुन त त्यसका बाजे भटभटे चढ्नेहरु पनि यस सहरमा नभएका हैनन् ।

बत्ती रातै थियो, त्यो मानिसको फोन बजेछ क्यार, खल्तीबाट हातेफोन निकालेर ऊ कुरा गर्न थाल्यो । उसको फोन पनि उसको सम्पन्नताको ढ्वाङ्ग फुक्ने खालको नै थियो । मैले आँखा चिम्स्याएर हेरें । त्यो पनि आजकल जताततै विज्ञापन गरिएको ७० हजारको हाराहारीको फोन थियो । म उसको बारेमा अनुमान लगाउन थालें । त्यत्तिको खर्चालु मान्छे, के काम गर्छ होला, उसको आयश्रोत कस्तो होला, उसले उठबस गर्नेहरुको समूह कस्तो होला भनेर म गम्दै थिएँ । अनि अचानक त्यो मान्छेले खा.....क् गरेर आवाज निकाल्यो र दायाँबायाँ कतै नहेरि बाटोमा पिच्च थुक्यो । म कुनै सम्मोहनबाट उम्केको मान्छे जस्तो भएँ । मलाई अचानक त्यो मान्छे दरिद्र लाग्यो । मलाई उसको बारेमा सोच्नु पनि बेकार हो भन्ने लाग्यो । बत्ती हरियो भयो, ऊ हुँइकिंदै दायाँ र बायाँ ढल्काउँदै अरुलाई मारौंला जस्तो गरेर बेपत्ता भयो । हुन पनि हो, त्यत्रो पैसामा उसले किनेको शक्तिशाली भटभटे भएपछि पनि अरु साधारण मानिसहरुका साधारण सवारी साधन सरह लाइनमा लागेर, लेन अनुशासनमा बसेर ठेलाको गतिमा किन चलाउनु उसले ? नियालेर हेर्ने हो भने यस्ता महापुरुष सवारी चालकहरु बाटोमा बग्रेल्ती भेटिन्छन् ।

त्यही सन्दर्भमा केही महीना अघि कोपुण्डोल निर बाटोमा प्रकट भएका कुनै दैवीपुरुष तुल्य एक जना त्यस्तै महान सवारी चालकको सम्झना आयो । उनी एउटा सानो कारमा सवार थिए । त्यो कारको पछाडि तीनजना बस्ने सिटमा अगाडि, पछाडि, काखमा र भुइंमा पुठ्ठो अडाएको समेत गरी विभिन्न उमेर र आकारका सात जना हेर्दाखेरि दुरुस्तै मान्छे जस्ता देखिने प्राणीहरु अटाएका थिए । अगाडिको सिटमा भने एउटी भद्र महिला र उसको काखमा एउटा पाँच वर्ष जतिको बालकलाई राखेका थिए । चालक र महिलाले सिट बेल्ट बाँधेका थिएनन् । बालकको त कुरै पर जाओस् । अपर्झट जोरले ब्रेक लगाउनु परेको अवस्थामा त्यो बालकको के हविगत हुन्छ भन्ने कुरा ती चालकको मतलवको कुरा थिएन शायद । उनी चुरोटको धुवाँ उडाइरहेका थिए र मोवाइल फोनमा कसैसंग कुरा पनि गरिरहका थिए । बेलाबेला झ्यालबाट पिच्चपिच्च थुक्ने जन्मसिद्ध अधिकारको प्रयोग त जसले पनि गर्छ, उनले पनि गरिरहेका थिए । उनको छेउमा बसेकी भद्र महिला फलाहार गर्दै थिइन् र केराको बोक्रा सडकमा फुतुफुतु फ्याल्दै थिइन् । एकै समयमा सबैभन्दा बढी सवारी नियम उल्लँघन कसले गर्न सक्छ भन्ने कुराको कुनै प्रतियोगिता हुँदो हो त तिनले सारा कीर्तिमान भंग गर्थे होलान् । पैसाले महँगा सवारी साधन, लुगाफाटा, हातेफोन, विलासी जीवनशैली किन्न सकिन्छ तर सभ्यता किन्न सकिंदैन रहेछ, नैतिकता किन्न सकिंदैन रहेछ के गर्नु । 

यी केही प्रतिनिधि पात्रहरु मात्र हुन् सडकमा खुला छोडिएका साँढेहरुका । दिनहुँ बाटोमा नियालेर हेर्ने हो भने त्यस्ता निकै साँढेहरु देखिन्छन् । तिनीहरु आफ्नोमात्र सजिलो हेर्छन्, हतार तिनीहरुलाई मात्रै भएको हुन्छ, कामका लागि तिनीहरु मात्रै घरबाट निस्केका हुन् भन्ने सोच्छन् । अरु सबै त फुर्सदमा दिन काट्न मात्र बाटोमा आएका हुन् । ती साँढेहरु हेर्दा दुरुस्तै मानिस जस्ता हुन्छन्, सुकिला मुकिला लुगा लगाउँछन्, महँगा सवारी साधन चलाउँछन्, मानिस जस्तै बोल्न पनि जान्दछन् । तर भित्री रुपमा भने ती सँधै साँढेहरु नै रहन्छन् । अनि साँढेहरुको विवेक कहाँबाट हुन्छ र ?

हामी एकातिर देशको चिन्ता गर्छौं । बाटोघाटो देखि लिएर राजनीतिसम्मका कुरामा हामीसंग एउटा न एउटा समाधानका उपायहरु ह्ुन्छन् । ती कुरा र काम गर्न नसक्ने हरेक सरकारलाई हामी थुथु गर्छौ । गुनासाहरु त हामीसंग यति हुन्छन्, बयान गरिसाध्यै छैन । अरुले गर्न हुने, नहुने, पर्ने, नपर्ने सबै कुराहरुको शिक्षा दिनका लागि हामीसंग ठेलीका ठेली अर्ती उपदेशहरु हुन्छन् । तर आफ्नो आचरण र बानीबेहोराको बारेमा हामी कहिले सोच्छौं कि सोच्दैनौं ? देशको विकास भएन भनेर ठस्ठस् कन्ने बेला हामीले यो पनि सोच्नुपर्छ, हाम्रो आफ्नो आफ्नो विकास चाहिँ भउको छ कि छैन त ? देशको विकास भनेको रात पछि दिन जस्तो आफै नियमित रुपमा हुने कुरा त हैन होला । त्यसका लागि आफ्नो तर्फबाट हामीले के योगदान गरेका छौं ? हो हामीले आन्दोलन गरेका छौं, ढुँगामूढा गरेका छौं, बन्द हडताल गरेका छौं, सवारी साधन र सार्वजनिक संरचनाहरुमाथि आफ्नो पुरुषार्थ पनि देखाएका छौं । विध्वँसात्मक कामहरु त निकै गरेका छौं देशको विकास भै हाल्छ कि भनेर । अब सिर्जनात्मक काम र कुरो पनि गर्न सुरु गरे कसो होला ? 

समाज र देश सुधार्नका लागि पहिले आफूलाई सुधार गर्न थाले कसो होला ? एकैपटक राष्ट्रिय नीति र राजनीतिक समाधानका लागि माथापच्ची नगरेर सानातिना कुराहरुबाट सुरु गरे कसो होला ? आफ्नो नैतिकता र व्यवहारमा सुधार ल्याउनका लागि पाइला चाले कसो होला ? 

प्रतिक्रिया:

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment