Translate

Sunday, April 14, 2013

ताल्चाको तोड

बायाँ फन्को १०५

यो स्तम्भ लेख्ने एक दिन अघि बडो रमाइलो अनुभव गर्न पाइयो । कीर्तिपुरको क्रिकेट मैदानमा नेपाल र यू ए इको बीच एसीसी क्रिकेटको सेमी फाइनल खेल हेर्न पुगियो । नढाँटी भन्दा यस अघि मैले मैदानमै गएर क्रिकेट हेरेको थिइँन । संयोगवश त्यस दिन मैदानमा सबै भन्दा ठूलो दर्शकसंख्याको सहभागिता पनि भयो । अनुमानित अठ्ठार हजार जति मानिसहरु त्यहाँ आफ्नो देशको जीत हेर्नका लागि उत्साहित थिए । कसैले अनुहारमा नेपालको झण्डा पोतेका थिए, कसैले हातमा नेपालको झण्डा हल्लाइरहेका थिए, कोही झ्याली पिट्दै थिए, कोही ड्रम बजाइरहेका थिए, कोही अनवरत थपडी बजाइरहेका थिए र सबै करतल ध्वनिमा एउटै शव्द दोहो्याइरहेका थिए ।
“नेपाल, नेपाल, नेपाल”

आफूभन्दा बलियो, अनुभवी र सुविधासम्पन्न खेलाडीहरुले भरिएको यू ए इ संगको त्यो खेल नेपालले जित्यो । आज यो स्तम्भ लेख्ने दिन नेपाल अझै बलियो विश्वकप समेत खेलिसकेको अफगानिस्तानसंग खेल्दैछ र आशा गरौं यो छापिने दिनसम्म हामीले उपाधि जितेको चार दिन भैसक्नेछ । खेल मैदानमा उपस्थित भएका अठ्ठार हजार दर्शकहरु र मात्र प्रतिनिधि थिए देशभरका अरु नेपालीहरुको जो त्यहाँ नभए पनि नेपालले जितोस् भनेर दिनभर उत्साहित रहेका थिए । यसले क्रिकेट खेल प्रति हाम्रो बढ्दो रुचि त प्रष्ट पार्छपार्छ, तर अप्रत्यक्ष रुपमा देख्न सक्ने हो भने एउटा अर्को ठूलो पाठ हामीलाई पढाएको छ ।

हामी र हाम्रो एकता कतै गएको छैन रहेछ । कारण पाउने हो भने हामी अझै पनि मुठ्टी भएर कस्सिन सक्दा रहेछौं । कस्सिएको मुठ्ठीमा निकै ठूलो तागत हुन्छ । तर केही स्वार्थी मानिसहरुले त्यो मुठ्ठीलाई आन्दोलनका नाराहरुमा उचालिने बनाइदिएका रहेछन् । खेल मैदानको त्यो भीडमा कुनै विभाजन थिएन । त्यहाँ न कोही पहाडी थियो, न कोही मधेसी । न कोही जनजाति थिए, न कोही दलित, न कोही सर्वहारा, न कोही बुर्जुवा, न कोही सुकिलामुकिला, न कोही धूलामैला । त्यहाँ सबै नेपाली थिए, मात्र नेपाली, आफ्नो वास्तविक अनुहार र परिचयका साथ । अटेसमटेस गरेर कुममा कुम जुधाएर बसेकाहरु सबै एक थिए । हामी त एकै रहेछौं भन्ने त्यो सुखद अनुभूतिले निकै दिनदेखि बिथोलिएको मेरो दिमागलाई सित्तल बनायो । राजनीतिका नाममा सत्ताको पासा खेल्न थर्की फिँजाएर बसेका शकुनिहरुले मात्र हामीलाई थरिथरि बहानामा फुटाउने रहेछन्, पासका गोटीहरुलाई सारे जस्तो घरि यता र घरि उता सार्नेरहेछन् नत्र हामीमा कुनै अनेकता छैन भन्ने कुरा एकपटक फेरि क्रिकेट खेल मैदानमा बलियो भयो । 

धर्म, राजनीति र भिन्नभिन्न वादहरुका एउटै मात्र निहित स्वार्थ हुन्छ, फुटाउने र राज गर्ने । यो सदियौंं पुरानो तरिका अझै पनि किन हामी चल्न दिन्छौं ? आजका युगका हामी त निकै विवेकशील र सचेत प्राणीहरु हौं । तर दुःखको कुरा के भने मानिसहरुको ज्ञान र चेतनाको विकास राम्ररी नभएको बेलामा केही टाठाबाठा धूर्तहरुले शुरु गरेको यो मूलमन्त्र आज पनि कायम छ । त्यसलाई जरोबाट उखेलेर मिल्क्याउने हामीले नै हो । त्यसका लागि पहल गर्न हायद अझै पनि ढीला भएको छैन । खरानीको थुप्रो भित्र भुङ्ग्रोको अवशेष बाँकी रहुन्जेल आशाको उज्यालो मर्दैन । क्रिकेट मैदानमा त त्यसको राँको नै बलेको थियो । उपयोग गरेको खण्डमा राँकोले न्यानो पनि दिन्छ, उज्यालो पनि दिन्छ । दुरुपयोग गरेको अवस्थामा पोल्छ, डढाउँछ, नाश गर्छ । के गर्ने भन्ने कुरा हाम्रै हातमा छ । नभएको समस्यामा हामीलाई अलमलाउन खोज्नेहरुलाई फिल हुन नदिनु हाम्रै हातमा छ, अरुको हैन । 

ओशोले कुनै किताबमा एउटा सूफी लोककथाको उल्लेख गरेका छन्, जुन आज हाम्रा लागि उपयोगी हुनसक्छ । कुनै एक राजालाई चार जना धुरन्धर विद्वान प्रत्याशीहरुबाट प्रधानमन्त्री छान्नु थियो । राजाले चारै जनालाई एउटा कोठामा भेला गरेर भनेछन्,
"तपाईंहरुलाई म यो कोठामा थुनेर जान्छु । मैले बाहिरबाट ढोका बन्द गरेपछि यहाँ भित्र भएको यो नम्वरवाला ताल्चा बन्द हुन्छ । यसलाई खोल्ने फर्मूला पत्ता लगाएर जो पहिले बाहिर निस्कन्छ, ऊ नै प्रधानमन्त्रीको लागि योग्य ठहरिनेछ ।" 

राजा बाहिर जानासाथ तीनजना कागज कलम लिएर हिसाब गर्न बसिहाले । सबैभन्दा पहिले कसले त्यो ताल्चाको तोड फेला पार्ने भन्ने होड शुरु भयो । चौथो प्रत्याशी भने शान्त भावमा आँखा चिम्लेर सोच्न थाल्यो । अरुहरु जटिल गणीतिय सूत्रहरु केलाउँदै गर्दा ऊ केही बेरमा जुरुक्क उठेर ढोकातिर गयो र ताल्चालाई तान्यो । ताल्चा बन्द नै थिएन, प्याट्ट खुल्यो र ऊ बाहिर निस्क्यो । समस्याको समाधानका लागि जाने जतिका विद्वता लगाइरहेका बाँकी तीन जनाले त्यो थाहा पनि पाएनन् । राजा चौथो मान्छेलाई लिएर भित्र आएर आफूले प्रधानमन्त्री पाइसकेको बताएर अरु सबैलाई घर जान भने । सबै विस्मित भए । समस्याको समाधान गर्न थाल्नुभन्दा पहिले समस्या वास्तवमै छ कि छैन भन्ने कुरा निक्र्यौल गर्नु आवश्यक हुन्छ र त्यही नै बुद्धिमानी पनि हो ।

अहिले हाम्रा राजनीतिकर्मीहरु पनि बन्द नभएको ताल्चाको तोड खोज्न हिसाकिताब गरिरहेका छन् र हामी कहिले त्यो खुल्छ र हामीले निकास पाउने हो भनेर कुरिरहेका छौं । 

प्रतिक्रिया:

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment