Translate

Tuesday, April 16, 2013

कहिले हीरो-कहिले भिलेन

A review by Janak Raj Sapkota published in Nepal New Magazine of April 14, 2013


रुसी साहित्यकार भ्लादिमिर नाभेकोभको उपन्यास लोलितामा प्रमुख पात्र छ, हम्बर्ट। अधबैँसे हम्बर्ट हरदम बचेखुचेको बैँस अनि ताकत यौन सन्तुष्टिमा खर्चिन्छ। तैपनि, उसको तिर्सना कहिल्यै मेटिँदैन। ब्रजेशको उपन्यास यायावरमा प्रमुख पात्र छ, बैकुण्ठे। उसको केटौले, जवानी र अधबैँसै उमेर यौनको अतृप्त कुण्ठामा बित्छ। चरम मनोरोगको सिकार भएको मुख्य पात्र बैकुण्ठेका अनुभूति, संवेग र आवेगहरू नै उपन्यासको कथा हो। मुख्य पात्रसँग फिल्मका कथामा झैँ अनेकन् पात्रहरू ठोक्किन आइपुग्छन्। हँुइकिरहेको बसको झ्यालबाट स्वाट्ट देखिने र हराई जाने दृश्यजस्तै पात्रहरू पनि उपन्यासमा देखा पर्छन्। उपन्यासको धागो भने बैकुण्ठेको मनभित्र गुम्सिएको अतृप्त यौन कुण्ठासँगै अगाडि बढेको छ। हम्बर्ट र बैकुण्ठे विपरीत धु्रवका पात्र हुन्। एउटा यौनका निम्ति मरमिेट्ने, अर्को यौनबाट पलायन हुने।

उपन्यास बैकुण्ठेको बाल चित्रणबाट सुरु हुन्छ। स्कुले जीवनमा हुर्केको प्रेम, जुनेलीलाई पाउनका निम्ति गरेका अनेकन् हतकन्डा र बालवयका अनेकन् उटपट्याङ उपन्यासमा जीवन्त भएर आउँछन्। बालवय पार गरेर किशोरावस्थामा प्रवेश गर्न लागेको पुरुषको जीवनमा देखापर्ने यौनिक परविर्तनहरू र त्यसले उत्पन्न गराउने काउकुतीहरूको वर्णनसँगै उपन्यासले निरन्तरता पाउँछ। 


जित्दाजित्दै हार्ने र हार्दाहार्दै जित्ने बडो अनौठो चरत्रिको पात्र हो, बैकुण्ठे। आफ्नै जीवनमा ऊ कहिले हिरो बन्छ, कहिले भिलेन। कहिले क्रान्तिकारी त कहिले लाछी। कालो रामका अगाडि वषार्ंैसम्म निरीह बनेको बैकुण्ठे जुनेलीको चीत्कार सुनेपछि भीमसेन रूप धारण गर्छ। काठमाडौँ छिरेपछि प्रजातन्त्र ल्याउनका लागि आन्दोलनमा होमिन्छ। यौनको स्वाद चाख्नका निम्ति बारम्बार उद्वेलित हुन्छ र एकोहोरन्िछ। तर, यौनशालाबाट भने हरेकपल्ट युवतीहरूसँग हार मानेर र्फकन्छ। एकैछिनमा जितेको अनुभूति गर्ने र एकैछिनमा हारेको पीडाबोधले रन्थनिने उसको चरत्रि नै हो। बैकुण्ठेको मनोविज्ञान बादलको बदलिँदो आकारजस्तो छ। उसको जीवनमा एउटै कुरा स्थायी देखिन्छ। त्यो हो, कालो रामको भूत। 


धादिङ ज्यामिरकोटको बैकुण्ठेको जीवनमा उमेरको चढाइसँगै फिल्मको रलि घुमेजस्तो छिटोछिटो परविर्तनहरू देखा पर्छन्। पण्डित, होटलको बेहरा, बैंककबाट सामान ओसार्ने भरयिा, इन्द्रचोकको साडी पसलको जागिरे, कम्पोजर, प्रुफ रडिर र स्तम्भकारको भूमिका उसको जीवनमा छिटोछिटो आउँछन् र जान्छन्। ऊ विद्यार्थी हुन्छ अनि हुन्छ, सरकारी जागिरे पनि। 


आधुनिक जीवनका प्रगतिका मापकहरूले नापजाँच गर्ने हो भने उसको जीवनमा सफलताका थुप्रै खुड्किलाहरू देखिन्छन्। तर, ऊ आफ्नो कुनै पनि भूमिकाबाट सन्तुष्ट छैन। उपन्यासकारले बैकुण्ठको असन्तुष्टि, छटपटी र उतारचढावलाई केलाउन कन्जुस्याइँ गरेका छैनन्। वेश्यालय जानुअघि बैकुण्ठेको मनमा उठेका तरंगहरू, छटपटी र मधुरताको कल्पनालाई ब्रजेशले सजीव चित्रण गरेका छन्। यसले कथालाई थप रोमान्टिक बनाएको छ। 


विम्बविन्यासको बहाव उपन्यासमा स्वाभाविक लाग्दैन। ठाउँठाउँमा देखापर्ने एकाध विम्बले त्यस्ता कमजोरीलाई पुर्ने प्रयत्न भने गरेकै छन्। जस्तो ः बम विस्फोट गरेर फोडेपछि पहाडले छेकेको बाटो जोडिने प्रसंगमा बैकुण्ठे सोच्छ, 'एक ठाउँलाई अर्को ठाउँमा जोड्ने बाटो बनाउन कति गाह्रो हँुदो रहेछ। मैले मनमनै सोचेँ तर एउटा मनलाई अर्को मनसम्म जोड्ने बाटो बनाउन त्यसभन्दा पनि कठिन हुन्छ। मनमा त बारुद लगाउन पनि पाइँदैन।' बम विस्फोटमा बाबु गुमाएको प्रसंगलाई उपन्यासकारले शक्तिशाली ढंगले प्रस्तुत गरेका छन्। 


पात्रको मनोद्वेगको चित्रण गर्ने मामिलामा ब्रजेश अब्बल ठहरएिका छन्। तर, सिंगो उपन्यासमा दृश्यहरूको दौड सधैँ स्वाभाविक लाग्दैन। कतै बैकुण्ठे छिटोछिटो आफ्ना कथा भनिरहेको र कतै झीनामसिना कुरा केलाइरहेको हुन्छ। पहिलोपल्ट सहर देखेको ऊ कहिले दार्शनिकजस्तो उपदेश दिन्छ, कहिले केटौले तर्क गर्छ। उपन्यासकार यस्ता कुरामा ठाउँठाउँमा चुकेका छन्। जस्तो ः केशरप्रसादको घरमा काम गर्न बस्दा उसले भन्छ, 'मानिस आफू शक्तिशाली होउन्जेल अरूलाई पनि मानिसैसरह नगन्ने हो भने संसारका ठूलाठूला विद्रोह, हिंसा र नरसंहार हँुदैनथे होला। घृणा फैलने भनेको यस्तै कारणले त हो नि!' 


इन्स्पेक्टर प्रतापको उपस्थितिबाट सुरु हुने उपन्यास प्रतापमै गएर टुंगिन्छ। जसले सिंगो कथालाई बलियोसँग बाँधेको छ। तर, उपन्यास सलल बगिरहेका बेला झुल्किने प्रतापको चरत्रि भने सहज लाग्दैन। उपन्यासमा बैकुण्ठेको जीवनमा देखा परेका उतारचढावहरू मात्रै पोखिएका छैनन्, नेपाली समाजको विकासक्रम र काठमाडौँमा देखा परेका परविर्तनका झिल्काहरू पनि बुझ्न पाइन्छ। चाकडी गरेरै प्रगति हुन्छ भन्ने इन्स्पेक्टर प्रताप, पदको दुरुपयोग गर्ने अवसरवादी डीआईजी सा'प, छेपाराले झैँ रंग फेर्ने खुबी भएका देश साप्ताहिकका सम्पादक मुकुन्दजीजस्ता पात्रहरूको प्रवृत्ति र स्वभावलाई पनि उजिल्याएका छन्। 


मौखिक प्रचलनमा रहेका तर लिखित रूपमा ल्याउन हिम्मत नगरएिका अश्लील शब्दहरूको प्रयोग गर्न ब्रजेश कत्ति हिचकिचाएका छैनन्। उनले पात्रहरूको आवेगसँगै त्यस्ता शब्दको प्रयोग सहज ढंगले गरेका छन्। तर, सबै ठाउँमा त्यस्ता शब्द सुहाउँदा लाग्दैनन्। आमासँगको प्रेम, युवतीसँगको प्रेम अनि कृत्रिम प्रेमको भेद उनले एकपछि अर्को गर्दै खुट्याएका छन्। एउटा छोराका निम्ति आमा र बाबुको स्नेहको फरक पनि उपन्यासमा अनुभूत गर्न सकिन्छ। कतिपय प्रसंगमा बैकुण्ठे र आमाबीचको सम्बन्धले पाठकलाई भावुक पनि बनाउँछ। उपन्यासमा पात्रहरूको आरोह र अवरोहसँगै आधा गाउँको चित्र र आधा बदलिँदो काठमाडौँ सहरको चित्र देख्न पाइन्छ।


अनेकन् घुम्तीले भरएिको एउटा पात्रको जीवनको सार हो, यायावर। वियोगान्त उपन्यासले पाठकमा थप खुलदुली जन्माउँदैन। जुनेलीले के गर्ली ? कालो राम के गर्दै होला ? प्रतापको जागिरे यात्रा कसरी अगाडि बढ्ला ? दृश्यसँगै पात्रहरू क्रमशः ओझेल पर्ने र उपन्यासको अन्त्यसम्म आइपुग्दा धेरै पात्र सम्झन जरुरी नपर्नु उपन्यासको विशेषता हो। 

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment