Translate

Saturday, April 27, 2013

मन नपरेका साथीहरू


२०७० वैशाख १४ कान्तिपुर कोसेलीमा प्रकाशित

हामी आमाबाबु छान्न सक्दैनौं, दाजुभाइ वा अरू नातागोता छान्न सक्दैनौं । रमाइलो मेलामा हात खाली नजाने चिठ्ठा खेल्दा पुरस्कारको रूपमा जेजस्तो सामान परे पनि चुइँक्क बोल्न नपाएको जस्तो हुन्छ नातागोता । साथीहरू भनेको मात्र यस्ता हुन्, जो तपाईं आफ्नो मनले बनाउन पाउनुहुन्छ । तर नचाहँदा नचाहँदै पनि, फुट्या आँखाले देख्न नसकिनेहरूलाई साथी बनाउनुपर्ने अवस्था आयो भने कस्तो हुन्छ होला ? सुन्दाखेरी तपाईँहरूलाई पत्यार लाग्दैन होला । म पनि अरूले भनेको भए पत्याउन्नथिएँ होला । 


तर केही दिन भयो, अचेल मेरा दुईजना नचाहेको साथीहरू बनेका छन् । तिनीहरूसँग मेरो पूरै समय बितिरहेको छ । ती जुम्ल्याहा दाजुभाइहरूलाई राम्ररी चिन्ने प्रयासमा छु म । ठ्याक्कै एउटै अनुहारका छन् ती दुवै । काटीकुटी उस्तै, दुरुस्तै । यी दाजुभाइ यस्ता हुन्, अहिलेको मेरोजस्तो अवस्थामा तिनको साथ नभई मान्छेलाई सुख्खै छैन । तर पनि हरेक मान्छेको चाहना हुन्छ, तिनको संगत गर्नु नपरोस् । कुनै दिन तिनको भर पर्नुपर्ला भनेर मैले त चिताएको पनि थिइनँ । तर अचानक ती मेरो जिन्दगीमा आए । म चाहन्छु, चाँडोभन्दा चाँडो ती जसरी आएका थिए, त्यसरी नै भागून् । ती मेरा नयाँ साथीहरूको सहाराबिना आजकल म हिँड्न पनि सक्दिनँ । समयभन्दा अघि हिँड्नुपर्छ भन्ने मेरो अहिलेसम्मका मान्यताहरू यतिबेला चकनाचुर भएका छन् । म त समयसँगै पनि हैन त्योभन्दा धेरै पछि परिसकेको छु जस्तो लाग्न थालेको छ आजकल । ती साथीहरूले सहारा नदिने पनि हैनन् । तर त्यो सहारा लिएर मलाई पटक्कै खुसी लाग्दैन ।
यी दुई भाइहरूलाई बैसाखी भनिन्छ । किन म यिनको अवाञ्छित मित्रता स्विकार्न बाध्य भएँ भन्ने कुरा बुझाउन अलि अगाडिबाट सुरु गर्नुपर्छ । 



करिब तीन महिनाअगाडि मलाई हिँड्नका लागि पाइला टेक्दा दाहिने घुँडोमा चसक्कचसक्क दुख्न थाल्यो । सहनै नसकिने पीडा थिएन । सानोतिनो समस्यालाई टेरपुच्छर नलगाउने हामी नेपालीको महान् बानीबाट म मात्र किन अछूतो रहन्थें र ? हामी त वीर गोर्खालीका वंशज पो हौं त गाँठ्ठे । एउटा पाखुरामा गोली लागेको बेला अर्को पाखुराले खुकुरी नचाउँदै 'आयो गोर्खाली' भन्दै लड्ने शूरवीरका सन्तान भएर नाथे घुँडोको हल्का चस्काइसँग को डराओस् ? अरू बेला सानातिना कुरालाई जसरी यसलाई पनि पेलेरै ठीक पार्छु भनेर म अग्रपथमा लम्किरहें । यो नेपाली त शिर उचाली अन्धकारमा समेत जुनकीरीझैं बत्ती बाली लम्किने चम्किने जात पो हो त । आफू बलियो बाङ्गो हुन्जेल फलामको च्युरा पनि चपाउन सक्छु भन्ने लाग्नु अस्वाभाविक पनि हैन । तसर्थ मैले पनि त्यो नाथे पीडालाई पेल्ने प्रयास गरिरहें । तर इन्धनको भाउ, नेताहरूको लालच र राजनीतिक दलहरूको फाटोजस्तो त्यो त घट्नुको साटो दिनदिनै बढी नै रह्यो । घुँडो र मेरो इगोको यो टक्करमा म हार्दै थिएँ, तैपनि आफ्नो लिंडेढिपी मैले छोडिनँ । नेपाली पो हुँ त म । 



अघिल्लो महिना चैतको २५ गते आफ्नो उपन्यास 'यायावर'को विमोचन हुने दिन त म खुट्टा नखोच्याई हिँड्नै नसक्ने भएँ । त्यसैको भोलिपल्टदेखि काकडभिट्टामा हुन लागेको कला साहित्य उत्सवमा लागि जाने कार्यक्रम तय भइसकेको थियो । भर्खर किताब निस्केको बेला जुरेको महोत्सवको लोभ पनि मैले छोड्न सकिनँ र पीडालाई अझै न्यून मूल्याङ्कन गर्दै म झापा हानिएँ ।  त्यहाँ तीन दिनको धपेडीले गर्दा होला, घुँडाको पीडाले त झनै रौद्र रूप धारण गर्‍यो । हरेक समस्याको समाधान मालिस हो भन्ने सोचले अभिप्रेरित भएर मैले मारसँग घुँडोलाई थिचथाच पनि पारिदिएँ । मसँग गएका एक मित्र मेरा लागि बडो चिन्तित भएका थिए । उनलाई सानोमा ठोक्केको लडेको बेला घरमा हजुरआमाले घरमै पारेको रक्सी तताएर मालिस गरेपछि च्वाट्टै हुन्थो रे । म त्यो प्रयोग पनि किन छोड्थें र ? काठमाडौंको लोकल रक्सी झापामा पाइने कुनै सम्भावना थिएन त्यसैले मैले मारसँग ब्ल्याक लेबल तताएर मालिस गर्दिएँ । पछि पो थाहा भयो, मलाई जे भएको हो त्यसमा बरफले सेक्नुप्ाथ्र्यो । तातो र मालिस त गर्नै नहुने कुरा रहेछ । 



फलस्वरूप काठमाडौं फर्किने बेला त म नराम्ररी खोच्याउने भइसकेको थिएँ । त्यस दिनसम्म मैले कसैलाई नभनेको समस्या अब टड्कारो रूपमा सबैले थाहा पाउने भएको थियो । हरेक मानिसको कौतूहलको उत्तर नदिई मैले धरै पाइनँं । हामी नेपालीहरूको अनगिन्ती विलक्षण प्रतिभामध्ये एउटा हाम्रो अथाह औषधि विज्ञानको ज्ञान पनि हो । मैले भेटेका हरेक व्यक्तिले मेरो समस्याको पहिचान मात्र गरेनन्, त्यसको निदानको अचुक उपाय र औषधि पनि बताइदिए । त्यसमाथि प्रविधि र गुगलेश्वर महादेवले आफैंलाई पनि उपबुज्रुक बनाएको त छँदैथ्यो । यी सबका आधारमा निचोड निकाल्दा मेरो युरिक एसिड बढेको हुन सक्थ्यो, मलाई बाथका प्रारम्भिक लक्षणहरूले गाँजेका हुन सक्थे, साढे साती वा अढैयाको दशा लागेको हुन सक्थ्यो, मेरो हाड खिइएको, चर्किएको वा फुटेको हुन सक्थ्यो, नशा च्यापिएको हुन सक्थ्यो, लिगामेन्ट च्यातिएको हुनसक्थ्यो, कुनै आन्तरिक संक्रमण हुन सक्थ्यो, ट्युमर वा क्यान्सरसम्म हुन सक्थ्यो । 



रुद्री लगाउने, झारफुक गर्ने प्राकृतिक चिकित्सामा जाने, आयुर्वेदको शरण पर्ने, योग साधनामा जाने, काठमाडांैका थरीथरी डक्टर वा अस्पताल, दिल्ली र बैंककसम्मका सल्लाह र सुझावहरू प्राप्त हुन थाले । मलाई खुसी पनि लाग्यो, ओहो म त मानिसहरूको आकर्षणको केन्दविन्दु पो भएँ त । मेरा लागि कति चिन्तित छन् मानिसहरू ! 



अनि नचाहँदा नचाहँदै पनि सुरु भयो मेरो थरीथरीका डाक्टरहरूकहाँ धाउने र गिनी पिग बन्ने क्रम । तीनथरी डाक्टरहरूको तीनैथरी उपचारका क्रममा मेरो तीन हप्ता खेर गयो । म परिवारका अरू सदस्यमा आश्रति भएँ । अनि बल्ल एमआरआई नामक महँगो परीक्षण -महँगो र सस्तो भन्ने आफ्नो औकातले निर्धारण गर्छ । मेरो औकातका लागि त्यो परीक्षण महँगो नै हो ।) पश्चात् मेरो समस्याको पहिचान भयो । घुँडाभित्रको मासी सुन्निएको रहेछ । अक्सर खेलाडीहरूलाई लाग्ने चोटपटकका कारण वा शरीरभित्र अन्य कुनै संक्रमणका कारण त्यसो हुँदो रहेछ । मलाई त्यस किसिमको कुनै चोट लागेको थिएन । अरू संक्रमण छन् कि भनेर गरिएका सबै परीक्षणबाट पनि त्यस्तो केही नभएको थाहा भयो । डक्टरहरूको भनाइ र गुगलेश्वर महादेवसँग गरिएको परामर्शले पनि एउटै कुरा भन्यो, यो कुनै गम्भीर समस्या भने हैन । दुखेको घुँडोलाई बल नपारी अरू सबै नियमित गतिविधिहरू र फिजियोथेरापी गर्नेबाहेक अरू कुनै उपचार नै छैन । त्यसो भएपछि यो स्वयं एक दुई महिनामा ठीक हुने समस्या रहेछ । जति त्यसलाई पेलेर हिँड्यो, निको हुन त्यति नै अनुपातमा बढी दिन लाग्ने रहेछ । घुँडोलाई बल नपारी हिँडडुल गर्नका लागि मैले बैसाखी प्रयोग गर्नुको विकल्प भएन । 



सिनेमामा अभिनेताहरूले बैसाखी टेकेर अभिनय गरेको देख्दा एक किसिमको रोमाञ्चको अनुभूति हुन्थ्यो । अभिनयमा त्यसले ल्याएको वास्तविकता आकर्षक लाग्थ्यो । तर साँच्चै बैसाखी टेक्नुपर्दा न कुनै रोमाञ्च हुँदो रहेछ, न त्यसमा कुनै आकर्षण । बैसाखी टेक्नुको पीडा के हो भन्ने कुरा बैसाखी नटेक्ने मान्छेलाई थाहा हुँदैन रहेछ । बैसाखी टेकेर हिँड्न सिक्नका लागि नै पनि कति कठिन हुन्छ रहेछ । कुन खुट्टोलाई पहिले लग्ने, कुनलाई पछि पार्ने, कुनमा वजन दिने, भर्‍याङ चढ्दा कुन पहिले, ओर्लंदा कुन पछाडि भन्ने कुरा सम्भिmनु र व्यवहारमा अभ्यास गर्नु पनि एउटा कला हुँदो रहेछ । गर्व गर्ने कला हैन, सिक्न नपरेको भए हुन्थ्यो भन्ने कला । यो अभ्यास गर्ने क्रममा मैले तीनपटक त राम्ररी माछा पनि मारें ।  निष्त्रिmयता भन्ने कुरा कति टिठलाग्दो हुँदो रहेछ भन्ने पाठ मलाई यो समयले कहिलै पनि नबिर्सने गरी घोकाइदिएको छ । 



सक्रियता भनेको कति ठूलो कुरा हो भन्ने कुरा मैलेे बिर्सेको रहेछु । खुट्टो नचलेर निकै दिनसम्म घरमा थन्किनुपरेपछि पो मलाई अत्यास लाग्न थाल्यो । मैले कति कुरामा अल्छी गरेको रहेछु, आलटाल गरेको रहेछु, आज गर्न सकिने कुरालाई भरेका लागि र भरे गर्न सकिने कुरालाई भोलिका लागि टारेको रहेछु भन्ने थाहा हुन थाल्यो । म साबुत हुन्जेल मलाई लाग्थ्यो,  मसँग जति पनि समय छ, केको हतार ? यो मेरो भूल थियो भन्ने कुरा मलाई बितेको एक महिनाले राम्ररी पढाएको छ । आफू सक्षम र सक्रिय हुँदाका एकएक पल महत्त्वपूर्ण हुन्छन् । जति नै समयका लागि किन नहोस्, थन्किएर बस्नुपर्दा ती खेर फालिएका हरेक पलहरू सम्झना हुँदा रहेछन्, तिनको असाध्यै धेरै माया लाग्दोरहेछ । तर प्रविधिले अहिलेसम्म जिन्दगीमा रिवाइन्ड, पज वा फर्वार्ड भन्ने स्विच हाल्न सकेको छैन । हो, स्टप भन्नेचाहिँ प्रकृतिले नै बनाएको छ तर त्यसको नियन्त्रण कहाँ र कसको हातमा छ भन्ने हामीलाई थाहा छैन । चिठ्ठामा देशको कमान हात परेका नेताहरू पनि आज यसैगरी समय फालिरहेका छन् । तिनले मेरो अहिलेको निष्त्रिmयताबाट केही सिके हुन्थ्यो ।  



जन्मजात दाहिने हात र खुट्टा चलाउने मानिसलाई अचानक देब्रे खुट्टामा भर पर्नु भनेको सजिलो कुरा हुँदैनरहेछ । जीवनभर म हिँड्ने बेला दाहिने खुट्टोलाई पहिले अगाडि सार्थें । शरीरको बोझ त्यही खुट्टाले बढी धान्थ्यो । यस अर्थमा भन्नुपर्दा आफ्नै शरीरका दुई भागमा पनि मानिसले नजानिँदो पाराले पक्षपात गर्दोरहेछ । अनि अहिले आएर अचानक त्यो देब्रे खुट्टोमा भर पर्नुपर्दा त्यसले किन खुच्चिङ नभनोस् । त्यो मसँग बदला लिएर खुसी भइरहेको छ आजकल । व्यंग्यात्मक मुस्कानका साथ मलाई हेर्छ र भन्छ मानौं, 'अहिलेसम्म त मलाई हेप्या थिइस् नि । अब तैंले चाहँदैमा म मान्छु कि क्या हो ? तेरो दाहिने खुट्टोलाई नै भन् न । म किन चाहियो ?'



अनि मेरो दाहिने खुट्टा, त्यो विचरा त चलाए कि घुँडामा असह्य पीडा हुन्छ । म देब्रे खुट्टालाई फकाउने प्रयासमा छु आजकल । तर आफ्नो प्रेमीसँग ठुस्किएकी प्रेमिकाजस्तो घप्प गर्धन फुलाएर बसेको छ मेरो देब्रे खुट्टा । हेरौं कहिलेसम्म नमान्ला । मेरो प्रयास जारी छ । मलाई लागिरहन्छ, बरु म लेफ्टी भएको भए हुनेरहेछ । अथवा यो समस्या देब्रे खुट्टामा भएको भए योभन्दा सजिलो हुन्थ्यो होला । लामो समयसम्म महत्त्व नदिइएका र पक्षपात गरिएका अंगहरू मात्र हैन, मानिस, सम्बन्ध, वर्ग, समुदाय सबैलाई परेको बेलामात्र फकाउन खोज्ने, आफ्नो बनाउन खोज्ने त मानिसको बानी नै हो नि । नेताहरूले चुनाव हुने बेला भएपछि मात्र भोट माग्नका लागि सम्भिmएका जनताजस्तो छ आजकल मेरो लागि मेरो देब्रे खुट्टा ।



यही क्रममा मेरो डेढ महिना खेर गइसकेको छ । त्यो भनेको दुई हजार एक सय छब्बीस घन्टा हो, एक लाख उनन्तीस हजार छ सय मिनेट । ओहो, कति धेरै समय खेर गयो हैन त ? अहिले अब सुधारोन्मुख भएको छ मेरो अवस्था र त्यससँगै सकारात्मक हुन थालेका छन् सोचहरू पनि । अर्को एक महिनासम्ममा म फेरि पहिले जसरी नै हिँड्न सक्छु भन्ने आशामा खोच्याइरहँदा मेरो मगजमा एउटै मात्र कुरा खेलिरहन्छ, म आफंैले सुरुमै यसलाई पेल्न नखोजेर डक्टरकहाँ गएको भए अनि मलाई जाँच्ने पहिलो डक्टरले नै त्यो एमआरआई गराएको भए मेरो यति महँगो समय अन्योल र मानसिक सन्तापमा बित्ने थिएनन् । 



मलाई जाँच्ने डक्टरहरूले पनि सकेसम्म अन्दाजको भरमा यो होला र त्यो होला भनेर बिरामीमाथि प्रयोग नगरिदिएका भए, नखुवाएका भए, युरिक एसिड हो कि भनेर सुरुमै रगत जाँच गरिदिएको भए मैले बिनाकाम सात दिनसम्म बाथको औषधि खानुपर्दैनथ्यो । सबैभन्दा ठूलो कुरो, म अहिलेसम्म पराधीनताबाट मुक्त भइसक्थें । निकै अगाडि भागेको समयलाई भेट्नका लागि एकपटक फेरि कुदिरहेको हुन्थें । कुद्न त ठीक भएपछि पनि कुद्छु । 



समय अघि दौडिसकेको छ तर म त्यसलाई भेट्टाएरै छाड्छु ।


0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment