Translate

Sunday, April 28, 2013

रविको कीर्तिमान

बायाँ फन्को १०६

वि सं २०६९को अन्तिम दिन रवि लामिछानेको कीर्तिमानी म्याराथन टक शोमा सहभागी हुन म न्यूज २४को प्रांगणमा पुग्दा त्यहाँ त्यतिखेर एउटा उत्सवको वातावरण थियो । व्यवस्थापनको लागि जुटेका, सहभागिताका लागि आएका र प्राविधिक रुपमा त्यो चुनौतीलाई मूर्त रुप दिन खटिएका सबैको अनुहारमा एउटा सकारात्मक ऊर्जा देख्दा मलाई त्यतिखेरै लागेको थियो, यो कीर्तिमान बन्नबाट अब कसैले रोक्न सक्दैन । जतिबेला म कुराकानीका लागि स्टुडियोभित्र रविको सामु बसेँ, नढाँटी भन्दा मलाई भित्रैबाट उनका लागि खुशी र गर्व महसुस भयो । यो मेरा लागि पनि सुखद अनुभूति थियो । त्यसले प्रमाणित गथ्र्यो, म अरुका उपलव्धिमा पनि खुशी हुन सक्दो रहेछु । त्यो निकै ठूलो कुरा हो । कसैकसैलाई त अरुको उपलव्धिले पोल्छ ।

निन्द्रा मानिसको शरीर र मन दुबैका लागि अपरिहार्य कुरा हो । कति चाहिँ आवश्यकता हो र कतिचाहिँ अल्छीपना भन्ने आफ्नै ठाउँमा छ तर निन्द्रा चाहिन्छ । हाम्रा वरिपरि थुप्रै यस्ता मानिसहरु छन् जसलाई १२ वा १४ घण्टा ननिदाइ हुँदै हुँदैन । कथंकदाचित केही गरी त्यो पुगेन भने भोलिपल्ट दिनभरि उनीहरु नून खाएको कुखुरा जसरी झोक्र्याउँछन् । कसैकसैको त आँखा वरिपरि कालो घेरा नै देखिन्छ । उनीहरुलाई राम्ररी निन्द्रा नपरेको केही दिनसम्म अल्छी लाग्छ । कति त यस्ता मानिस पनि देखेको छु, एक दिन राति अबेरसम्म सुत्न पाएनन् भने भोलिपल्ट उनीहरु अफीसै बिदा पनि लिन्छन् । तर, धेरै मानिसहरु चाहिने भन्दा बढी निदाउँछन् । तिनै मध्ये एकजना रवि लामिछानेले बनाएको विश्व कीर्तिमानलाई वाहियात भन्दै विरोध गरिरहेका भेटिए । अरु पनि केही मानिसहरु थिए जसमध्ये कसैलाई कार्यक्रमसंग गाँसिएको बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने अभियानमा आपत्ति थियो, कसैलाई ‘विश्वले चिन्नेछ नेपाल’ भन्ने नारा पचेको थिएन । कोही नेपालको नाममा आफूलाई चिनाउने प्रयासका रुपमा पनि यसलाई व्याख्या गर्न पछि परेनन् ।

संसारमा केही यस्ता पनि मानिस हुन्छन्, जसमा प्रकृतिले कुनै पनि सकारात्मक कुरा देख्ने चिप्स हाल्न बिर्सेको हुन्छ । कुनै ठूलो कारखानाबाट थोकको संख्यामा निरन्तर रुपमाएकै किसमिका उत्पादनहरु निकाल्ने क्रममा केही ‘म्यानुफ्याक्चरिंग डिफेक्ट’ भएकाहरु निस्कनु स्वाभाविक कुरा हो । तर अरु कारखानामा उत्पादनहरुको गुणवेत्ता परीक्षण गरेर धेरै हदसम्म त्यस्ता उत्पादनलाई बजारमा जानबाट रोक्ने व्यवस्था गरिएको हुन्छ । मान्छेको उत्पादनमा चाहिँ त्यस्तो व्यवस्था नहुने हुनाले नकारात्मक मानिसहरु पनि अरु सरह निर्वाध बजारमा आइपुगेको हुन्छन् । त्यस्ता मानिसले संसारको कुनै पनि कुरामा राम्रो देख्दैनन् । उनीहरु अरु मानिसका हरेक उद्देश्य र नियतमा शंका गर्छन् । उनीहरुलाई गाईले के दिन्छ भनेर सोध्यो भने दूध भन्दैनन्, गोबर दिन्छ भन्छन् । समुन्द्रको गहिराइमा पुगेर आए भने पनि त्यहाँ सिपी र मोती होइन लेउ र झ्याउ देखियो भन्छन् । उनीहरुलाई फूल पनि रंगहीन लाग्छ, चराको चिरबिर पनि कर्णकटु लाग्छ । उनीहरु हरेक कुराको विरोध गर्नुमा मात्रै आफ्नो विशिष्टता देख्छन् । फलस्वरुप यस्ता मानिसहरु आफू पनि कहिले प्रसन्न रहँदैनन् अनि आफ्ना वरिपरिका संसारै वैरागलाग्दो बनाउन खोज्छन् ।

हुन त मानिसहरुले विश्व कीर्तमान अनेकौं थरि उटपट्याङ्ग काम गरेर पनि बनाएका छन् । उनले पुष माघको जाडोमा कट्टु पनि नलगाइ ६० घण्टा टुंडिखेलमा बिताएर कीर्तिमान बनाउँछु भनेका भए, प्रेमिका वा श्रीमतीसंग लामो समय चुम्बन गर्नेको कीर्तिमान भंग गर्ने प्रयास गरेका भए, टाउकाले टेकेर, हातले हिंडेर, चार हात खुट्टा टेकेर वा त्यस्तै अरु कुनै फन्टूश काममा कीर्तिमान बनाउँछु भनेका भए उनको खिसी गरेको सुहाउँथ्यो पनि होला । तर, रविको कीर्तिमान सार्थक र उपलव्धिमूलक कार्यको लागि थियो । त्यसलाई पनि खुला हृदयले क्या बात् भन्न नसक्ने हो भने त एकपटक आफ्नो चित्त किन त्यति सानो भनेर सोच्नै पर्छ ।

रविले निरन्तर ६२ घण्टासम्म टेलिभिजनमा बिभिन्न मानिसहरुका अन्तर्वार्ता लिएर नयाँ कीर्तिमान बनाए । त्यो ६० घण्टामा उनको सफलताको लागि कामना गर्नेहरु प्रशस्तै थिए । उनलाई यो काम फत्ते गर्नका लागि प्रत्यक्ष सहयोग गर्नेहरु पन त्यत्ति नै थिए । रवि कुन बेला स्टूडियोमा निदाउलान् र त्यो ‘मनोरञ्जनात्मक’ क्षण हेर्न पाइएला भनेर आधा रातमा टेलिभिजन खोलेर कुर्नेहरु पनि नभएका कहाँ हुन् र ? तर चिताउनु र त्यसमा दत्तचित्त भएर लाग्नु भनेको के हो अनि त्यसरी लागिपरेपछि  केही पनि असम्भव हुँदैन रहेछ भन्ने कुरा रविको उपलव्धिले देखाइदियो । गिनिज बुक अफ वल्र्ड रेकर्डसका प्रतिनिधिले उनलाई त्यो कीर्तिमानको प्रमाणपत्र दिए । अधिकांश मानिससंगै म पनि उनको यो सफलतालाई आफ्नै सरह मानेर प्रसन्न भएँ ।

हुन पनि हो, ६२ घण्टासम्म निन्द्रालाई नियन्त्रण गरेर एकतमासले राजनीतिज्ञ, खेलाडी, साहित्यकार, अभिनेता, चिकित्सक, व्यापारी, उद्योगपति लगायत समाजका बिभिन्न पेशाका मानिसहरुसंग भिन्न र व्यापक विषयमा कुराकानी गरिरहनु चानचुने कुरा होइन । निन्द्रा भनेको पलायन पनि हो । शारीरिक र मानसिक रुपमा भाग्नका लागि पनि निन्द्राले सघाउँछ । तर, रविले त्यो पलायनलाई पन्छाएर आफूले आँटेको काम फत्ते गरेकोमा उनलाई मन खोलेर बभाइ दिन कुनै कञ्जूस्याइँ गर्नुपर्दैन । यो कामले देखाएको उदाहरण र सकाउन खोजेको कुरा अरु पनि छ । बहानाहरु तिनका लागि हो, जसले केन्द्रित भएर काम गर्न सक्दैन । मानिसका लागि कुनै पनि कुरा उसको प्राप्तिको घेराभन्दा पर छैन । यो हामी सबैका लागि एउटा ठूलो पाठ हो । हाम्रा देशका लाउकेहरुका लागि त अझै ठूलो ।

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment