Friday, April 19, 2013

यायावर : पुस्तक समीक्षा


akhijhyal.com बाट तानिएको

‘बिहान उठ्ने बित्तिकै हिमाल हेर्न पाइयोस, यी हातले संधै-संधै नेपाल लेख्न पाइयोस।’ अजङ्गको कपाल, चस्मेलु हेराइ, हातमा पेन्ट ब्रस, नाम थाहा नभएपनि यी म्युजिक भिडियोका पेन्टरलाइ मैले दशक पहिलेनै याद गरिसकेको थिएँ। समयको क्रमसंगै यिनलाई टेलिभिजनको पर्दामा देखिने क्रम निरन्तर रह्यो, घरि गीतको भिडियोमा नाचिरहेका, घरि कुनै कार्यक्रममा उद्घोषण गरिरहेका। विस्तारै फिल्म क्षेत्रसंग सम्बन्धित  खबरमा पनि यिनी देखिन थाले। राष्ट्रिय साप्ताहिकमा फन्को मारिरहेको अवस्थामा पनि यिनलाई धेरै भेटियो। विभिन्न रुपमार्फत समाजको गहिराइ नाप्न सफल यिनै बहुमुखी प्रतिभाका धनिले हालै आफ्नो अलग रुपको दर्शन गराए, ब्रजेश खनाल – याज अ नोभलिस्ट।
“पैसा त जसले जसरि पनि कमाउन सक्छ, धनि त त्यो हो जसले सम्बन्धहरु कमाउन सक्छ।” यायावरलाइ यिनै सम्बन्धका पाटा केलाइएको अभिव्यक्तिका रुपमा चित्रण गर्न सकिन्छ। उपन्यासको मुलपात्र वैकुण्ठ र उसकी श्रीमती जुनेलीबिच वैचारिक अभिव्यक्ति विहिन सम्बन्ध रहेको छ। किशोरावस्था देखिनै परिचित रहेता पनि घटना र परिस्थितिले उनीहरुलाई एकआपसमा अन्जान बनाएको छ। जीवनकालमा भोगेको एक बज्रपातबाट माथि उठ्न नसकेका यी दुइलाइ दशवर्षे द्वन्दका क्रममा हिंशा भोगेका वा परिवारजन गुमाएको शोकमा अझै मानसिक रुपमा छट्पटाइरहेका नेपालीहरुको प्रतिनिधि पात्रका रुपमा लिन सकिन्छ।
कालो राम पात्र समाजमा रहेका खबर चलन, व्यवहार र कुसंस्कारको उपज हो। हाम्रो समाजका ‘गब्बर सिंह’ वर्गको प्रतिनिधिका रुपमा उसलाई उभ्याइएको छ। विशेषत: अशिक्षा र अज्ञानतामा पिल्सिएको ग्रामिण समाजमा उ र उजस्तै पात्रहरुले आफ्नो धाक धक्कु प्रयोग गरेर निमुखा गाउँलेको नाजायज फाइदा उठाउने गरेका छन्। वैकुण्ठ-कालो राम भिडन्तलाइ अन्यायको पराकाष्ठा सहन नसकी प्रतिकारमा होमिएका शोषित वर्गहरुको आक्रोसको उपजका रुपमा चित्रण गरिएको छ।
नारदजी, पूजा र मेनुका पात्रहरु ‘सामाजिक आधुनिकीकरण’ले हुर्काएका सन्तान हुन्। आफु हुनुको भाव र आफ्नो अमुल्य सम्पत्ति बेचेर आधुनिक ‘सोसाइटिमा पर्न’ यिनीहरु प्रयासरत छन्। आफ्नो निजि स्वार्थका लागी समाजका मूल्य मान्यतालाइ सहजै पन्छाउन यी पात्रहरु पछि पर्दैनन्। आधुनिकीकरणले सम्बन्धको परिभाषासमेत बदलेको छ। आज मानिसलाई जगतको पर्वाह छैन। विभिन्न आधुनिक तत्वहरुलाई पहिल्याउने ध्येयले आज मानिस यान्त्रिक बनेको छ, निर्विकार यान्त्रिक।


उपन्यासले बादलरुपी जीवनका विभिन्न पक्ष औंल्याएको छ। घामको किरणसंगै उज्याला र चम्किला देखिने बादलहरु आफ्नो रुप फेर्दै सांझ पर्दा सम्म अजंगको कालो रुप धारण गरिसकेका हुन्छन। जसरी वायु, ताप आदी श्रोतले बादललाई आफ्नो स्वरुप बदल्न बाध्य बनाउँछ, त्यसैगरी मानवलाइ आफ्नो जीवनमा विभिन्न रुप धारण गर्न बाध्य बनाउने श्रोतहरुको परिभाषा हो, यायावर।
तिन दशक मनमा कुण्ठित भाव व्यक्त गर्न वैकुण्ठले गाउँ फर्कने निधो गर्यो; सामाजिक अबहेलनाले कालो रामलाइ ‘गब्बर सिंह’ बनायो; नेपाली राजनैतिक अवस्थाले खिचापोखरीको मम:मा रुमल्लिरहेको भैरेलाई चांदीकटाइका कुरा गर्न सिकायो। आज पजेरेका अगाडि झण्डा हल्लाएर हिंड्ने भैरेदेखी, अख्तियारमा बयान दिन धाइरहेका भैरेहरुसम्म सबैलाई ‘प्रजातन्त्रको फर्मुला’ले त्यहाँसम्म ल्याइपुर्यायो।
‘इद’, ‘इगो’ र ‘सुपरइगो’को अन्तरद्वन्दनै जीवन हो भन्ने सिग्मनड फ़्रायडको सिद्दान्तलाइ उपन्यासकारले मनको दायाँ र बायाँ कुनाको नाम दिएर उदाहरण मार्फत चरितार्थ गरेका छन। क्षणिक सुख खोज्ने कुना आफ्नो वशमा लिन सक्नुनै मानव जीवन सार्थक हुनु हो। कथामा देब्रे कुना वशमा परेपछि मात्र मुलपात्रलाइ आफ्नी श्रीमती र उ प्रतिको आफ्नो दायित्वको बारेमा आभाष हुन्छ। तब उसले आफ्नो कर्तब्य सम्झिन्छ र तिन दशक एक्ली छोडिएकि जुनेलीको साथ दिने अठोट गर्दछ।
उपन्यासका केहि अंश सशक्त छन्। एकोहोरो र अत्यासलाग्दो बन्न खोजेका बेला नारायण सर र माइला साहुको आगमनले कथामा रोचकता थपेको छ। विभिन्न प्रशंगमा गरिएका शब्द र वाक्यांश चयनले पाठकलाई उर्जा प्रदान गरेको छ।
उपन्यासको पूर्वाधका अधिकांश घटनाक्रमले मूल कथामा खासै असर नपारेको हुँदा ति प्रशंग व्यर्थ लाग्छन। कथावस्तुमा इन्स्पेक्टर प्रतापको गौण भूमिका रहेपनि, डिआइजिसापको भूमिका ठम्याउन गाह्रो पर्दछ। कालो राममा ‘शोले’को प्रभाव रोचक लागेता पनि, उपन्यासकारले त्यसको प्रयोग केहि बढिनै गरेजस्तो भान हुन्छ। त्यस्तै विभिन्न अस्लिल गाली र शब्दबिना उपन्यासको कथावस्तु  उत्तिकै दमदार रहने भान पाठकवर्गमा पर्दछ।
फुटबलमा एउटा चर्चित वाक्यांस छ, ‘सेकेण्ड सिजन सिन्ड्रोम’। यस कृति मार्फत उपन्यास लिगमा आबद्द भएका ब्रजेश खनालले पहिलो सिजनमा दमदार प्रदर्शन गरेका छन्। आउँदो सिजनमा अझ सशक्त रुपमा प्रस्तुत भइ ’कन्टिनेन्टल क्वालीफिकेसन’ तर्फ अग्रसर हुन्छन या सिण्ड्रोमबाट ग्रस्त भइ रेलिगेसनमा पर्छन, त्यो हेर्न बाँकी नै छ। भलै सिजन सुरु हुन बाँकी होला , तर हामी पाठकवर्ग ब्रजेश खनालको दोश्रो सिजनको खेल हेर्न व्यग्र प्रतीक्षामा छौं। ब्रजेशलाइ शुभकामना !

जुम्मा चुम्मा दे दे...

मंसिर २ , २०७४ - मलाई पान खान कहिले पनि मन लाग्दैनथ्यो , अझै पनि लाग्दैन । तर त्यस दिन म नयाँ दिल्लीको रिगल भन्ने सिनेम...