Translate

Monday, July 22, 2013

म गएँ भने के होला?

म गएँ भने के होला, म गएँ भने के नै होला
को गएर के भएको छ र, म गएर के होला
तै पनि साँच्चै म गएँ भने के होला
म गएँ भने कोही रोला ?

मलाई सम्झिनेहरु पनि होलान्, होलान् मलाई बिर्सने
चाँडै बिर्सने केही होलान् केही धेरै सम्झिने होलान्
सँधै त कसले कसलाई सम्झिन्छ र
कसले कतिज्नेल सम्झिन्छ होला ?
तिमीले कति सम्झिन्छौ होला, कहिलेसम्म सम्झिन्छौ होला ?
म गएँ भने के होला ?

घरको एउटा भित्तामा म एउटा तसवीर बनेर झुण्डिन्छु होला
बालिनेछन् जसको मुनि केही दिन हर बिहान एक जोर धूप
चढाइनेछ जसमाथि केही समय ताजा फूलको माला
फूलको त सिजन हुन्छ, सँधै कहाँ पाइन्छ र
सम्झनाहरु जस्तै, सम्झनाहरुसंगै
ती पनि ओइलाउँछन् होला, सुक्छन् होला
अरु त म गएँ भने के नै होला ?

साँच्चै अनि त मेरा लागि पनि छापिएलान् विरहका समवेदनाहरु
छापिए भने के म पढ्न पाउँछु होला ?
पढे पनि के म रमाउन सक्छु होला
तिमीलाई थाह छ भने भनिदेऊ न मलाई
म जाने ठाउँमा कान्तिपुर आउँछ होला ?

थुप्रै पैसा पो लाग्छ क्यारे त्यो छपाउन पनि
कहाँबाट त्यो पैसा ल्याउँछौ होला
किनकि
तिमीहरुसंग त पैसा हुन्नथ्यो, जब म भोको भएर तिमीसंग
लाज पचाएर माग्थें केही उधारो
औषधि किन्न नसकेर जब म कोही आफन्त खोज्दै भौंतारिन्थें,
हन्हन्ति ज्वरोले तातेर यो सहरमा
देख्दोरहेनछु त्यति बेला म यी धुमिल आँखाले
भेट्दोरहेनछु म, चिन्दोरहेनछु तिमीहरुलाई
ओहो हेर त आज त यहाँ कहाँबाट
यतिका मान्छेको झुण्ड थुप्रिएको होला

तेल नपुगेका तीन पाँग्रे ट्रलीमा
चुइँचुइँ गर्दै जब ल्याइन्छ
केही मूठा पराल, केही टुक्रा मूढाहरु,
आर्यघाटमा जब म लमतन्न चिम्लेर आँखा शान्तसंग
तिनै दाउरा जस्तै लडेको हुन्छु,
म गएको हेर्न त्यहाँ कति जना उभिनेछन् होला
मेरा कानबाट के छिर्लान् त्यतिबेला
तिमीहरुका समवेदनाका शव्दहरु ?
खुट्याउन सक्लान् के मेरो चेतले
कुन सक्कली र हुन् कुन नक्कली वाक्यहरु ?
औपचारिक होलान्, भावुक होलान्, निरपेक्ष होलान्
कसैको आँखामा आँशु भए
देख्न सक्लान् के तिनलाई
मेरा टोलाएर आकाश ताकिरहेका आँखाहरुले ?
देख्न सके थाहा पाउलान् र के हुन् ती आँशु ?
म गएकोमा बगेका हुन् कि अर्कोे आधा जलेको चिताको धूवाँको पीरो

म गएँ भने के होला ?
तिम्रो पनि आँखा पीरो होला ? तिम्रो पनि मन अमिलो होला ?
अवगुणहरु मात्र देख्थ्यौ म बाँचुन्जेल तिमी मेरा
मेरा गुणका पोकापन्तुराहरु चाहिँ
म गएँ भने शायद खोतल्छौ होला

गए पछि त मलाई के थाहा कसलाई के हुन्छ वा हुन्न
भन न, म ज्यूँदै हुँदा मलाई भन
एक चोटि मात्र भए पनि भन
म गएँ भने के होला ?

१७ जुलाई २०१३

1 comment: