Translate

Sunday, March 2, 2014

अथाह पाठशाला

बायाँ फन्को १२६

संसारमा ज्ञानको भण्डार एउटा यस्तो कुरा हो, जसको भेउ पाउन कसैले सक्दैन । कति विषय र विधाका कति ज्ञान आर्जन गर्न सकिन्छ भन्ने कुराको कुनै सीमा नै छैन । कुनै पनि मानिसले एउटा जुनिमा बटुल्न सक्ने भन्दा कता हाो कता बढी थाहा पाउन सकिने, सिक्न र जान्न सकिने कुराहरुले भरिएको छ ज्ञानको भण्डार । त्यसैले बेलाबेला आफूलाई सबै कुराको वा धेरै कुराको ज्ञान भएको गर्व गर्ने मानिसहरु भेट्दा मलाई खित्का छोडेर हाँस्न मन लाग्छ । 

त्यसमाथि पनि अझ ज्ञान के हो र सूचना के हो भनेर खुट्याउने तिर सोच्न थाल्यो भने त त्यो झनै बढी अथाह हुन पुग्छ । सीमित समयमा धेरै जसो हामी निश्चित विधा वा विषयका सूचना तथा जानकारीहरु आफ्नो मगजमा कोचेर त्यसलाई ज्ञान वा विद्याको भ्रममा स्वीकार गरिरहेका हुन्छौं । जन्मेर केही थाहा नपाउने बेलादेखि नै चलिआएका र अरुले प्रयोग गरिसकेका कुराहरुसंग अभ्यस्त हुन थाल्छ मानिस । हुर्केर होश आएको बेला देखि त बाबु, आमा, अभिभावक र शिक्षकहरुले सिकाएका कुराहरुलाई ध्रुव सत्य मानेर हामी हुर्किन थाल्छौं । हामी सहज रुपमा ती कुराहरुलाई स्वीकार गर्छौं र संधै जसो अरुले निर्देशित गरेका र सिकाएका कुराहरुलाई सहज रुपमा ग्रहण गर्छौं । प्रश्न वा प्रतिप्रश्न त गर्दैनौं । हामीलाई जे इतिहास भनेर पढाइन्छ, हाम्रा लागि त्यही नै इतिहास हुन्छ । जुन हिसाबको फर्मूला हामीलाई घोकाइन्छ, हामी त्यही तरीका लगाएर समाधानहरु गर्न थाल्छौं । कुनै पनि कुरालाई तपाईहामी कुन ठाउँमा बसेर हेर्छौं भन्ने कुराले त्यसको फरक आयाम वा अर्थ लगाउन सक्छ । त्यसैले वोध भएको ज्ञान बाहेक अरु सबै कुरा विवादास्पद हुन सक्छन् र केही पनि हकाट्य कहाँ हुन्छ र ? त्यसो भन्दैमा हामीलाई सिकाइने सबै कुरा असत्य हुन्छन् भन्ने मेरो आशय हैन । तर सत्य भनिएको कुरा नै सत्य नहुन सक्छ र त्यसका अरु पाटाहरु पनि होलान् भनेर खोज्न हामीलाई जिन्दगीले कहिले पनि समय दिंदैन । त्यसैले कुनै पनि कुरा अन्य अर्थ र रुपमा प्रमाणित नहुन्जेल सम्म सत्यको रुपमा मान पाएर बसिरहन्छ । पृथ्वी गोलो छ भन्ने दह्रोसंग प्रमाणित नहुन्जेल मान्छेहरु यसलाई च्याप्टो नै मानेर बस्थे र त्यो बेलाको लागि सत्य त्यही थियो । यही हरेक कुरामा लागू हुन्छ ।

त्यसैले होला बेलाबेलामा कोही मानिसले जब पढ्नै पर्ने किताब कुन हो भनेर मसंग सल्लाह माग्छन्, म अप्ठ्यारोमा पर्छु । एक त भन्नासाथ त्यस्तो पढ्नै पर्ने किताबको नाम सम्झिन सकिंदैन, सम्झे पनि कतिवटाको सम्झिनु ? जतिवटाको सम्झे पनि के आधारमा तिनलाई पढ्नै पर्ने किताब भनेर भन्नु ? आफूले पढेका बाहेक संसारमा अरु कति किताब होलान् ? तिनको तुलनामा मैले पढेर गज्जब छ भनेको किताबको कुनै औकातै नहोला । एक त आफैले कुनै बेला पढेर राम्रो लागेको कतिपय किताब पछि फेरि पढ्दा वा सम्झिँदा आफैलाई वैराग लाग्न पनि सक्छ । कुनबेला कुन मनस्थितिमा पढ्दा मन परेको कुरा पछि मन नपर्न सक्छ । मानिसको रुचि भन्ने कुरा पनि समय र उसको मानसिक परिपक्वतासंगै परिवर्तन भैरहन्छ । अनि हरेक मानिसको आआफ्नै रुचि हुन्छन् । सबै मानिसलाई एउटै कुरा मन पर्ने वा नपर्ने हुँदैन । मलाई भित्रसम्म छोएको कुराले तपाईंलाई फिटिक्कै असर नगर्न पनि सक्छ । तर त्यसको अर्थ मेरो रुचि राम्रो, तपाईको नराम्रो भन्ने त हैन । 

पुस्तकको कुरा मात्र हैन, सिनेमा र सङ्गीतको कुरामा पनि यस्तै हुन्छ । हेर्नै पर्ने सिनेमा कुनकुन हो वा सुन्नै पर्ने गीत सङ्गीत कुन हो भनेर कसैले सोध्यो भने त्यसको उत्तर दिन मलाई चाहिँ असाध्यै गाह्रो लाग्छ । संसारमा यति धेरै राम्रा पुस्तकहरु लेखिएका छन्, सिनेमाहरु बनेका छन्, सङ्गीतहरु सिर्जना भएका छन्, कुनै एक मानिसले ती सबै पढ्न, हेर्न वा सुन्न कहाँ भ्याउँछ र ? तसर्थ साधारणतया हरेक मानिसले आफ्नो रुचि, मानसिकता र परिपक्वताको आधारमा तिनबाट छानिएका कुराहरु मात्र हेर्छ, सुन्छ, पढ्छ । केही मानिसहरु विस्तृत रुचि भएका हुन सक्छन् जसले पाए जति र भ्याए जति फरक विधाका सिर्जनाहरु ग्रहण गर्न खोज्छन् । तर त्यति हुँदाहुँदै पनि जतिसुकै धेरै अध्ययन गर्ने मान्छेले समेत नाम नसुनेका, नपढेका वा नसुनेका कुराहरु संसारमा हुन्छन् । 

कोही मानिसहरुको उदेक लाग्दो बानी हुन्छ । आफ्नो रुचि अरुलाई लाद्न खोज्ने । त्यस्ता मानिसहरुसंग सभासमारोहमा भेटघाट हुँदा यदि तपाईले उसलाई राम्रो लागेको कुरा हेरेको, पढेको वा सुनेको छैन भन्नु भयो भने उसले तपाईंलाई मंगलग्रहबाट आएको जीवलाई हेरे जसरी हेर्छ । उसले फटाफट चारपाँचवटा पुस्तक, गीत वा सिनेमाको नाम लिंदा यदि कुनै पनि तपाईंका रुचिका कुरा हैनन् र अनभिज्ञ हुनुहुन्छ भने, उसले तपाईंलाई मूर्ख ठान्छ । यस्ता मानिसहरुले के बिर्सन्छन् भने, आफ्नो भन्दा फरक रुचि भएका मानिसहरुसंग पनि आफूलाई थाहा नभएका सूचना हुन सक्छन्, ज्ञान हुन सक्छन्, अनुभव हुन सक्छन् । मानिसहरुलाई पढाइ वा अध्ययनको एउटा निश्चित सीमारेखासम्म पुगेपछि आफूमाथि गर्व लाग्यो भने त्यो उसको सिक्ने अन्तिम समय हो । 

हरेक बिहान, हरेक दिन, हरेक भेटघाट, हरेक भ्रमण एउटा अथाह पाठशाला हो । सिक्ने र जान्ने क्रम कहिले पनि रोकिंदैन र यो कहिले पनि सकिंदैन । तपाइंहामी जहाँ, जुनबेला र जोसंग पनि केही न केही सिक्न सक्छौं । हामी बाँचुन्जेल यो क्रम रोकिंदैन । त्यसैले ज्ञानको अथाहपनाको अगाडि हामी जहिले पनि एउटा शून्य नै रहन्छौं । यदि कसैले आफूलाई सबै कुरा थाहा भएको भ्रम पाल्छ भने त्यो भन्दा ठूलो मूर्ख चाहिँ संसारमा अरु कोही पनि हुँदैन ।  

प्रतिक्रिया:

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment