Translate

Sunday, March 16, 2014

ध्वनि र कोलाहल

१२७ 

आँखा र कानले, यो हाम्रो मुखले के के गर्ने हो ?
यी सब सिकौँ, हामीले सिकौँ आज हामीले ।

स्कुले जीवनभर हरेक बिहान लामबद्ध भएर गाउने गरेको प्रार्थना अहिले पनि मुखाग्र छ। संस्थापक प्रिन्सिपल सत्यनारायणबहादुर श्रेष्ठले आफैँले लेख्नुभएको त्यो रचना हामी तन्मयका साथ थपडी बजाइबजाइ भट्याउँथ्यौँ। हामीलाई त्यतिबेला एउटा नियमजस्तो मात्रै थियो। हुन त अहिले पनि त्यसका एकएक पंक्ति हामी खररर भन्न सक्छौँ तर त्यसको अर्थ खोज्ने बेला पनि थिएन, चाहना पनि थिएन। त्यसमा आँखा, कान र मुख हामीलाई प्रकृतिले किन दिएको हो भन्ने कुराको शिक्षा हुन्थ्यो। गीतले भन्थ्यो, यो संसारमा हेर्न, बोल्न, सुन्न र गर्नका लागि राम्रा नराम्रा दुवैथरी कुरा प्रशस्तै छन्। तर, हाम्रा आँखाले तिनबाट छानेर राम्रा राम्रा कुरा मात्र देख्नुपर्छ, हाम्रा कानहरूले राम्रा कुरा मात्र सुन्नुपर्छ, मुखले सुमधुर बोली मात्रै बोल्नुपर्छ।
आदर्श विद्या मन्दिरमा नपढेका अरूलाई पनि त्यस्तै कुराहरू कुनै न कुनै रूपमा कसैले न कसैले कहीँ न कहीँ सिकाए होलान्। तर, हरेक बिहान एकोहोरो रटेका र सबैले सुनेका ती कुराहरू हामी पछि जब व्यावहारकि जीवनमा प्रवेश गर्छौं, कता पुग्छन्, कहाँ हराउँछन्, स्मृतिका पानाहरूबाट मसीले लेखेका पानाबाट रंग उडेको जसरी बिलाउँछन्, धमिलो हुन्छन्।
अघिल्लो साता अमेरकिी दूतावासको निमन्त्रणामा ओस्कारका लागि छानिएकी एक जना सिनेमा निर्देशकसँग एक दिन छलफल गर्ने साइत जुरेको थियो। आइरनि टेलर ब्रोड्स्की नामकी ती सिनेकर्मीको विधा वृत्तचित्र थियो। संसारका विभिन्न भागमा विविध विषयवस्तुमाथि मार्मिक वृत्तचित्र बनाइसकेकी आइरनिले त्यस बेला आफ्नो हेयर एन्ड नाउ भन्ने एउटा चर्चित र पुरस्कृत कृतिको केही अंश हेर्ने अवसर प्रदान गरेकी थिइन्। त्यो वृत्तचित्र उनका लागि पनि विशेष महत्त्वको थियो किनभने त्यससँग उनी आफैँ व्यक्तिगत रूपमा गाँसिएकी थिइन्। मानवीय भावनाले हुन त कुनै पनि सर्जक आफ्नो विषय र त्यसका पात्रहरूसँग गाँसिएकै हुन्छ। त्यति भएन भने उसले त्यसमा न्याय गर्न सक्दैन।
उनको वृत्तचित्र अरूभन्दा कति फरक रहेछ भने यो उनले आफ्नै बाबु र आमामाथि बनाएकी थिइन्। उनका आमा र बाबु दुवै जन्मदेखि नै कान सुन्दैनथे। तरंग र ओठ चलेका आधारमा बोलीचाली सिकाउने विशेष विद्यालयमा उनीहरू सँगै पढ्थे। त्यही क्रममा भएको मित्रता पछि वैवाहिक सम्बन्धमा परणति भएको रहेछ। आफ्ना तीन सन्तानलाई हुर्काउने बेलासम्म उनीहरू आफ्नो सुन्ने शक्तिको अभावलाई जितेर अरू साधारण मानिसहरूसरह जीवनसँग अभ्यस्त भइसकेका हुन्छन्। ध्यान दिएर सुन्यो भने बुझ्न सक्ने कुरा गर्न सक्छन् उनीहरू। तर पनि अचानक ६५ वर्षको उमेरमा उनीहरू आफ्नो मौनताको संसारबाट बाहिर निस्केर सुन्ने बन्नका लागि ’कोक्लियर इम्प्लान्ट’ भनिने जटिल र डरलाग्दो शल्यचिकित्सा गर्ने निर्णय गर्छन्। उनीहरू संगीत सुन्न चाहन्छन्, फोनमा कुरा गर्न चाहन्छन्, आफ्ना सन्तानको स्वर कस्तो छ भनेर सुन्न चाहन्छन्। तर, दुवैको शल्यचिकित्सा सफल हुन्छ भन्ने कुनै आश्वासन छैन। उनीहरूले लामो जीवन हरेक कुरा एकसाथ गरेर बिताएका छन्, उस्तै भएर बिताएका छन्। अब यो शल्यचिकित्साले उनीहरूमध्ये एक जनालाई पनि अर्को भन्दा फरक बनाइदियो भने त्यसले उनीहरूको जीवनमा, सम्बन्धमा कस्तो फरक पार्ला? यसैको सेरोफेरोमा आइरनिले बनाएको वृत्तचित्रले सतहमा देखिनेभन्दा गहिरा प्रश्नहरू उठाएजस्तो मलाई भान भयो।
कुनै मानिसले ६५ वर्षसम्म मौनता अनुभव गरेर अचानक संसारका विभिन्न ध्वनि सुन्दा कस्तो होला? उसले पढेको ध्वनिको परभिाषा र आजको संसारको कोलाहलमा उस्तै होला त? के उसले ती दुईमा सामञ्जस्यता पाउन सक्छ? किनभने, १०र११ दिन शिवपुरीको डाँडामा विपस्यना गरेर आएकाहरू भन्ने गर्छन्, एकैपटक सहरको कोलाहलमा आउँदा त आफूलाई अभ्यस्त बनाउनै
गाह्रो हुन्छ।
ध्वनि एक शब्द भए पनि केलाएर हेर्ने हो भने आजको संसारमा त्यसका कति रूप छन् भनेर सम्झन  गाह्रो हुन्छ। हामीले स्कुलमा गरेको प्रार्थना र बाल्यकालमा पाएको पाठलाई व्यवहारमा लागू नै गर्ने हो भने पनि, म राम्रो कुरा मात्र सुन्न चाहन्छु भन्ने हो भने पनि के अरूले हामीलाई त्यसो गर्न दिन्छन्? सबैले राम्रै राम्रो मात्र नबोलेसम्म कसैको पनि नराम्रो नसुन्ने चाहना कसरी पूरा हुन सक्छ?
आइरनिका बाबुआमाको आफ्नो निर्णयलाई सम्मान गरे पनि मैले आफूलाई उनीहरूको ठाउँमा राखेर सोच्दा मलाई त्यसमाथि प्रश्न उठाउन मन लाग्यो। म त्यहाँ भएको भए र कसैले मलाई त्यो शल्यचिकित्सा गर्न भनेको भए म गर्थें होला? आफन्तको स्वर, मधुरो संगीत, चराको चिरबिर, पातमा हावाको स्पर्श, मधुरो संगीतका ध्वनिका साथसाथै श्रवणशक्तिले मलाई प्याकेज डिलमा अरू धेरै कोलाहल पनि दिन्थ्यो। के म ती सबै सहन सक्थेँ होला? मलाई मौनतासँग अभ्यस्त भइसकेपछिको कोलाहलको आवश्यकता हुन्थ्यो होला त ?

प्रतिक्रिया:

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment