Sunday, March 23, 2014

हारभित्रको जीत

यसपटकको टी ट्वेण्टी विश्वकप क्रिकेट प्रतियोगिताबाट नेपाली क्रिकेटको नयाँ युगको सुरुवात भएको मान्नुपर्छ । नेपाली क्रिकेट टोली विश्वकपका लागि छनौट हुनु आफैमा नै एउटा उपलव्धि थियो । त्यसैबेला देखि सारा नेपाली बंगलादेशमा हुने खेलका लागि उत्साहित भएर कुर्न थालिसकेका थिए । त्यस हिसाबले काउण्टडाउन त त्यही बेला नै शुरु भएको हो । हामी राम्रो प्रदर्शनका लागि आशावादी थियौं । तर साथसाथै अनुभव र सुविधाको तुलनै हुन नसक्ने देशहरुका विरुद्ध हामी चमत्कार गर्न सक्दैनौं भन्ने कुरामा पनि मानसिक रुपले तयार नै थियौं । आखिर जे हुनु थियो, त्यो नै भयो । बंगलादेशसंगको खेलमा हामी पराजित भयौं । अफगानिस्तानसंगको हाम्रो खेल र बंगलादेशसंग हंगकंगको खेलमा चमत्कार नहुने हो भने हामी यसपटक यो भन्दा अघि बढ्ने सम्भावना छैन भने पनि हुन्छ । तर हरेक कालो बादलमा चाँदीको घेरा हुन्छ भन्ने शास्वत भनाइ छ । यो कुरा यहाँ पनि प्रमाणित हुन्छ ।

यसपटकको विश्वकपमा हाम्रा लागि थुप्रै चाँदीका घेराहरु देखिएका छन् । सबैभन्दा पहिलो कुरो त नेपालले विश्वकप खेल्नु नै हो । न्यूनभन्दा न्यून सुविधा पाएका खेलाडीहरुले देशलाई यो गौरवशाली उपलव्धि प्रदान गरेका हुन् भन्ने कुरा हामीले बिर्सनु हुँदैन । खेलका लागि आधारभूत संरचना र अभ्यासका लागि सुहाउँदो वातावरण नहुँदानहुँदै पनि, एउटा मात्र पनि क्रिकेट स्टेडियम नभएको देशका खेलाडीहरु विश्वपसम्म पुग्नु नै आफैमा चमत्कार हो । धेरै ठूला कुराहरु नगरौं, हाम्रा खेलाडीहरु वर्षातको समयमा अभ्यास समेत पनि गर्न पाउँदैनन् । एक पटक त्यो बेलामा त्रिविको कामचलाउ क्रिकेट मैदानमा गएर हेरे मात्र पुग्छ । यो चमत्कार हाम्रा खेलाडीहरुको आत्मबल, लगाव र ह्याकुलाका कारण सम्भव भएको हो । यसका लागि हामीले उनीहरुलाई जति आभार प्रकट गरे पनि कम हुन्छ । अधिकांश समय नकारात्मक कुराका लागि मात्र विश्व सञ्चार माध्यमहरुमा ठाउँ पाइरहेको हाम्रो देशलाई गर्विलो उपस्थिति जनाउन उनीहरुले ठूलो सहयोग गरेका छन् । अर्को कुरा हंगकंग बिरुद्धको खेलमा हाम्रो प्रदर्शन र अन्तर्राष्ट्रिय समाचार माध्यमहरुमा भएको हाम्रो मुग्धकण्ठको प्रशंसा हो । नवप्रवेशी देशको टीमले विश्वकपको कुनै पनि खेल, अझ पहिलो खेलमा विजय प्राप्त गरेको कीर्तिमान हामीले बनायौं । साथै अन्य थुप्रै कुरामा हाम्रो खेलका रेकर्डहरु अब अन्तर्राष्ट्रिय रुपमा मान्यता प्राप्त भएर अमर रहनेछन् । 

संसारका लाखैंकरोडौं मानिसहरुले हेर्ने खेलका च्यानलहरुमा हामीले आफ्ना खेलाडीहरुलाई देख्न पायौं । पूर्ण व्यावसायिक क्यामराम्यानहरुले खिचेका खेलहरु हेर्न पायौं । विश्वका चर्चित पूर्व क्रिकेटरहरुका कमेण्ट्रीमा नेपालीहरुको खेलको बारे विश्लेषणहरु सुन्न पायौं । विश्वस्तरका अम्पायरहरुले हाम्रो खेलको अम्पायरिंग गरेको दृश्यले आँखा मात्र हैन हाम्रो मनलाई पनि शीतलता प्रदान ग¥यो । यी सब कुराहरु केही वर्ष अगाडिसम्म हाम्रा लागि सपना मात्र थिए । आज वास्तविकता बनेको छ । यत्रो ठूलो प्रतिस्पर्धाबाट हामीले निकै ठूलो अनुभव बटुल्न पाएका छौं । हार र जीत भन्दा ठूलो कुरा त्यही हो । 

यसपटकको खेलमा हाम्रा सम्पूर्ण समर्थक र सञ्चारमाध्यमहरुले पनि साह्रै सकारात्मक र सन्तुलित व्यवहार देखाएका छन् । हाम्रा अधिकांश बानी, व्यहोरा र संस्कारहरु छिमेकी मुलुकबाट प्रभावित हुने गरेका छन् । हाम्रा सिनेमा, साहित्य, राजनीति, पत्रकारिता र ती संग सम्बन्धित आचरणहरुमा उताको टड्कारो प्रभाव देखिने गर्छ । क्रिकेटको कुरामा उताको कुरा गरिनसक्नु छ । हरके जीतमा खेलाडीहरुलाई भगवान बनाइन्छ । कतिसम्म त भने ब्रम्हा, विष्णु र महेश्वरको अनुहारमा खेलाडीहरुको फोटो टाँसेर प्रचारप्रसार गरिन्छ । अनि हरेक हारमा तिनै भगवानहरु ‘मैच का मुजरिम’ मा परिणत हुन्छन् । भजन गाउँदागाउँदै कुनबेला उनीहरुको सत्तोसराप सुरु हुन्छ भनेर थाहै पाइँदैन । तर सबै कुरामा उताबाट प्रभावित हामीले खेलमा यो नकारात्मक कुरा चाहिँ सिकेनौं । बंगलादेशसंग हारे पनि सबै दर्शकले एककण्ठले खेलाडीहरुलाई साधुवाद दिए, भोलिका लागि हौस्याए । यो सकारात्मक आचरण हामीले सँधैका लागि कायम राख्न सक्नुपर्छ । 

अब मूल कुरो भनेको यस अघि कसरी बढ्ने भन्ने हो । बीउ रोपिइसकेको छ । आवश्यकता त्यसलाई उचित वातावरण दिने, मलजल गर्ने र जोगाउने हो । अनुत्पादक र प्रत्युत्पादक कामहरुमा हामीले कहाँ र कति खर्च गरिसकेका छौं भन्ने एकपटक पनि सोचेका छैनौं । हरेक राजनीतिका व्यापारीहरुले आफू सरकारमा हुँदा यस्ता नोटका बाढीहरु कति बगाए कति । तर सिंगो देशलाई गर्व दिनसक्ने प्रमाणित भएको क्रिकेटका लागि कुनै ठोस काम वा लगानी भएको छैन । अझै केही बिग्रेको छैन । यो सही समय हो । यसमा लगानी गरेर हेरौं, ठूलै फल पाउनेछ देशले । हुन त रंगशाला बनाउन प्राथमिकता दिने कुरा खोकिसकिएको छ । तर एउटा भत्केको बाटो  र पुल बनाउन वर्षौ लगाउनेहरुले अन्तर्राष्ट्रिय स्तरको रंगशाला कहिले बनाउलान् भन्ने कुरामा शंका छ । हामीलाई कमसेकम यो कुरामा यसपटक गलत सावित गरिदिनुस्, सबै भन्दा पहिले हामी नै धन्यवाद दिनेछौं । 

यस्तो अवस्थामा खेलाडीहरुलाई अर्को चरणमा पुगेमात्र राष्ट्रनायक घोषणा गर्ने कुरा गरेर हाम्रा एक मन्त्री हाँसोका पात्र बन्न पुगेका छन् । मन्त्रीज्यूलाई थाहा नभएका धेरै कुराहरु मध्ये एउटा के हो भने यी खेलाडीहरुले सारा नेपालीहरुको मनमा स्थान बनाइसकेका छन् । उनीहरुलाई हामीले राष्ट्रनायक मानिसकेका छौं । आम मानिसहरुका आँखामा कुनै इज्जत बाँकी नरहेका, बोलीको कुनै भर नभएका र डुङडुङ्ती गन्हाइसकेका राजनीतिका व्यापारीहरुले त्यसका लागि कुनै शर्त राख्नु आवश्यक छैन । यस्ता सस्ता र हावादारी कुरा गर्नुको साटो क्रिकेटको विकासका लागि साँच्चै केही काम गरिदिए बरु उनीहरुका पुराना पापहरु केही मात्रामा भए पनि पखालिएलान् । 

एकै टेकमा तीन अन्तरा

कान्तिपुर कोसेलीमा प्रकाशित बम्बै, २०...... गति रोधक पुढे आहे सडकको किनारामा ट्राफिकको सूचना गाडिएको बोर्डमा मराठीमा लेखिएको थियो, ...