Saturday, April 26, 2014

खेलको झेल

बैशाख १३, २०७१को कान्तिपुर कोसेलीमा प्रकाशित


विकट परिस्थिति
प्रमोद धूवाँको मोसोले कालो बनाएको भान्छाको दलीनजस्तो अँध्यारो अनुहार लगाएर बसेको थियो । मैले केही भनिहाल्छु कि भने जस्तो ऊ घरिघरि पुलुक्क मलाई हेथ्र्यो । उसको आँखाको आर्द्रताको मात्रा हेर्दा अब केही बेरमै ऊ तुरुक्क रुन्छ भने जस्तो भैसकेको थियो । मेरो आफ्नै मगज हाकिम आउनु अघि नै विदाको फारम भरेर टाप ठोकेको सरकारी कर्मचारी जस्तो भैसकेको थियो, म के भन्न सक्थें । अनि ऊ निराश भएर घुटुक्क थुक निल्थ्यो । कोठाका झ्यालढोका हामीले डम्म थुनेका थियौं तर पनि बाहिर ठूल्ठूलो स्वरमा कराइरहेको प्रकाशको स्वर छिद्रछिद्रबाट छिरेर बम पड्केको आवाज सरह हाम्रा कानको जालीमा ठोक्किरहेको थियो । ऊ बोल्न हुने, नहुने, सुन्न सकिने नसकिने हरसम्भव अपशव्दहरु मिसाएर हामी दुइजनाको दोहोलो काढिरहेको थियो । हामीलाई बाहिर निस्कनका लागि निरन्तर हाँक दिइरहेको थियो ।


“ए फलान्थोकका फलान्थोकहरु, बाहिर निस्की तिमीहरु । फलान्थोक जस्तो फलान्थोकहरु । केटाकेटीलाई पाएर ठगेर उम्किन पाउँछु भन्ठान्या छौ फलान्थोकहरु ? म हुँदाहुँदै तिमीहरुले नचिताए हुन्छ । तिमीहरुको फलान्थोक फुटाउन सकिनं भने म एउटा बाउको छोरो हैन के ठान्या छौ फलान्थोकहरु ?”

प्रकाश, प्रमोदकोे सहोदर भाइ भएर पनि त्यो नाताको कुनै सम्मान गरिरहेको थिएन भने मेरो त काहिँला काकाबाको नाति मात्र । मलाई किन छोड्थ्यो । यसै पनि ऊ कहलिएको जण्ड थियो । उसलाई कसैको डरभर थिएन । रिसाएपछि ऊ जोसुकैलाई किन नहोस्, शव्दकोषमा समेत नभएका गालीहरु प्रयोग गथ्र्यो । त्यतिबेला त दोष उसको पनि थिएन, हामी नै नचाहँदानचाहँदै अप्ठ्यारोमा परेका थियौं । मैले झ्यालको सानो कापबाट चिहाएर बाहिर हेरें । प्रकाश तारसप्तकमा कराउँदा उसको हल्लिएको किलकिले म त्यहींबाट देखिरहेको थिएँ । प्रमोदले पनि रुद्रघण्टी उफ्रेको देखिने गरि घुटुक्क थुक निल्यो र सोध्यो,
“अब के गर्ने ?” उसको स्वर डाल्फ खाएर मर्न लागेको मुसाको जस्तो मसीनो थियो ।
“चुप लाग् न एक छिन, सोच्न दे,” मैले भनें ।

म आफ्नो मगजलाई आपतकालीन मोडमा हालेर चलाउने प्रयास गर्न थालें । यो समस्याबाट कसरी उम्किने होला भन्ने बाहेक अरु केही सोच्न चाहन्नथें म । केही दिन अघि प्रमोद र म मिलेर बनाएको एउटा शतप्रतिशत सुरक्षित योजनामा भ्वाङ परेको कारण हामी यस्तो विकट परिस्थितिमा आइपुगेका थियौं ।

योजना
हामी सात अथवा आठ कक्षामा पढ्ने बेलाको कुरा हो । त्रिपुरेश्वरमा भएको हाम्रो पुख्र्यौली घरलाई पञ्चकुटी भनेर चिनिन्थ्यो । जिजुहजुरबाका पनि बाले आफ्ना पाँच भाइ छोराहरुका लागि पाँचवटा घर बनाएर त्यसको पञ्चकुटी भनेर नामाकरण गरेका रे । ती पाँच जिजुहजुरबाका खलकहरु बढ्दै गएर दाजुभाई सबै अरिंगालको गोला जसरी त्यही कम्पाउण्डमा बस्ने हुनाले खेल्नका लागि हरेक उमेर समूहका केटाकेटीहरु उपलव्ध हुन्थे । पाँच घरको बीचमा एउटा सार्वजनिक चौर थियो जहाँ हामी फुटवल, क्रिकेट, तेलकासा जस्ता खेलहरु खेल्थ्यौं, साइकल कुदाउँथ्यौं । बिहेवर्तमन जस्ता कार्यहरुका बेला पाल टाँगेर भोज भतेर गर्नका लागि पनि त्यो चौर प्रशस्त हुन्थ्यो । बेलाबेला कुनै काकाबाजेहरुले आफ्नो पट्टिबाट त्यो चौरलाई केही इन्ची अतिक्रमण गर्न खोजे भने बाँकी अरु सबै मिलेर जाइलाग्थे ।

हामीलाई पकेट खर्च भनेर सुको दिइँदैनथ्यो । दशरथ रंगशाला र त्यहाँ हुने खेलहरुले त्रिपुरेश्वरको रौनकै बढाउँथ्यो । त्यसैले चिया, मिठाइ र विभिन्न खाजाका परिकारहरु पाइने मनग्गे रेष्टूराँहरु खुलेका थिए । आउँदाजाँदा बाटोमा पर्ने ती रेष्टूराँका परिकारहरु र त्यहाँ बसेर उग्राइउग्राइ चपाइरहेका मानिसहरुले हामी केटाकेटीहरुलाई खूब लोभ्याउँथे । तर हामीसंग त्यहाँ गएर खाने पैसा हुन्नथ्यो । हामी घुटुघुटु थुक निलेर मन मारेर हिंड्थ्यौं । हाम्रो चोखे लागेर कति मानिसहरुका पेट दुखे होला, भनिसाध्यै छैन ।
त्यस दिन पनि प्रमोद र म साँझ पख हावा खाँदै शहीदगेटसम्म पुगेर फर्किंदै थियौं । एउटा नयाँ खुलेको दशरथ रेष्टूराँमा हाम्रो आँखा प¥यो । त्यतिखेर फुटवल खेलिरहेको मान्छेको एउटा नयाँ हुलाक टिकट निस्केको थियो । त्यही टिकटलाई साइनबोर्डमा पेण्ट गरेर चिटिक्क पारिएको थियो । भित्र पनि सफा सिनित्त काउण्टरमा हेर्दै मुखमा ¥याल आउने परिकारहरु सजाइएका थिए ।
“बुझिस् बर्जिशे ? एक दिन यो रेष्टूराँमा नखाइ त म मर्दिनं ।”

प्रमोदले ठूलै किरिया खायो । मेरो पनि आँतै हरर भैसकेको थियो । त्यहाँबाट घर पुग्ने एक मिनेटको बाटोमा अचानक मेरो दिमागमा बिजुली चम्के जस्तो एउटा जुक्ति फुरिहाल्यो । मैले दशरथ रेष्टूराँमा खाने उपाय उसलाई सुनाएँ । प्रमोद दंग परेर कानदेखि कानसम्म च्यातेर हाँस्यो । हामीले त्यसपछि निकै लामो समय त्यो योजनालाई ठोकपिट गरेर चारैतिरबाट जाँचेर फुलप्रूफ बनायौं । अनि त्यसको नाम पनि राख्यौं,
प्रथम पञ्चकुटी व्यापी क्यारेम बोर्ड प्रतियोगिता ।

हाम्रो पुस्ताकै मात्र केही नभए पनि दशबाह्र जना भुराहरु थिए । हाम्रो क्यारेमबोर्ड प्रतियोगितामा हामी र हामी भन्दा सानाहरुले भाग लिन पाउने । त्यसो भए पछि अनुमानित खेलाडीहरु बीस जनाको हाराहारीमा हुने भए । नाम दर्ता गरेको प्रति भुरा एकका दरले बीस रुप्याँ उठ्ने भयो । त्यति भएपछि हामीलाई दशरथ रेष्टूराँमा गएर खान पर्याप्त हुन्थ्यो । हामीले विजेतालाई प्रमाणपत्र र कप प्रदान गर्ने घोषणा पनि गर्ने भयौं ।

त्यो योजना खासमा भन्ने हो भने एउटै आत्मविश्वासको भरमा तयार भएको थियो । हाम्रो पुस्ताका भुराहरुमा प्रमोद र म सबै भन्दा राम्रो क्यारेम खेलाडी थियौं । हामीलाई अरुले हराउनै सक्दैनथ्यो । हाम्रो गोप्य सहमति के भएको थियो भने, आयोजकका रुपमा म मात्र अगाडि देखिने । प्रमोद सहभागी खेलाडीको रुपमा अन्तिम अवस्थामा सहभागी हुने । किनभने उसले पहिले नै भाग लिने हो भने त अरु कसैले एक रुप्याँ खर्च गरेर नाम दर्ता गर्ने प्रश्नै हुन्न्थ्यो । त्यसपछि जित्ने उसैले हो, केही दिए नि नदिए नि के भयो र ? नभन्दै हाम्रो योजनाले काम ग¥यो । हामीले भोलिपल्टै १९ रुप्याँ उठायौं । कीलाबाट फुत्किएको छाडा साँढे जसरी प्रमोद र म हान्नियौं दशरथ रेष्टूराँ । हामीले आफ्नो पेटपूजा र आत्मा शान्त बनायौं ।

भोलिपल्ट टाइसीट प्रकाशन भयो । प्रमोदको नाम देखेर अरु भुराहरुले रुन्चे अनुहार लगाए, प्रकाशले बिद्रोह गर्न खोज्यो । अन्ततः खुला प्रतियोगितामा तोकिएको उमेर समूहका जो कसैले पनि भाग लिन पाउने तर्कका अगाडि उसले घुँडा टेक्नै प¥यो । हामी दंग थियौं । तर हामीलाई थाहा थिएन, हाम्रो खुशी केही क्षणको मात्र हो । खेलको अनिश्चितता भन्ने कुराले हामीलाई धोवीपाट लगाएर पछार्छ भन्ने हाम्रो कल्पना बाहिरको कुरा थियो ।
हालैको विश्वकप क्रिकेटमा एसोसिएट हंगकंगले टेष्ट मान्यता प्राप्त बंगलादेशलाई चुटेजस्तै च्याम्पियन प्रमोदलाई पहिलो खेलमै उसको भाइ प्रकाशले हराइदियो । हाम्रो सातोपुत्लो उड्यो । हाम्रो कल्पनाको महलको जग नै भत्किएको थियो । क्रमशः खेलहरु हुँदै गएर प्रथम पञ्चककुटी व्यापी क्यारमकोर्ड प्रतियोगिताको विजेता बन्यो प्रकाश । हामीले पैसा उडाइसकेका थियौं । कहाँबाट ल्याउने प्रमाणपत्र र कप ? झ्यालढोका थुनेर कोठामा लुक्नु बाहेक अरु केही विकल्प थिएन हामीसंग । तर कालले छोड्ला, प्रकाशले छोडेन । ऊ सबै भुराहरु बटुलेर नाराबाजी गर्न थालिहाल्यो ।

अचुक उपायः
बाहिर प्रकाश अझै नयाँ नयाँ शव्दहरुको आविष्कार गरेर हाम्रो इज्जतको हूर्मत लिइरहेको थियो । उसका नाराहरुमा सबै ठगिएका भुराहरु चिच्याइचिच्याइ साथ दिइरहेका थिए । अब त केही ठूला मान्छेहरु पनि हूलमा सहभागी भैसकेका थिए । अचानक मेरो दिमागमा फेरि बिजुली चम्कियो । मलाई चित्रकलामा रुचि थियो र त्यतिबेला म राम्रै चित्र बनाउन जान्दथें । अक्षर पनि अलि मेहेनत गर्दा राम्रै बनाउन आउँथ्यो मलाई । मैले हतारहतार आफ्नो स्केचबूकको एउटा पानामा हातैले कोरकार गरेर एउटा राम्रै प्रमाणपत्र बनाएँ ।
“कप चाहिँ के गर्ने नि ?” प्रमोदले अलि आशालाग्दो अनुहार लगाएर सोध्यो ।

त्यसको पनि जुक्ति मलाई आइसकेको थियो । त्यो सुनेर एकै छिन अघिसम्म मुर्दा जस्तो निस्तेज प्रमोद अब बिरामी मान्छे जस्तोसम्म देखिने भयो । हामी क्रुद्ध भीडको सामना गर्न छाती फुलाएर बाहिर निस्क्यौं । गगनभेदी नाराहरु लागिरहेका थिए ।
“कप र प्रमाणपत्र चाहिन्छ चाहिन्छ ।”
“बच्चाहरुलाई ठग्न पाइन्न पाइन्न ।”
“बर्जिशे र पर्मोदे मुर्दावाद मुर्दावाद ।”

मैले ठूलै नेताले जसरी हात उठाएपछि उनीहरु शान्त भए । मैले घोषणा गरिए अनुसारको पुरस्कार प्रदान गर्ने कुरा सुनाएपछि प्रकाश मौन भयो र तर पनि आँखामा संशयका भाव लिएर ऊ मलाई तौलिरहेको थियो । प्रमोदले सगर्व विजेताको रुपमा प्रकाशको नाम घोषणा ग¥यो र पुरस्कार लिन बोलायो । उसका आउसेपाउसे लागेका भुराहरुले पर्र मकै भुटे जसरी ताली बजाए । प्रकाश विजयी मुद्रामा सिहंको चालाले अगाडि आयो । मैले पहिले उसलाई प्रमाण्पत्र दिएँ । उसले त्यसलाई हे¥यो अनि राताराता आँखाले मलाई हेर्दै सोध्यो,
“अनि कप नि कप ? कप खै त फलान्थोक ?”
“कप पनि छ ।”
मैले आफ्नो ढाड पछाडिपट्टि लुकाएर ल्याएको कप निकालेर उसलाई हस्तान्तरण गरें ।
“यही हो कप ? यस्तो फलान्थोक जस्तो पनि हुन्छ कप ?”
ऊ कपलाई ओल्टाइपल्टाइ गर्दै बम्क्यो ।

पाहुना आएको बेला चिया खुवाउन घरमा सेरामिकको कपप्लेटको एक सेट रहन्थ्यो । केही दिन अघि त्यसमध्ये एउटा कपको समात्ने भाग फुटेको थियो । आची पुछेको टालो पनि कुनै बेला केहीमा काम लाग्छ भन्ने हजुरआमाको मान्यता अनुसार त्यसलाई नफ्याँकेर कतै राखिएको थियो । साँच्चै हो रहेछ । मैले बाहिर आउनु अघि त्यो कप खोजेर ल्याएको थिएँ र आफ्नो पछाडि लुकाएको थिएँ ।

म उसको भन्दा ठूलो स्वर निकालेर कड्कें,
“यो कप हैन भनेर कसको बाउले भन्न सक्छ ?”

प्रकाशको मुख आँ भयो, तर शव्द निस्केन । उसले के भन्ने भनेर सोच्न पनि सकेन । तर एकछिन पछि उसले जेजस्ता अलंकारहरुले हामीलाई सुशोभित गर्ने हो, त्यो सुन्नु भन्दा पहिले नै प्रमोद र म हरिण जसरी बर्कुसी मारेर पञ्चकुटीको कम्पाउण्ड काटेर टोलबजार तिर पुगिसकेका थियौं ।

त्यतिबेला स्पीड गन पाइने भए छिटो दौडनेको रेकर्डमा युसेन बोल्टको साटो हाम्रो नाम हुन्थ्यो होला ।   

एकै टेकमा तीन अन्तरा

कान्तिपुर कोसेलीमा प्रकाशित बम्बै, २०...... गति रोधक पुढे आहे सडकको किनारामा ट्राफिकको सूचना गाडिएको बोर्डमा मराठीमा लेखिएको थियो, ...