Translate

Saturday, May 3, 2014

चक्करघिन्नी

नागरिक  शनिवारको 'अक्षर' मा प्रकाशित कथा

उदय निदाइसकेको छ। एकै छिनअघि उनीहरूबीचमा भएको त्यो मादक र प्रेमपूर्ण एकाकारले सन्तुष्ट उदयको अनुहार अबोध छ। सन्तुष्ट त सम्वृद्धि पनि नभएकी हैन। शारीरिक रूपले पूर्ण सन्तुष्ट हुँदाहुँदै पनि मानसिक रूपमा कुनै कुराले उसलाई आज पनि छोडेको छैन। शरीरको कुनै भागमा बिझेको सानो र हेर्दा नदेखिने काँडाले खासै दुःख नदिए पनि बेलाबेला झिँजोलाग्दो गरी चस्चस् गर्छ नि। त्यस्तै नदुख्ने तर बिथोलिरहने काँडा मनमा कतै घोपिएको भान भएको छ उसलाई।
उदयजस्तो पति पाएकोमा ऊ खुसी नभएको पनि होइन। उदय मायालु छ, उसको मनका कतिपय कुरा त बोल्नुअघि नै बुझ्छ। उसका सानाभन्दा साना खुसीका लागि मरिहत्ते गर्छ। ऊ राम्रो छ, व्यक्तित्व पनि आकर्षक छ। पति–पत्नीबीचको त्यो सम्बन्धमा आफ्नोभन्दा पहिले उसको सन्तुष्टिको विचार पुर्यारउँछ। आम नेपालीभन्दा उसको व्यवहार फरक छ। उसका कतिपय साथीसँग भएको कुराबाट उसलाई थाहा छ, अधिकांश पुरुष यो यात्रामा आफ्नोमात्र ध्यान गर्छन्। आफ्नी पत्नीबारे उनीहरूलाई खासै मतलब हुँदैन रे। तर उदयसँगका भावनात्मक र शारीरिक हरेक सम्बन्ध उसका लागि सम्पूर्ण हुने गर्छन्। उनीहरूको बिहे भएको दुई महिना भइसकेको छ। मागी विवाह भएकाले एकापसलाई चिनेको–बुझेको धेरै भएको त छैन। तर त्यो कारणले यस्तो अफ्ठ्यारो आइलागेको हैन भन्ने उसलाई राम्ररी थाहा छ। सुहागरातको बेलादेखि नै उसले हेक्का गरेकी यो अपूर्णताले उसलाई अझै पनि सहज बनाएको छैन। एकै छिनअघिको उनीहरूको त्यो समर्पण र एकाकारमा एकरत्ति पनि गुनासो गर्ने ठाउँ थिएन। तर पनि, उसले सधैंजस्तै एउटा नजानिँदो रिक्तता आज पनि अनुभव गरेकी थिई। त्यसले उसलाई निदाउन दिएको छैन। सबैथोक हुँदाहुँदै पनि कतै केही अपूर्ण भएको आभासले उसलाई आज पनि बिथोलेको छ।
त्यस रात पनि उसलाई बल्लबल्ल निद्रा पर्योै। सपनामा उदय र ऊ कुनै बसको छानामा बसेर यात्रा गरिरहेका रहेछन्। चारैतिर रमणीय दृश्य। बस दुईवटा निकै अल्गा पहाडबीचको साँघुरो बाटोबाट गुडिरहेको थियो। उसले उदयको कुममा टाउको अड्याएकी थिई। उदयले उसलाई आफ्नो अँगालोमा बेरेको थियो। हावाका वेगले उसको कपाल उडाइरहेको थियो। उदयले उसको अनुहार बिस्तारै आफूतिर फर्कायो र उसको निधार चुम्यो। हर्षविभोर भएर उसले आँखा बन्द गरी। उदय बिस्तारै अब उसको गाला हुँदै अधरमा पुगिसकेको थियो। उसको अँगालो अझ बलियो भएको थियो। अचानक उसलाई चारैतिर केही परिवर्तन भइसकेको भान भयो। उसले आँखा खोली। बस त निकै अल्गो भैसकेको रहेछ। अघिसम्म टाउको ठाडो पारेर हेर्नुपर्ने पहाडका टुप्पा त बसको छानाभन्दा तल पुगिसेकेका थिए। सडक कहालीलाग्दो गरी तल देखिन्थ्यो। बसको गति तीव्र भइसकेको रहेछ। हावा उसको कानमा स्याँस्याँ गरिरहेको थियो। उसको सातोपुत्लो उड्यो। तर उदय त्यो सबैबाट अनभिज्ञ उसलाई चुमिरहेको थियो र उदयका हात उसको शरीरमा यत्रतत्र खेल्न थालिरहेका थिए। अरू बेला भए उसका अवयवमा अनेकौं तरंग उत्पन्न गराउने सामर्थ्य भएको उदयको स्पर्श यसपटक प्रभावहीन भइरहेको थियो। छानाबाट खसिन्छ भन्ने डरले उसलाई केही भान नै हुन दिएन। ऊ उदयको अँगालोबाट फुत्कन खोजी।
‘रिल्याक्स...के भो?' उदयले उसको कानैमा साउती गरेझैं सोध्यो।
‘खसिन्छ क्या...छोड न,' सम्वृद्धिले भनी।
‘खसिन्छ रे? कहाँबाट?'
‘बसको छानाबाट।'
‘के भनेको? तिमी सपनामै छ्यौ कि क्या हो?'
नभन्दै उसको सपना भंग भयो र उसले चारैतिर हेरी। ऊ बसको छानामा होइन आफ्नै बिछ्यौनामा थिई। उदयको अँगालोमा। आफैं अल्गो हुने त्यो बस र पहाड त सपनाको अंश रहेछ तर उदयको चुम्बन, प्रेमालापका लागि उसको प्रयत्न भने वास्तविक। उसले लामो सास फेरी। उदय फेरि आफ्नो अधुरो कार्यमा अघि बढ्यो। तर उसमा कुनै भावना पलाउन सकेन, आत्मसमर्पण गर्न सकिन। निकै बेरको एकोहोरो प्रयासपछि उदयले हार मान्यो र निराश भएर उता फर्केर सुत्यो। उसको मनमा भने नानभाँती कुरा खेलिरहे।
के त्यो सपना कतैबाट उसले केही दिनदेखि अनुभव गरिरहेको रिक्ततासँग सम्बन्धित थियो? के त्यो रिक्ततासँग डराएर उसले आज उदयको आह्वानलाई नकारेकी हो? के साँच्चै त्यस्तो कुनै रिक्तता छ? छ भने त्यो के हो र छैन भने नभएको कुराले किन यसरी प्रभावित पारिरहेको छ उसलाई? उससँग प्रश्न त निकै थिए तर कुनैको पनि उत्तर उसले भेट्टाउन सकिन।
बिहेपछि पहिलोपटक उनीहरूबीच असफल संसर्गको उदाहरण थियो त्यो। उसले भोलिपल्ट आफ्नी केटाकेटी बेलादेखिकै हित्तचित्त मिल्ने साथीसँग कुरा गर्ने निधो गरी। मानिसले साँचो साथी त्यही बेला नै बनाउँछ। ठूलो भएपछि त सहकर्मी र परिचितमात्र बन्छन्।

...
निधि चपस्टिकले खाँदै थिई। उनीहरू एउटा जापानी रेस्टुराँको एकान्त कुनामा बसेका थिए। उसले निधिलाई सबै कुरा बताइसकेकी थिई। निधि भन्ने गर्थी, ‘गम्भीर समस्याको समाधान निकाल्नका लागि पहिले भरपेट खानुपर्छ।' त्यसैले अहिले एकोहोरिएर खाइरहेकी निधिको हात, मुख र दाँतभन्दा बढी उसको मगज चलिरहेको छ भन्ने कुरा सम्वृद्धिलार्ई राम्ररी थाहा थियो। निधिले खाइसकी। मुखमा केही लागेको थिएन, तैपनि न्यापकिनले आफ्ना ओठलाई हलुकासँग पुछी।
‘वेल् निधि, तँलाई के लाग्यो?' उसले आफ्ना थ्रेडिङ गरेर चटक्क मिलाइएका आँखीभौं उचाली।
‘फाडू लाग्यो यार। गुड फुड। स्पेसल्ली यो कोल्ड चिकेन,' निधिले सन्तुष्ट भावमा भनी।
‘बिच्...म आफ्नो प्रोब्लमबारे तेरो अपिनियन खोज्दैछु,' सम्वृद्धिले नक्कली रिस देखाई।
निधि केही दिनअघि मात्र ब्रेसेस लगाएको दाँत देखाएर हाँसी। निधिको बिहे भएको थिएन। पति बन्नका लागि मान्छेमा चाहिने न्युनतम गुणहरूको उसले जुन लिस्ट बनाएकी थिई, त्यसमा उसले सम्झौता नगर्ने हो भने ऊ बूढीकन्ने बस्ने निश्चित थियो भनिदिए हुन्छ।
‘भन् न यार...' सम्वृद्धिले घच्घच्याई।
‘के भनौं? तेरो कुरा सुनेर मेरो दिमागले चक्करघिन्नी खाइरहेको छ।'
निधिको शब्दकोशमा संसारभरका भाषाहरूको मिस्कट हुन्छ। उसले उच्च शिक्षा दिल्लीको अमेटी विश्वविद्यालयबाट गरेकी हुनाले केही अचम्मका हिन्दी शब्दले उसको बोलीलाई रोचक बनाउँछन्।
सम्वृद्धिले ठुस्स परेर अर्कोतिर हेरी। एकै छिन उनीहरूको बीचमा मौनता रह्यो, जसलाई आखिर निधिले नै भंग गरी।
‘गाइनोलाई कन्सल्ट गरिस्?'
‘मैले भनेँ नि, नथिङ फिजिकल। गाइनोले के गर्छ?'
‘युडीसँग कुरा गरिस्?'
उदयलाई नजिकका साथी त्यसै भनेर सम्बोधन गर्थे।
‘के भन्ने? मैले आफैं केही थाहा नपाई उसँग के कुरा गर्नु?'
‘मे बी यु आर राइट। तंैले मलाई ढाँट्या त हैन नि। युडीको सबथोक नर्मल त छ हैन?'
‘मतलब?'
‘मतलब एभ्रीथिङ। हिज साइज, ड्युरेसन... कुनै पनि कुरा।'
‘मैले भनेँ त, त्यस्तो केही पनि हैन।'
‘लक्की यु,' आँखा झिम्क्याएर लामो सास फेरी निधिले।
‘म तेरो टाउकोबाट यो पानी खन्याइदिऊँ?' सम्वृद्धि फेरि रिसाएजस्तो गरी।
‘कुलकूल चिल् यार। ओके म अब सिरियस भएँ।'
नभन्दै केही छिनअघिसम्म टिनएजरजस्तो छिल्लिरहेकी निधि अचानक परिपक्व देखिई।
‘दिमागको दही भो यार। मैले त केही सोच्न सकिनँ,' उसले दुवै हात उचाली।

...
त्यसको केही दिनसम्म सम्वृद्धिले उदयको लागि सम्झौता गरी। तर समस्या भने मनमा झनै बढी बिझाउन थालेको थियो। राम्ररी नचिनेको साथीभन्दा चिनेको शत्रु जाती भन्छन् तर यहाँ त शत्रु पनि अपरिचित थियो। के हो र किन हो भन्ने नबुझेर सम्वृद्धि झन्झन् चिन्तित हुन थाली। त्यसको असरले गर्दा अब ऊ उदयको बारेमा सोचेर पनि सम्झौता गर्न नसक्ने हुन थाली। उनीहरूको सम्बन्ध घट्दो क्रममा जाँदाजाँदै बन्द हुने अवस्थामा पुग्यो।
उदय केही भन्दैनथ्यो। उसको व्यवहारमा प्रत्यक्ष केही परिवर्तन थिएन। तर भित्रभित्र उसलाई कति असर परेको होला भन्ने सम्वृद्धि बुझ्न सक्थी। ऊ स्वयंलाई पनि त्यसले असर नपारेको कहाँ हो र? दिनभर ऊ आज राति म आफूलाई सहज बनाउँछु भन्ने सोच्थी तर जब उदय नजिक आउन खोज्थ्यो, उसको मनको अदृश्य काँडाले बिझाउन सुरु गरिहाल्थ्यो।
उदयको प्रयास पनि कम हुन थालेको थियो। पहिलेपहिले उसलाई सहज बनाउन सकिन्छ कि भन्ने आशमा घन्टौं प्रयत्न गर्ने उदय अब उसको अनुहारमा कुनै सकारात्मक भाव छ कि भनेर पुलुक्क हेर्थ्यो मात्र। उसको मनमा चाहँदाचाहँदै पनि त्यसपछि रातभर बिथोल्ने त्यो रिक्तताको घोचाइको पीरको लाभा उर्लन थाल्थ्यो। उसलाई थाहा थियो, त्यसले गर्दा यस्तो बेला उसको अनुहारमा उदयका लागि आमन्त्रण नभई सिकारी सामुन्ने देखेर सिकारले आत्मरक्षाबारे सोचेजस्तो भाव आउने गर्थ्यो। अनि उदय उसलाई गुडनाइट भनेर हल्का चुम्बन गरेर सुत्थ्यो।
उनीहरूको बीचमा जतिसुकै समझदारी भए पनि आखिर उदय एउटा लोग्नेमान्छे हो र यो भोकले उसलाई अन्त कतै भट्काउन सक्छ भन्ने कुरा उसलाई राम्ररी थाहा थियो।

...
‘सम्वृद्धि, सबैथोक एकदम नर्मल छ।'
गाइनोले यो कुरा सुनाउँदा उसलाई कुनै आश्चर्य लागेन। डाक्टर शुभलक्ष्मी उसकी आमाको समेत गाइनो भएकीले उनीहरूको परिवारको सदस्यजस्तै थिइन्। सम्वृद्धिलाई जन्माउन उनैले सहयोग गरेकी थिइन्।
निधिको करले गर्दा र अरू कुनै उपाय नदेखेपछि सम्वृद्धिले डाक्टर शुभलक्ष्मीलाई भेटेर सबै कुरा बेलीविस्तार लगाएकी थिई। अब डाक्टर शुभलक्ष्मी पनि त्यति नै अलमलमा परेकी थिइन्।
‘कुनै पनि किसिमका अन्य चिन्ता, अप्ठ्यारो वा समस्या त छैन नि?'
‘समस्या यही हो अन्टी, मलाई समस्या के हो थाहा छैन,' उसले भनी।
‘फिजिकल्ली केही देखिन्न। त्यसैले म तिमीलाई एउटा सल्लाह दिन्छु।'
उसले केही नबोली हेरीमात्र।
‘एकपटक कुनै मनोवैज्ञानिक परामर्शदातासँग भेट।'
उसले अचम्म मानेर शुभलक्ष्मीलाई हेरी। उसको भाव बुझेर शुभलक्ष्मीले भनिन्, ‘हाम्रो देशमा अझै पनि मान्छेहरूले कन्सुुलिङ भनेको मानसिक रोगीका लागि मात्र भन्ने भ्रम पालेका छन्। मनोवैज्ञानिक परामर्श भनेको सामान्य कुरा हो। हाम्रो जिन्दगी अब पहिलेका मान्छेको जस्तो सहज र सरल छैन। त्यसैले हामीलाई यसको आवश्यकता छ। म आफैं पनि स्ट्रेस्ड भएको बेला एकजना कन्सुलरसँग भेटिरहेकी हुन्छु। सी इज द बेस्ट।'
सम्वृद्धि गम्भीर भई। ऊ एउटी पढेलेखेकी युवती थिई। शुभलक्ष्मीको कुरा उसको मनले खायो। शुभलक्ष्मीले नै अर्को हप्ताका लागि समय मिलाइदिइन्। सम्वृद्धिले त्यति बेलासम्म उदयसँग केही कुरा नगर्ने निधो गरी।

...
सम्वृद्धि आफ्नो समयमा डाक्टर सेपालिकाको क्लिनिकमा पुग्दा त्यहाँ अरू कोही पनि थिएन। सेपालिकाको क्लिनिक पनि परम्परागत थिएन। त्यो एउटा कुनै घरको आरामदायी बैठक कोठाजस्तो थियो। भित्ताका रङ संयोजन, फर्निचरको स्थान, पेन्टिङ, पर्दा सबै कुरा मनमा एक किसिमको शान्ति प्रदान गर्ने खालका थिए। चर्को थिएन तर पर्याप्त प्रकाश थियो। कुनै मिठो धूपको बास्ना हावामा थियो। पृष्ठभूमिमा हलुकासँग कुनै मधुरो संगीत बजिरहेको।
सेपालिकाको व्यक्तित्व आकर्षक थियो। बोलीचाली मिठो र पहिलो भेटमा नै कसैलाई पनि आफ्नो विश्वासपात्र भेटेको भान गराउन सक्ने उसको विशेषता रहेछ। उसले कुनै एउटा मनोचिकित्सकले आफ्नो पेसेन्टलाई नभई पुरानो साथीलाई भेटेजस्तो गरी न्यानोसँग सम्वृद्धिलाई स्वागत गरी। एक कप चिया खाउन्जेल डाक्टर सेपालिका आफ्नैबारेमा मात्र कुरा गरिरही। ऊ खासमा श्रीलंकन रहिछ। नेपालबाट पढ्न गएका एक सहपाठीसँग प्रेम भएर ऊ यतै आएर बिहेवारी गरेर बसेको लामो समय भइसकेको रहेछ। ऊ राम्ररी नेपालीमात्र होइन, नेवारी पनि बोल्न सक्ने भएकी रहिछ।
‘मैले पहिले नेपाली भाषा सिक्दा फोहोरी–फोहोरी वर्डहरू सिकेको। यु नो, मु... मा... टाइपका वर्ड क्या।'
टम्म मिलेका सेता दाँत देखाएर हाँस्दै उसले भनेकी थिई। सेपालिका हाँस्दा उसका आँखा पनि हाँस्थे र त्यसले उसलाई सुन्दर बनाउँथ्यो। केही बेरमा नै सम्वृद्धिलाई उनीहरूको चिनजान वर्षौं पुरानो हो जस्तो लाग्न थाल्यो। त्यसदिन सेपालिकाले आफ्नोबारे धेरै बताई, उसको बारे थोरै खोजीनीति गरी। त्यो पनि साधारण यता र उताका कुरा। किताबका बारे, गीतका बारे, सिनेमा र अन्य रुचिका बारे, खानेकुराका बारे अनि ह्यान्डसम र आकर्षक केटाहरूबारे। धेरैजसो त उनीहरूको रुचि पनि मिल्दोजुल्दो रहेछ। सम्वृद्धिलाई थाहा नभएको कुराचाहिँ के भने, आफूले परामर्श दिएर सहयोग गर्ने मान्छेलाई सहज बनाउन सेपालिका जस्ती कुशल परामर्शदाताले केही नभए पनि नब्बे प्रतिशत उसको रुचिमा होमा हो मिलाएकी हुन सक्थी। एक डेढ घन्टा उसलाई एकै छिनमा बितेजस्तो लाग्यो। सेपालिकाले अर्को भेटका लागि तीन दिनपछिको समय मिलाएर उसलाई बिदा गरी। बाटोमा पो सम्वृद्धिलाई हेक्का भयो, जुन समस्याको लागि सेपालिकाकहाँ गएको हो, त्यो विषयमा त केही कुरै भएन। तर पनि उसलाई त्यो भेट रमाइलो लाग्यो। तीन दिन चाँडै बितोस् भन्ने पनि उसलाई लाग्यो।
त्यो तीन दिन पनि उसको व्यक्तिगत जीवनमा त्यसरी नै बित्यो। आजकल त उदयलाई उसबाट कुनै आशा हुन छोडेको जस्तो छ। अरू साधारण कुरा उनीहरूका बीचमा हुन्छन्, अनि उदय चुपचाप सुत्छ। एक दिन उदयले फोन गरेर अफिसमा अलि अबेर हुन्छ भन्यो। हुन त साँच्चै कामले ढिला भएको पनि हुन सक्छ तर उसको मनमा नानाथरी कुरा खेलिरहे। कतै अब उदय उसबाट टाढा हुन लागेको त हैन? त्यो दुरीले उसलाई अरू कसैसँग नजिक बनाइदिने त होइन? उसलाई डर लाग्यो। उसले त्यस रात उदयलाई कुनै कुराबाट पनि वञ्चित नगराउने निधो गरी। आफूलाई त्यसका लागि मनमनै तयार पारेर उदयको प्रतीक्षा गरिरही। उदय त्यस दिन निकै ढिला घर आयो। ऊ उत्साहित भएर ढोका खोल्न गई। उदयले पिएर आएको रहेछ। हल्लिने गरी त होइन तर ह्वास्स ह्स्किीको गन्ध आएको थियो।
‘अफिसबाट फेरि एउटा क्लायन्टसँग मिटिङमा जानुपर्ने भएर ढिला भयो। अलिअलि सबैले लिइरहेका थिए, मैले पनि नाइँ भन्न मिलेन,' उसले सोध्न नपाई उदयले मद्यपानको कारण बतायो।
‘खाना तताउँक?' उसले सोधी।
‘होइन पर्दैन। मैले डिनर पनि त्यहीँ नै गरेँ।'
उदयले लुगा फेर्दै भन्यो र चुपचाप कम्बलमा घुसि्रयो। त्यस रात उसको संकेतलाई नबुझेको जस्तो गरेर उदय सुत्यो। उसलाई झन् नरमाइलो लाग्यो। कतै आफ्ना आवश्यकता अन्तै पूरा गरेर आएको त होइन उदयले? बल्लबल्ल निदाएकी सम्वृद्धि बिहान ३ बजे झसंग भएर ब्युँझी। उसले कस्तो सपना देखेकी होला– एउटा होटलको कोठामा ऊ कुर्सीमा बाँधिएकी थिई। अनि विशाल पलङमा उदय तीनजना महिलासँग सामूहिक रूपमा अभिसाररत भइरहेको थियो।
उसले आफ्ना अनियन्त्रित सासलाई नियन्त्रण गरी। उसले उदयलाई हेरी। उदय अबोध बालकझैं निदाइरहेको थियो।

...
सेपालिकाले आफैं सम्वृद्धिलाई फोन गरी। उसलाई त देउताले नै फोन गरेजस्तो लाग्यो। सेपालिकाले ११ बजे सुन्धाराको मलको फुड कोर्टमा भेट्ने कार्यक्रम तय गरी। ठ्याक्क समयमा सम्वृद्धि पुग्दा सेपालिका पहिले नै बसेर आइस टी सुर्क्याइरहेकी थिई।
‘मलाई तपाईसँग धेरै कुरा गर्नुछ,' अगाडिको कुर्सीमा बस्दै सम्वृद्धिले भनी।
सेपालिकाले निश्चिन्त भावमा उत्तर दिई, ‘कुरा त गरौंला। तर पहिले हामी मुभी हेर्ने।'
उसले नयाँ लागेको कार्टुन सिनेमाको दुइटा टिकट लिइसकेकी रहिछ। सम्वृद्धि जिल्ल परी। काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेको यही होला– उसले मनमनै सोची। कहाँ आफ्नो यहाँ सबैथोक बर्बाद हुन लागेको छ, ऊ भने कार्टुन फिल्म हेर्ने भन्छे। उसको मनको भाव बुझेझैं सेपालिकाले भनी, ‘रिल्याक्स, फिल्म सकिएपछि लन्चमा कुरा गर्ने।'
त्यो मानसिकतामा के फिल्मको आनन्द लिन पाइएला भन्दै ऊ सेपालिकासँग हलभित्र छिरी। तर वास्तवमै प्रख्यात कमिक्स चरित्र टिनटिनमाथि बनाइएको फिल्म हेर्न थालेपछि उसले सबै बिर्सी। बाल्यकालमा खूब पढेको टिनटिनको कमिक्सको सजीव चित्रणले उसलाई बाल्यकालतिरै फर्काइदियो। सिनेमा हेरेर निस्कँदा ऊ धेरै हदसम्म तनावमुक्त भएकी थिई। त्यहाँबाट उनीहरू झम्सिखेलको एउटा शान्त रेस्टुराँमा लन्च खान गए। सेपालिकाले कुनै परामर्शदाता नभई साथीले साधारण कुराकानी गरेजस्तो वार्तालाप सुरु गरी। समृद्धिलाई थाहै भएन, सेपालिकाले उसको बाल्यकालदेखिका कुरा कसरी खोतलखातल पारी।
सम्वृद्धि आफ्नो बाबुआमाकी एक्ली छोरी। सम्वृद्धि जन्मँदा उसका दाई तीन वर्षका थिए। साधारणतया त्यस्तोमा पहिले घरमा भएको बच्चाले आफूले पाइरहेको लोलोपोतो कम भएकोमा र नयाँ आउने सदस्यलाई स्वीकार्न सक्दैन। यहाँ पनि यस्तै भएको थियो। तर सम्वृद्धिमा एउटा यस्तो खुबी थियो, जसले गर्दा ऊ अलिअलि आवाज निकाल्न सक्ने हुँदा नहुँदै दाइले उसलाई आत्मसात गरेको थियो। ऊ टुकुटुकु हिँड्ने र तोतेबोली बोल्ने हुने बेला त दाइ उसको भक्त भएको थियो।
अस्वाभाविक तरिकाले सम्वृद्धिमा सबै कुरा नियन्त्रणमा लिने खुबी विकसित भएको थियो। उसको बोली, व्यवहार, चालढाल र समग्र व्यक्तित्वमा नै यस्तो आकर्षण थियो, जसले गर्दा उसलाई सबै कुराको नियन्त्रण सुम्पेर आफू पछि लाग्नुमा पनि दाइले आनन्द महसुस गर्थ्यो। ऊ अलिकति ठूली भएर स्कुल जान थालेपछि पनि उसको त्यो खुबीले कक्षाका अरू सबै विद्यार्थीलाई सम्मोहित गरेको थियो। उसका शिक्षक–शिक्षिका भन्ने गर्थे– उसमा नेतृत्व गर्ने र सबै कुरा नियन्त्रणमा लिन सक्ने शक्ति थियो। उसको नेतृत्वमा हिँड्न कसैलाई पनि अप्ठ्यारो वा असहजता हुँदैनथ्यो। अचम्मको जिम्मेवारीबोध थियो उसमा। त्यसैले पहिलोपटक कुनै केटी कक्षाको क्याप्टेन हुँदा सबै खुसी थिए।
त्यसबाहेक पनि खेलकुद, वादविवादलगायत कुनै पनि अतिरिक्त क्रियाकलापमा अग्रणी ऊ नै हुन्थी। घरमा पनि ५/६ कक्षामा पढ्ने हुँदासम्म उसले सबै कुरा ढपक्क ढाक्न थालेकी थिई। कसैले नसिकाई घर–भान्छाका सबै काम उसैले गर्न थालेकी थिई। उसकी आमा पनि त्यस्तो सर्वगुण सम्पन्न छोरी पाएकोमा दंगदास थिइन्। नातागोता र घरमा आउने पाहुनापात खुलेर उसको प्रशंसा गर्थे। सम्वृद्धिलाई आफूले पाउने त्यो जस र नेतृत्वको लत लागिसकेको थियो। ऊ १३/१४ वर्षको हुँदासम्म घरका कुनै पनि कुरा उसको योजना र नेतृत्वविना पूरा हुँदैनथ्यो। उसको काम कहिले पनि कच्चा हुँदैनथ्यो।
उसका बाबु एक सानोतिनो व्यापारी थिए। उसको आगमनपछि बिस्तारै कारोवार फैलिन थाल्यो र उनी निकै सम्पन्न बने। यो सबै घरमा आएकी लक्ष्मीका कारण भएको हो भनेर उसलाई जस दिन कसैले कञ्जुस्याइँ गर्दैनथे। यही क्रम कलेजमा पनि चल्यो। हरेक ठाउँमा सम्वृद्धि अगाडि नै रही, नेतृत्व लिइरही। मानिसहरू हरेक कुरामा रमाइलो र सहज रूपमा उसलाई जिम्मेवारी सुम्पेर खुसी भइरहे।
उसले एमबीए गरेपछि उसका बाबुका एक साथीले आफ्नो होनहार र लायक छोरा उदयको बिहेका लागि कुरा चलाए। उसका बाबुले उसको सहमतिमा कुरा पक्का गरे। भनिरहनु नपर्ला, आफ्नो बिहेका लागि हरेक आवश्यक कुरा पनि बाबुआमाले केही हेर्नै नपर्ने गरी उसैले सम्पन्न गरेकी थिई।
सम्वृद्धिसँगको लन्च अवधिमा भएका कुराकानीबाट डाक्टर सेपालिकाले उसको अहिलेसम्मको जीवनबारे स्पष्ट खाका पत्तो लगाई। उनीहरू झन्डै साँझ पर्ने बेला छुट्टिने बेला सेपालिकाले भनी, ‘आजको दिनको रमाइलोलाई अरू कुरा गरेर स्पोइल नगर्ने है। बरु भोलि तिमी दसै बजे मेरो क्लिनिकमा आउनू।'

...
भोलिपल्ट डाक्टर सेपालिकाले क्लिनिकमा उसलाई जे भनी, त्यो सुनेर उसको दिमागले पनि चक्करघिन्नी नै खायो। त्यसअघि सेपालिकाले एकदमै नितान्त व्यक्तिगत र उसको हिसाबले भन्ने हो भने असान्दर्भिक प्रश्न सोधेकी थिई। त्यो प्रश्न उसको र उदयको बीचमा हुने शारीरिक सम्बन्धको बेला उनीहरूले प्रयोग गर्ने आसनबारे थियो। अलि अप्ठ्यारो लागे पनि उसले सेपालिकालाई बताएकी थिई। उनीहरू परम्पागत रूपमा अधिकांश नेपाली दम्पतीले प्रयोग गर्ने आसन प्रयोग गर्दै आएका थिए। एक त त्यसै पनि मागी विवाह भएका उनीहरूबीच पहिलो रातदेखि नै त्यो स्वाभाविक चलेको चलन थियो। सम्वृद्धिले त्यस विषयमा केही सोचेकी थिइन। सेपालिका त्यो सुनेर निकै बेर मौन बसी। त्यसपछि उसले भनी, ‘हेर, तिमीले पछिल्ला केही दिन मसँग कुरा गर्दा भनेका सबै कुरालाई गम्भीरतापूर्वक मनन गर। तिमीमा सानैदेखि सबै कुरा आफ्नो नियन्त्रणमा लिने मानसिकता विकास भएको छ। घरमा, स्कुलमा, कलेजमा, बाहिर साथीसँग हरेक कुरामा तिमी नेतृत्व र नियन्त्रण लिने गर्थ्यौ। तर वैवाहिक जीवनमा प्रवेश गरेपछि जबजब तिमी र तिम्रो पतिबीच शारीरिक सम्बन्ध भयो, नेतृत्व र नियन्त्रण उसमा गयो। पत्नी भएपछि त्यसलाई सहज रूपमा लिनुपर्छ भन्ने अदृश्य मानसिकबोधले तिमीले पनि आफूलाई समर्पण गरेकी हुनुपर्छ। तर तिम्रो सिस्टमका लागि त्यो कुरा नयाँ भयो। त्यसैले सबै हिसाबबाट सन्तुष्ट हुँदाहुँदै पनि तिमीभित्र केही कुराको कमी खट्किरहेको हुनुपर्छ।'
सम्वृद्धि सोचमग्न भई। सेपालिकाको कुरालाई नमान्ने आधार ऊसँग थिएन। उसले सोधी, ‘यदि तपाईंले भनेको कुरा सही हो भने, समाधान के त?'
‘म डेफिनेट्ली यही त भन्न सक्दिनँ, किनभने यस्ता कुराको कुनै डेफिनिट फर्मुला हुँदैन। मैले सजेस्ट गर्ने मेथडले काम नगर्न पनि सक्छ, म्याजिक गरेजस्तो सल्युसन हुन पनि सक्छ।'
‘भन्नुस् न ...'
‘आज तिमीहरूको रोल चेन्ज गर।'
‘मतलब?'
‘मतलब चेन्ज द पोजिसन एन्ड मेक लभ। कन्ट्रोल तिमी गर, स्टे अन टप एन्ड डु इट।'
सम्वृद्धिको दिमागले यहीँनेर चक्करघिन्नी खायो। सेपालिका उसलाई अरू केही कुरा सुझाउन थाली।

...
चक्करघिन्नी खाने पालो त्यस रात उदयको दिमागको पनि थियो। कुनै आशा नराखी घर आएर आफ्नो शयनकक्ष पस्दा उदय जिल्ल पर्योो। कोठामा मद्धिम प्रकाश थियो। सुगन्धित मैनबत्तीहरू धिपधिप गरिरहेका थिए। सम्वृद्धि पातलो नाइट गाउनमा थिई। उसले मुस्काउँदै आएर उदयलाई स्वागत गरी।
त्यस रात उदय एउटा मन्त्रमुग्ध सिकारजस्तो मात्र रह्यो। नियन्त्रण आफ्नो हातबाट गुमाउनु पनि त्यति आनन्ददायक हुन सक्छ भन्ने उसलाई पनि थाहा थिएन। जे भइरहेको थियो, त्यो उसका लागि नितान्त अकल्पनीय तर सुखद अनुभव थियो। उनीहरूका बीच लामो समयपछि भएको त्यो सम्पर्कको छाल साम्य भएको निकै बेरसम्म उदय मैनबत्तीको उज्यालोमा कोठाको भित्ता र सिलिङमा नाचिरहेका अमूर्त कलाजस्ता छायाका आकारप्रकार हेरेर सोचिरह्यो। आज उसलाई उसकी अर्धांगिनीले पूर्ण रूपले आत्मसात गरको अनुभव भएको थियो। मुसुक्क हाँस्दै उदय उसतिर कोल्टे फेर्दा सम्वृद्धि धेरै दिनपछि गहिरो निद्रामा लीन भइसकेकी थिई।
उसको ओठमा हो कि होइन भनेजस्तो मधुरो मुस्कान थियो अनि अनुहारमा पूर्णता र तृप्तिको भाव। अदृश्य काँडाले उसलाई घोच्न छोडिसकेको थियो।

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment