Tuesday, May 6, 2014

फराकिला बाटाहरु

बायाँ फन्को १३१


उपलव्धिहरु र तिनले दिने खुसी भनेको पनि अचम्मकै कुरा हो । कतै केही राम्रो नभइरहेको बेलामा सानातिना उपलव्धिहरुले पनि हामीलाई कहिलेकहीं निकै ठूला खुसीहरु प्रदान गर्छन् । ठूला उपलव्धिहरु भैरहने हो भने चाहिँ तिनै सानातिनाहरु ओझेलमा पर्छन्, महत्वहीन लाग्छन् । काठमाण्डौमा बाटाघाटाहरु चौडा भैरहेका छन् । यसैले पनि हामीलाई दंंगदास बनाएको छ । हुन त हेर्ने हो भने महानगर भनिएको सहरमा चौडा बाटाहरु हुनु कुनै प्रफुल्लित नै हुनुपर्ने कुरा त कहाँ हो र ? तर पनि लामो समयदेखि कच्याक्कुचुक्क परेका सडकहरुमा अटेसमटेस र ठेलम्ठेल गरेर हिंडिरहेका, गुडिरहेका हामीलाई अचानक के के न भए जस्तो लाग्नु स्वाभाविकै हो नि । ठूलाठालूहरुको बाहुल्य भएको र यहाँ त कसले छुन सक्छ भनेर गर्व गरेर सडक मिचेर बसेका तथाकथित ‘भीआइपी एरिया’हरुले समेत बुल्डोजरका दाँतहरुको स्वाद पाए । केही नाम चलेका नेताहरुले स्थानीय जनसमर्थन पाउने लोभमा बाटो ठूलो पार्न नदिन आन्दोलन गरेका थिए । तर पनि उनीहरुको केही लागेन । मान्नै पर्छ, काठमाण्डौको मुहार कमसेकम बाटाघाटाको कुरामा फेरिंदै छ । वैकल्पिक मार्गहरुले एक ठाउँबाट अर्को ठाउँमा पुग्न धेरै सहज बनाएका छन् ।
 

त्यति सबै हुँदाहुँदै पनि केही कुराहरुमा सम्बन्धित निकायको ध्यान पुगेको देखिंदैन । एउटा उदाहरणको रुपमा हामी माइतीघर तीनकुनेको खण्डलाई लिन सक्छौं । निस्सन्देह बाटो ठूलो बन्दै छ तर मीनभवनको ओरालोको र बिजुली बजार निरको पुल विस्तार भएको छैन । जसले गर्दा चौडा बाटोमा दन्दनाएर आएका उन्मुक्त सवारी साधनहरु ती दुइ स्थानमा आइपुगेपछि फेरि गुन्द्रुक जसरी खाँदिन बाध्य हुन्छन् । हात्ती छि¥यो, पुच्छर अड्क्यो भने जस्तो नगरेर, त्यत्रो विस्तार गर्दा पुल नाथे पनि नयाँ बनाउने योजना किन गर्नसकिएको हो भन्ने कुरा यस स्तम्भकारको अल्पज्ञान भन्दा परको कुरो हो । हुन त एउटा पुल बनाउनका लागि गिनीज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखिने भएको भए नेपालका हरेक पुलहरुले उहिले नै विश्व सामु चिनाइसक्थे होला नेपाल । सिनामंगपिय उगपिय कीर्तिमान त कसैले कहिल्यै भंग गर्न सक्दैनथ्यो होला । त्यो क्षेत्रकै नाम भत्क्या पुल भनेर प्रचलित हुन भ्याउन्जेल त्यो पुल बनेको थिएन । त्यसैले कार्य छिटो सम्पन्न गर्नका लागि होला नयाँ पुलहरु योजनामा नराखिएका । हाम्रै सुविधाका लागि गरिएको त्यागमा कति कचकच गर्नु र । तर, नयाँ पुलै बनाउन नसके पनि ती खोलालाई काट्नका लागि बेली ब्रिजमात्रैको व्यवस्था गर्न सकेको भए त्यो फराकिलो बाटो सार्थक हुन्थ्यो कि त ? 

अर्को कुरो भनेको निर्माणको कछुवा गति हो । हरेक स्थानमा काम यति सुस्त भैरहेका छन्, जसले गर्दा आवागमन गर्ने यात्रुहरु हरेक दिन रौरव नर्कको अनुभव गर्नका लागि पाप गरेर मर्नुपर्दैन । यही मत्र्यलोकमा हामी बिना पाप त्यसको अनुभव गरिरहेका छौं, हरेक दिन । त्यो पनि विशेष गरेर पैदल यात्रु र भटभटे सवारहरुको त कुरै गरिसाध्य छैन । पढ्न, जागीर खान वा अरु कामका लागि हर दिन ती बाटो छिचोल्नुपर्नेहरुले दैनिक कति फोक्सो धूँवा र कति पाउ धूलोको डाइट खाइरहेका छन्, त्यसले उनीहरुको दीर्घकालीन स्वास्थ्यमा कस्तो असर पारिरहेको छ भन्ने कुराको लेखाजोखा गरिसाध्यै छैन । अनि हरेक सम्पन्न भैसकेको निर्माणका फेद वा टुप्पोमा केही फीट अधकल्चो काम बाँकी देखिन्छ । सडक विभागसंग सम्बद्ध एक जना ठेकेदारजन्य मानिसले अनौपचारिक छलफलमा एकपटक भनेका थिए, त्यसरी छोडिएका केही फीटका कारण उनीहरुलाई सात आठ लाख रुप्याँ थप फाइदा हुन्छ रे । यो कस्तो गठजोड हो र कसरी हुन्छ भन्ने कुरा तिनै जानून् ।

कोटेश्वर देखि कलंकीसम्मको रिंगरोड विस्तारको झनै कुरै गरिसाध्य छैन । कसैलाई सराप्नु परेको छ भने त्यो बाटो हिंड्नु परोस् भनेर भन्दिए सात पुस्ताको शत्रुता एकैपटकमा सकिन्छ । पूरै बाटो एकै पटक भत्काएर धूलाम्य, हिलाम्य र जाम हुने नबनाएर टुक्रटाक्री गर्दै बनाएको भए त्यस्तो हुन्नथ्यो कि ? तर निर्माण व्यवसायमा दक्ष स्वदेशी विदेशीहरुलाई यो केही नजान्ने स्तम्भकारले सिकाउन खोजेको भन्ने अर्थ चाहिँ नलागोस् नि है ।

अधिकांश बाटाहरु तयार भएर राम्ररी आनन्द मान्न नपाउँदै फेरि भत्काउन थालेका पनि उदाहरणहरु प्रशस्तै छन् । सडक पछि ढलको काम गर्न, वा फाइवर अप्टिक बिछ्याउन भनेर यस्ता ध्वंशहरु हुने गरेको पाइएको छ । सरकारी र गैर सरकारी निकायहरुको आपसी समन्वय कस्तो छ भन्ने कुराको यो ज्वलन्त उदाहरण हो । त्यसमाथि छ्याकन बढी खाएको कारण गुणस्तरहीन पीच भत्किनु त सामान्य कुरा भैसकेको छ । कुनै पनि स्थानको पीच यस गौरवशाली प्रथाबाट आजसम्म अछूतो रहेको हामीले देख्न पाएका छैनौं । त्यतिले मात्र नपुगेर हुँदाहुँदा कतिसम्म त भने, पहिले कम भत्काइएछ भनेर पनि सबै काम सकिएका बाटाहरुमा फेरि रातो रंगले चिनो लगाएको, भत्काएको र फेरि बनाउनभ गैरजिम्मेवारीपूर्ण कामहरु पनि खुलेआम भैरहेका छन् । 
यी सबलाई पनि माथ खुवाउने त अर्को समाचार केही दिन अघि सुन्न पाइयो । 

काठमाण्डौका सबै बाटाहरु अझ दुइपटक भत्काउन बाँकी नै छ रे । एक पटक मेलम्चीको पाइप ओच्छ्याउन, पुराना जीर्ण पाइपहरु फेर्न, अनि त्यसपछि ढल व्यवस्थित गर्न । धन्य परमात्मा, बाटो ठूलो हुँदैछ भन्ने सानो कुरामा गर्व गर्न र दंग पर्न हामीले अब अरु कति समय यो धूलो धुँवा र अव्यवस्थित सवारी चापको नारकीय पीडा भोग्नुपर्ने हो ।

तर जे भए पनि बाटो भनेको विकास हो, गतिशीलता हो । बाटो भनेको यात्रा हो, बाटो भनेको सम्पर्क र सम्बन्धको सहजीकरण हो । बाटोले जोड्छ, ठाउँलाई मात्रै हैन, मानिसलाई पनि, अनि मनलाई पनि । मनको कुरा गर्दा भन्नैपर्ने हुन्छ, बाटो जस्तै फराकिलो मनको पनि हामीलाई त्यत्ति नै खाँचो छ आजको बेलामा । मन अलिकति फराकिलो बनाउने हो भने धेरै समस्याका समाधानहरु आफै भएर जान्छन् ।

हुन त मन फराकिलो बनाउन बाटो जस्तो सजिलो कहाँ हुन्छ र । किनभने मनमा न त रातो रंगले चिनो लगाउन सकिन्छ, न भत्काउन सकिन्छ त्यसलाई जबर्जस्ती ।



जुम्मा चुम्मा दे दे...

मंसिर २ , २०७४ - मलाई पान खान कहिले पनि मन लाग्दैनथ्यो , अझै पनि लाग्दैन । तर त्यस दिन म नयाँ दिल्लीको रिगल भन्ने सिनेम...