Tuesday, June 3, 2014

डोरी आफैले किन्न नपरेसम्म

कुनै बेला कुनै एउटा राज्यमा कुनै एउटा ठूलो तानाशाहले शासन गथ्र्यो । आफ्नो राज्यमा सबै मान्छे खुसी थिए भन्ने उसलाई लाग्दथ्यो । किनभने कसैले पनि केही कुरामा कहिले पनि कुनै गुनासो गरेको उसले सुनेको थिएन । गुनासो नगर्नु भनेको सन्तुष्ट हुनु हैन भन्ने कुरा उसले बुझेको थिएन ।  कसैले गुनासो किन गर्दैनन् भन्ने कुरा पनि उसले कहिले पनि सोचेको थिएन । त्यहाँका जनतालाई पनि गुनासो नगरेपछि सन्तुष्ट भएको प्रमाणित भइन्छ भन्ने थाहा थिएन । 

एकपटक ऊ अर्को मुलुकका शासकको निमन्त्रणामा त्यहाँको भ्रमणमा गयो । उसलाई त्यहाँको शासकले आफ्नो मुलुकका भए जति राम्रा कुराहरु देखाएर प्रभावित पार्न खोज्यो र आफूलाई जनताले कति मान्छन् भन्ने कुरा देखाउन खोज्यो । तर तानाशाह न हो, ऊ त्यस्ता कुनै पनि कुराबाट प्रभावित भएन र उसले सोध्यो,
“शासकको रुपमा तिम्रो शक्ति कति छ भन्ने कुरा मलाई देखाउनु छ भने बिना कुनै कारण पाँच जना सरकारी कर्मचारीको जागीर खोसेर देखाऊ ।”

शासकले आफ्नो राज्य प्रजातान्त्रिक भएको हुनाले आफूले त्यसो गर्न नसक्ने बतायो । तानाशाहले शासकको शक्ति हेर्ने हो भने आफ्नो राज्यको भ्रमणमा आउने निम्तो दिएर गयो । उसको हाँकले यो शासकलाई निकै कौतुहल बनायो । केही समय पछि नभन्दै ऊ त्यो तानाशाहको राज्यको भ्रमणमा गयो । तानाशाह उसलाई लिएर एउटा कारखानामा गयो जहाँ एक सय कर्मचारीहरु काम गरिरहेका थिए । तानाशाहले उनीहरुलाई भोलिदेखि काममा नआए हुन्छ भन्यो । कर्मचारीहरुले सहमतिसूचक मुण्टो हल्लाए र यथावत आफ्नो काम गरिरहे । कसैले चुइँक्क पनि नगरेको देखेर भ्रमणमा गएको शासक जिल्ल प¥यो । यो देखेर तानाशाह झनै हौसियो र अर्को कार्यालयमा गएर एकै पटक पाँच सय कर्मचारीलाई बिना कुनै कारण अवकाश दियो । त्यहाँ पनि कोही केही बोलेन । भ्रमणमा गएको शासकको विष्फारित नेत्र देखेर तानाशाहलाई अझै मजा आयो । यसपटक उसले त्यो शासकलाई हजार जना मजदूरहरु काम गरिरहेको कुनै कारखानामा लिएर गयो । अनि उसले तिनीहरुलाई भन्यो,
“तिमीहरुलाई सबै जनालाई भोलि बिहान फाँसी दिने निर्णय भएको छ ।”

हजारै जना मजदूरहरुले हस् भने र आफ्नो काममा लागिरहे । यो शासकलाई सहिनसक्नु भयो र उसले तिनीहरुलाई सोध्यो,
“तिमीहरुलाई केही भन्नु छैन ?”
एउटा बूढा मान्छेले हात उठायो र मसीनो स्वरमा सोध्यो,
“फाँसी लगाउने डोरी सरकारले दिन्छ कि हामीले आफै किनेर ल्याउनु पर्ने हो ?”


सन्तोषी सदा सुखी भन्ने उक्ति हामीले सानै देखि सुनिआएका हौं । भएको कुरामा सन्तोक गर्न सक्नुपर्छ नत्र हामी दुःखी हुन्छौं भन्ने हामीलाई पढाइएको कुरा हो । अरु पढाइएका र सिकाइएका कुराहरुलाई पोलेर खाए पनि यो एउटा कुरालाई चाहिँ गुरुमन्त्र मानेर हामीले सँधै अवलम्वन गरिआएका छौं । त्यसैले त शायद संसारमै हामी जति सन्तोकी र सुखी मानिसहरु अन्त कतै पाइएलान् । नेपाल आउने सबै विदेशीहरुले सबै भनदा पहिले हेक्का गर्ने कुरा पनि यही हो । हामीले हाम्रा लागि साधारण भएर ध्यानै नदिएकाले मात्र हो तर यदि घोरिएर हेर्ने हो भने यो एउटा अचम्मको कुरा हो । बाटोमा हिंड्दा तपाईं ध्यान दिएर हेर्नुस् त, मानिसहरु कति प्रसन्न, निष्फिक्री र प्रफुल्लित मुद्रमा हुन्छन् । कानदेखि कानसम्म हाँस्दै हिंडिरहेका मानिसहरुलाई हेर्दा यस्तो लाग्छ, मानौं यो देशमा कुनै समस्या नै छैन । यहाँ कसैलाई केही कुराको दुःख छैन, अभाव छैन । पीर भनेको कुन चराको नाम हो भन्ने कुरा कसैलाई थाहा छैन । कसैको भृकुटीमा चिन्ताका कुनै धर्साहरु छैनन् । हामी किन यति धेरै सन्तुष्ट छौं ? सन्तोकी हुनु सकारात्मक कुरा हो तर के सन्तोकको पनि कुनै सीमा हुँदैन र ? 

हाम्रो मुलुकको भविष्य के हो भन्ने कुरा हामी कसैलाई थाहा छैन । हरेक क्षेत्रमा हामी झन्झन् पिछडिंदै गैरहेका छौं । हाम्रो आर्थिक, सामाजिक, भौगोलिक, राजनैतिक वातावरण दिनप्रतिदिन अधोगति तर्फ उन्मुख छ । अभावग्रस्त छौं हामीहरु । धारामा पानी छैन, तारमा विजुली छैन । अधिकांश समय हामी लोडशेडिंगको मार खपेर बाँच्न वाध्य छौं । युवा जनशक्ति पलायन हुने क्रम निरन्तर बढ्दो छ । शिक्षाको स्तर भास्सिँदै गएको छ । शिक्षा र स्वास्थ्य जस्ता आधारभूत कुराहरु आम जनताका पहुँच भन्दा विस्तारै परपर हुँदै गएका छन् । जनता आफूले तिरेको कर वापत राज्यको तर्फबाट पाउनुपर्ने अरु कुराहरु त परै जाओस्, शान्तिसुरक्षा समेतको आभासमात्र गर्न पाएका छैनन् । भौतिक संरचनाहरु दयनीय अवस्थामा छन् । प्रदूषणका कारण निस्सासिने बेला भएको छ । खोलानालाहरु सुकिसकेका छन् । कुनै बेलाका नदीनालाहरु गन्हाउने ढलमा परिणत भैसकेका छन् । सिंगै मुलुक अनिर्णयको वन्दी बनेको छ । राज्यको ढुकुटीलाई अपुतालीमा परेको सम्पत्ति सरह नेताहरुले खुलेआम उडाइरहेका छन् । सक्नेले सक्नेजति भ्रष्टाचार गरेर अकूत सम्पत्ति कमाइरहेको छ । 

चुनाव र सम्विधानसभाका नाममा पटकपटक पानी सरह पैसा बगाएर पनि एउटा सम्विधान बनाउन सकिएको छैन । कोही कसै प्रति उत्तरदायी छैन । कसैसंग कुनै प्रश्न गर्ने अधिकार हामीलाई छैन । जसले जति हावादारी गफ लगाए पनि केही भन्ने बोल्ने ठाउँ छैन । सबैलाई आफ्नो व्यक्तिगत अधिकारको मात्र आवश्यकता छ । व्यक्तिगत, सामाजिक वा सामूहिक कर्तव्यका बारेमा हामीलाई सोच्नुसम्म पनि छैन । तर पनि भरेको छाक टरेसम्म हामीलाई कुनै कुराको चिन्ता छैन । भोलिको पुस्ताका लागि हामी कस्तो मुलुक बनाइरहेका छौं भन्ने नसोची हामी सन्तान जन्माइरहेका छौं, हुर्काइरहेका छौं ।

कथंकदाचित् भोलि हामी सबैलाई पनि कतै लगेर झुण्ड्याउने भनियो भने डोरी चैं आफैले किनेर लैजान नपरोस् । त्यति भन्दा बढी अरु हामीलाई केही चाहिएको छैन ।

एकै टेकमा तीन अन्तरा

कान्तिपुर कोसेलीमा प्रकाशित बम्बै, २०...... गति रोधक पुढे आहे सडकको किनारामा ट्राफिकको सूचना गाडिएको बोर्डमा मराठीमा लेखिएको थियो, ...