Translate

Thursday, July 10, 2014

जंगलको राजा को?

ब्राजिलमा जारी विश्व कप भकुण्डो खेलाको फाइनल जर्मनी र अर्जेण्टिनाको बीच हुने भएको छ । यस सन्दर्भमा एउटा पुरानो चुट्किला सुनाउन मन लागेकोले यहाँ लेख्दैछु ।

एकपटक जंगलमा एउटा सिंह हिंडिरहेको थियो । उसले एउटा लोखर्केलाई भेटेछ, अनि ठूलो स्वरमा हकार्दै सोधेछ,
"लोखर्के, भन् जंगलको राजा को हो?"
लोखर्केले हात जोडेर भनेछ,
"सिंह हजुर, तपाईँ नै हो अरू को हुन सक्छ र?"
"स्याब्बास् ।"

सिंह दंग परेर अघि बढेछ । केही पर उसले एउटा बाँदर भेटेछ, त्यसै गरी ठूलो स्वरमा हकार्दै सोधेछ,
"ए बाँदर, ल भन् त जंगलको राजा को हो?"
बाँदरले पनि डराएर भनेछ,
"सिंह सर, तपाईँ बाहेक अरू को हुन सक्छ र ?"

यसै क्रममा सिंहले खरायो, स्याल, जरायो, मुसा जस्ता जनावरहरूलाई भेट्दै त्यही प्रश्न सोद्धै गएछ । सबको उत्तर त्यही हुन्थ्यो,
"हजुर बाहेक अरू को र?"

अन्त्यमा सिंहले एउटा विशाल र मत्त जंगली हात्ती भेटेछ र कुर्लिएछ,
"ए साले हात्ती, ल भन् त जंगलको राजा को हो ?"

हात्तीले केही नबोली सिंहलाई  सूँडले बेरेर हावामा फन्फनी घुमाएर फ्यालिदिएछ । भुइँमा पछारिएको सिंह सकीनसकी उठेछ, अनि ङिच्च हाँसेर भनेछ,
"एउटा सानो जनरल नलेजको प्रशन त सोध्या थिएँ नि, थाहा छैन भने छैन भने भै हाल्थ्यो नि । त्यस्सै कुटिहाल्नुपर्छ आर्कालाई?"

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment