Sunday, November 9, 2014

आयो शार्क

नेपाल साप्ताहिकको स्तम्भ बायाँ फन्कोमा प्रकाशित  तर स्थानाभावका कारण सम्पादित लेखको पूर्ण रुप ।


"सार्कको लागि हामी आम जनताले पनि केही योगदान गर्न पर्छ होला नि । हाम्रा कन्चटतिर फुलेका रौंहरुमा यो महान पर्वको लागि कालो लगाउनका लागि आफै रंग किन्ने कि सरकारी बजेटबाट सहयोग हुन्छ ?"

तपाईँहरुलाई लागिरहेको होला, म मान्छे खाने शार्कको कुरा गर्न लागेको छु । तर हैन, आज म मान्छेले खाने शार्कको कुरा गर्दैछु । यसमा भिन्नता के छ भने यसलाई शार्क हैन सार्क भनिन्छ ।

यो सार्कले आजकल हाम्रो ध्यान तानेको छ । हरेक जमघटमा छलफल, टीकाटिप्पणी र बहस हुने विषय हो यो सार्क । सार्क जतिजति नजीक आउँदैछ, राजधानीका ती प्रमुख बाटाघाटाहरुको दुलहीसिंगार द्रूत गतिमा हुन थालेको छ, जहाँजहाँ सार्कीहरुको आवागमन र चहलपहल हुन्छ । (सार्क राष्ट्रका हामी सबै सार्की हौं भन्ने स्व. जीवन अधिकारीको अभिव्यक्ति साभार)

सार्क अवसरहरुको अवसर हो । यो सरकारी निकाय, हाकिम कर्मचारी, ठेकेदार आदिका लागि कमाइ खाने मौका हो । यस्तो चर्को महँगीमा विचराहरुले यसो अलिअलि छ्याकनको छिटाले आफूलाई सित्तल बनाउने दाउ पाएका छन् । त्यसको हामी सबैले मानवताको आधारमा समर्थन गर्नुपर्छ । त्यसैले पुरानो उखान परिमार्जन भएर “सार्कको जात्रा वजेटको व्यापार” भन्ने नयाँ उखानको प्रादुर्भाव भैसकेको छ । यही महान उत्सवको बेलामा मौकामा चौका हान्नेहरुको पनि तँछाडमछाड भैरहेको छ । अवसरको लाभ लिन नसक्ने मानिस के मानिस ? त्यसैले “सार्कको नाम गरी टाउको मैले खायाँ” भन्ने समयसापेक्ष र परिमार्जित गीत पनि चर्का स्वरमा घन्किन थालेको छ काठमाण्डौमा । आउनुस् हामी सबै पनि यो महायज्ञमा होम्मिऔं । आफू यो मौकाबाट प्रत्यक्ष लाभान्वित हुन सकिन्छ भने नछोडौं, सकिन्न भने सक्नेहरुको डाढो पनि नगरौं । एउटा नेपाली दाजुभाइले खानु आफैले खानु हो भनेर महानता देखाएर उनीहरुको खुट्टा तान्ने काम नगरौं ।

अब हेर्नुस् त, गोरखापत्रले सार्क बिशेषाङ्क निकाल्नका लागि मात्रै एक करोड पच्चीस लाख माग गरेको रहेछ । सम्भवत उनीहरुको यो ऐतिहासिक महोत्सवलाई सुन पगालेको मसीले छाप्ने योजना होला । त्यति पनि नगरे के दस्तावेज भयो र यत्रो महत्वको सार्कको । अनि नगर विकास प्राधिकरणले रंग पोत्ने, रुख रोप्ने र पार्कहरु बनाउने भनेर ९ करोडको ठेक्का दिएर काम सुरु गरको दावी पनि गरेछ । कुरो अलि अप्ठेरो चाहिँ के भने यसका लागि उनसले त बजेट पास गर्ने वा स्वीकृत गर्ने सानो काम चाहिँ गर्न बिर्सेको रहेछ । ठूलाठूला काम गर्नेहरुले यस्ता झीनामसीना कुराहरुमा अल्झिरहनु सम्भव पनि त छैन नि । तर अर्थ मन्त्रालयलाई कसले बुझाउने यो कुरा ? सार्क जस्तो यत्रो महान उद्देश्यका लागि राजधानीको मुहार उज्यालो बनाउने पुनीत होममा होमिएका बिचरा नगर नियोजकलाई मन्त्रालयले मुसद्दीलाल बनाएर घुमाइरहेको रहेछ । यस्तो कुरा सुन्दा जोकसैको पनि घुँडाबाट तपतप आँशु चुहिनु स्वाभाविकै हो । काम गर्छु भन्नेहरुलाई त हरेश खुवाउने हाम्रो पुरानै चलन हो । नाथे ९ करोडको लागि किचकिच गरेर नि सार्क हुन्छ ?

यो लेखिउन्जेलमा अर्थ मन्त्रालयमा सार्कका नाममा बिभिन्न मन्त्रालय र निकायहरुबाट जाबो रु ७ अरब जतिको तुच्छ रकमको माग भएको छ रे । जीवनजल खान नपाएको दुर्गम जिल्लाको शिशुको पखाला जस्तो यो क्रम तारन्तार जारी नै छ रे । अब कति नै बाँकी छ र देशको मुहार फेर्न ? एक महीना पनि छैन । त्यतिबेलासम्म हदै पुगे यो रकम १४ अरब पुग्ला । सार्क गर्ने भनिसकेपछि त्यति जाबो रकम त जसरी भए पनि बिनियोजन गर्नु पर्‍यो नि ।

पाहुनाका आँखामा छारो हालेरै भए पनि देखाउन परेन त हाम्रो भानुभक्तको अलकापुरी कान्तिपुरी नगरी कस्तो छ भनेर ? आदिकविको बोलीको इज्जत राख्नका लागि पनि यो कार्य गर्नु आजको प्रमुख आवश्यकता हो । बाँकी कुरा भनेको हुँदै गर्छ । आइपरेको त टारौं पहिले । ती आउने पाहुनाहरुलाई  हाम्रो राजधानीको खास अनुहार कस्तो छ, हाम्रो समस्या के हो भनेर के थाहा ? हामीले जे देखायो त्यही हेरेर रमाउने त हुन् नि उनीहरु । तिनले समाचार पढ्ने, गूगल चलाउने जस्ता कुराहरु कहाँ जानेका छन् र ? जानेका भए पनि फुर्सद छ र तिनलाई हाम्रै खोजीनीति गरेर हिंड्ने ?

सार्क अवधिभर मूलबाटाहरुमा अन्य सवारी आगमनमा रोक लगाइने कुराहरु पनि भैरहेका छन् । सार्कसंग चार दिन विदा हुने भन्ने पनि चर्चा व्याप्त छ । कर्मठ पौरखी कर्मचारीहरु ती दिनहरुमा कहाँ बसेर म्यारिज खेल्ने भन्ने योजना बनाउन पनि थालिसकेका छन् । स्कूलकलेज विदा हुने भो भनेर विद्यार्थीहरु दंग छन् । आन्तरिक पर्यटनलाई सघाउन उनीहरु कताकता घुम्न जाने भनेर योजना बनाउन थालिसकेका छन् र त्यसका लागि आफ्ना बाबुआमासंग बजेट निकास गराउन पनि लागिसकेका छन् ।

यत्रो ऐतिहासिक पर्वका लागि ४ दिन मात्र विदा ? यो त साह्रै ठूलो अन्याय हो । सार्कका हरेक राष्ट्रका नाममा एक दिन गरेर ८ दिन विदा दिनुपर्छ । कस्ताकस्ता पिलन्धरे राजनीतिक कारणहरुका लागि कतिकति दिन बन्द गर्दा त हाम्रो देशलाई क्यै फरक परेको छैन । हो, विरामीलाई गाह्रो होला, दैनिक मजदूरी गरेर खानेहरुलाई अलिअलि असर पर्ला । तर सार्कको महानताको अगाडि ती कुराहरु गौण हुन् । महीनामा दुइचार दिन भोकै बसे पाचन प्रणाली र पेटको लागि असल हुन्छ भन्ने सबैलाई थाहा छ । दुखजिलो होला अलिअलि । तर, देशले हामीलाई के दियो भनेर सोच्ने हैन, देशलाई हामीले के दियौ भन्ने सोच्नुपर्छ । देशलाई दिने मौका कहाँ आउँछ बारम्बार ?

कुनै बहानामा नै सही, कतै त केही सुधार भइरहेका छन् भनेर हामी आशावादी हुन सक्नुपर्छ । हुन त अरु बेला असरल्ल र भद्रगोल राखेको घरमा पाहुना आउने दिन मूल ढोका र वैठककोठा चिटिक्क पार्ने जस्तो होला यो सिंगारपटारको काम । अथवा जाडो लागेपछि शरीर ननुहाए पनि कपाल, मुख र घाँटी चाहिँ नुहाएर बाहिर हिंडेको मान्छे जस्तो पनि होला सार्कको तयारी । तर हामीलाई सबै कुरामा देखिए मात्र पुगिहाल्छ नि । नदेखिने कुरा हाम्रो प्राथमिकतामा कहिले पो परेका छन् र यसपटक परेनन् भनेर मन दुखाउनु ? अब सार्कको खास उद्देश्य र उपलव्धिको कुरा गर्ने हो भने चाहिँ, ती त हामीले पहिलो सार्क हुँदादेखि नै सुन्दै आएका कुराहरु नै हुन् । यसपटक पनि सार्क मुलुकलाई यूरोपेली यूनियन जस्तै बनाउने, सबै देश छुने रेलमार्ग बनाउने, प्रवेशाज्ञा हटाउने र उस्तै परे साझा मुद्रा चलाउने सम्मका कुराहरु होलान् । भैरहन्छन् ।

सरकारलाई मेरो विनम्र अनुरोध चाहिँ एउटै मात्र छ । कृपया यति तीब्र गतिमा काम नगरिदिनुहोला । हामीलाई यसरी फटाफट काम गरेको हेर्ने बानी छैन । यो गतिका लागि हामी अभ्यस्त छैनौं, हामीलाई रिंगटा लाग्छ । एउटै पुल बनाउनका लागि, पाँच देखि सात वर्ष लगाउने हाम्रो गौरवशाली परम्परालाई सार्कको नाममा भंग नगरिदिनुहोला । यति छिटो पनि बाटाघाटाहरु बन्न सक्छन् भन्ने हाम्रो बाबुबाजेले पनि नदेखेको कुरा हो, कसरी पत्याउने ? मेलम्ची र सम्विधानको नाममा हामीले बल्बल्ल विश्वसामु ‘प्रोक्रास्टिनेसन’को उदाहरण कायम गर्न लागेकाछौं ।
विश्वले बल्लबल्ल नेपाल चिन्न लागेको छ । यस्तो बेला अरुहरुले जस्तै काम गरेर हाम्रो उपलव्धिलाई भंग हुन नदिनुहोला । फेरि अर्को मुख्य कुरा त के भने, हाम्रो बानी अलि राम्रो छ । सार्क आउन धेरै दिन बाँकी नै छ । पीच गरेका बाटो र सफा बनाएका स्थानहरु हामी त्यतिन्जेलसम्ममा जस्ताको त्यस्तै बनाइदिन बेर लाउन्नम् । त्यसो भएछ भने हामीलाई दोष लाउन नपाइ, पहिले नै भन्द्याछौं ।

अन्त्यमा सरकारलाई विनम्रतापूर्वक एउटा कुरा सोधिहालौं, सार्कको लागि हामी आम जनताले पनि केही योगदान गर्न पर्छ होला नि । हाम्रा कन्चटतिर फुलेका रौंहरुमा यो महान पर्वको लागि कालो लगाउनका लागि आफै रंग किन्ने कि सरकारी बजेटबाट सहयोग हुन्छ ?

एकै टेकमा तीन अन्तरा

कान्तिपुर कोसेलीमा प्रकाशित बम्बै, २०...... गति रोधक पुढे आहे सडकको किनारामा ट्राफिकको सूचना गाडिएको बोर्डमा मराठीमा लेखिएको थियो, अगा...