Tuesday, November 25, 2014

साइकल त चढ्ने, तर......

नेपाल साप्ताहिकमा प्रकाशित मेरो स्तम्भ बायाँ फन्को-१४४


केही समय अघिदेखि केही मानिसहरु काठमाण्डौमा साइकल चलाउने कार्यलाई प्रोत्साहन गर्न र त्यसको प्रचारप्रसार गर्न लागिपरेका छन् । सेनाप्रमुखले पनि हप्ताको एक दिन आफू साइकल चढेर कार्यालय जाने र अरुलाई पनि त्यसै गर्न निर्देशन दिएको कुराले एकताका निकै चर्चा पाएको थियो । त्यो क्रम सम्भभवत जहिले पनि कायमै होला भन्ने आशा गर्न सकिन्छ । साइकल प्रति मानिसहरु जागरुक हुनु भनेको निश्चय नै पनि स्वागतयोग्य कुरा हो । किनभने साइकल चलाउनुका धेरै फाइदाहरु छन् ।

मुटु, मांशपेसी, हाडजोर्नीका साधारण र आथ्रिटिसजस्ता समस्याहरुका लागि पनि यो एकदमै राम्रो कसरत हुन्छ । त्यसबाहेक पनि शारीरिक र मानसिक थकान कम गर्न, अनावश्यक बोसोको मात्रा घटाउन र अन्य धेरै रोगहरुबाट बच्न साइकल चलाउनु उत्तम उपाय हुनसक्छ । फिनल्याण्डमा हालसालै गरिएको अनुसन्धानले दैनिक ३० मिनेट साइकल चलाउनेहरुमा मधुमेह हुने सम्भाना अरुभन्दा ४० प्रतिशत कम हुन्छ भन्ने देखिएको छ । अनावश्यक रुपमा शरीरको वजन बढ्न नदिनका लागि त यो झनै रामवाण ओखति नै भैहाल्यो । 

अहिलेको प्रतिस्पर्धात्मक समाजमा मानिसहरुसंग पहिलेको तुलनामा समय कम हुँदै गएको छ । यस्तो अवस्थामा मानिसहरुका लागि कसरत गर्ने फुर्सद पनि हुँदैन । त्यसमाथि खानपीनको अनियमितताका कारण पनि मानिसको स्वास्थ्यमा परिरहेको प्रतिकूल असरलाई धेरै हदसम्म साइकल चलाउने व्यायामले कम गर्न सहयोग पुग्दछ । 

विश्वका कतिपय विकसित मुलुकहरुमा मानिसहरुले साइकल चलाउनुलाई विशेषताका साथ प्रोत्साहन गरेका हुन्छन् । चीनमा त निकै पछिल्लो समयसम्म पनि साइकल प्रमुख सवारीका रुपमा मानिसहरुले प्रयोग गरेका नै हुन् । नेपालकै कुरा गर्दा काठमाण्डौ बाहेक विशेषत तराइमा त साइकलको व्यापक प्रयोग भै नै रहेको छ । नारायणघाटमा त छोरी मान्छेले साइकल चलाउन नजान्ने हो भने बिहे नै हुँदैन भन्ने ठट्यौली पनि सुनिन्छ ।
त्यसबाहेक पनि प्रदूषण कम गरेर वातावरण मैत्री बन्नका लागि, पेट्रोलडिजेलको आयातमा खर्च हुने विदेशी मुद्रा बचाउनका लागि पनि यसको योगदान सह्रानीय हुनसक्छ । काठमाण्डौको एउटा कुनादेखि अर्को कुनासम्मै जानुपर्दा पनि साएकल चलाउन नसकिने दूरी नभएका कारण पनि यो दैनिकीकको लागि भरपर्दो विकल्प हुनसक्छ । 

समग्रमा भन्दा साइकल चलाउनुका कुनै नकारात्मक पक्ष नै देखिःदैनन् । त्यसैले केही साइकल चलाइरहेका मित्रहरुको सल्लाहमा यस स्तम्भकारले पनि आफूलाई वातावरण मैत्री र स्वास्थ्यचनाखो बनाउने निर्णय ग¥यो । अनि मात्र थाहा भयो, माथि उल्लेख गरिएका सैद्धान्तिक कुराहरु सुन्दा जति रमाइला र सहज लाग्छन्, साइकल चलाउने भनेर कस्सिएपछि त्यसका व्यावहारिक पक्षहरु त्यति नै जटिल हुँदा रहेछन् ।

सर्वप्रथम त साइकलको मोलकौ कुरा गरौं । काठमाण्डौको भौगोलिक बनौटका कारण समथर बाटाहरु निकै कम छन् । अलिकति यताउति जानसाथै ठाडा उकालो ओरालो फेला परिहाल्छन् । त्यसमाथि पनि अहिले सार्क लाग्ने सौभाग्य पाएका बाटाहरु बाहेक अन्यको अवस्था दयनीय छ । गनेर नसकिने खाल्डाखुल्डी र च्यापुफोड गतिरोधक ढिस्काहरुले सुसज्जित राजधानीमा साइकल चलाउनु फलामको च्यूरा चपाए सरह हुँदोरहेछ । त्यसैले साधारणधन्दा अलि सुविधा भएका माउण्टेन बाइक भनिने परिष्कृत प्रजातकिा साइकल नकिनी नहुने वाध्यता हुन्छ । त्यस्ता साइकलहरुको मोल सुन्नासाथै चिटचिट पसीना आएर भाउन्न हुँदोरहेछ । साथै लामो समय साइकल चलाउनका लागि सहज हुने त्यसै अनुसारका पोशाकको पनि मूल्य सुन्दा त आफ्ना दुबै मिर्गौला साबूत राखेर साइकल चढ्न सकिन्छ कि सकिन्न भनेर सोच्नुपर्ने अवस्था आउँदो रहेछ । 

लौ छातिमा मुड्कीले हानेर, अरु धेरै कुरामा सम्झौता गरेर, उधारो माग्न मिल्ने साथीहरुसंग रिन लिएर भए पनि साइकल किनेपछि जब तपाइँ बाटोमा निस्कनुहुन्छ, अनि देख्न थाल्नुहुन्छ तीन त्रिभुवन । साइकलमैत्री बाटो भनेको कुन चराको नाम हो भन्ने पनि थाहा नभएको हुनाले तपाईँलाई अर्नाभैंसी जस्ता असन्तुलित भटभटे, “मौत का कुँवा”मा गाडी चलाएर आएका जस्ता चालकहरुले हुत्याउने माइक्रो तथा ट्याक्सीजन्य आततायी सवारी साधनहरु, सवारी नियम खल्तीमा हालेर हिंडेका कार तथा ठूला बसट्रकहरुसंग पौंठेजोरी खेल्दै हरेक क्षण आफ्नो ज्यान हत्केलामा राखेर हिंड्नुपर्ने बाहेक अरु विकल्प हुँदैन । यही अराजकताको सिकार भएका थिए डा. प्रल्हाद योञ्जन । 

अपवादका रुपमा माइतीघर देखि तीनकुनेसम्मको नवनिर्मित बाटोमा पेटीसंगै साइकल चलाउने बाटो बनाइएको त छ तर त्लायसलाई पनि मानिसहरुले हिंड्ने ठाउँ नै भन्ठान्दारहेछन् । त्यहाँ साइकल चलाउनेलाई बारीको कर्खाकला फाँड्ने धुन्धुकारी ठानेर काँच्चै उँला जसरी हेर्दारहेछन् । त्यो उनीहरुको दोष हैन, किनभने त्यहाँ कुनै संकेत दिइएको छैन । 

यसर्थ सैद्धान्तिक रुपमा फाइदै फाइदा देखिने साइकल चलाउने कामलाई व्यावहारिक रुपमा पनि सम्भव बनाउनेतर्फ ध्यान जानु जरुरी छ । सर्वप्रथम त साइकल मैत्री बाटाहरु बनाउने कार्य गर्नुपर्‍यो । सबैभन्दा जरुरी चाहिँ अरु सवारी चालकहरूको घै‌टामा अलिकति घाम लगाउनु आवश्यक देखियो । साइकल भनेको ठूलागाडीहरुका लागि पेलेर, सडकबाट च्याप्दैच्याप्दै लगेर छेउको खाडलतिर हाल्दिने, उकालोमा अगाडि लगेर घ्याच्च ब्रेक हानेर अड्काइदिने र हाँस्दै जाने स्याडिस्टिक मनोरञ्जनका लागि हैनन् भन्ने कुरा पनि बताउनुपर्‍यो। 

अनि मुख्य कुरा साइकललाई आमा मानिसको पहुँचमा ल्याउनका लागि यसलाई विलासिता नभै आधारभूत आवश्यकताको रुपमा हेर्न सकिने बनाउनुपर्‍यो । त्यसका लागि सरकारले भंसार सुविधा दिनुपर्छ भने त्यसमा कञ्जूस्याइँ गर्न भएन । 

सकेसम्म बढी साइकल चलाउने वातावरण बनायो भने त्यसबाट सबैलाई फाइदै मात्र छ, कसैलाई पनि बेफाइदा छैन । 

एकै टेकमा तीन अन्तरा

कान्तिपुर कोसेलीमा प्रकाशित बम्बै, २०...... गति रोधक पुढे आहे सडकको किनारामा ट्राफिकको सूचना गाडिएको बोर्डमा मराठीमा लेखिएको थियो, ...