Translate

Sunday, February 8, 2015

बेलाको बोली

बायाँ फन्को १४९

मान्छेले भाषाको आविष्कार गरेर आफ्नो अभिव्यक्तिलाई सुधार्दै लग्यो । त्यसले उसलाई धेरै फाइदा भयो । पहिले भावभंगिमाबाट अनि शारीरिक हाउभाउबाट आफ्नो कुरा अरुलाई बुझाउँदा शत प्रतिशत सफल हुन सक्दैनथ्यो होला मानिस । बोलीचालीको भाषा विकास हुँदै गएपछि बुझाउन, सुनाउन र अरुलाई प्रभावित गर्न पनि सजिलो हुने नै भयो । तर, त्यससंगै अरु धेरै कुराहरु पनि मानिसले सिक्यो । संसारका हरेक कुराको सकारात्मक र नकारात्मक दुबै फाइदा उठाउन त मानिस खप्पीस जात नै हो, त्यसमा त कुनै शंका छैन । यस विद्याबाट पनि मानिसले दुबै कुरा गर्न सिक्यो, अझै पनि त्यसको नियमित अभ्यास मान्छेले गरिरहेको छ । झूट बोल्न, नभएको कुरा गर्न, मनमा एकथोक भए पनि मुखले अर्को कुरा बोलेर अरुलाई अलमल्याउन मान्छेले छिटै सिक्यो । झन् भाषालाई लिपिबद्ध गरेर पढ्न पनि सक्ने भएपछि, अनि मुद्रणको विकास भएर धेरै भन्दा धेरै मानिसका बीचमा एकैपटक पुग्न सक्ने भएपछि त मानिसलाई के चाहियो र ? 

सृष्टिको सुरुवात देखि नै दुईथरि मानिसहरु भए । एक थरि धूर्त, अर्काथरि सुधा । सुधा मानिसहरुको संख्या तुलनात्मक रुपमा धेरै हुन्छ भने धूर्तहरु निकै कम हुन्छन् । तर विडम्बना के भने जहिले पनि यी बहुुसंख्यक सुधाहरुलाई अल्पसंख्यक धूर्तहरुले आफ्ना फाइदाका लागि लट्टू जसरी घुमाइरहेका हुन्छन् । धूर्त र फटााहाको सम्मिश्रण भएका मानिसहरुले बोली र अभिव्यक्तिको कलाको दुरुपयोग गरेर अरुलाई आफूले चाहे जसरी नचाउँछन् । कहिले धर्म, कहिले वाद, कहिले राजनीति, कहिले आदर्श, कहिले चिन्तनका कुराहरु गरेर एकदुई धूर्तहरु लाखौंकरोडौं सुधाहरुलाई आफ्नो पछाढि लगाउँछन् । यसको अर्थ अरु थुप्रै मानिसलाई प्रभावित पारेर आफ्ना अनुयायी बनाउने ईतिहासका सबै धूर्त मानिसहरु फटाहा नै थिए भन्ने पनि नलागोस् । तर तिनमा पनि एक प्रकारको धूर्तता नभएको चाहिँ हैन । कहिलेकहीं कुनै मानिसले आफ्नो समय अनुसार सही कुरा नै गरेको हुन सक्छ । समय र युगको परिवर्तनसंगै बेलाको त्यो बोलीको उपादेयता र व्यावहारिकता समाप्त भैसकेको हुन सक्छ । तर अधिकांश मानिस परिवर्तन वा नवीनतालाई आँखा चिम्लन खोज्छ । किनभने मानिस कुनै कुरामा अभ्यस्त भैसकेकपछि सकेसम्म त्यसलाई परिवर्तन गरेर नयाँ कुरामा आफूलाई ढाल्न सकेसम्म पन्छाउन खोज्छ । हाम्रा वरिपरिका निकै कुराहरुमा यसको व्यावहारिक उदाहरण देख्न सकिन्छ ।

डिजिटल फोटोग्राफी र भिडियोग्राफीलाई अघिल्लो पुस्ताप्रविधिका घाघहरुले निकै पछिसम्म पनि स्वीकार्न गाह्रो मानेका थिए । त्यस लगायत पनि अरु धेरै कुरामा नवीनतालाई हामीले सहज रुपमा ग्रहण गर्न नसकेका उदाहरणहरु हुन्छन् । आफू अल्लारेयमेरमा हुँदा आफ्ना अभिभावकले कुरा नबुझेको गुनासो गर्ने हरेक मान्छे आफू अभिभावक भएपछि आफ्ना अल्लारेउमेरका सन्तानहरुको कुरा बुझ्न सक्दैन । पुस्ताअन्तर भन्ने कुराको चुरो नै यही नवीनता र परिवर्तनसंग अभ्यस्त हुन गाह्रो लाग्ने मानसिकतामा अल्झेको हुन्छ । अझ हाम्रो मुलुकमा त विशेष रुपमा अन्तभन्दा बढी यसको प्रभाव देखिन्छ । 

कम्प्यूटरको संसारमा पनि किन सरकारी कामकाजहरु अझै पनि ढड्डा र ठेलीमा आश्रित छन् ? शिक्षाप्रणाली र योग्यता जाँचका कसीहरु किन जहिले पनि बाबा आदमकै पालाका छन् ? सिर्जनात्मकता, कार्यकुशलता, लगनशीलता भन्दा बढी किन अझै पनि सर्टिफिकेटलाई मान्यता दिइन्छ ? सवारी चलाउने अनुमतिपत्र लिनका लागि किन अझै पनि टेढोमेढो र बाङ्गोटिङ्गो धर्साहरुमा सन्तुलन गर्नुपर्छ ? सानोतिनो समस्या बल्झेर थला पर्ने स्थिति नहाउन्जेल किन हामी अस्पताल वा डक्टरकहाँ जाँदैनौं ? राजनीति गर्नेहरु पटकपटक असफल हुँदा पनि किन आफू कहाँ चुक्यौं भनेर हेर्न चाहँदैनन् ? किन हरेक असफलताका लागि अरुलाई दोष दिने हजारौं बहाना खोज्छौं हामी ? आफ्नो सहजताको अभ्यस्त भैसकेको घेरा (कम्फर्ट जोन) बाट हामी सकेसम्म निस्कनै चाहँदैनौं ।

यही मानसिकताले मानिसलाई अग्रगामी बन्नबाट रोकिरहेको हुन्छ । अरुले भनेका र किताबमा पढेका कुराहरुलाई ज्ञान मानेर हामीहरु ढुक्क हुन्छौं । ज्ञान भनेका सूचना हैन भन्ने कुरा हामी जानीजानी भुल्छौं । किनभने सूचनालाई सत्य मानेर हिंड्न सजिलो हुन्छ, ज्ञान लिन गाह्रो हुन्छ । ज्ञान भनेको त आफ्नो स्वविवेकलाई मथेर नौनी निकाल्ने प्रकृया हो । त्यति धेरै कठीन काममा किन लागिरहने ? तसर्थ सुधा मानिसहरु सयदुइ सय वर्ष पहिले कुनै धूर्तले प्रतिपादन गरेका सिद्धान्तहरुलाई आँखा चिम्लेर पुस्तौंपुस्तसम्म आँखा चिम्लेर हिंडिरहन्छन् ।

हाम्रो देशकै कुरा गर्दा अहिले पनि हामी बिपीले, पुष्पलालले, मदन भण्डारीले, गणेशमानले, पुष्पलालले, माक्र्सले, लेनिनले, सेक्सपियरले, कृष्ण भगवानले, नित्सेले, फलानाले वा ढिस्कानोले यति सालमा यसो भनेका थिए भनेर अहिलेको सन्दर्भमा आफ्ना कुराहरुलाई सावित गर्न खोजिरहेका हुन्छौं । माथि उल्लेख भएका केही उदाहरणहरु आफ्नो समयका उदाहरणीय नामहरु हुन् । उनीहरुलाई आदरपपूर्वक सम्झिँदा पनि यहाँ नेर बुझ्नुपर्ने कुरा एउटै मात्र छ । जतिसुकै महान, दूरदर्शी, व्यावहारिक, सन्त, महात्मा, चिन्तक र विद्वानले पनि के जीवनभर बोलेका हरेक कुरा ध्रुवसत्य नै मात्र होलान् त ? 

अनुसन्धानले भन्दोरहेछ, लोग्नेमानिसले औसत दिनमा सात हजार र स्वास्नीमानिसले बीस हजार शव्द बोल्छन् रे । यसको औसत लिने हो भने पनि बाह्रतेह्र हजार शव्द मानिसले दिनमा साधारणतया बोल्दोरहेछ । एउटा मानिसको अरुले कुरो सुन्नेमान्ने सकृय जीवनलाई पनि औसतमा पन्ध्र वर्ष नै मान्ने हो भने उसले त्यस अवधिमा सात करोड भन्दा बढी शव्दहरु बोलेको हुन्छ । के त्यत्रो बोल्दा कसैले पनि सबै कुरा सही नै मात्र बोल्न सम्भव छ ? 

तर हामी कसैमाथि बिश्वास गरेपछि त्यो बेलाको बोलीको यो बेलासंग सान्दर्भिकता केलाउने झण्झट लिन चाहँदैनौं । अभ्यस्त भएका र स्वीकार गरिसकेको कुराभन्दा नयाँ कुरामा सकेसम्म टाउको दुखाउन नपरोस् भन्ने हामी चाहन्छौं । यसैले सुधाहरुमाथि धूर्तहरु सँधै राज गरिरहन्छन् ।

प्रतिक्रिया:

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment