Translate

Sunday, March 8, 2015

आलोचना कि प्रशंसा

बायाँ फन्को १५१ 

केही दिन अघिको कुरा हो, यस स्तम्भकार कुनै एउटा कफीशपमा कसैको प्रतीक्षा गर्दै थियो । व्यस्त समय भएको हुनाले र त्यहाँको कफी पनि स्वादिष्ट हुने हुनाले कुनै पनि टेबल खालि थिएनन् । दायाँ पट्टिको टेबुलमा केही विदेशी महिलाहरु आफ्नै धुनमा रमाइरहेका थिए । बायाँ पट्टिको टेबलमा करीव १५ वा १६ वर्षकी एउटी किशोरी स्कूल अथवा कलेजको यूनिफर्ममा थिई । उसका बाबुसंग ऊ त्यहाँ आएकी थिई । उसका बाबु फोनमा व्यस्त थिए । सम्भभवत क्याण्डीक्रश वा सो सरहको कुनै गेम खेल्दै थिए । उनीहरुको अर्डर आएको थिएन । ती किशोरीले आफ्नो साथमा बेरेर राखेको एउटा कागज टेबलमा फैलाई । ऊ कुनै चित्र बनाइरहेकी रहिछ । शायद उसको स्कूल वा कलेजको प्रोजेक्ट वर्क थियो त्यो । अनि आफ्नो झोलाबाट कलर पेन्सिलहरु निकालेर ऊ त्यसमा काम गर्न थाली । क्यानभासको आकार अलि ठूलै थियो, तसर्थ स्तम्भकारको आँखा त्यहाँ पर्नु स्वाभाविक थियो ।

ती किशोरी दायाँबायाँ कसैको ध्यान नराखी एकाग्रताका साथ त्यसमा रंगहरु भर्न थाली । बिहेको बेला दुलहीको खुट्टामा दुलहाले छुन लागेको बेलाको एउटा सानो फोटो पनि उसको सामु थियो र ऊ त्यसैलाई ठूलो क्यानभासमा हबहु उतारिरहेकी थिई । माहुर लगाइएको खुट्टा, औंलामा लगाइएको बिछुवा भनिने औंठी, नङमा लगाइएको पालिसका मसीनामसीना डिटेल्स पनि उसले दक्षताका साथ उतारिरहेकी थिई । छेउछाउका अरु टेबुलका मानिसहरु पनि बेलाबेला उसको त्यो चित्रकारितालाई हेरिरहेका थिए । उनीहरुले अर्डर गरेको कुराहरु आइपुग्यो । वेटर पनि टेबुलमा त्यसलाई राख्ने बेला उसको क्यानभासमा केही नपारेस् भनेर सतर्क थियो । ती किशोरी तन्मयताका साथ खानापीनामा पनि ध्यान नदिएर आफ्नो काम गरिरहेकी थिई । 

बायाँ पट्टिका विदेशी महिलाहरु जानका लागि उठे । तिनमध्ये एउटीको पनि ध्यान त्यता गयो । उसले एक छिन त्यता हेरिरही । ती किशोरीका बाबुले पनि त्यो थाहा पाएर पुलुक्क हेरे । विदेशी महिला मुस्काइ र उसले सानो स्वरमा आतले ईशारा गर्दै चित्र सुन्दर छ भनेर भनी । उसको साउती शायद ती किशोरीको ध्यान भंग नहोस् भन्नको लागि थियो । ती किशोरीले पनि पुलुक्क उसलाई हेरी । यसपटक विदेशी महिलाले उसैलाई खुल्ला मनले उसको चित्रका लागि बधाइ दिंदै भनी, 
‘राह्रै राम्रो छ । मलाई त डाढो नै लाग्यो ।’ किशोरीले आभार प्रकट गरी । विदेशी महिलाहरु गए । 

स्तम्भकारलाई यो सानो कुराले पनि निकै बेर सोच्न वाध्य बनायो । कुनै पनि अपरिचित मानिसले गरिरहेको केही राम्रो काम छ भने त्यसको प्रशंसा गर्न हामी भए हिच्किाउँछौ । अथवा भनौं भने हामीलाई त्यसो गर्नुपर्ने सोच नै पनि आउँदैन । अनि अझ गहिरिएर सोचदै जाँदा लाग्यो, हामीमा त प्रशंसा गर्ने संस्कार नै पो छैन कि क्या हो ? हामी वास्तवमा भन्ने हो भने आलोचनात्मक मानसिकताले ग्रस्त छौं । हामीलाई हरेक कुराका नकारात्मक र अँध्यारा पक्षहरुले मात्र उत्तेजित बनाउँछ, उत्साहित बनाउँछ । त्यसैले त साथीभाई, सहकर्मी, नातागोताका सन्दर्भमा उनीहरुका असफलता र खराव पक्षका बारेमा चर्चा गर्न हामी कति सजिलै तत्पर हुन्छौं । तर कसैको राम्रो पक्ष र सफलतालाई हामी सकेसम्म पन्छाइदिन्छौं । चिने जानेकाहरुको मात्र नभएर नचिनेका र आफूलाई मतलव नै नभएका कुराहरुमा पनि आलोचना गर्न हामीलाई कति रमाइलो लाग्छ । सामाजिक संजालहरुमा त झन् यसको बाढी नै देखिन्छ ।

रेष्टूराँमा खाना ल्याइदिने वेटरलाई हामी मध्ये कतिले मुस्काएर धन्यवाद भन्छौं ? ट्याक्सीबाट ओर्लंदा हामी सकेसम्म मिटरमा छुस हान्या भनेर चालकसंग दोहोरी खेल्छौं तर थोरै पैसा नै चढेको बेलामा पनि उसलाई धन्यवाद भनेर चाहिँ भन्दैनौं । पसलमा सामान किनेर आभार प्रकट गरेको हामीसंग विरलै मात्र अनुभव छ होला । आफू भन्दा दोब्बर उमेरको गार्डले सलाम गर्दा हामीमध्ये कतिजनालाई अप्ठ्यारो लाग्छ ? कति जनाले फर्काउँछौं ? कार्यालयमा पनि सहायक वा पियनहरुसंग कति हाकिमले सौहाद्रपूर्वक कुरा गर्छन् ? आफूभन्दा उमेरमा ठूला तर ओहदामा साना मानिसलाई तिमी वा तँ भन्ने कनिष्ठहरुको हामीकहाँ कमी छैन ।

त्यसैले त हामीलाई सुशील कोइरालाको रोगका कारण अस्पष्ट बोली पनि आलोचनाको विषय लाग्छ । प्रचण्डको जुँगा, बाबुरामको नाक, ओलीका टुक्का लगायत आम्रो आलोचनाका विष्य बन्छन्, हामी त्यसमा रमाउँछौं । कुनै पनि नेता वा सरकारले गरेका सकारात्मक कुरा छोडेर हामी उनीहरुका असफलता र नकारात्मक पक्षहरु मात्रै केलाउँछौ । कसैले कुनै राम्रो काम गरेको छ भने पनि त्यसो गनुको पछाडि उसको के कुत्सित मनाशय छ भन्ने खोतल्छौं ।

संसारमा हरेक कुराको विपरित कुरा पनि हुन्छ । प्रकृतिको सन्तुलन भनेको नै यही विपरित प्रकृयामा चलेको छ , ध्यान दिएर हेर्ने हो भने यस्तो कुनै पनि कुरा छैन जुन आफैमा पूर्ण होस् । यी दुइ विपरित ध्रुवले नै हरेक कुराका परिपूरक हुन्छन् । एउटा नहुने हो भने अर्कोको अस्तित्व वा उपादेयता नै रहँदैन । अँध्यारो भन्ने कुरा नहुने हो भने उज्यालोको कुनै महत्व नै हुँदैनथ्यो । सफलता भन्ने कुराको तुलना गर्नका लागि असफलताको मापदण्ड हुनु आवश्यक छ । त्यस्तै उपलव्धिको आनन्द उठाउनका लागि पनि त्यसको तुलना गर्नका लागि केही हुनै पर्छ । मानिस खुसी हुन्छ, तर दुखको अनुभव उसलाई छैन भने त्यो खुसीको सक्कली आनन्द उसले कहाँ अनुभूति गर्न सक्छ र ? के देख्ने, के हेर्ने, आलोचना गर्ने वा प्रशंसा गर्ने भन्ने कुरा तसर्थ हाम्रो आफ्नो विवेक र निर्णयको कुरा हो ।

नजानिंदो पाराले हामीमा नकारात्मक र आलोचनात्मक मानसिकता हावी भएको छ । यस बारेमा सोचेर आत्मालोचना पनि गर्ने हो कि कहिलेकहीं ?

प्रतिक्रिया:

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment