Translate

Sunday, February 22, 2015

बरमझियाको बूढाको पेडा (१५०)

बायाँ फन्को १५० 

हामी उग्र राष्ट्रवादले आक्रान्त हुन्छौं बेलाबेला । त्यो भनेको नराम्रो कुरा त पक्कै हैन । तर, त्यस्तो बेला हामी भावनामा मात्र बग्छौं, व्यावहारिकता भन्ने कुन चरोको नाम हो भन्ने हामीलाई थाहाह पनि हुँदैन त्यस्तो बेलामा । विशेष गरेर हामीमा सानै देखि नजानिंदो गरी यो अव्यावहारिक राष्ट्रवादले जरो गाड्न थालेको हुन्छ । हुनसक्छ हामीले सानो बेलामा पढेको, अथाव भनौं हामीलाई पढाइएको इतिहास र सुनाइएका कथाहरुले हामीलाई त्यस्तो बनाएको हुन्छ । हामी वीरताको गाथा सुनेर हुर्केका हुन्छौं । यो मुलुक कहिले कसैको उपनिवेशमा बस्नुपरेन भन्ने पढेर हुर्केका हुन्छौं । भौगोलिक रुपमा हाम्रो देशको सीमाना कहिले पनि अरु देशको सीमाना भित्र नपर्नुलाई मात्रै सार्वभौम भएको भन्न हुन्छ कि हुँदैन भन्ने विवाद त आफ्नै ठाउँमा होला, त्यता तिर अहिले नजाऔं । अन्य हिसावले हेर्ने हो भने कहिले चाहिँ हामीले आफ्ना निर्णयहरु आफ्नै मात्र स्वार्थ हेरेर गर्न पायौं वा सक्यौं भन्ने कुरा पनि अहिले नगरौं । 

उग्रराष्ट्रवादका स्वाभिमानी कीराहरु हाम्रो नसा, शिरा र धमनीहरुमा तीव्र वेगमा सलबलाएको बेला हामीलाई लाग्छ, हामीमाथि अतिक्रमण भइरहेको छ । विशेष गरी साँस्कृतिक, साहित्यिक र राजर्नतिक अतिक्रमण भयो भनेर हामी उफ्रिन्छौं । त्यसमा  पनि हाम्रो साहित्य र सिनेमा छिमेकी मुलुकबाट प्रभावितभयो भनेर हामी गम्भीर हुन्छौं । त्यस्तो बेलामा हामीले आफ्नो मौलिकता खोज्नुपर्छ भनेर विचार मन्थनहरु हुने गर्छन् । हामी बेलायतीहरुले आविष्कार गरेको, आकारप्रकार तोकेको क्रिकेट त्यही रुपमा खेल्दा त्यसमा नेपालीपन चाहियो भनेर कहिले पनि भन्दैनौं । आजकल त झन् भ्यालेण्टाइन डे, क्रिसमस लगायतका पश्चिमा चाडलाई आफ्नै सहर आत्मसात गरेर पनि रमाउन थालेका छौं हामी । तिनमा हामीलाई नेपालीपन चाहिँदैन । तर साहित्य र सिनेमाको कुरा आउनासाथ त्यसमा पश्चिमा वा भारतीय छाप आयो भने हाम्रो कन्सिरिकिा रौंहरु आफै ठाडा भएर आउँछन् ।

एकातिर हामी आफ्नोपनको लागि त्यति धेरै लालायित छौं भने अर्कोतिर आफै फेरि अन्तका हावाहरु भित्र्याउन सुर्रिन्छौं । हामी आफ्ना देशका खेलाडी, कलाकार वा नेताहरुलाई फलानो देशको फलानो भनेर उपाधि भिराउन थालिहाल्छौं । हुँदाहुँदा कतिसम्म त भने हलिवुडबाट अभिप्रेरित भएर बलिवुड बन्नासाथ हाम्रो चलचित्र उद्योग कलिवुड बन्न पुग्छ । त्यो नामलाई निर्धक्कसंग प्रयोग गर्ने पत्रकार तथा समीक्षकहरु सिनेमा हेरेपछि भने त्यसमा खै नेपालीपन भनेर उछित्तो काड्न थाल्छन् । झम्सिखेलमा विदेशीहरुको बढ्दो रमझम र त्यससंगै नयाँ रेष्टूराँहरु खुल्नासाथ कसैले त्यसलाई झमेल भन्न थाल्छ । अरुहरु दंग परेर त्यसैलाई निरन्तरता दिन थाल्छौं । झम्सिखेलको पहिचान हराउन थालेकोमा कसैलाई नरमाइलो पनि लाग्दैन । हाम्रो यही मानसिकता र प्रवुत्तिले नेपनली चलचित्रका नामदेखि लिएर स्वरुपसम्म हिन्दी सिनेमाको सक्कल बमोजिम नक्कल बनेको हो । तर आजकल हामी अलि सचेत भएका छौं, अलि बढी प्रवुद्ध भएका छौं । त्यसैले आजकल त्यसलाई रोक्ने नाममा हामी कोरियन वा अँग्रेजी सिनेमाको नक्कल गर्न थालेका छौं । एउटा छायाँबाट निस्केर अर्को छायाँमा जानुलाई नयाँपन भन्नु हो भने त त्यसमा केही भन्नु छैन ।

हामी आफू नयाँ कुरा सोच्दैनौं । कसैले सोचेछ भने पनि त्यसमा जोखिम उठाउन चाहँदैनौं । हामीलाई अरुले गरिसकेको र सफल भैसकेको कुरामा ढुक्क भएर लाग्ने बानी परेकोले होला, नवीनताको खतरालाई हामी हेर्नै चाहँदैनौं । चाहे व्यापार होस्, चाहे सिर्जना हरेक कुरामा हामीलाई अरुले हिंडेको पैंतालाको डोबहरु पच्छयाउन मात्रै सजिलो लाग्छ । यस कुराका धेरै साना ठूला उदाहरणहरु हामीसंग छन् । एउटा लेखकको उपन्यासले राम्रो व्यापार गरेको देख्न नपाई सबैजना उपन्या लेख्न थाल्छौं । कसैको आत्मकथाले बजार हल्लायो भने सबैका आत्मकथाहरु लेखिन थाल्छन् । 

बरमझिया भन्ने ठाउँमा केही वर्ष अघि एकजना बूढा मानिसले एउटा सानो झुप्रोमा पेडा बेच्थे । बिस्तारै तिनको त्यो पेडा प्रख्यात हुन थाल्यो । मानिसहरु बस रोकीरोकी त्यहाँ पेडा किन्न थाले । अहिले बरमझिया भन्ने त्यो ठाउँ पूरै पेडामय भएको छ । त्यहाँ पुरानो बूढाको पेडा पसल, उही बूढाको पेडा पसल, असली बूढाको पेडा पसल, सबैभन्दा पुरानो बूढाको पेडा पसल लगायतका नामहरुबाट यति धेरै पेडा पसलहरु खुलेका छन्, खास शुरु गर्नेको पसल कुन हो भनेर कसैले खुट्याउनै सक्दैन । झम्सिखेल तिरै प्रख्यात भएको हाँसको छोयलाका कारण अहिले त्यो निश्चित सडकमा यति धेरै छोयला पसलहरु छन्, हाँस आफै पनि झुक्किन्छ होला, आफ्नो छोयला कहाँ चाहिँ सबैभन्दा मीठो बन्छ भनेर । 

कुनै जमानामा भिडियो देखाउने भनेर मानिसहरु अरु सबै काम छोडेर त्यसमा लागेका थिए । बित्तीय संस्था, सहकारी, बैंक, पत्रिका, टेलिभिजन च्यानल, चलचित्र निर्माण, हाइड्रो, स्कूल, कलेज, नर्सिंंग होम यस्ता केही उदाहरणहरु हुन् जहाँ मानिस अरुले कमाएको देखेर आँखा चिम्लेर हाम्फलेका छन् । आफू त डुबेका छन् नै अरुलाई पनि उत्रिन दिएका छैनन् । 

यो कुराको अहिलेको जल्दोवल्दो उदाहरण हो दिल्लीमा आम आदमी र केजरीवालको अनपत्यारिलो जीत । हामीकहाँ पनि आम आदमी जस्तै पार्टी चाहियो भनेर वौद्धिक जमात जुर्मुराउन थालिसक्यो । नेपाली केजरीवालको भूमिकामा को चाहिँ सबैभन्दा बढी योग्य होला त भनेर चर्चापरिचर्चा शुरु भैसक्यो । हामी नयाँ कुरा चाहँदैनौ, ‘ट्राइड एण्ड टेष्टेड फर्मूला’ मात्र खोज्छौं । हरेक कुरामा यही अल्छी खोजाइका कारण हामी सँधै ‘ट्रायल एण्ड एरर’ मा मात्रै अल्मलिइरहन्छौं । 

त्यसैले हाम्रा सबै कुरा बरमझियाको बूढाको पेडा बन्न पुग्छ ।

प्रतिक्रिया:

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment