Translate

Sunday, May 17, 2015

भुइँचालोले सिकाएको कुरा

बायाँ फन्को १५६ 

हामीले अलि लामै समयदेखि सुनिआएको कुरा थियो, नेपालमा ठूलो भुइँचालो जाने सम्भावना प्रवल छ । त्यसो भयो भने के हुनसक्छ र त्यसबाट न्यूनक्षतिका लागि केस्ता कामहरु हुनु आवश्यक छन्, ती मध्ये के भएका छन्, के छैनन् भन्ने विषयमा पनि निकै छलफलहरु भैरहेका नै थिए । तर पनि हामी हरेक मानिसमा हुने डिनायल सिन्ड्रम भन्ने तत्वका कारण धेरै हदसम्म निश्चिन्त नै भएर बसिरहेका थियौं । यो सिन्ड्रमले मानिसलाई आफूमाथि कुनै अनिष्ट हुँदैन भन्ने तर्फ सकारात्मक बनाउँछ । त्यो नहुने हो भने कुनै पनि मानिस मानसिक रुपमा सन्तुलित रहन असम्भव हुन्छ भनिन्छ । 

शायद त्यही कारण हामी कमजोर जमीनमा पनि गगनचुम्बी भवनहरु बनाइरहेका थियौं, बेचिरहेका थियौं र किनिरहेका पनि थियौं । अव्यवस्थित शहरीकरण पनि निर्धक्कसंग गरिरहेका थियौं । अर्कोतिर काठमाण्डौमा ठूलो भुइँचालोले कस्तो भयावह परिणाम ल्याउन सक्छ भन्ने कुराहरु पनि संगसंगै भैरहेका थिए । परिणाम निश्चय नै कहालीलाग्दो भयो तर ईश्वर वा प्रकृति जे भने पनि त्यसको अनुकम्पाले त्यो स्तरको विनाश हुन दिएन, जुन कल्पना गरिन्थ्यो । तर यसो भन्नुमा कुनै पनि प्रकारको सन्तोष कसैले पनि गर्न सक्दैन । आफन्त र घरवार गुमाएकाहरुको क्षतिलाई केहीले पनि पूरा गर्न सक्दैन । यो भुइँचालोको घाउको खत हामी सबैले बाँचुन्जेल आफूसंगै लिएर बाँचनुपर्नेछ । 

तर भुइँचालो गयो, ठूलो भुइँचालो गयो । हामी कसैले पनि थाहै नपाएको ठूलो भुइँचालो गयो । यो अनुभव हामी सबैका लागि भयावह थियो । हामीेले यस्तो ठूलो कम्पन कहिले पनि थाहा पाएका थिएनौं । चिली वा हेटीमा गएका ठूला भुइँचालोका समाचारहरु हामीले सुनेका थियौं, हेरेका थियौं । तर, सुन्नु हेर्नु र आफूले भोग्नुमा निकै ठूलो अन्तर हुँदोरहेछ । स्तम्भकारलाई बाल्यकालमा मामाघरका हजुरबाले ९० सालको भुइँचालोको बारे बताएका अधिकांश कुरा नसम्झे पनि केही अस्पष्ट सम्झनाहरु अहिले पनि छन् । उनी सेनामा थिए । टुँडिखेलमा आफ्नो टोलीका साथ कवाजमा थिए रे । त्यही बेला भुइँचालो गएछ । उनी आफ्ना हातहरु हावामा पिङ मच्चाए जसरी मच्चाउँदै भन्थे, “थैथैथै गरेर पूरा टुँडिखेल हल्लियो ।” सम्भवतः हामी साह्रै अबूझ केटाकेटीहरुलाई त्यो कुरा त्यतिबेला रोमाञ्चक लाग्थ्यो । त्यसको पछाडिको सम्वेदनशीलता हामी बुझ्न सक्दैनथ्यौं । 

यसपालिको भूकम्पले सुन्नु र भोग्नुको अन्तर छर्लङ्गै बनाइदियो । पटकपटक आएका धक्काहरुले हामीलाई स्तव्घ बनाए, अकल्पनीय रुपमा जनधनको क्षति भयो । हाम्रा साँस्कृतिक धरोहरहरु भत्किए । शहरी भेगमा भन्दा पनि अझ ग्रामीण भेगले ठूलो पीडा भोग्यो । कतिपय स्थानहरुमा भुइँचालो गएको निकै दिनसम्म पनि रहात अथवा उद्धार पुग्न सकेन । नराम्रो भयो, त्यसमा कुनै दुइमत नै छैन । तर हरेक कालो बादलमा पनि चाँदीको घेरा हुन्छ भन्छन् । हामीले पनि त्यही घेरा देख्ने बेला हो र त्यसको उज्यालोलाई पच्छ्याएर पुनर्निमाणमा जुट्ने बेला हो । अब हामी यो अनिष्टबाट अघि बढ्ने बेला हो । भैसकेको कुरालाई हामी जति चाहे पनि फर्काउन वा परिवर्तन गर्न सक्दैनौं । यसबाट सिकेका कुरा अमुल्य छन् । तिनलाई जोगाउनु प¥यो । 

सबैभन्दा ठूलो कुरा राजनीतिको कारण बिभाजित भएका हामी सबै अचानक स्वतस्फूर्त एकजूट भएका छौं । तेरोमेरो केही नभनी सबै सबैका लागि बनेर आआफ्नो तर्फबाट सक्दो सहयोगका लागि जसरी हामी जुट्यौं, त्यो एउटा निकै नै सुखद संकेत हो र यसलाई हामीले दिगो बनाउन सक्नुपर्छ । युवाशक्तिको सकृयताले निकै ठूलो रहातको काम गरेको छ । औषधि, पानी, ईन्धन, खाना लगायत राहतका सामाग्रीहरु आवश्यक स्थानहरुमा पु¥याउनका लागि सबै आआफ्नो तर्फबाट खटिएका थिए, अझै खटिइरहेका छन् । यो सद्भावले हाम्रो मानवीय पक्ष कति बलियो छ भन्ने प्रष्ट देखाएको छ । 

संसारभरिबाट प्राप्त सहयोग पुनर्निर्माण र पुनस्र्थापनामा सदुपयोग होस् भन्ने कुरामा सबैको ध्यान आकृष्ट हुुनु आवश्यक छ । अब बन्ने संरचनाहरुमा हामी सचेत हुनेछौं । ठूलो भुइँचालो भनेको अब फेरि हतपति आउँदैन भन्ने वैज्ञानिक आधारहरु त प्रशस्त छन् । तर अरु किसिमका विपत्तिहरु पनि आइलाग्न सक्छन् भन्ने कुरामा सबै चनाखो हुनुपर्छ । भोलिको लागि सुरक्षित रहनका लागि यो आवश्यक छ । 

मनोवैज्ञानिक परामर्श एउटा अर्को महत्वपूर्ण कुरा हो जसलाई बिर्सनुहुन्न । थाहा पाउने, नपाउने गरी मानिसमा परेको हुनसक्ने मानसिक आघातबाट विशेष गरेर बालबालिकाहरुलाई मुक्त गराउनका लागि विशेष रुपमा पहल गरिनुपर्छ । 

हो भित्ताहरु चर्किएका छन्, तर भावनाहरु अझै गाढा भएर जोडिएका छन् । घरहरु ढलेका छन् तर आत्मबल र आत्मीयता अझै बलियो भएर ठाडिएको छ । यी कुराहरु कुनै भुइँचालोले हल्लाउन नसक्ने रहेछन् भन्ने कुरा हामीले थाहा पाएकाछौं । आजको विपत्तिमा हामी सबै नेपाली मात्र भएका छौं भने भोलिका सहज दिनहरुमा पनि त्यही नै भएर बस्न त झनै सजिलो हुनेछ । यो कुरा हामी कहिल्यै नबिर्सौं । 

प्रतिक्रिया:

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment