बायाँ फन्को १५९
राम्रो बानी होस् वा नराम्रो बानी, लामोसमयसम्म अभ्यस्त भैसकेपछि एकैपटक त्यसलाई च्वाट्टै छोडेर अर्को कुरामा अभ्यस्त हुनका लागि मानिसलाई सजिलो हुँदैन । त्यसैले मानिसको दैनिक जीवनी र व्यवहारमा प्रत्यक्ष असर पर्ने त्यस्ता कुनै पनि परिवर्तन रातारात गर्न सकिंदैन । त्यस्तो प्रयास गर्नु पनि हुँदैन । तर हाम्रो मुलुकमा अधिकारप्राप्त मानिसहरु बेलाबेला त्यस्ता सनकका भरमा गरिने निर्णयका लागि प्रख्यात छन् । अक्सर हरेक क्षेत्रमा बेलाबेला त्यस्ता कुराहरु भैरहेका हुन्छन् जुन क्षणिक रहन्छन् । तिनको व्यावहारिक पक्ष पहिले नै थाहा भए अनुसार फितलो हुन्छ, टिक्दैन । तै पनि सोडाको फिंजजस्ता निर्णयहरु र तिनको सफल हुन नसक्ने जिद्दी कार्यान्वयनका प्रयोगहरु भैरहन्छन् । अनि तिनीहरुसंगै केही यस्ता नियमहरु पनि लागू हुन्छन्, जुन उपादेयी, व्यावहारिक र बहुसंख्यकको हितका लागि हुन्छन् । अव्यावहारिक नियमहरुका बाहुल्यमा त्यस्ता उपादेयी नियमहरु पनि टिक्न सक्दैनन् ।
पहिले नै भने जस्तो कुनै विशेष क्षेत्रमा मात्र नभै हरेक क्षेत्रमा यस्ता प्रयोगहरु हुने गर्छन् । यसमा सबैभन्दा अचम्मका त ट्राफिकसंग सम्बन्धित हुन्छन् । केही महीनाका लागि कडिकडाउका साथ पालना गर्ने गराउने र पछि आँखा चिम्लने नियमहरुका लागि त्यस क्षेत्रलाई अरु कुनैले पनि जित्न सक्दैन होला । व्यावहारिक र अव्यावहारिक दुबै नियमहरु बराबरी बन्छन् र दुबै टिक्दैनन् । जबकि सवारी दुर्घटना कम गर्न, बाटोघाटोको अस्तव्स्तता नियन्त्रण गर्न र अरु हिसाबले पनि सही नियमहरुलाई टिकाउन नसक्नुको कुनै कारण फेला पार्न सकिन्न । एकताका सुरक्षाका कारण देखाएर भटभटेमा दुईजना सवार चढ्न नपाइने भन्ने नियम बनेको तपाईहरुलाई अझै पनि हेक्का नै होला । त्यसको केही समयपछि पछाडि बस्नेले पनि अनिवार्य हेलमेट लगाउनुपर्ने नियम बन्यो । निकै कडिकडाउका साथ केही महीना मानिसहरुलाई पक्रेर जरिवाना तिराउने गौरवशाली कार्यपश्चात त्यो नियमको पनि अनौपचारिक विसर्जन गरियो । भटभटे दुर्घटनामा पछाडि बस्ने सवार बढी खतरामा हुन्छ भन्ने सर्वमान्य र प्रमाणित कुरालाई समेत लत्याएर यो नियम पनि टिकाउ हुन सकेन ।
हातैले नलेखेका नम्बरपाताहरु नभै हुन्न भनेर पनि एकताका कोकोहोलो मच्चाइयो । जतिसुकै स्पष्ट देखिने किन नहुन्, हातले नलेखिएका सबै नम्बरपातोधारकहरु भटाभट कारवाहीमा परे । त्यसपछि आजकल त्यो नियम कता दूलो पस्यो, कसैलाई थाहा छैन । जस्तोसुकै नम्बरपातो पनि अहिले निर्वाध रुपमा बाटोमा देखिन्छन् । चारपाङ्ग्रे चालकले सिटबेल्ट लगाउनका लागि गरिएको प्रयास पनि अर्को उदाहरण हुनसक्छ । एउटा मापसे छोडेर उनीहरुका कुनै पनि नियम दिगोसंग कार्यान्वयन भएका छैनन् ।
यहाँ नेर नीतिनियम पालना गराउन आँखा चिम्लनेहरुको जत्ति नै दोष तिनको पालना नगर्ने हाम्रो प्रवृत्तिको पनि हो । हामी किन अनुशासन वा नियमको पालना गर्न चाहँदैनौं ? फोहोर नफाल्नु भनेका ठाउँमा लगेरै फोहोर फाल्नुपर्ने हाम्रो यो कस्तो वाध्यता हो ? हामी सबैलाई आफू नियमकानून भन्दा माथि छौं भन्ने लाग्नुको कारण के हो ? सानोतिनो दण्ड वा जरिवानाले त हामीलाई कहिले पनि दुरुत्साही गर्दैन, किन ? एकपटक गलत साइडमा सवारी चलाएर जरिवानामा परेको चालक फेरि किन त्यही गल्ती गर्नुअघि दुईपटक पनि सोच्दैन ?
सार्वजनिक स्थानमा धूमपान नगर्नका लागि, गरेमा कारवाही हुनेछ भनेर ठूलो हल्लाखल्लाका साथ नियमकानूनहरु बनाइए । तर आजसम्म पनि त्यो कार्यान्वयन हुन सकेको देखिन्न । त्यस्ता नियम कानून बनाउनेहरुले प्रभावकारी कार्यान्वयनका लागि कुनै ठोस योजना बिना हचुवाको भरमा तिनलाई लगाउने अनि हामी सबै तिनको पालना नगर्नुमा गौरव अनुभव गर्ने भएपछि त कुरै सकिइहाल्यो नि । एक दुईवटा ठूला दुर्घटना भए भने सार्वजनिक यातायातका लागि निकै ठूला र आशलाग्दा योजनाहरु बनेको सुन्न पाइन्छ, कडा नियम कानूनहरु बनेको कुरा गरिन्छ । तर तिनको पनि कार्यान्वयन कहिले हुँदैन ।
व्यापारी वा सेवाप्रदायकहरुबाट उपभोक्ता नठगियून् भन्ने, नीजि विद्यालय र कलेज संचालकहरुबाट अभिभावक नरेटियून् भन्नका लागि, देश बनाउने जिम्मा लिएका नेताहरुबाट जनता भेडा नबनाइयून् भन्नका लागि सबै ठाउँमा कागजी मापदण्डहरु नभएका त कहाँ हुन् र ? तर हामी योजनामा मात्र विश्वास गर्छौं, तिनको कार्यान्वयन भनेको कुन चरोको नाम हो भन्ने हामीलाई थाहा हुँदैन । आफ्नो जिम्मेवारी कसैले वहन नगरे पनि, पूरा नगरे पनि कसैलाई प्रश्न गर्ने स्थान कहाँ छ ?
वर्षौं लगाएर बनाइएका एक टुक्रा सडकका कालोपत्र हप्ता दिन नटिकी भत्ंिकदा पनि ठेकेदारलाई किन जाक्न सकिंदैन ? किनभने माथिदेखि तलसम्मकाले त्यो गुणस्तरहीन काम गर्नका लागि राज्यको ढुकुटीबाट निकालिएको सुकुटीका गच्छे र ओहदा अनुसारका टुक्रा चपाइसकेका हुन्छन् । भ्रष्टाचारले हाम्रो सबै अंगहरुमा यति गहिरो जरा गाडिसकेको छ, कहिलेकहीं सोच्दा मात्र पनि आङ जिरिङ्ग हुन्छ । ट्यूमर जसरी फैलिएको यो भ्रष्टाचार नामको रोगले यसरी हामीलाई गाँजिसकेको छ, डर लाग्छ कतै त्यसलाई डाम्ने केमोले शरीर नै नाश पो गर्ने अवस्थामा पो हामी पुगिसकेको त हैनौं ?
मूल कुरोमा फर्किंदा अहिलेको टड्कारो आवश्यकता भनेको आत्मअनुशासनको अभाव हो । हामी आफ्नो लागि र अरुको लागि भिन्दाभिन्दै मान्यताहरु लिएर बसेका छौं । यही प्रवृत्ति सबै कुरामा पालेर बसेका छौं हामी । यो बानीलाई परिमार्जन नगरी ठूलाठूला कुराहरुको आश गर्नु व्यर्थ हुन्छ । त्यसो नहुन्जेलसम्म कुनै पनि क्षेत्रका व्यावहारिक वा अव्यावहारिक कुनै पनि नियमकानूनहरु दिगो हुन सक्दैनन् ।
0 प्रतिक्रिया दिनुहोस्:
Post a Comment