Translate

Sunday, June 14, 2015

मथिङ्गलका परकम्पहरु

बायाँ फन्को १५८

जुनसुकै परिस्थितिसंग पनि अभ्यस्त हुने र त्यसको सामना गर्न सक्ने जुझारु प्रवृत्तिले नै मानिसलाई यहाँसम्म ल्याएको हो । यही नै मानिस हुनुको सबैभन्दा ठूलो विशेषता हो । तर यसपालिको भोगाइका अनुभवहरु हाम्रो साझा अनुभव बनेको छ । यसले हामीलाई अझ असल मानिस बन्न सहयोग गर्छ होला भनेर आशा गर्न सकिन्छ । त्यो हुन सकेन भने पनि अलि कम खराब मानिस बन्न मात्र सिकायो भने त्यसैमा पनि चित्त बुझाउनुपर्छ । अघि बढ्नुको विकल्प छैन, हामी बढिसकेकाछौं । हो यो अजंगको अप्रत्याशित स्पीडब्रेकरले हाम्रो गतिलाई अलिकति सुस्त बनायो होला, तर हाम्रा पाइलाहरुलाई यसले रोक्न सकेको छैन ।

भूइँचालो आयो, भुइँचालो गयो । यसले भुइँमात्र होइन अरु धेरै कुराहरु पनि हल्लाएर गयो । हुन त परकम्पहरु अझै आइरहेका छन् र निकै लामो समयसम्म आइरहनेछन् । तिनको वेग र क्रम बिस्तारै कम हुन थालेको छ र हामीहरु बिस्तारै अभ्यस्त हुन थालिसकेकाछौं । हुनु पनि पर्छ । भुइँचालोले मथिंगल पनि यसरी हल्लाउन सक्दो रहेछ भन्ने कुरा हामीलाई थाहा थिएन । महाभूकम्पको भौतिक असर त सबैले देख्ने कुरा हो रहेछ । तर त्यसको मानसिक प्रभाव चाहिँ सजिलैसंग देख्न नसकिने कुरो रहेछ । त्यो प्रभाव कत्तिको भयावह हुन सक्दोरहेछ भन्ने कुरा भोग्नेले मात्र बुझ्ने कुरो रहेछ । हामी सबैले भोग्यौं, अनि सामूहिक रुपमा त्यो बुझ्यौं । आफू भाग्यवश सुरक्षित रहँदा पनि त्यसमा खुसी हुन नसक्नुको पीडा कसैगरी पनि वर्णन गर्न सकिन्न रहेछ ।

भूकम्पको सामाजिक प्रभावको एउटा अर्को पक्ष पनि हुँदो रहेछ । यो सुसुप्त र मौन पक्ष भए पनि  दीर्घकालीन रुपमा त्यसका असरहरु बिस्तारैबिस्तारै प्रकट हुन सक्छन् । धेरैको घर परिवार र मित्रमण्डलीमा केही सदस्यहरु सौभाग्यवश काठमाण्डौ वा नेपालमा थिएनन् । उनीहरु समाचार सुनेर हेरेर आत्तिए । विशेष गरी भारतीय समाचार माध्यमहरुको समाचारलाई उत्तेजनशील बनाउने गौरवशाली परिपाटीले पनि ती मानिसहरुको सातो लिएको थियो । ढीलाचाँडो हत्तारिएर यहाँ फर्किनेहरुले यता आइपुग्नासाथ निश्चिन्तताको लामो सास फेरेका थिए । उनीहरुको कल्पनाभन्दा कम क्षति भेटे उनीहरुले । अति प्रभावित स्थानहरुमा पुग्नुनपर्नेहरु भाग्यमानी थिए । तर सबै कहाँ भाग्यमानी हुन्छन् र ? जसका घर ढले, आफन्त गुमे, तिनको क्षति अपूरणीय थियो ।

भूकम्प भोगेका र नभोगेका मानिसहरुको मानसिकतामा एउटा ठूलो अन्तर भने सिर्जना भएको छ । भोग्नेको मानसकि अवस्था कस्तो छ भन्ने कुरा नभोग्ने सौभाग्यशालीहरुले कुनै पनि हालतमा बुझ्न सक्दैनन् । त्यो बुझून् भन्ने चाहना राख्नु पनि मूर्खता नै हुन्छ । किनभने आगोले पोल्छ भन्ने कुरो हामी सबैलाई थाहा हुन्छ । तर आगोले कसरी पोल्छ वा त्यसको पोलाइ कस्तो हुन्छ भन्ने कुराको अनभूति चाहिँ पोलेपछि मात्र थाहा हुन्छ । त्यसैले धेरै घरपरिवारमा दुइथरि मानसकिता भएका मानिसहरु उत्पन्न गरिदिएको यो भूकम्पले । यस्तो अवस्थामा जसले भोगेका थिएनन्, उनीहरु असाध्यै धेरै सतर्क हुनुपर्ने आवश्यकता छ । भोगेकाहरुको बीचमा पनि जो अलि जिम्मेवार छ, परिपक्व छ, उसले कम जिम्मेवार र अपरिपक्व अझ भनौं केटाकेटीहरुसंग व्यवहार गर्दा चनाखो हुनुपर्ने आवश्यकता टड्कारो देखिएको छ । अझै पनि सानातिना अकस्मातका आवाजले समेत मान्छेलाई उद्वेलित बनाइरहेको छ । पसलका सटर बन्द हुने आवाज, बुलेटजन्य भटभटेका कर्णफोडू कोलाहल, हावाले झ्यालढोकाका खापा बजार्दाको अरु बेला सामान्य लाग्ने थर्काइ, विजुली चम्कंदा वा मेघ गर्जंदा हामी सबै तर्सने भएका छौं । हामीलाई चाँडै रिस उठ्न थालेको छ । अरुबेला सामान्य रुपमा लिने सानातिना कुरामा पनि हामी “ओभररियाक्ट” गरिरहेका हुन्छौं ।

मनोवैज्ञानिक परामर्शको निकै ठूलो आवश्यकता टड्कारो रुपमा देखा परेको छ । जसले प्रत्यक्ष असर देखे, तिनलाई त अझै बढी । यस्तो बेलामा यो त्रासदी नभोगेका परिवारका सदस्य वा साथीभाइले भोगेका मानिसहरुको कुरा बुझेनन् भने त्यो सम्बन्धका लागि खतरनाक कुरो बन्न सक्छ ।

भवनहरुलाई हरियो, पहेंलो र रातो स्टिकर टाँसेर वर्गीकरण गरिन थालेको छ । यस्तै वर्गीकरण सम्बन्धहरुमा पनि आवश्यक छन् । यो सचेतना नहुने हो भने सम्बन्धहरु पनि चर्किन सक्छन्, पहिले नै चर्किएकाहरु भत्किन सक्छन् । अनि सम्बन्धहरु त आवाजै ननिकाली भत्किन सक्छन् । तिनले धूलो नउडाई किच्न सक्छन् । हुन त सम्बन्धहरुको भौतिक रुपमा कुनै वजन त हुँदैन । तिनको कुनै निश्चित आकारप्रकार वा नक्सा कोरिएका संरचना पनि हुँदैन । तर केही नभएको त्यो अदृश्य कुराले किच्दा चाहिँ उत्तिकै नोक्सान हुनसक्छ, पीडा हुनसक्छ । भत्केका भवनमात्र हैन, भत्केका सम्बन्धहरु पुननिर्माण गर्न पनि त्यति नै गाह्रो हुन्छ ।

जमीनमा आएका सानातिना परकम्पहरु पनि तुरुन्तै थाहा हुन्छ, त्यसको मापन पनि हुन्छ र हल्लाखल्ला हुन्छ । तर मथिंगलमा आइरहेका परकम्पहरु निशव्द हुन्छन्, शान्त र अदृश्य हुन्छन् । धरतीलाई जस्तै मथिंगललाई पनि शान्त हुन समय लाग्छ । त्यसैले यस्तो बेलामा एउटा मानिस प्रति अर्को मानिस अरु बेला भन्दा बढी उदार र सहिष्णु हुनसक्नुपर्छ । किनभने हामी कोही पनि बैशाख १२ गतेभन्दा अगाडिका मानिस हैनौं ।

प्रतिक्रिया:

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment