Translate

Friday, April 21, 2017

पामुकको म्युजियम, केमलको ताजमहल

आश्विन २, २०७२- इस्तानबुल-टर्की

भूमिगत मेट्रोबाट ओर्लेर इस्तानबुलको ताक्सिम स्क्वायरमा उभिएको छु । गन्तव्य यहाँबाट दस बाह्र मिनेट पैदल दूरीमा छ । यहाँको पुरानो ट्रामको लिक गएको तिर चुकुरसिम्मा भन्ने ठाउँमा मलाई पुग्नु छ ।
गलाता टावरबाट इस्तानबुल शहरको दृश्य
गलाता टावरबाट इस्तानबुल शहरको दृश्य

अनि मैले फेला पार्नुछ, ओरान पामुकको अनौठो सिर्जना म्युजियम अफ इनोसेन्स । टर्कीका यी लेखकलाई सन् २००६मा साहित्यतर्फको नोबल पुरस्कार प्रदान गरिएको छ । तर एउटा समस्या छ । यहाँ अंग्रेजी बुझ्ने मानिस पाउनु भनेको जाउलाखेलको सदर चिडियाखानामा जिराफ पाउनुजत्तिकै दुर्लभ छ ।

‘डू यू स्पिक इङ्लिस ?’ भनेर सयजनालाई सोद्धा एकजनाले मात्र ‘लिटिललिटिल’ भन्छ । अनि उसको लिटिललिटिल पनि त्यही एउटा शब्द बुझ्ने र बोल्ने हुँदोरहेछ ।

ताक्सिम स्क्वायरबाट चुकुरसुम्मा, अनि पामुकको म्युजियम कता हो भनेर भनेर पत्ता लगाउन सजिलो थिएन । हुन त यहाँका मानिसहरू बडो सहयोगी हुन्छन् । सुनेको छु, कुनै ठाउँ सोध्यो भने थाहा नभए पनि त्यसो नभनी कतै न कतै त पुर्‍याई नै दिन्छन् ।

तैपनि जोखिम मोलेरै दुईजनालाई सोधीहेर्छु । नभन्दै दुबैले दुई विपरीत दिशातिर औंल्याइदिन्छन् । मलाई दोधार हुन्छ, कसको कुरा पत्याऊँ?
टर्किस लिराको सिक्कालाई गाई कि त्रिशूल गरौं ?

म एकपटक फेरि इन्टरनेटको नक्साको भर पर्छु र त्यसले भनेजस्तै ट्रामको लिकैलिक निकै पर पुग्छु । अनि मेरो आँखा एउटा किताब पसलमा पर्छ । यहाँ त कसो थाहा नहोला? म भित्र छिर्छु, पसलेले मुस्कानका साथ मेरो स्वागत गर्छ ।

म उसलाई म्युजियम जाने बाटो सोध्छु, उसले एउटा ओरालो बाटोतिर इसारा गर्छ । गलातासरायको ट्याक्सी पार्कमा पुगेर देब्रे मोडिन भन्छ । अनि म्युजियमसम्बन्धी एउटा पुस्तक भिडाउन खोज्छ । त्यहाँ किन्दा महँगो पर्छ, आफूले सस्तोमा दिने ‘बम्पर अफर’ पनि दिन्छ । म आफ्ना तीसवटै दाँत देखाएर ‘तेसिक्विलर’(धन्यवाद) भन्दै निस्कन्छु ।

ठाडो ओरालो झरेर देब्रे मोडिनासाथ नपत्याउँदो गल्लीमा अचानक परैबाट म म्युजियम अफ इनोसेन्स ठिङ्ग्रिङ्ग उभिएको देख्छु । रातो रंग पोतिएको सानो बाहिरबाट हेर्दा चारतल्ले त्यो घरको फोटो मैले देखेको छु ।
तर युरोपियन वर्ष म्युजियमको रूपमा पुरस्कृत सो भवन त्यति साधारण गल्लीमा त्यसरी उभिएको हुन्छ भन्ने कल्पना गर्न म सक्दिनँ । न कुनै चहलपहल, न भीडभाड । शान्त र उपेक्षित देखिन्छ पामुकको म्युजियम । म बिस्तारै आफ्ना पाइला त्यतातिर सार्न थाल्छु ।
पामुकको संग्रहालय

इस्तानबुल आउने अवसर जुर्दा मलाई एक किसिमको रोमाञ्च अनुभव भएको छ । निकै पुरानो इतिहास र संस्कृति बोकेको अनि पर्यटकहरूका लागि आकर्षक मानिने अचम्मको सहर इस्तानबुल मेरा लागि भने ओराम पामुकको सहर पनि हो ।

मनको एक कुनामा उनको घर खोजेर भेट्न जाने इच्छा पनि नभएको कहाँ हो र मलाई ? तर मेरो अल्पज्ञाननै भन्नुपर्छ, ओरान पामुक आफ्नै जन्मथलोमा बस्दैनरहेछन् । मलाई लागेको थियो, नोबल पुरस्कार विजेता लेखकको घर र त हरेक ट्याक्सी चालकले लगेर देखाइदिन्छ होला ।
जो सुकैलाईसोद्धा पनि छाती फुलाएर उनका बारेमा भन्छ होला । तर, मैले भेटेका अधिकांश मानिसलाई या त उनको बारेमा केही थाहा छैन या उनका बारेमा कुरा गर्न उनीहरूलाईरुचि छैन । मैले बल्लबल्ल एकजना अंग्रेजी बोल्ने मानिससँग नोबल पुरस्कार प्राप्त पामुक किन टर्किसहरूमाझ यति उपेक्षित छन् भन्ने विषयमा केही जानकारी बटुलें ।

उचकसवार सितेसी भन्ने ठाउँमा जहाँ म बसेको छु, यहाँ एउटा जनरल स्टोर चलाउँछन् अली एदेमल । बेलायतमा बसोबास गरिरहेका र पेसाले इलोक्ट्रेनिक इन्जिनियर अली बूढो बाबु एक्लो भएका कारण उनलाई सघाउन देश फर्केको एक वर्ष मात्र भएको छ । अलीका अनुसार ओटोमन साम्राज्यको निधारमा अरू पश्चिमा मुलुकले लगाउने गरेको अरमेनियनहरूको नरसंहारको आरोपलाई आम टर्किसहरू अस्वीकार गर्छन् ।

त्यो धेरै पुरानो युद्धका बेला दुबै पक्षले एकआर्कालाई हताहहत गरेका हुन् भन्ने आम बुझाइको विपरीत आफ्नो लेखाइले वकालत गरेकाले पामुक इस्तानबुलमा बस्न नसकेका रहेछन् । यो धेरै हदसम्म राजनीतिक मुद्दा पनि हो र अहिलेको सरकार ढलेछ भने पामुक आफ्नो देश र गृहनगर फर्किन सक्छन् । तर त्यति हुँदा पनि पामुकको अनुपस्थितिमा उनको म्युजियम भने इस्तानबुलको मुटुमा ढुक्कसँग उभिएको छ । हामीले भए त फरक विचार वा राजनीतिक मत राख्नेका त्यस्ता कुराहरूलाई उहिल्यै ढुंगामुढा गरेर वा आगो लगाएर ध्वस्त पारिसकेका हुन्थ्यौं होला । यति सोच्दासोच्दै म म्युजियमको भवननिरै पुगिसकेको छु । तर यहाँसुनसान छ, मलाई लागेको थियो, यहाँ पनि म लामो लाइनमा बस्नुपर्ला ।

एकछिन उभिएर त्यो रातो रंगको साधारण घरलाई हेर्छु । घाम उल्टोपट्टि परेको छ, तैपनि क्यामरा निकालेर केही फोटा खिच्छु, खच्याक्खच्याक् ।कतै आज कुनै कारणले म्युजियम बन्द त हैन ? वेबसाइटमा त त्यस्तो उल्लेख थिएन । तै पनि टिकट किन्ने झ्यालमा, जहाँ कोही पनि छैन, माथिपट्टि लेखिएका कुराहरू पढ्छु । जनवरी एक, प्रत्येक सोमबार, इद उल फित्र र इद अल अदाबाहेक अरू सबै दिन म्युजियम खुला रहने जानकारी पाउँछु । पामुकका अनुसार संसारका प्रख्यात म्युजियमहरूले इतिहासको दस्तावेजका रूपमा साम्राज्य र सम्राटका कथाहरू समेटेका हुन्छन् । उनी आम मानिसको कथा र सहरको सामयिक परिवर्तनको द्योतकका रूपमा एउटा म्युजियम बनाउन चाहन्थे । त्यसै कारण १९९० मा उनले म्युजियम अफ इनोसेन्स नामक आख्यान र म्युजियम दुवै एकैसाथ सुरु गरे । आख्यान २००८ मा प्रकाशित भयो, म्युजियम २०१२ मा तयार भयो । पुस्तकमा उल्लेख भएका समय र पात्रहरूका दैनिक जीवन र संस्मरणसँग आवद्ध सानातिना हजारभन्दा बढी कुरालाई स्थापना कलाको उत्कृष्ट नमुनाका रूपमा उनले म्युजियममा प्रस्तुत गरे ।

१९७४ देखि २००० सम्मको समयमा आधारित उपन्यासले एउटा उच्चवर्गीय र अर्को मध्यमवर्गीय परिवारको आगत र विगतका आधारमा १९५० देखि २००० सम्मको इस्तानबुलको समाज र मानिसको दैनिक जीवनको परिवर्तन तथा विकास चित्रण गर्छ । किताबमा ८३ अध्यायमा उल्लिखित ती सबै कुरा यहाँ ८३ वटै कलात्मक सोकेसमा सजाएर राखिएको छ ।

सम्पन्न परिवारको केमल जो आफ्नै स्तरकी केटी सिबलसँग प्रणय सूत्रमा बाँधिन लागेको बेलामा टाढाकी नातेदार फैजमसँग प्रेम गर्न थाल्छ । उनीहरू लुकीछिपी पुराना समानहरू राखिएको धूलाम्य कोठामा भेट्छन् । फैजमको बिहेपश्चात् पनि केमल लगातार आठ वर्षसम्म उसलाई यही घरमा भेट्न आइरहन्छ । उसको आसक्ति कस्तो अचम्मको छ भने हरेक भेटमा ऊ फैजमको केही न केही सानोतिनो सामान सम्झनाको चिनोका रूपमा लिएर जान्छ । तिनै सामान यस म्युजियमका आधार हुन् । तर ती सबै सानातिना कुराहरू संकलन गर्ने नायकचाहिँ ओझेलमा छ । उपन्यासको प्रमुख पात्र केमलसँग पामुकले २००० देखि लगातार सात वर्षसम्म उसको कथा सुनेका थिए, त्यही घरमा जहाँ म्युजियम अफ इनोसेन्स छ । उनीहरू बसेको कोठा, केमलको खाट, टेबुल, कुर्सी र उपन्यासको पाण्डुलिपिका केही पृष्ठ सबैभन्दा माथिल्लो तल्लामा राखिएका छन् ।

टिकट किन्ने झ्यालमा एउटा मान्छे चिहाउँछ, म २५ लिरा तिरेर भित्र छिर्छु । भित्र असाध्यै मधुरो प्रकाश संयोजन गरिएको छ । बाहिरको उज्यालोबाट छिरेका आँखाहरूलाई चिमचिम गररेर म अभ्यस्त बनाउँछु । सबैभन्दा पहिले मेरो आँखा दाहिनेतिर भित्ताभरि ढाकेर राखिएको अजंगको फ्रेममा पर्छ । त्यो फ्रेममा कुनै फोटो वा चित्रकला छैन । चुरोटका ठुटाहरूछन् । थुप्रैथुप्रै चुरोटका ठुटाहरू । मलाई अचम्म लाग्छ । म नजिक गएर हेर्छु, पिनले घोचेर राखिएका थरीथरी चुरोटका हरेक ठुटाहरूको मुनि पामुकको हस्ताक्षरमा केही लेखिएको छ । यी तिनै चुरोटका ठुठाहरू हुन्, जुन फैजमले केमलसँग भेट्दा खाएकी हो । उसले खाएर फ्याँकेका हरेक चुरोटका ठुटा पनि बटुलेर त्यसको लेखोटसहित सँगालेर राखेको छ कोमलले । पछि उसले पामुकलाई गर्वसाथ ती ४ हजार २ सय १३ वटा ठुटा प्रदान गर्छ । तिनका विवरण केमलको सर्तअनुसार पामुकले आफ्नो हस्ताक्षरमा राखेका छन् । केमलको प्रेमको यो रूपले त्यहाँ पुग्ने जोकसैलाई पनि सोच्न बाध्य बनाउँछ, प्रेमको गहिराइको के कुनै सीमा हुन्छ होला ?मलाई भने यी चुरोटका ठुटाहरूले ताजमहलको सम्झना गराउँछन् ।

माथिल्ला तल्लाहरूमाउपन्यास, पात्रहरू, उनीहरूको समय, दैनिकी र उनीहरूको कल्पनासँग आवद्ध अरू सानातिना कुराहरू सजाइएका छन् । केमलले बटुलेका फैजमका चिनोहरू: काइँयो, ब्रस, सिनेमाको टिकट, पोस्टकार्ड, पत्रपत्रिकाका टुक्राटाक्री, कपालमा लगाउने पिन, लुगा, सलाइका काँटी, भाँडाकुँडा, टेलिफोन सेट, सिलाइ मेसिनलगायतका हजारभन्दा बढी निर्जीव वस्तु सजीव भएर रहेका छन्, अहिले नै बोल्लान् जसरी । पामुक भन्छन्, ‘न किताबको कारण म्युजियम बनेको हो, न त म्युजियमका लागि नै किताब लेखिएको हो । यी दुवै आफैंमा सम्पूर्ण कुराहरू हुन् ।’

साधारण कुराहरूको असाधारण संकलन र स्थापनाको यही अनौठो सोचको कार्यान्वयनले गर्दा यसलेसन् २०१४ को युरोपियन म्युजियम वर्ष पुरस्कार प्राप्त गर्‍यो । अहिले अब त्यस किताबमा सिनेमा पनि बनिसकेको छ जसको भेनिस सिनेमा महोत्सवमा यही सेप्टेम्बरमाप्रथम प्रदर्शन पनि भइसक्यो । म्युजियम अफ इनोसेन्समा म बरालिउन्जेल मुस्किलले अरू दुईजना दर्शकहरू त्यहाँ आए । तेस्रो तल्लामा फोटोग्राफी निषेधको चिन्हको छेउमा उभिएर एउटी केटी भटाभट मोबाइलको क्यामराले तस्बिर खिच्दैछे । टिकट बेच्नेदेखि लिएर तलको उपहार पसलमा बेचबखिन सबै एउटै मानिसले भ्याउँदोरहेछ । तल एउटा र पाँचौं तल्लामा अर्को गरी मात्र दुई सुरक्षा गार्ड चुपचाप उभिएका छन्, म्युजियमजस्तै मौन ।

केही घन्टा त्यहाँ बिताएर म बाहिर निस्कन्छु । छेउको सानो पर्खालमा बस्छु । अलि पर एउटी केटी बसेर चुरोटको धूवाँ उडाइरहेकी छे । ऊ मुसुक्क हाँस्छे र मलाई म कहाँबाट आएको भनेर सोध्छे । म नेपाल भन्छु । ऊ आँखा ठूलो पार्दै भन्छे, ‘ओह, अर्थक्वेक ?’ सगरमाथा, गोर्खा र बुद्धपछि नयाँ पहिचान पाएको छ मुलुकले । यसपालि यात्रामा जसलाई नेपाल भने पनि भुइँचालोको कुरा गरिहाल्छ । म भने त्यही भुइँचालो बिर्सन चाहन्छु यो यात्रामा । विषय परिवर्तन गरेर उसलाई कहाँबाट आएकी भनेर सोध्छु ।
‘इस्तानबुल ।’ ऊ हाँस्छे ।
ऊ आफ्नो कुनै साथीलाई म्युजियम देखाइदिनमात्र आएकी रहिछ । म उसलाई भित्र नजाने त भनेर सोध्छु । ऊ चुरोटको धूवाँ उडाउँदै भन्छे, ‘नाइँ, मलाई यो ठाउँ भूताहा लाग्छ ।’

@brazeshk

प्रकाशित: आश्विन २, २०७२

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment